भूँई तिर खसेका पखेटा र आकास छुन उडेका सपना

- रमेश सायन

यति खेर म मातिन शुरु गरिसकेको छु । सायनले पिउँदैन भन्यो भने धेरैले पत्याउँदैनन् र पिउँछ भन्यो भने पनि उक्तिले नै पत्याउँदैनन् ।
दिनले भरखरै आत्म हत्य गर्यो । रात जूनकीरिको पुच्छरमा अडिएको छ । मैले केटाकेटीको कुरा सम्झिएँ । आमाले जुठेल्नामा भाँडा माझिरहेको बेला आमालाई जूनकीरी देखाउदै भन्थेँ “आमा मलाई जूनकीरी बनाई दिनु, म पनि जूनकीरीले जस्तै बत्ति बालेर माथि मामा घर पुगेर आउँछु ।” आमासँग झगडा गरिरहन्थे । आमाले फकाउँदै भन्नु हुन्थ्यो “तँ त मान्छे हुनु पर्छ ज्ञानी ठूलो असल मान्छे , फेरि यो जूनकीरी कहिल्लै खादैन यो त पुच्छरमा बत्ति बालेर उडी मात्र रहन्छ, तँलाई भोक लागिरहन्छ । जूनकीरी भईस भने खान पाँउदैनस्” भन्नु हुन्थ्यो । मलै भोकको डरले जूनकीरी हुन्न भनेको थिँए ।
रक्सी पिएको बेला चरा हुन मन लाग्छ । सुदुर भएकी प्रेमिकालाई भेटेर हिमाल देखाउन मन लाग्छ । चुल्ठो भरी गुँरास सिउरिदिदै पहिलो पल्ट उनको मन पग्लने संगीत उपहार दिइएर , आजको घामले आत्महत्य गरे झै मर्ने रहर पलाई रहन्छ ।
आज बिहान मेरो घरमा एक जना गाईने आएर बेथितीको संगीत बजाएर गयो । मैले उनको घर, ठेगाना र नाम केही सोधिन । रु बीस दिए पछि आधा संगीत बजाउँदा बजाउँदै मेरो घरको पीडिबाट बहिरियो । अहिले मलाई उनको संगीतमा नडुबेको मा दिन भरिकै सबै भन्दा हिट पछुतो लागिरहेको छ ।
अगि भन्दा अहिले अलिक बढी मात्ति सकेकोछु । वइटरले मेरो गिलासमा एक पेग थपेर गएको छ । म झ्याल नेर छु । बाहिर एउटा चेरिको रुख छ । सानो सुकेको हाँगोमा मेरो जस्तै जिन्दगी बोकेर सकि नसकी एउटा लार्भा उकालो लागिरहेको छ । लार्भाले यो सुकेको हाँगोमा के खाला ? र कहिले पुतली बन्ला ? कहाँ पुगेर थाहा पाउला ? म सुकेको हाँगोमा छु । मेरो यात्रा ओरालै हो । पुतली हुन मैले हरियो हाँगो र कलिला पातहरुमा पुग्नु पर्छ ।
अघि वाइटरले थपेको एक पेग सक्कि सकेको छ । हाँगो भुलेको त्यो लार्भा र मेरो जिन्दगी कहाँ नेर फरक छ ? म सोचि रहेको छु ।
एम. ए. प्रथम श्रेणीमा पास गरेको एक वर्ष भयो । अक्षर मात्र चिनेको २२ वर्ष पुगे छ । साँझमा पिउने पैसा नपुगेर साथी भाई सँग जिन्दगी चलेको कति हो कति ।
वर्षादमा खोल्साले पनि संगीत बोकेर ओरालो झर्छ र नदी सँग भन्छ “तेरो जस्तो संगीत म सँग पनि छ तँ जति धमिलो छस् म पनि उत्तिनै धमिलो छु भन तेरो मेरो बग्नै शैलीमा काहाँ नेर फरक छ ” हिउँदमा उहि खोल्सोले रुप बदलेर मलाई भन्छ “ भन सायन तँ र म मा कहाँ नेर फरक छ ?, वर्षादमा धमिलो संगीत बोकेर ओरालो झर्छु र हिउँदमा तँ जस्तै उराठ बाच्छु ।”
मेरो जीवनको समानान्तर रेखा बाँच्ने त्यो लार्भा , त्यो खोलो र यो देशको आधि भूगोल छ मसँग । मनले भन्छ “ एक्लो तँ मात्र कहाँ छस् सायन । वइटरले अर्को पनि पेग थपेर गएको छ ।
पछाडि मेरै उमेरको एक तन्देरी आएर एकदुई पेग लगाई सकेको छ । उसँग बोल्न आबश्यक ठानिन । हेर्दा मेरो भन्दा पनि खराब जीन्दगी गिलासमा तैरिरहे जस्तो लाग्थ्यो । यो अहिले नै रक्सी पिउँदा पिउँदै भु्कलुक्क मर्यो भन,े मलाई उस्को मृत्युको ठूलो ईश्र्या लाग्ने छ । अगाडी पछाडीको टेवलको सम्बन्ध यति हो यो साँझमा यो सगँको । अहिले तल माथि हल्लि रहेको छ यो पिउनु को नियमित आकासमिकता होे । पिउन अलि गाह्रो भएको छ । भुपिलाई सम्झिएँ “पिउन कति गाह्रो छ पिएर त हेर साथी ।”
आगाडिबाट होटल साहुनीको ठूलो स्वर सुने “गवरा लागेको केरा जस्तो” कसलाई के अर्थमा कराई खास अर्थ राखिन । तर साहुनीको यो आवजले केहि सेकेन्ड रक्सीले छाडेको भ्रम भयो । सम्झेँ मेरो पनि त जीवन कहाँ सग्लो, सिधा, सरल , केराको थाम जस्तो छ र कँहि कतै नमिलेको बाछिटाले हानेको माटाको लिउन जस्तो । नागबेली सपना बिहान बेलुका अल्झिन्छ । भोलि बिहान कस्तो बाँचिएला ? कहाँ पुगिएला ? बालकले केरेको निर उद्घेश्य कर्ङमर्यङ रेखा जस्तो ।
अगाडिको टेवलमा चालिस नागेका जस्ता दुई जना आएर बसे । उमेरमा मेरा बा जस्ता छन् । रेड लेब रक्सीको एक÷ एक पेग मागेर केहि सितन सँग पिउन थाले ।
मैले बेसमारी पिएको छु तर होस ठेगान मै छ । चुपचाप बसि मात्र रहेको छु ।
एउटाले देशलार्ई गालि गर्यो , अर्काेले नेतालाई , देश खराब भन्यो, खत्तम भन्यो ,यो देश मै बस्दिन भन्यो । हिमालको सौन्दर्यतालाई गालि गर्यो र लरबराएको स्वरमा अरु थप एक÷एक पेगको अडर गर्यो ।
बिजुली निभ्यो । कोठा एक बराबर रंगमा बदलियो । साहुनीको मिलेको अनुहार ,अगाडि टेवल माथिको महंगो रक्सीले भरिएको गिलासको आयतन, मेरो हल्लि रहेको आकाश, पछाडिको टेवलको निरास अनुहार कालै भए पनि एक रगंमा बद्लियो ।
वइटरले मैन बत्ति बालेर टेव टेवलमा राखि दियो । मैले आफ्नो लामो नाक, गहिरा आँखा चुस्स पालेको दारी, गहिरा गाला एक सरो छामेर भ्याए । समयले जीवन ओरालो खसाले झै मैन पग्लिएर थोपा थोपा भूई तिर खस्यो ।
अगाडिका दुईटैले चुरोट सल्काएर धुवाँ मास्तिर उडाए । धुवाँमा कतै मेरै नाक जस्तो आकृति बन्यो, कतै झिंगाको जस्तो पखेटा, कतै बिरालाको जस्तो आकृति , घरि आफ्नै देशको जस्तो नक्सा ,घरि आफ्नै प्रेमिकाको उदास आकृति , घरि सबै हरिया पात झरेको उजाड रुख जस्तो ।
यहाँ पनि कतै नमिलेको मेरो आफ्नै जिन्दगी जस्तो ।
मैन आधा पग्लिसकेको छ । यहाँ अहिले अलि शान्त जस्तो छ । अगाडि अछाडिकाले बोलेको खास सुनेको छुईन । वइटरले थप पेग र खानेकुराको बारेमा सोधेको छैन । एउटा पुतली बलिरहेको मैनकोे ज्वालामा आएर ठोकियो । पखेटा पोलेर अलि पर गएर लड्यो । फेरी सकि नसकी ज्वालामै आएर मुख जोतेर भूई तिर खस्यो । छटपटाउँदा छटपटाउँदै एक छिन पछि शान्त भयो ।
उज्यालोको सपना बोकेर हिड्दा हिड्दै कहाँ पुगेर पुतली झै मरिदो हो । मैले मृतु सम्झें ।
आगाडिका ती दुई उठेर बाहिर लागे । बाहिर कुकुर भुक्यो । मैले पनि खाएको बिल तिरें । एकाध मिनेट पछि म पनि बाहिर लागे । मलाई देखेर पनि कुकुर भुक्यो । मैले कवि बोनम प्रतापलाई सम्झिए । उनिसँग पिउँदा प्रया भन्छन् “ रेड लेवल, ब्ल्याक लेवल वा कोदाकै लोकल पिए पनि उहि हो, उस्तै हो गति , उस्तै हो मातिनुको नसा, उहि हो हल्लिनुको रंग, खुट्टा लरखराएको देखे पछि कुकुरले जे पिए पनि हेपेरै भुक्छ ।
बाहिर पंखेटा खसेका छिचिमिराहरु भँई भरि लडिरहेका थिए । सपना बोकेर आकश छुन हिडेका छिचिमिराको पनि मेरो जस्तै एका तिर सपना बोक्ने पखेटा र अर्काे तिर जिउ खसेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 भाद्र, 2069

लेखकका अन्य रचनाहरु