नेपाली आख्यानको विशिष्ट कृति : 'सकस'

- छविरमण सिलवाल

जनताहरू पहिले शहरबाट गाउँ खेदिन्थे, अहिले गाउँबाट शहर खेदिरहेका छन्, यो श्रृङ्खला आज पनि त्यतिकै छ । फरक यति मात्र हो, पहिले एउटा दरवार थियो अहिले हजारौं दरवार बन्ने चेष्टा गरिरहेका छन् । दरवार कि तरवारका रवाफले नेपाली इतिहासमा जनताले धेरै सकस पाएका छन् । यस्तै इतिहासका जीवन्त कुरालाई आख्यानको रूपमा प्रस्तुत गरेका छन्, वरिष्ठ साहित्यकार जगदीश घिमिरेले ।
इतिहासका कालखण्डमा भएका घटनाहरू समेटेर लेखिएका थुप्रै पुस्तकहरू प्रकाशित भएका छन् । यस्ता पुस्तकहरूले त्यस समयमा भएका निश्चित घटनाक्रमहरूलाई समेटेर कलात्मकताका साथ प्रस्तुत भएको पाइन्छ । र, इतिहासमा रुचि राख्ने सबैको लागि यस्ता पुस्तकहरू निकै लोकप्रिय रहेका छन् । इतिहासलाई नै विषयवस्तु बनाएर आख्यानको रुपमा पाठकसामू प्रस्तुत भएका पुस्तकहरू भने कमै छन् । जति भएका छन्, ति सबैमा निश्चित अवधिका मात्र रहेका हुनाले यस्ता कृतिका परिधि सिमित भएका कारणले त्यति महत्व राख्दैनन् पनि । हामीले भोगेका कालखण्ड सबै सत्य हुन्, पुस्तकका पानाहरूमा कोरिए पछि ति ऐतिहासिक बन्ने गर्छन् । यस्तै ऐतिहासिक विषयवस्तुलाई समेटेर वरिष्ठ साहित्यकार जगदीश घिमिरेले ‘सकस’ शिर्षकको आख्यान प्रकाशित गरेका छन् ।
इतिहासका विभिन्न कालखण्डहरूलाई औपन्यासिक स्वरुप दिनु सजिलो कुरा होइन । त्यसमा पनि राणा शासन देखि वर्तमानसम्ममा जनताले भोगेका यथार्थका साथै जनताले पाएका दुःख, पीडालाई प्रस्तुत गरेका छन् घिमिरेले ‘सकस’मा । सकस भन्नाले कुनै काम–कुरोमा हुने वा पाइने हैरानी, सास्ती, अप्ठेरो स्थिति वा दुःखी अवस्था भन्ने जनाउँछ । हामीले इतिहासका कालखण्डको अध्यन गर्दा वा वर्तमानका हाम्रा भोगाईहरूको वास्तविक स्थिति पनि निकै सकसपूर्ण रहेको छ । जनताका नाममा ठूलाले रजाईँ गर्ने परम्परा हट्न सकेको छैन्, मुलुक गणतन्त्रान्त्रिक वा प्रजातान्त्रिक भए पनि । अझ एकतन्त्रिय शासनमा त कुरै भएन, शासक वा उसका भरौंटेले जे भन्छ त्यसैमा हो हो मिलाउनै पर्ने बेला थियो । यो एउटा नराम्रो पक्ष थियो । जगदीश घिमिरेले पनि इतिहास देखि वर्तमान सम्मका यस्ता विकृत पक्षलाई पुस्तक मार्फत प्रस्तुत गरेका छन् ।
कलात्मक संयोजन नै पुस्तकको महत्वपूर्ण पक्ष हो । अर्का कुरा समाजका विकृतिलाई साहित्य मार्फत सजग गराउने कार्य साहित्यकारहरूको दायित्व पनि हो । लिलाम र साबिती उपन्यासमार्फत आख्यान विधामा आफ्नो अलग्गै पहिचान बनाई सकेका भए पनि ‘सकस’ले उनलाई अझै उचाईमा पु¥याएको छ । आम उपन्यास भन्दा अलग्गै पहिचान सहित प्रकाशित भएको ‘सकस’ उपन्यासले घिमिरेलाई अझै विशिष्टता प्रदान गरेको छ । हेरौं आख्यानकार नारायण ढकालले ‘सकस’का बारेमा व्यक्त गरेका केही शब्दहरूः–‘लिलाम देखि साबिती हुँदै सकससम्मको सृजनायात्रामा उपन्यासकार जगदीश घिमिरेको एकमात्र प्रतिबद्धता हो– सामाजिक न्यायको शङ्खघोष । यो प्रतिबद्धता सकसमा अझ बढी मुखर, सघन, परिष्कृत र काव्यिक अभिव्यञ्जना सहित व्यक्त भएको छ । सकसमा आख्यानलाई इतिहास, दर्शन र विचारधाराले सम्पुष्ट परिएको छ । छरितो भाषा, पुराणसम्मत शैली र ललित व्यङ्ग्यका दृष्टिले समेत यहाँ स्रष्टा जगदीश घिमिरे हाम्रो समयका एक मूर्धन्य प्रजापति बन्न पुगेका छन् । सकस नेपाली आख्यान साहित्यको एक अनुपम प्राप्ति हो ।’ जीवनका शास्वत सत्य तथा भोगाईहरूलाई प्रतिनिघि पात्र जीबाले उनको बुढ्योलीमा अर्के व्यक्ति शरद मार्फत लेखिएको डायरीबाट नै ‘सकस’ उपन्यासको जन्म भएको छ । जीबाका भोगाई यथार्थ हुन् । हेरौं उपन्यास भित्रका केही हरफहरूः–‘मान्छेलाई जवानीमा कसरी सुखसँग बाँचौ भन्ने हुन्छ । त्यसका लागि उसले सारा कर्म, कुकर्म गर्छ । बुढ्यौलीमा कसरी सुखसँग मरौँ भन्ने हुन्छ । जवानी र बुढ्यौलीको फरक त्यै हो । जो सुखसँग मर्छ, त्यै सुखी हो । बाबू संसारमा साँचो बोले बात लाग्छ, झुटो बोले पाप लाग्छ । त्यसैले बोल्नु भन्दा नबोल्नु बेस हुन्छ । मान्छेले जवानीमा माला बनाउँछन्, बुढ्यौलीमा जप्छन् । म अहिले मेरा स्मृतिका गेडाले बनेको माला जप्तै छु । गेडा सारा हुन्छन्, सम्झिइन्छ, धागो लुलो हुन्छ, बिर्सिइन्छ । जति जप्छु उति लाग्छ, मेरो भ्रम र मूर्खताहरूको शृंखला हो । संसार क्रुर यथार्थहरूको सम्मेलन हो ।’ जीबाको भोगाई सत्य हो, आज हामीले भोगिरहेका छौं त्यो पनि सत्य हो । हाम्रा जीवन भोगाईका यथार्थतालाई ‘सकस’ भित्र हुबहु पढ्न सकिन्छ । छयालिस सालको जनआन्दोलनलाई प्रत्यक्ष भोगेको छु मैले पनि । दरवारमार्ग स्थित महेन्द्रको शालिकलाई फोर्न उक्लेका एकजना आन्दोलनकारीलाई गोली हानेर ढालेको प्रत्यक्ष देखेको छु मैले । विशाल जनसागरका विच हामी आफ्नो चप्पल जुत्ता छोडेर ज्यान जोगाएर भागेको कुरा ‘सकस’ पढ्दा पुनः जीवित भएर आयो । निकैबेर सोचिरहें मैले उपन्यास होइन मेरै जीवनका यथार्थ पढिरहेको छु । सकसको अर्को महत्वपूर्ण पक्ष हो आशावादी सोचको निर्माण गर्नु । त्यसबेलाको अवस्थामा रामेछाप जस्तो अनकन्टार ठाउँमा एउटा व्यक्तिले गरेको संघर्षले यी कुराहरूलाई प्रतिनिधित्व गरिरहेको छ । हुनतः साहित्यकार जहिले पनि आशावादी हुनुपर्छ । एउटा सर्जकले निराशामा रहेर सिर्जना गरेको साहित्य कहिल्यै पनि सफल हुन सक्दैन, यद्यपी जगदीश घिमिरेका सिर्जनाहरूले पनि रामेछाप देखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा आशाका दियोहरू बाल्न सफल देखिन्छन् । एउटा सफल लेखकका सम्पूर्ण गुणहरू घिमिरेमा निहित छन्, त्यसैले त उनी नेपाली राजनीतिक क्षेत्रमा देखिएका विकृतिहरूप्रति प्रहार गरिरहन्छन् ।
मुलतः यो उपन्यास त्यही राजनीतिक विकृतिले खडा गरेको विविध परिवेशको सिङ्गो दस्तावेज पनि हो । ‘युवा अवस्थामा म देश बनाउन समर्पित भएँ । प्रजातन्त्र मेरो आदर्श थियो । घर व्यवहार त्यसमा परेन । मेरो त्यो आदर्श संसार ध्वस्त भयो । घर फर्के । मेरो घर संसार पनि भत्किएको रहेछ । आर्दश संसार र घरसंसार दुबैको सहारा नभएपछि म परिस्थितिको आँधीबेहेरीले उडाएर जता लग्यो उतै जाने सुकेको पात जस्तो भएँ । जुन रूख जु¥यो त्यसैमा ओत लागेर गुजारा गर्ने शरणार्थी भएँ ।’ यो उपन्यासको पात्रले भोगेको भोगाई हो । त्यो पात्र पनि यही समाजको हो । नेपाली राजनीतिले उसलाई यस्तो बनायो । अनि उसले निस्कर्ष निकाल्यो–‘मान्छेले जति गुरुका पाठशालामा पढेर सिक्छ, त्यसभन्दा बढी जीवनको पाठशालामा भोगेर सिक्छ ।’ यही नै सत्य हो । नेपालमा जनताका नाममा भएका परिवर्तनले जनताहरूलाई नै सकस दिएको छ । यो ‘सकस’को निस्कर्ष हो । मानविय संवेदनाका सिङ्गो दस्तावेज सकस भित्र पढन सकिन्छ । इतिहासका विविध कालखण्डमा जनताले पाएका सकस यस उपन्यास मार्फत बुझ्न सकिन्छ । आज नेपाली राजनीतिकले भित्राइरहेको डरलाग्दो विकृतिप्रति आक्रोश पोखिएको छ । घिमिरेले निकै साहस र धैर्यता लिएर लेखेका ‘सकस’ आख्यान नेपाली साहित्यको अत्यन्त शक्तिशाली कृतिको रूपमा रहेको छ । पठनिय र संग्रहनिह रहेको सकसलाई जगदीश घिमिरे प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 12 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु