तिमी फेरी किन आयौ ?

- लिलाधर पन्त

कसैले चाल नपाउने गरी
नौलो अनुभव कतै नहुने गरी
पदचापको ध्वनी सुन्दै नसुन्ने गरी
पुरानै अनुहार बोकी शनैः शनैः
तिमी फेरी किन आयौ ?
भन तिमी भन्नु पर्छ
तिमी फेरी किन आयौ  ?

कतै कसैको निम्तो पायौ कि ?
यो धर्तीमा कतै केही गर्नु थियो कि ?  
सङ्गलो पानी भित्र तरङ्ग पैदा गर्नु थियो कि ?
 कालो बादल भित्र चट्याङ्ग पार्नु थियो कि  ?
फिरन्ते झैं घुमी घुमी आफ्नो रुप देखाई छाड्यौ
भन तिमी भन्नु पर्छ
तिमी फेरी किन आयौ   ?
 
रोए पनि हाँसे पनि हामीलाई ठिकै थियो
सोंचे जस्तो हुँदै भएन फेरी पनि ठिकै थियो
नयाँ नौलो सम्झनाले कष्ट हामीलाइ दिएकै थियो
बिर्सी सबै कथा व्यथा बाँच्ने प्रयास भएकै थियो
आलो घाउमा नुन छर्की छाती हाम्रो बल्झाई दियौ
फेरी पनि सम्झनामा नैराश्यता छाइदियौ
हुन्छ कि त केही भनि प्रतिक्षा चलेकै थियो
भन तिमी भन्नु पर्छ 
तिमी फेरी किन आयौ ?
कर्म सम्झी भविष्यको आशा बलिरहेकै थियो
कुर्दा कुर्दा आधा जीवन नीरसमा बितिगयो 
जिउनु मर्नु सवाल हाम्रो दिनचर्या के भो, के भो
कतै केही नसक्नेले किन तिमी कोशिस गर्यौ  
रुप रंङ्ग सबै उस्तै लिई तिमी किन आयौ  ?
भन तिमी भन्नु पर्छ 
तिमी फेरी किन आयौ ?
 
रुप रंङ्ग सजी सजाई नाटक गर जति सुकै
छम्छम् पाउ बजाउंदै नैालो बन जतिसुकै 
मन भित्र पस्न हाम्रो तिमी लाई निषेध छ
हुन्न नौलो जब सम्म रुप फेर्न कठीन छ
सडाई सक्यौ मन हाम्रॊ शरीर पनि गलाई सक्यौ 
छैन कतै नौलो आशा वर्ष पनि बदली  गयौ
भन तिमीले भन्नु पर्छ
तिमी फेरी किन आयौ ?
 
निराशाका नयाँ बर्ष तिमी जस्ता कति बिते 
कलकलाउँदो जवानी यो कोठा भित्र यसै सडे 
के का लागि आज फेरी दुनियामा छमछमायौ 
नयाँ नौलो केही छैन अंङ्क मात्र फेरी रह्यौ
नयाँ बर्ष भन्छौ तिमी खै तिमीले के गर्यौ  ?
रुप रंङ्ग सबै उस्तै लिइ तिमी किन आयौ ?
भन तिमी भन्नु पर्छ 
तिमी फेरी किन आयौ   ?

 बेल्जियम, ३१ डिसेम्बर २००७

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 पौष, 2064

लेखकका अन्य रचनाहरु