माइजूलाई म मान्यो भन्दिनू

- सञ्जय बिष्ट

मलाई उसको नाम थाहा छैन। उसकी श्रीमतीको नाम पनि जान्दिनँ म। आज दिउँसो बजारमा सपत्नी ऊसित भेट भयो मेरो।
अघिल्तिर उभिएर उनीहरूको, गरेर ‘‘नमस्ते’’ मैले भनेँ।
नमस्ते गर्दाको हात बनाएर त्यत्तिकै उठाइरहेर उसले ‘‘कहॉं हुनुहुन्छ हिजाज?’’ सोधेर मलाई ‘‘धेरै दिनपछि भेटियो,’’पनि भन्यो।
उसकी श्रीमतीको दुवै ओठ कामेको जस्तो मन्द हॉंस्यो। मासु भरिसकेका गालाहरू बिस्तारै हल्का राता भए। शब्दमा उसले केही भनिन।
मैले उसकी श्रीमतीको अनुहार पुन: अर्कोपल्ट हेरेँ। मभित्र तीन शब्दहरू मिलेर तत्कालै एउटा वाक्य गठन भयो—कत्ति छिट्टो फेरिएछ।
‘‘भाइ,’’ भनेर रोकिएर मलाई हेरेपछि आफ्नी श्रीमतीलाई हेर्दै उसले भन्यो, ‘‘तिमीलाई हेर्न सधैँ अस्पताल आउनुहुन्थ्यो।’’
सुनेर उसकी श्रीमतीका गाला अर्कोपल्ट राता भए। मैले उसकी श्रीमतीका मासुले भरिएको गाला र गालामा कुनै दिन यस्ता राता रङ्गहरू देख्छु भन्ने सोचेकै थिइनँ।
‘‘त्यति बेला याद गर्नै सकिएनँ,’’ मलाई नै नहेरेर मलाई भनी उसकी श्रीमतीले। मैले पहिलोपल्ट सुनेँ—उसकी श्रीमतीको सानो, सुरिलो र मिठो स्वर रहेछ।
‘‘यत्ति चॉंड़ै फेरिनुभएछ। स्वास्थ्य राम्रो भइहालेछ। केही दिनअघि केही नभएकै जस्तो।’’ मैले पहिल्यै बनिइसकेका तीनवटा शब्दलाई तन्काएर तीनवटा वाक्य बनाएर सत्य भनेँ।
श्रीमतीजस्तै ऊ पनि मुसुमुसु हॉंस्यो। उनीहरूका ओठका मुस्कानमा मैले बादलले ढाकिएको कालो आकाशबाट लगातार बर्षिएको वर्षापछिको त्यही आकाशबाट तिनै बादलहरू हटेर सफा भएको त्यही आकाशमा न्यानो उज्यालो घाम देखेँ।

कसरी-कसरी भइहालेछ ढिलै आज पनि। कुन्नि कसले ‘‘कति बज्यो होला?’’ बाटोमा सोध्यो। मैले गोजीबाट देब्रे हात निकाले। ल्याम्पपोस्टको पहेंलो मरक्युरी ग्लासदेखि आएको उज्यालोमा मैले पहिला आफ्नै डरलाग्दो पहेंलो नाड़ी, पहेंलो हात र पहेंलै हातका औँलाहरू देखेँ, त्यसपछि घड़ीको डायल, लामो कॉंटा पॉंचमा अनि छोटो कॉंटा नौमा पुगिसकेको।
भएको समय सुन्न उभिएर पर्खिरहेको कुन्नि कसलाई मैले ‘‘नौ पच्चिस’’भनेँ।
झाप्छ आजु पनि।—हिँड़्दै मनमनै मैले भनेँ।
***
पहिले-पहिले त मलाई कसैले पनि सोझै कुरा गरेनन्। उनीहरूको बाङ्गो कुरा पनि म स्पष्ट बुझ्दथेँ। तर कति दिन नबुझेको जस्तो भइरहेर जोगिएँ।
काका, मामा, माइजू, फुपू, छेमाहरू घरमा आइरहन्थे। माइजू सबैभन्दा अधिक आउँथी। त्यही विषयमाथि बहस शुरू भइहाल्थ्यो घरमा। यस कामको निम्ति ज्यादै तम्सिएकी थिई मेरी माइजू। माइजूको नजिककी अरे भन्ने मलाई थाहा भइसकेको थियो, यसैले उनी मलाई सबैले भन्दा अधिक तर अप्रत्यक्ष अनुरोध गर्थी। म अस्वीकारभन्दा अधिक असमर्थताको हॉंसो हॉंसिदिन्थेँ अनि निस्कन्थेँ घरदेखि।
‘‘एकपल्ट हेरिदिँदा के बिग्रिन्छ र? मामाले पनि भानिजलाई सम्झाउनु भन्नु भा’को छ। अब पनि भानिज मान्नु भएन भने हामी रिसाउँछौँ भानिजसँग।’’
फेरि उही असमर्थताको मुस्कान फैलिएकोे आफ्नै ओठ र गालामा म थाहा पाउँदथेँ।
‘‘भोलि जानुपर्छ। मामाले लिएरै आउनु भन्नु भा’को छ।’’ माइजूले भनेकी थिई।
‘‘एउटा काम पाइहालोस् पैला, त्यसपछि गरुँला नि बिहा। उसैसितै गरुँला बरू।’’ आफ्नो बचाउको निम्ति मैले माइजूलाई त्यस दिन पनि धेरैचोटि भनिसकेको यही वाक्य भनेँ।
सप्पैले, आमा र बाबाले पनि मभित्र मेरै मात्र स्वार्थका घना जङ्गल देख्दा हुन् भन्ने मलाई लाग्थ्यो। प्रतिज्ञा आवश्यक थिएन तर मैले निश्चय गरिसकेको थिएँ।— म विवाह गर्दिनँ। थोपा-थोपाजस्ता मसिना कारणहरू जमेर एक ढिकै मभित्र रहेको थियो।
‘‘हाम्रो भानिजले नबुझ्ने रै’छ घरको दु:ख,’’ आशा र निराशा सँगसँगै बोलेकी थिई माइजू।
उठेर म आफ्नो कोठामा गएँ। प्यान्ट झिकेँ। जिन्स खो हो सॉंच्चै तर अब त यो पनि खुइलिन थालेछ। घुँड़ा र फिला सेतो भइसकेछ, धेरैपल्ट धोइसकेकोले होला—लाग्यो। जुत्ता पलङमुनिबाट झिकेँ। कतिपल्ट सिलाइसकेँ मैले यो जुत्ता? सोचेँ—आवश्यकताको भेलमा म यत्ति लामो बगिसकेछु।
दुई-तीन वर्ष पहिलेदेखि नै म आफ्नो दयनीय अवस्थाको कारणद्वारा पोलिइन थालेको । हीनताबोधले मलाई त्यसै समयदेखि पिरोलिरह्यो। त्यसपछि त सधैँ मैले आफूलाई अरूहरूअघि निरीह पाएँ। साह्रै हीन अनुभव गरेँ। एक दिन रेष्टुरॉंको काउन्टरमा उभिएको सुबोधले आफ्नो गोजीदेखि ब्याग निकाल्यो। कति देखेँ थाहा छैन तर मिलाएर राखेका नोटहरू थुप्रै थिए त्यसको ब्यागभित्र। त्यसपछि निक्कै दिन म सुबोधलाई भेट्न गइनँ। त्योसित हिँड़िनँ। घुमिनँ। हीनभावनाका प्रबल छालहरू मभित्र वेगवान् भएर उर्लिरहे त्यसपछि।
काम पाएपछि पनि गर्दिनँ बिहा-सिहा। निश्चयजस्तै गरेको थिएँ त्यसै समय। थोरैमा पॉंच-6 वर्ष आनन्द गर्छु काम पाएपछि। यो अवस्थाको बद्ला लिन्छु। गर्न नपाएका, गर्न मन परेकाहरू सब गर्छु। किन्न नपाएका किन्न मन परेकाहरू सब किन्छु। लाउन मन परेका लाउन नपाएकाहरू सब लाउँछु। प्यान्ट, सर्ट, ज्याकेट, जुत्ता... सप सप। नयॉं प्यान्टको पछाड़िको गोजीभित्रको ब्यागभित्र मिलाएर थुप्रै नोटहरू म...। तर बिस्तारै-बिस्तारै पुन: म सामान्य बन्दै गएँ। इच्छाहरू आफ्नै भुल्दै गएँ। यति सत्य हो-हीनताबोधका विषयुुक्त सर्पहरू बेला-बेला मभित्र सल्बलाइरहे। विवाह नगर्ने नै पक्षमा थिएँ।
‘‘एक छिन बजार जान्छु,’’ माइजूलाई पनि हेरेर मैले आमालाई भनेँ।
‘‘जा, जा। मेनेजरको छोरासित मेनेजरकै छोराजस्तो भएर घुम्, अन्त आइज आधा रातमा।’’ आमाले माइजूको उपस्थितिमा त्यस दिन भनिन।
मैले कहिल्यै सुबोधमा म्यानेजरको छोरा देखिनँ। म्यानेजरको छोरापन कहिल्यै देखिनँ मैले सुबोधमा। त्यो मेरो निम्ति सुबोध थियो, हो। साथी थियो, छ।

‘‘साह्रै रफ् कुदाउँछ त्यो भाइले। हेल्मेट नभा मर्ने थिएछ।’’ अन्तमा भनेर हिँड़्यो ऊ।
कुन कुनचाहिँ एम्बासेडरले उठाएर अस्पताल पुर्याइदिएछ अरे। त्यो दाजुले ‘‘सदरमा, सेकेन्ड फ्लोर, ओल्लो कोठा, फिप्टिनाइन’’ भनेको सम्झँदै म सदर अस्पतालतिर हानिएँ।
घरकाहरू त्यसको पहिला देखेँ। नरेन्द्रलाई देखेँ। नजिक पुगेपछि त्यसको देब्रे हात र देब्रे खुट्टामा सेतो आलो प्लास्टर देखेँ। मान्छेको दाहिनेपट्टिका सम्पूर्ण अङ्गहरू प्राय: जोगिन्छन् यस्ता दुर्घटनाहरूमा—सोचेँ।
‘‘कॉं?’’ सोधेँ।
‘‘जोरबङ्गला उत्तापटि,’’ भनेर त्यसले ‘‘रेलको लिकमा स्लिप भएर,’’ भन्यो।
जोरबङ्गला उत्तापटिको डॉंड़ाको गोलाइमा रेलको लिकले रोड क्रस गरेको ठाउँ मेरो आँखामा आयो।
‘‘बाइक?’’ सोधेँ।
‘‘लिन पठा’को छु,’’ भन्यो सुबोधको बाबुले।

म घर पस्दा रात भएकै थियो। आमा पर्खिरहेकी थिइन् मलाई।
त्यसपछि प्रत्येक दिन म अस्पताल गएँ। नरेन्द्र पनि सधैँ आउँथ्यो।
एक दिन नरेन्द्रले मलाई भन्यो, ‘‘एकजना दाजुको मिसेस ल्याएको रै’छ, जाऊँ माथि।’’
हामी सिँढ़ी उक्लियौँ। त्यो अघि-अघि हिँड़्दै सिधै पर, पल्लै छेउमा जान हिँड़िरह्यो। पहिले पनि कतिपल्ट देखिसकेको ‘प्रसूति कक्ष’ त्यस दिन पनि देखेर पढ़ेँ। दोधार-दोधारमै म प्रसूति कक्षभित्र पसिककेको थिएँ।
सुतिरहेकी स्त्रीको पलङको खुट्टापटि बसेको पुरुषले नरेन्द्रलाई देखेर ‘‘ए भाइ! आउनोस्, बस्नोस् न’’ भनेर त्यही पलङमा अलिकति ठाउँ दिएजस्तो गरेर सर्यो।
नरेन्द्रले ‘‘ठिक छ, ठिक छ,’’ भन्यो अनि केही वरतिर उभिएको मलाई हेरेर ‘‘आइज न,’’ पनि भन्यो।
‘‘ठिकै छ’’ भनेँ मैले पनि तर उनीहरूतिर केही बढ़ेर।
‘‘यॉं चाहिँ?’’ पुरुषले सोध्यो।
‘‘साथी,’’ नरेन्द्रले भन्यो।
‘‘बस्नोस्,’’ फेरि ऊ पहिलेकै जस्तो बसेको ठाउँमा केही चल्मलायो।
‘‘होइन, ठिकै छ,’’ मैले भनिहालेँ।
कस्तो पहेंलो अनुहार? त्यसलाई अनुहार पनि कसरी भन्नु? दुवैपट्टि डॉंड़ा उठेको छ गालामा। हड्डीलाई छालाले बेह्रेको छ। मासु छ त्यहॉं भन्नै सकिँदैन। ओठहरूमा कालो कलेँटी परेको छ। ऐलेसम्म रोएका जस्ता आँखाहरू भित्र भास्सिएका छन्।
त्यस दिन हामी त्यहॉं 6-सात मिनटजति उभियौँ।
‘‘बॉंच्छ होला?’’ मलाई सोध्यो नरेन्द्रले सिँड़ी ओर्लँदा।
भनेँ‘‘कुनि’’म के जान्नु? कस्तो प्रश्न गरेको नरेन्द्रले।
‘‘म त पत्याइनँ,’’भन्यो त्यसले।
‘‘बिमार के हँ?’’सोधेँ।
‘‘डेलिवेरी, तर कुनि के भा’को सोध्नु पनि अप्ठ्यारो,’’त्यसले भन्यो।
सोधेँ, ‘‘नानी नि?’’ देखिनँ मैले त कि मर्यो?
‘‘भित्र राखेको छ अरे नर्सहरूले,’’ त्यसले भनेको सुनेर पनि मैले केही भनिनँ।
रात भएकै थियो म घर पस्दा। आमा सधैँजस्तो पर्खिरहेकी थिइन् मलाई।
‘‘भोलि जा अरे मामाकोमा,’’ आमाले भनिन्।
‘‘जान्नँ,’’ मेरो आवाज मेरै निम्ति रुखो थियो। आमाले केही भनिनन्।
‘‘बिहा गर्दिनँ भनेर कतिपल्ट भन्नुपर्छ मैले?’’ भनेर सोधेँ। यसको जवाब हुँदैन भन्ने मलाई थाहा थियो।
ओछ्यानमा पल्टिएको मेरो आँखामा त्यस रात लामो समयसम्म अस्पतालको ओछ्यानमा मृत्युलाई जित्ने सङ्घर्षमा थाकेर आत्मसमर्पण गरिसकेकी जस्ती लड़िरहेकी स्त्रीको रक्तहीन अनुहार आइरह्यो।
दुई-तीन दिनपछि नरेन्द्रसित फेरि म त्यहॉं गएँ। त्यसपछि जतिपल्ट म सुबोधलाई हेर्न गएँ, उत्तिपल्टै माथिल्लो तला चढ़ेँ। त्यस पुरुषसित कुनै सीमासम्म आत्मीयता बढ़ेको मैले अनुभव गरेँ।
‘‘स्वास्नीको खुशीहरूमा खुशी हुन सकिँदो रहेछ भाइ, तर स्वास्नीको दु:खमा स्वास्नीलाई भन्दा अधिक दुख्दो रहेछ,’’ मलाई उसको भनाइ उपन्यासको संवाजजस्तो लागेको थियो।
लामो समयसम्म एकाअर्कालाई प्रेम गरेपछि विवाह गरेका रहेछन् तिनीहरूले। ऊ आफू अनि आफ्नी स्वास्नीको बारेमा मलाई सबै स्पष्ट भन्न चाहन्थ्यो। म सन्दर्भ बद्लाउने सक्दो प्रयास गर्थेँ। बोल्दा-बोल्दै मअघि नै उसका आँखा रसिन्थे। लोग्नेमान्छे रोएको ज्यादै असुहाउँदो हुन्छ। रुन नसकेको लोग्नेमान्छेको अनुहार अझ असुहॉंउदो हुँदोरहेछ। लोग्नेमान्छेको आँखामा आँसु ज्यादै नसुहॉंउदोरहेछ।
उसकी स्वास्नीको स्वास्थ्यमा अलिकति पनि उन्नति थिएन।
त्यसपछि त झन् किन-किन स्त्रीप्रतिको मेरो विकर्षण बढ़्दै गयो। पहिल्यै कोरिएका स्त्रीहरू र ममाझको विकर्षणको रेखा अझ टड्कारो बन्दै गयो। मैले मेरा घरकाहरूको अनि आफन्तहरूको ‘‘बिहे गर’’-को अनुरोध र आज्ञालाई अस्वीकार र उल्लङ्घन गरिरहेँ। म एक्लो बॉंच चाहन्थेँ। कसैसित असम्बद्ध रहन चाहन्थेँ। मेरा अनेक सपना थिए। अपूर्ण इच्छा र आकाङ्क्षा प्रशस्त थिए मसित। आफ्नै इच्छा-आकाङ्क्षा र सपनाहरूले मलाई सधैँ थिचिरहेथ्यो। दोस्रो व्यक्तिको आफ्नै जस्ता इच्छा-आकाङ्क्षा र सपनाहरू पूर्ण गर्ने ममा साहस थिएन। खुशी राख्न सक्दिनँ लाग्थ्यो कुनै स्त्रीलाई पत्नीको रूपमा। दु:ख दिन चाहन्नथेँ म कसैलाई। विवाह गर्न म मान्दै मानिनँ। आमा, बाबा, मामा, माइजू, काका, फूपू, छेमाहरू हारे मसित।
सुबोध हात-खुट्टाको प्लास्टरसितै घर आइसकेथ्यो। एक दिन म अस्पताल गएँ। उसकी श्रीमती भएको बेडमा अर्को स्त्री देखेर चिसो फैलियो मेरो छात्तीभित्र।
‘‘यॉं एकजना बिरामी दिदी हुनुहुन्थ्यो,’’भनेँ।
केही नभनेर त्यहॉंको बिरामीसित बस्ने स्त्रीले मलाई हेरिरही।
‘‘तुङसुङको,’’ मैले भनेको सुनेर अर्को बेडकी स्त्रीले ‘‘लग्यो उनलाई त,’’भनी।
‘‘जाती भएर?’’ सोधिहालेँ।
‘‘हजुर’’ स्त्रीले भनी।
म निस्केँ त्यहॉंबाट। अस्पतालबाट बाहिर निस्कँदासम्म मैले केही सोच सकेकै थिइनँ।
आज कुन्नि को मान्छेले सोधेको समय बताएपछि मलाई ढिलो भएको हतार अझ जोड़ले लाग्यो। छिटो-छिटो हिँड़ेर म घर आएँ। आमा मलाई पर्खिरहेकी थिइन् आज पनि।
‘‘बाबाले खानु भो?’’लामो शून्यातापछिको आफ्नै स्वर मलाई बेसुर र बेढङ्गको लाग्यो। केही बोलेर त्यो वातावरणलाई सामान्य बनाउन के बोलूँ-बोलूँ हुँदै मैले यो सोधेको थिएँ। उत्तर मसितै थियो। आमा मौन रहिन्। रहिरहिन्। व्यर्थै सोधेछु मलाई लाग्यो।
‘‘सप्पैले खा’को?’’ फेरि मैले नै सोधेँ।
‘‘कसले पर्खिरहन्छ तँलाई आधा रातसम्म? तेरो बुढ़ी छ घरमा? आधा राततिर आयो... जैले पनि ... जैले पनि ... एत्रो भइसक्यो , बुढ़ी आमालाई...’’ आमाको स्वर कामेको थियो। मलाई हेरिनन् भन्दा आमाले। यही मौकामा मैले आमातिर हेर्नसकेँ। जिब्रोभरि एक प्रकारको अमिलो स्वाद फैलिसकेको थियो मेरो। पस्किदिएकी थालको भातमा धेरै बेरसम्म हात हाल्नै सकिनँ।
‘‘आजु पनि मामा-माइजू आउनु भा’कोथ्यो,’’ आमाले भनेको सुनेर मैले थालदेखि हटाएर आँखा आमामा पुर्याएँ। आमाका दुवै आँखामा आज पनि एउटा आग्रह थियो। आशा थियो।
आमाले अझ केही भनून् लागेर भातमा हात गाड़ेर मैले पर्खिरहेँ।
‘‘सकिन्जेल नगरेको होइन मैले। अझ पनि घोटिइरहेकै छु तर पनि तँलाई मेरो अलिकति पनि माया लाग्दैन हगि?’’ भनेर यसपल्ट पनि आमाले मलाई हेरिनन्।
मैले केही बोल्नै सकिनँ। छात्तीमा के हो ढक्क जमिहाल्यो। मायाको प्रदर्शन हुनै पर्दोरहेछ।—मलाई विश्वास भयो।
एउटा युवक युवक मात्रै, पुरुष मात्रै भएर बॉंच सक्तैन? छोरा, पति, पिता अरू पनि धेरै के-के भएरै बॉंचपर्छ एउटा युवकले? सोचिरहेँ। सोचिरहेँ। आमा छोरामाझ लामो चकमन्नता छायो।
यत्तिका दिनहरूपछि आज अचानक मैले सोच्दै नसोचेका दुईवटा कुरा भए।—
मैले भुलिसकेको तिनै स्त्रीलाई तर तिनको परिवर्तित शरीरसित भेटेँ।
विवाह गर्दै नगर्ने यतिन्जेलको आफ्नै निर्णयलाई तोड़ेर, माइजूकै नजिककी युवतीलाई विवाह गर्ने निर्णय नै गरेर आमालाई भनेँ—‘‘माइजूलाई म मान्यो भन्दिनू।’’

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 भाद्र, 2069

लेखकका अन्य रचनाहरु