समर्पित

- नारायण तिवारी

 भ्रष्टाचारको माखे साङ्लोलाई तोड्न नसकेर एवं उनीहरूसितै कुममा कुम मिलाउन नसकेर, हारेर मैले नोकरी छाडिदिएँ । मैले आफ्नो स्वाभिमान र इमानलाई छाड्न नसक्दा मलिन हुने केटाकेटीहरूको अनुहार नोकरी छाडेपछि झन् मलिन हुने नै भयो । "खेतीपाती मै रमाउँछु बुझ्यौ, दुःखैको जिलो बरु मीठो बुझ्यो !" स्वास्नी र छोराछोरीलाई भनें । उनीहरू बोलेनन् । सिद्धान्ततः मेरो विचारसित उनीहरू सहमत भए तर 'खेतीपातीबाट गुजारा -' अहँ उनीहरू खुसी भएनन् ।

       एकदिन म सडकमा आफ्नै धुनमा एकछेऊबाट हिंड्दै थिएँ । अचानक मेरो छेऊमै किल्चिउँलाझैं गरी एउटा गाडी आएर रोकियो । म डराएँ र झन् छेऊ लागें । "ओ सज्जनजी ! चिन्नुभएन - जागिर के छोड्नु भयो, हामीलाई पनि बिर्सिदिने -" एउटा परिचित अनुहार गाडीबाट टाउको बाहिर निकालेर चिच्याउँदै थियो । पूर्ब परिचित सहकर्मी साथीको स्नेहयुक्त सम्बोधनले म झस्किएँ र खुसी भएँ । म सडकमा मिल्किएको मामुली मान्छे भइसकेको मान्छेसित पनि उस्तै सौहार्दता - हात हल्लाएँ ! मित्रता टुट्दैन, टुट्ने छैन- भनें । उनी हाँस्दै अघि बढे । कार हुइँक्याए । मेरो सकारात्मक सोचले यो सोच्नै सकेन कि उनले मसित स्नेह व्यक्त गर्न गाडी रोकेका थिएनन् । बरु मलाई हियाउन । मानौं भन्न गाडी रोकेका थिए- "महाशय ! देख्नुभयो इमानको हविगत - चाख्नुभयो नैतिकताको मीठो फल - चढ्न पाउनु हुन्छ सात जन्ममा पनि यस्तो चिल्लो गाडी -" नभए त गाडी रोकिसकेपछि कि आफू गाडीबाट उत्रिन्थे कि मलाई गाडीमा चढाउँथे- मेरो सकारात्मक सोचले यो पनि सोच्नै सकेन । तैपनि टाढा पुगिसकेको गाडी र मैले जागिर खाँदा कुममा कुम मिलाउन नसकेको मेरो त्यस भ्रष्ट साथीप्रति म पर्ूण्ा समर्पित हुँदै हात हल्लाउँदै थिएँ । भन्दै थिएँ- "माया नमार्नु होला ! बाटामा देख्दा बोल्नु होला .... ।"

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 पौष, 2064

लेखकका अन्य रचनाहरु