जादुगरी डण्डा

- कृष्ण बजगाईं

एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।

यो कुरा त्यस राज्यका राजाले थाहा पाए । जादुगरलाई आफ्नै दरवारमा बोलाएर उनको कला हेर्ने रुची जाग्यो । बोलेर मानिसहरुलाई लट्ठ पार्न सक्ने वाक्कला र वाक् चातुर्यता देखेर राजा छक्क परे । अझ एउटा जादुको छडीले आश्चर्यजनक काम गर्न सक्ने उनको कला प्रति राजा नतमस्तक भए ।

त्यसपछि आफ्ना प्रजाका सम्पूर्ण समस्या समाधान गर्न उनलाई मन्त्री बनाए । राजाको यस्तो गुन बापत उनले आफ्नो जादुको छडी राजाको पाउमा समर्पण गरे । त्यसलाई राजाले राजदण्डको रुपमा प्रयोग गरे ।
जादुगर मन्त्री हुँदैमा सम्पूर्ण समस्या समाधान हुने कुरै थिएन । जादुगरी त उनको कला मात्र थियो । जसका माध्यमले आफ्नो पेट पाल्दथे ।

जनताका समस्या यथावत रहे । बिभिन्न तह र तप्का जनताहरु आफ्नो मागहरु पुरा गरियोस भन्दै दिनहुँ बिरोध जुलुस तथा सभा गर्न थाले । जनताका यस्ता माग देखेर मन्त्री चिन्तित भए । अनि जनताका सम्पूर्ण समस्या समाधान गर्न उनले पुलिसलाई डण्डा दिएर पठाए ।
साभार  शारदा मासिक काठमाण्डौं २०६४

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 पौष, 2064

लेखकका अन्य रचनाहरु