टुकुचाको किनारामा एक साँझ

- रमेश सायन

टुकुचा औधी धमिलो बगेको छ । म पुलैमाथि छु । सवारी साधनहरू, आफ्नो कडा हेडलाइटले मेरो अनुहार छामेर हतारमा दगुरिरहेका छन् । रात आफूलाई बैंशालु बनाउन हतारिरहेको छ । जसको प्रतिनिधित्व महानगरपालिकाले बन्ध्याकरण गरिदिएको भुस्याहा कुकुरको अन्तिम वंशले गरिरहेजस्तो लाग्छ । जुन घिनाउँदै टुकुचामा खसेको छ । बादलमा आफ्नो अनुहार लुकाउन नसकेकोमा अहिले जुनलाई बढो पछुतो लागेको हुनुपर्छ । मेरो शरीरबाट आइरहेको सेक्सी एपेक्स पर्फ्युमको गन्धसमेत टुकुचाले खोसेर आफ्नो अमिलो गन्धमा मिसाइसकेको छ । मेरो नाकले यो फोहोरी टुकुचाको गन्धसँग एकोहोरो युद्ध गरिरहेको छ ।
काठमाडौंको सिङ्गो सभ्यता चोभारको छिँडीबाट ओरालो खसालेर टुकुचा ओरालैओरालो बग्छ । गंगाको किनारमा नभनिदियोस् हाम्रो कठमाडौंको मकाएको सभ्यता । उता कतै नसम्झियोस् काठमाडौंको आफ्नो पूर्वरूप । मैले मनमनै टुकुचालाई अनुरोध गरे ।
अहिले सहरको सडक मेरो हो भन्दै हिँड्नेहरूको संख्या विस्तारै खहरे खोलोको रूपमा अगडि आइरहेको छ । जसले टुकुचालाई गाली गर्ने सही समय सम्झेर गर्वका साथ धित मर्नेगरी गाली गरिरहेका छन् । जसका आँखाले मलाई समेत एकै शैलीमा मिसाएर आफ्नै लाइनमा उभ्याउन भ्याइसकेका छन् । एउटा मान्छे खुट्टा लरखराउँदै मेरो अगाडि उभियो र लरबराएको आवाजमा मलाई भन्यो, “जीन्दगी रक्सी जस्तै स्वादिलो भैदिए दुनियाँले मेरो जिन्दगी पनि स्वादहरूको सूचीमा दर्ता गर्थे होलान् तर जिन्दगी सधैँ पिइसकेको खाली सिसी जस्तो मात्र भइरहन्छ ।” रक्सी पिएको बेला कहाँबाट आउँछ यसरी जिन्दगीसँग गहिरिने दर्शन ? म गम खान्छु ।
किन बोल्नु यो मान्छेसँग ?म केही बोलिनँ । ऊ आफ्नै सुरमा बोलिरह्यो । म टुकुचामा गन्ध सुँघ्न उभिएको यो रातको यो पुलमा । ऊ टुकुचामा गन्ध मिसाउन आएको हो । कारण फरक छ । तर ऊ पनि म जाने बाटोतिरै लरखराउँदै अगाडि लाग्यो । म भन्दा निक्कै पाको उमेरको यो मान्छे, जीवनको पठशालामा म भन्दा अब्बल दर्जाको हुनुपर्छ ।
म अघि नै घर पुग्नुपर्ने मान्छे । साँझतिर बाल्मीकि क्याम्पसमा भेट भएका सबै कवि मित्रहरू घर पुगिसकेका हुनुपर्छ । म पनि घरै जान्छु भनेर हिँडेको थिएँ । बीचैमा टुकुचाको पुलमाथि उभिने रहर लाग्यो । रहरको अगडि कसको के लाग्छ । यो रातमा यो पुलमाथि टोलाउनुको करण केही छैन ।
सरकारले सुरक्षा व्यवस्था रामै्र गरेको छ । महानगरपालिकाको प्रहरी बोकेको गाडी मेरो अगाडिबाट गयो । मलाई केही भनेन । यो लगभग दुई घण्टाको बीचमा त्यो रक्सी पिएको मान्छेबाहेक अरू कसैले पनि केही भनेको छैन सायद भन्नै पर्नेगरी असामान्य भएको छुइनँ, अहिलेसम्म । तर जरुर म अझै केहीबेर यसैगरी उभिरहेँ भने मलाई पुलिसले आफ्नै शैलीमा सोधपुछ गर्नेछ । झोला खनतलासी गर्नेछ र भर्खर पढिसकेको तर झोलाबाट निकालेर नथन्क्याएको लियो टल्सटायको सारै भद्दा र गज्याङमज्याङ पात्रहरूको लामो उपन्यास तर असाध्य सुन्दर ‘वार एण्ड पिस’ र लामा कविताहरूको सानो र सुन्दर किताब वैरागी काइँलाको ‘अन्धामान्छे र हात्ती’ भेट्नेछ । म यहाँ उभिनुको कारण सोध्नेछ । म कारणमा, टुकुचाको गन्ध र सहरको सभ्यता बुझ्न उभिएको हुँ भन्नेछु ।
सामुन्ने थोत्रा कपडा र पुराना बोराले आफ्नो शरीर छोपेर सडकको ल्यमपोष्टमुनि झोक्राई रहेको मेरै उमेर बराबरको जस्तो लाग्ने त्यो मान्छेकै हाराहारीमा मलाई बुझेर, पुलिसले चुपचाप छोडिदिनेछ । मलाई बेवास्ता गर्नेछ र कुनै केरकार गर्नेछैन ।
रातिको साढे दस बजेको छ । अब लगभग सडक सुनसान जस्तै भइसकेको छ । टुकुचाको किनारामा उभिएको घरको तेस्रो तलाको झ्याल खुल्यो मैले मान्छेको अनुहारै त देखिनँ तर एउटा प्लाष्टिकको पोको खस्यो र पानीमा आफ्नै लयको सङ्गीत बज्यो । त्यो प्लाष्टिकको पोको जुन र बिजुलीको उज्यालोमा मेरो आँखाको रेटिनाबाट टाढा बग्न नसकेर त्यतै किनारातिर अल्झी बस्यो । जसरी अल्झिएका छन्, स–साना सपनामा हामी नेपालीका लामा र पट्यार लाग्दा जिन्दगीका लाइनहरू । जसरी अल्झिएका छन् सरकारको हुटिट्याउँले आकाश थाम्ने उखानको योजना ।
म आफ्नै पारामा बगिरहेको छु । एकजना कवि मित्रको फोन आयो । मैले नढाँटी भनेँ “म टुकुचामा छु ।” उनले पनि नढाँटी भने, “म ठमेलमा छु ।” लगत्तै मलाई ठमेल आउने निम्तासँगै उनको रात्रिकालीन जीवनको ठेगाना दिए । तर मलाई घर जानु थियो । अब हल्लाखल्लामा मेरो मथिङ्गल बिथोल्नु थिएन, आउँदिन भनिदिएँ । टुकुचाको गन्धले मलाई एक तमासको तनाव दिइरहेको थियो ।
घरतिर लाग्दै गर्दा टाउकैमाथिको होडिङबोर्डले मेरो पैतला रोक्यो । हुन त यो सहरैभरि होडिङबोर्डै होडिङबोर्ड छ तर यो अमिता बच्चनको डाबर च्यावनप्रासको यो विज्ञापनिक बोर्डले मलाई लुते भइस् भनिरहेको जस्तो लाग्यो । मैले एकसरो आफ्नै आँखाले आँखाभन्दा मुनिको आफ्नो शरीर हेरेँ भ्याए । त्यसकै ठिक पारिपट्टी शाहरुख खानको फेयर एण्ड हेण्डसमको निक्कै ठूलो होडिङबोर्डले पनि मेरो कालो अनुहारलाई जिस्क्याएर भनिरहेझैँ लाग्थ्यो, “सायन समयको पासा पल्टा तँलाई कसैले पत्याउँदै यो टुकुचाको किनारामा, अब गोरो हो, तेरी प्रेमिकाको योग तँलाई हैन तेरो छालालाई प्रेम गर्ने परेको छ ।”
तर मैले यी कुनै विज्ञापनलाई टेरिनँ । खास वास्ता गर्न खोजिनँ र सरासर अगाडि लागेँ । यी मल्टिनेसनल कम्पनीले आफ्नो साम्राज्य कलिला टिनएजर्स्देखि पाकासम्म फैलाएका छन् । बलेसीदेखि चुलो र आँखाको नानीसम्म पुगेका छन् । हामी नेपालीलाई फकाइ–फकाइ आफ्नो व्यापारको शैली बोकेर यो सहरको छातिमा गर्वसाथ उभिएका छन् ।
लाग्छ यो टुकुचाको किनारमा समयको राजमार्ग आफ्नै गतिमा दौडन्छ । किनारामा सपनाहरू पनि सुकिलै उभिएका छन् । किनारमा एकाध फूलहरू पनि आफ्नै बैंशमा फुलेका छन् । यसको गन्ध नियमित जस्तो छ । बाह्रैमास एकै गन्ध हावाको पिठ्यूँ चढेर आकाशमा फैलन्छ । गन्धहरूको दर्शक नियमित निःशुल्क आउँछन्/जान्छन् ।
पोहोर साल जन्मेको बालकले आमा भन्न जानेको छ । आफ्नै पैतलाले भूगोल छामेर उभिने कसरतमा छ । समयको टुँडिखेलमा बादशाहको शालिक नाघेर घोडाहरू आफ्नै दौडमा छन् । तर बिचरा यो टुकुचा कहिल्यै सुकिलो बग्न सकेन । छाति फुलाएर सहरको सभ्यातामा उभिन सकेन ।
घण्टाघर ठिक समयमा बाह्र बजाउँछ, कुखुरो ठिक समयमा बिउँझन्छ, चराहरू ठिक समयमा गुँड फर्कन्छन् । वसन्त सालै पिच्छै ठिक समयमा आइपुग्छ । ठिक समयमा मुनाहरू हाँगामा देखिन्छन् । सबै ठिकठाक दुरुस्त छ । गमलामा गुलाफको फूल आफ्नै गतिमा फुल्यो, फक्रियो, आफ्नै गतिमा ओइलियो र झ¥यो ठिक समयमा आफ्नो बास्ना हावामा पठायो । म घर पुग्न लागेको छु तर टुकुचाको गन्धले रिङ्गटा लाग्ला जस्तो भइरहेको छ । टुकुचाको सभ्यताले बेसमारी मथिङ्गल बिथोलिरहेको छ । किन टुकुचा ठिक समयमा बिउँझन सक्दैन ? किन टुकुचा ठिक समयमा उठेर हिँड्न सक्दैन ? किन समयभन्दा पछाडि छ टुकुचाको सहरी सभ्यता ? किन टुकुचाको सङ्लिने धर्म बिथोलेर हामी शानसँग यो सहरको नाम जोडेर दौडन्छौँ ? म अहिले फनफनी घुमिरहेको छु, टुकुचाको गन्धसँग ।
पानी, असिना र हिउँको पुर्खा वाफ हो । उकालोको पुर्खा ओरालो हो र ओरालोको पुर्खा उकालो हो । हिउँदको पुर्खा वर्षाद् र वर्षाद्को पुर्खा हिउँद हो । एकको पुर्खा शून्य र दुईको पुर्खा एक हो । म सम्झन्छु यो टुकुचाको गन्धको पुर्खा धरहराझैँ उभिएको सहरको आधुनिक फोहोरी सभ्यता हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 1 भाद्र, 2069

लेखकका अन्य रचनाहरु