पढ्नै पर्ने पुस्तक

- छविरमण सिलवाल

शहरको एउटा व्यवसायिक परिवारमा जन्मेका हुर्केका राजकर्णिकारले जीवनमा कहिल्यै आर्थिक समस्याको कठिनाई भोग्नु परेन । तर आफू पढ्न चाहने र दाजूहरू यसलाई पढाउनु हुँदैन भन्ने मानसिक पीडाले भने उनलाई कहिल्यै छोडेन । तैपनि असल काम गर्दा अवरोधको सामना गर्नु पर्छ भन्ने ज्ञान हासिल गरेका थिए प्यूखाटोलको पुुस्तकालयबाट । यस्ता अवरोधको सामना गर्दा गर्दै पनि पढेरै छोडे उनले । दिन रात केही नभनि अध्ययन गर्दै गए । हाल साहित्यसंगै बाबुले छोडेर गएको पेशालाई निरन्तरता दिदँै साहित्यमा निरन्तर लागि रहेका छन् । नियात्रा र संस्मरणहरूको पोका खोल्दै नेपाली साहित्यको भण्डारमा नियात्राका कोसेलीहरूले तृप्त बनाउने कोशिस गर्दैछन । साहित्य साधनाको लामो बाटो पार गर्नु छ भन्ने लाग्छ उनलाई । अविरल साधना, चाहना, इमान्दारी, अध्यवसायिताका साथ अगाडी बढेमा सफल लेखक बनिने कुरामा उनी ढुक्क छन् । “जीवनका सुख–दुःख, आशा–निराशा, आँसु–हाँसो आदिलाई खोतल खातल गरेर छलङ्ग पारी सबैमा चेतना ल्याई समाजमा रचनात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने कलात्मक रचना नै साहित्य हो,” जस्तोलाग्छ उनलाई । समाजलाई चेतनशिल बनाई अध्यारोबाट उज्यालो तिर लाग्नको लागि सर्जकलाई आव्हान गर्छन् । करिव एक दर्जन पुस्तकहरू प्रकाशित भैसकेका छन् उनका । र, भर्खरै “यात्रा अमेरिकाको माया नेपालको” यात्रा संस्मरण लिएर आएका छन् । विगतमा कथा, कविता र नाटकहरू लेखे पनि पछिल्लो समयमा नियात्रामा मात्र केन्द्रित रहेको छ उनको कलम । पाठक र शुभचिन्तकहरूले उनको नियात्रा बढी मन पराएकाले गर्दा नै उनी नियात्रामा केन्द्रित हुन पुगे । ‘आफूले यात्रा गर्दा देखेका ठाउँहरू, विषयहरू र भोगेका प्रसंगहरूबारे आफ्ना प्रतिक्रियाहरुसहित चाखलाग्दो तरिकाले इमान्दारीपूर्वक प्रस्तुत गरेको रचना हो । यसो गर्दा यसमा कथा, कविता, नाटक, प्रवन्ध, निवन्धका अंशहरू पनि समावेश हुन सक्छन् । साथै यसमा जीवनवादी तथा मूल–मान्यताका अंशहरू समावेश भई यसले पाठकहरूलाई केही सन्देश पनि दिइरहेको हुन्छ ।’ यस्तै सुन्दर विचार सम्प्रेषण गर्दै नेपाली साहित्यको नियात्रा विधामा रमाउँदै पाठकहरूलाई मनोरञ्नज दिइरहेका छन् ।
भर्खरै साहित्यिक वजारमा आएको उनको नयाँ पुस्तक “यात्रा अमेरिकाको माया नेपालको” यात्रा संस्मरणले पनि यस्तै सन्देश प्रवाह गरिरहेको छ । यसैले पनि उनका विचारलाई सान्दर्भिक ठानेर मैले यहाँ चर्चा गरेको हुँ । समाजलाई परिर्वतन गर्छु भनेर लाग्ने एउटा साहित्यकार आफैमा स्वच्छ,इमान्दार भएर सिर्जित हुनु जरुरी छ । यी गुणहरू उनका सिर्जनाहरूमा छताछुल्ल भएर पोखिएका छन् । २०६३ सालमा छोरी ज्वाई भेट्नको लागि लेखक अमेरिका पुग्छन् । यही भेट्ने क्रममा अमेरिकाका केही प्रान्तहरूमा घुमेर त्यहाँको हुवहुँ चित्र उतारेर पाठकसामु पस्किएका छन् । यो पुस्तक पढ्दा पाठक भ्रममा पर्दछन् म अमेरिका मै छु वा नेपालमा बसेर यात्रा संस्मरण पढिरहेको छु भन्ने । यो लेखकिय खुवी हो । आठ ओठा मूल शिर्षक र थुप्रै उप शिर्षकहरू रहेका छन् । अमेरिकामा पहिलो पटक, वाशिङ्टन, न्ययोर्क, बोस्टन, नायगराफल्स, ओसनसिटी, बाल्टिमोर र मेरिल्याण्ड आदि मूल शिर्षकसंगै लेखक घुमेका पनि यतिनै प्रान्तहरूनै हुन् । हुनतः धेरै ठूलो छ अमेरिका तैपनि लेखकले दुई महिना अमेरिका बस्दा घुन्न सकेका यी शहरहरूका विविधतालाई नेपालसंग दाज्ने प्रयास पनि गरेका छन् । तर त्यहाँको र यहाँको तुलना गरेर के सकिन्थ्यो र नाक खुम्च्याउँनु बाहेक केही थिएन, लेखकले ठाउ ठाउमा यस्ता कुराहरू कोट्याए पनि भौतिक विलासिताले निकै राम्रो भए पनि स्वर्गको सुखानुभूति त हामै्र नेपालबाट हुन्छ, भन्ने धारण नियात्रा भरि छरिएका छन् । त्यसैले पुस्तकको नाम पनि “यात्रा अमेरिकाको माया नेपालको” सान्दर्भिक रहेको छ । नेपाली राष्ट्रियता वा देशप्रेमप्रति उनको अगाध स्नेह झल्किएको छ । झन अमेरिक बस्दा र त्यहाँको विकास देख्दा मेरो नेपालमा कहिले यस्तो होला भनेर टोलाउछन् लेखक । यसै कारणले गर्दा उनले त्यहाँका विकासका नमूनालाई अत्यन्त सुचनाप्रद, रमणीय र रोचक यात्राका चित्रवत सम्झनालाई लेखकले यस पुस्तक मार्फत प्रस्तुत गरेका छन् । यस कारणले गर्दा पनि नेपाली पाठकहरूका माँझ “यात्रा अमेरिकाको माया नेपालको,” पुस्तक लोकप्रिय बन्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । साहित्य जीवनका लागि हो र जीवनबाटै साहित्यको सिर्जना हुन्छ । त्यसैले ती दुवैको एक अर्कासंग अभिन्न रुपमा अन्योन्याश्रित सम्वन्ध भइरहेको हुन्छ । इमान्दार, स्थापित साहित्यकार तथा नियात्राकारको रुपमा आफ्नो छवि बनाई सकेका राजकर्णिकारले स्वच्छन्द तरिकाले जीवन र जगतका विभिन्न पक्षमा विचरण गरी केही सन्देश, विचारधारा वा दृष्टिकोण कलात्मक ढंगले प्रस्तुत गरेर नियात्राको क्षेत्रमा अर्को आयाम थपिरहेका छन्, “यात्रा अमेरिकाको माया नेपालको” पुस्तक मार्फत । डिकुरा पब्लिकेशनद्धारा प्रकाशित प्रस्तुत पुस्तक अमेरिका जाने जो कोहीलाई पनि गाइडबुकको रुपमा पढ्नै पर्छ, भने अमेरिका नजानेहरुको लागि तथा अमेरिकाको बारेमा चासो राख्नेहरुको लागि निकै उपयोगी रहनेछ । पुस्तक भित्र ठाँउ ठाँउका व्यक्त गरिएक उखान टुक्काले यात्रा निवन्धलाई जीवन्त बनाएको छ । अमेरिकाका माग्नेहरूले माग्ने तरिका, त्यहाँका ऐतिहासिक स्थलहरूको वर्णन निकै राम्ररी प्रस्तुत गरेका छन् लेखकले । आफ्ना गन्थन मन्थन कतै भेटिदैनन् । यो लेखकको विशेषता हो । भविश्य पनि यात्रा निबन्धका अझै यस्ता गहन कृतिहरूको अपेक्षा गर्न सकिन्छ लेखकबाट ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 भाद्र, 2069

लेखकका अन्य रचनाहरु