प्रायोगिक सन्दर्भ उत्तरआधुनिकतावादी चिन्तनका सापेक्षतामा

- आरुणि आचार्य

१.१. उत्तरआधुनिकतावादको परिचय
अङ्ग्रेजी पोष्टमोर्डन र नेपाली भाषाको उत्तरआधुनिकता शब्द पर्यायवाची शब्द हुन् ।१ यस उत्तरआधुनिक शब्दको अर्थ विभिन्न विद्वान्हरूले विाभिन्न किसिमबाट लगाएका छन् । कसैले यसलाई आधुनिकताको विरोधीको रुपमा स्वीकार गर्दै आधुनिकता समाप्त पार्ने वादका रुपमा स्वीकार गरेका छन्, भने कतिपयले आधुनिकताबाटै विकसित भएको प्रवृत्तिाका रुपमा स्वीकार गरेका छन्, तर कसैले अंशमात्र आधुनिकता र अरु नयाँ प्रवृत्तिा हो भन्ने धारणा राखेका छन् । उत्तरआधुनिक शब्दलाई कसैले निरर्थक शब्द, कसैले उदारवादी आन्दोलन, कसैले रढिवादी आन्दोलन र कसैले नवरुढिवादी आन्दोलनका रुपमा व्याख्या गरेका छन् । अतः उत्तरआधुनिकताको स्पष्ट रुपरेखा बनाउन गाह्रो छ । यसको अर्थ ठाउँ सभ्यता र संस्कृतिअनुसार भिन्नभिन्न रुपमा लगाउन सकिन्छ ।२ खासमा उत्तरअधुनिकताको सुरुवात कलाक्षेत्रबाट भएको हो । यसको प्रभाव विस्तारै समाज, संस्कृति, वास्तुकला, सङ्गीत, नृत्य, दर्शन, मनवशास्त्र, इतिहास, राजनीतिशास्त्र, मनोविश्लेषण र विज्ञान आदिमा पर्दै गयो । अनि जहाँ जोसित साँठगाँठ राख्न थाल्यो त्यस्तै प्रवृत्तिको भएर विकसित हुन थाल्यो । वास्तविक रुपमा यसको परिभाषा गर्न गाह्रो भएको विद्वान्हरूको धारण छ, तर पनि यसलाई चिनाउने प्रयास स्वरुप परिभाषामा बाँध्ने काम भइरहेकै छ । अनेक विषय र अन्तर्विषयको चेतना, उपभोक्तावादी संस्कृति, आई.टी.को अकल्पनीय विकास र त्यसको संसारमा मानवीय प्रवेश र विश्वव्यापीकरणका परिप्रेक्षमा यस वादको परिभाषा गर्दा केही मात्रामा भए पनि यससम्बन्धी धारणा स्पष्ट हुने विद्वत्वरको धारणा छ । मूल रुपमा आधुनिकताको उल्लङ्घन भएपछि मात्र यसवादले प्रवेश पाउँछ । सार्विकताका बिरुद्ध खण्डितता, एकत्व अनुभूतिमा भन्दा खण्डित र बहुल बिच्छिन्न अनुभूतिमा यसवादले विश्वास राख्दछ । तथ्यको सार्वकालिकतामा भन्दा तात्कालिकतामा यस वादको झुकाउ रहेको छ ।यस वादको दार्शनिक अधारमा पनि भिन्नभिन्न जोडी (सेट) नियमहरू लागु हुन्छन् ।३ उत्तरआधुनिकता एक छाता सङ्गठन हो । त्यस छाताभित्र विनिर्माणवाद, नारीवाद, नवइतिहासवाद, नवव्यवहारिकतावाद, नवमाक्र्सवाद आदि सिद्धान्तहरू पर्दछन् । खास गरेर ाधुनिकताको आरम्भ सालाखाला १९६०को दशकबाट भएको मनिन्छ । ज्याँ फ्रास्वाँ ल्योटार्ड यस वादका मुख्य प्रणेता मानिन्छन् ।सन् १९७९मा क्यानेडेली सरकारले पश्चिमेली अतिविकसित समाजमा ज्ञानको स्थितिबारे प्रतिवेदन तयार पार्न ल्योटार्डलाई नियुक्त गरेपछि उनले वर्तमान स्थितिको बोध गराउन उत्तरआधुनिक शब्दको प्रयोग गरी यसको व्याख्या गरेका छन् ।४ खास गरी माक्र्सवादी विचारधाराको विरोधीका रुपमा उत्तरआधुनिक शब्दलाई अथ्र्याउँदै आइएको छ । उत्तरआधुनिकताको एकसूत्रीय कार्यक्रम माक्र्सवादको विरोध गर्नु हो भन्ने माक्र्सवादीहरूको धारणा रहेको छ । आजकल उत्तरआधुनिक शब्दको अत्यधिक प्रयोग र दुरुपयोग पनि गर्ने गरिएको पाइन्छ । त्यसैले यस वादको परिभाषा गर्दा सकारात्मक र नकारात्मक टिप्पणीहरू उठ्ने गर्दछन् । उत्तरआधुनिकता के हो भनेर भन्दा पनि ‘के होइन ?’ भनेर भन्दा यसको स्वरुप र वास्तविकता स्पष्ट हुन्छ । यस विश्लेषणले पनि यसको स्वरुप नितान्त विरोधाभासपूर्ण रहेको छर्लङ्ग हुन्छ ।
उत्तरआधुनिकतावाद सांस्कृतिक परिघटनका विभिन्न क्षेत्रसित गाँसिएको छ— भवनकला,साहित्य,फोटोग्राफी,फिल्म,चित्रकारिता,भिडियोकला, नृत्य सङ्गीत र जताततै । सरसर्ती भन्दा यसले आत्मचेतन, आत्म विरोधाभास र आत्म सङ्कुचनको स्थितिमा आफूलाई राख्दछ । यसलाई हाइलाइट भन्दा ‘हाइलाइट’ निषेध भन्दा ‘निषेध’ र यसको बुझाई विडम्बनापूर्ण भन्दा ‘विडम्बनापूर्ण’ रुपमा बुझ्नु पर्दछ । ५
यस विश्लेषणबाट पनि के पुष्टि हुन्छ भने यो कुनै नियमसित सम्बन्धित व्यावस्थित सिद्धान्त होइन । न त यसको प्रवक्ता नै छ, न त सिद्धान्तवेत्ता नै । संक्षेपमा भन्दा यो वाद विविधतापूर्ण छ । खास गरेर उत्तरआधुनिकतावादका तीनवटा अर्थहरू विद्वान्हरूले लगाउने गरेका छन् ः (क) सौन्दर्यशास्त्रीय व्यवहारका सन्दर्भमा (ख) वृद्ध पुँजीवादको ऐतिहासिक परिस्थितिका सन्दर्भमा र (ग) सैद्धान्तिक र समालोचनात्मक परिप्रेक्षमा । साहित्यका सन्दर्भमा तेस्रो किसिमको अर्थ घटित हुन सक्दछ । निष्कर्षमा भन्दा १९७०को दशकमा युरोप र अमेरिकामा देखापरेको शून्यवादी सिद्धान्तमा आधारित वाद हो भ्रम, विनास, विखण्डन, र सर्वनासमा जोड दिनु यस वादको कृत्य हो ।


१.२. उत्तरआधुनिकताको दार्शनिक धरातल र यसका कारक तत्वहरू
अ) उत्तरआधुनिकताका कारक तत्वहरू६
क) पुँजीवदी सङ्कटमोचनको प्रक्रिया,
ख) दोस्रँे विश्वयुद्ध, हिटलरको अन्त र बौद्धिक निराशा,
ग) स्टालिनको मृत्यु र रुसी नव–संशोधनवादको उदय
घ) नव–वामपन्थी अराजकतावाद र युरोकम्युनिज्म,
ङ) फ्रान्सेली युवाजागरण र आन्दोलनको विसर्जन,
च) भियतनाम युद्धमा अमेरिकी पराजय,
छ) संशोधनवादविरुद्ध महान् बहसहरू र चिनिया महान् सर्वहारा सांस्कृतिक
क्रान्ति,
ज) सूचना सञ्चार तथा प्रविधिको क्षेत्रमा भएको विकास
झ) एशिया तथा ल्याटिन अमेरिकी देशहरूमा राष्ट्रिय तथा वर्गीय आन्दोलनको
विकास, उपर्युक्त कारणहरूले सकारात्मक र नकारात्मक दुवै पक्षलाई समेट्ने प्रयास गरेका छन् ।

आ) उत्तरआधुनिकताको दार्शनिक धरातल
उत्तरआधुनितावादले मानवश्रम, मनवीय मूल्य र गरिमाको निषेध गर्दछ । सस्युरको भाषावादी चिन्तनको सुरुवातपछि भाषाको अर्थ स्थिर हुन्छ भन्ने मान्यता प्रतिपादन भयो, तर त्यही सस्युरको विचारलाई काट्दै ज्याक डेरिडाले उत्क्रामक चिन्तन प्रस्तुत गर्न पुग्छन् । उनले भाषाको अर्थमा स्थिरता हुँदैन भन्दै सस्युरको विचार काटेका छन् । अनि भाषिक विनिर्माणको सुरुवातको घोषणा गरेका छन् । संसारमा भएका सबै कुराको अन्त उत्तरआधुनिकतावादको वास्तविक दार्शनिक धरातल हो ।
नित्सेले गरेको ईश्वर मृत्युको घोषणा नै उत्तरआधुनिकतावादी चिन्तनको जग बन्न पुगेको देखिन्छ । यस पछाडि मृत्युको घोषणा गर्ने होडबाजी नै चलेको पाइन्छ । रोलावर्थले लेखकको मृत्युको घोषणा गरे भने फुकुयामाले इतिहासको अन्त्य भएको दाबी गरे । ल्योटार्ड माहाख्यानको अन्त्यको घोषणा कर्तामा दरिए । त्यसैले ईश्वर, लेखक, महाख्यान, इतिहास सबैले आधुनिक कालमा सर्वोच्च स्थान पाएका थिए ।
पछि तिनीहरूको मूल्यको परिवर्तनसँगै आधुनिकताको अन्त्य र उत्तरआधुनिकताको उदय भएको हो, खासमा उत्तरआधुनिकता र अन्त्यको घोषणा नित्सेको निराशावादी दर्शनलाई सिङ्गार पटार गर्दै उसैलाई अर्को नयाँ ईश्वर घोषणा गर्ने चाल मात्र हो ।७ मान्दैन । प्रयोगगत नवीनता यस वादको विशेषता भएको हुनाले विधानिर्माणमा विधागत दूरीहरू हटाउँदै अन्तर्मिश्रणका माध्यमबाट नयाँ विधा वा विधा विहीनताको स्थिति सिर्जना गर्दछ । उच्च संस्कृतिका बिरुद्ध निम्न संस्कृति र पिछडा वर्गको पक्षपाती हुनु यस वादको खास विशेषता हो । उŒारआधुनिकतावाद एकत्ववादको विरोध गर्दै बहुत्ववादको स्थापना गर्ने वाद हो ।
यसले कुनै पक्ष, प्रक्रिया, पद्धति, दृष्टिकोण, शैली आदिलाई महŒव दिंंदैन र पुरानो परम्परा पनि तथ्य, कल्पना र स्वैरकल्पनाको मिश्रण गर्दै नयाँ वास्तविकताको उद्घाटन र नवीन लोकको सृष्टि गर्दछ । यस वादले इतिहासको अन्त्य भएको मान्ने हुनाले ऐतिहासिक तथ्य स्वीकार गर्दैन । प्राविधिक संस्कृतिको तीब्र विकासका कारण विश्वलाई गोलबद्ध गर्न सक्ने संरचना विकसित भइरहेको छ । फलस्वरुप उŒारआधुनिकताले विकसित हुने सुअवसर प्राप्त गरेको छ । सूचना—प्रविधि र साइबर संस्कृतिले पनि उत्तरआधुनिकताको विकासमा बल पु¥याएका छन् । यस वादले कृति–कृतिको एकआपसमा सम्बन्ध हुने कुरा बताउँछ । जसले गर्दा कृतिभित्र अन्तर्पाठात्मकता सिर्जना हुुन पुग्दछ । यस्तो विशेषताका कारण कृतिमा अरुपणको अवस्था सिर्जना हुन्छ । उत्तरआधुनिकता एक अस्थिर, अनिश्चय, विनिर्माणसँग सम्बद्ध एक अराजक क्वाँटी सिद्धान्त हो ।८ सामान्यतया उत्तरआधुनिकतालाई अझ राम्ररी बुझ्न आधुनिकता र उत्तरआधुनिकताका भिन्नता लक्ष्मणप्रसाद गौतमले यस्तो तालिकामा पेश गरेका छन् । जसको विवरण यहाँ बुँदागत रुपमा प्रस्तुत गरिन्छः९



क्र.सं.
आधुनिकतावाद----- उत्तरआधुनिकतावाद
१ बद्ध र बन्द- -------मुक्तरखुला
२ निश्चयात्मक------- अनिश्चयात्मक
३ निर्माण/निर्मिति- ------विनिर्माण/विनिर्मिति
४ क्रमिक/श्रेणिबद्धक्रम/ श्रृङ्खलित---- व्यतिक्रमिक/विश्रृङ्खलित
५ सार्वकालिक---- तात्कालिक
६ अनुशासित/नियमित----- अराजक/स्वच्छन्द
७ गहन/गम्भीर---- सतही/बाह्यपरिधीय
८ पठनसङ्केतित---- विपठनसङ्केतित
९ संश्लेषणात्मक/जोड---- विश्लेषणात्मक/व्यतिरेकी/भिन्न
१० पूर्णउत्पादनमूलक प्रक्रिया----- प्रदर्शनात्मक
११ प्रायोजित योजनाबद्ध----- संयोग/आकस्मिक
१२ केन्द्रित---- विकेन्द्रित
१३ विधा र सीमा----- पाठ र अन्तर्पाठ
१४ एकल/एकलता----- बहुलता/बहुत्व
१५ समग्र/समष्टि------ खण्डित /व्यष्टि
१६ इतिहासको गतिमयता/निरन्तरता---- इतिहासको अन्त्य
१७ लेखकीय अस्तित्व- -------लेखकीय मृत्यु
१८ राष्ट्रिय/अन्तर्राष्ट्रिय---- स्थानीय/विश्वव्यापीकरण
१९ सार्वभौमिकता परिवेश---- सापेक्षता
यस तालिकाबाट पनि के स्पष्ट हुन्छ भने आधुनिकताको विच्छेदन भएपछि उत्तरआधुनिकताले प्रवेश पाउँछ । उत्तरआधुनिकता बहुलवादी धारणा भएको हुनाले यसले अस्थिरता, अनिश्चयात्मकता र विनिर्माणमा विश्वास राख्दछ । आधुनिकतावाद परम्परित मूल्य, मान्यता, आदर्श र रुढिका बिरुद्धमा आएको ठूलो बिद्रोह हो भने उत्तरआधुनिकता आधुनिकताको पनि विद्रोह हो । यसरी उत्तरआधुनिकतावादको वैचारिक पक्षर विकासको पृष्टभूमि आफैंमा विविधतापूर्ण छ । यसको स्वभाव क्वाँटी किसिमको छ ।
उत्तरआधुनिकतावाद नित्सेको अतर्कबुद्धिवाद– शून्यवाद केन्द्रित भएर पनि यसमा हाइडेगरको अस्तित्ववाद–भाष्यशास्त्र, हर्सलको आभासवाद, फ्रेन्कफर्ट सम्प्रदायको निषेधात्मक द्वन्द्ववाद, नवप्रत्यक्षवादी बहुलवाद, जेम्सको वस्तुहरू आफैंमा पूर्ण भन्ने सिद्धान्त, विटगेन्स्टाइनको भाषा विश्लेषण, सस्युरको अर्थ भिन्नताको सिद्धान्त आदि सबैको सामूहिक घोलको रुपमा रहेको छ । त्यसै गरी डेनियल बेलको विचारधाराको अन्त्य, फुकोयामाको इतिहासको अन्त्य, रोला वार्थको लेखकको मृत्यु, मिसेल फुकोको पाठकको मृत्यु,का साथै प्रोक्ति र शक्तिको सिद्धान्त, ज्याक डेरिडाको पाठखेल र विनिर्माण, ल्योटार्डको महाख्यानको अन्त, बड्रिलार्डको छलनको सिद्धान्तआदि सबैको घोल उत्तरआधुनिकतावाद हो ।१०
यसरी हेर्दा आजसम्म आइपुग्दा समालोचनाका तीनवटा रुप भेटिन पुग्छन् ः परम्परित समालोचना, आधुनिक समालोचना र उत्तरआकुनिक समालामेचना । परम्परित समालोचनाले एउटा कृतिमा आड लिई कृति र कृतिकारलाई हेर्दछ भने आधुनिक समालोचनाले केन्द्रको आड लिएर पनि वस्तुगततातिर झुकाउ राख्दछ, तर उत्तरआधुनिक समालोचनाले केन्द्रको आड नलिइकनै बहुलतातिर झुकाउ राख्दछ । अतः आजको सामालोचना एकोन्मुख नभई बहुलता उन्मुख रहेको छ । जसलाई निम्नलिखित चाटमा देखाउन सकिन्छ ः
आधार
सामालोचना जीवनीरव्यक्तिपरकता,
केन्द्रको प्रमुखता कृतिपरकतारकेन्द्रर
वस्तुगतता पाठकीयतार
केन्द्रभञ्जन
परम्परित
समालोचना
+


आधुनिक समालोचना —
+

उत्तरआधुनिक
समालोचन


+
स्पष्टीकरण
१) परम्परित समालोचना जीवनीपरक थियो,व्यक्तिपरक र केन्द्रको प्रमुखता थियो ।
२) आधुनिक समालोचना कृतिपरक छ,केन्द्रका आडमा पनि वस्तुगततातिरको झुकाउ राख्छ र एकोन्मुख छ ।
३) उत्तरआधुनिक समालोचनामा पाठकीयता हुन्छ, केन्द्रभञ्जन हुन्छ र बहुलोन्मुृख वा बहुलवादिता हुन्छ ।११
संक्षेपमा भन्दा सन् १९७०को दशकपछि युरोप र अमेरिकामा देखापरेको शून्यवादी सिद्धान्तमा आधारित विनास, विखण्डन, विभ्रम,सर्वनास, भ्रम र बहुलट्ठीपनमा आधारित सिद्धान्त हो उत्तरअधुनिकतावाद । यसले व्यक्तिपरक सालोचना र कृतिपरक समालोचनाका केन्द्रका बिरुद्ध पाठकीयता, केन्द्रभञ्जन र बहुलोन्मुख समालोचनामा विश्वास राख्दछ ।


१.३. प्रायोगिक सन्दर्भः उत्तरआधुनिकतावादी चिन्तनका सापेक्षतामा
उत्तरआधुनिकताको खास विशेषता विखण्डन गर्नु हो । यो शून्यवादी दर्शनसँग सम्बध राख्ने वाद हो । यस वादले शून्यतालाई स्वीकार गर्दछ । समाज, विचार, मानवीय गतिविधि र प्रबोधनात्मकताप्रति उत्तरआधुनिकतावादको ठूलो विमति रहेको देखिन्छ । यसले समाज, इतिहास, सिर्जना सबैकुरालाई शून्यताको निर्जन टापुमा लगेर छाडेको छ । समय फेरिएको नाम लिएर यथार्थप्रति घोर नकारात्मकता राख्दै सम्भ्रान्त वर्गका बौद्धिक थकानको विश्रामस्थल बन्न पुगेको छ । यसबाट के पुष्टि हुन्छ भने उत्तरआधुनिकता अव्याख्येय सिद्धान्त हो, तर पनि अव्याख्येयको पनि व्याख्या गर्नै पर्ने हुन्छ ।

१.३.१.विनिर्माण र प्रयोग
उत्तरआधुनिकताको एक शाखा विनिर्माण वाद हो । यसवादले भाषाखेललाई साहित्य मान्दछ । सम्पूर्ण लेखलाई भ्रम ठान्दछ । बहुअर्थीपन र विपठनमा नै कृतिको उच्चता रहने ठान्दछ । यसले यथार्थ र परम्परालाई उत्क्रमण गर्न चाहान्छ, र विस्थापन र स्थनापन्नलाई नै वस्तुको गुणवत्तामा परिणत गर्दछ । यसैले प्रयोगात्मक साहित्यमा भाषाका विभिन्न सम्भावनाहरू औल्याइएको हुन्छ । भाषालाई भाँचकुच पारेर वा आन्चलिकताको आँचल पहि¥याएर साहित्यामा प्रयोग गरिन्छ । विनिर्मँणमा विस्थापन र केन्द्र भङ्ग गर्दै पुरानो मान्यतालाई अस्वीकार ग®ी नयाँ ढङ्ग र ढाँचा दिने प्रयास गरिन्छ । यसरी प्रयोगले भाषालाई प्रयोग गर्छ र नयाँ सिर्जना गर्छ, तर विनिर्माणले भषालाई उल्टै खेलका रुपमा स्वीकार गर्दै विनिर्माण गर्दछ । १२

१.३.२. अन्यताको सिद्धान्त र प्रयोग
कुनै बद्धप्रणालीका विपरीत रहेको तत्व अन्यता हो । प्राय उत्तरआधुनिक समयका सबै दार्शनिक, धर्मशास्त्री, मनोवैज्ञानिक एवं साहित्यकारसँग यसले सम्बन्ध जोर्दछ । अन्यताको स्पष्ट परिभाषाको अभावमा जातिवाद, लिङ्गवाद, वंशहत्या जस्ता समस्याहरू देखिएका थिए । त्यसैले आजका विचारकहरू अन्यताको समस्याबाट सचेत भएका छन् र अन्यतालाई नजिकमा ल्याएर अन्यप्रति बढी सहिष्णु र धैर्यशील हुनुपर्छ भन्ने धारणा विकसित गरिएका छन् ।१३
अन्यता बद्धप्रणालीका विपरीत रहे झैं प्रयोगात्मक साहित्यले पनि पुरानो बद्धप्रणालीलाई मान्दैन । केही न केही भए पनि नवीनता दिने प्रयत्न गर्दछ ।

१.३.३. अनुपस्थिति र प्रयोग
उपस्थितिको विपरीत स्थिति अनुपस्थिति हो । पाश्चात्य दर्शनहरूमा उपस्थितिको विरोध स्वरुप अनुपस्थितिको अवधाारणा आएको मानिन्छ । मार्टिन हाइडेगरको कुनै कुरा त्यहाँ उपस्थित हुनुको तात्पर्य त्यहाँ ‘अनुपस्थिति’ पनि लुकिरहेको हुन्छ,अनुपस्थितिबेगर उपस्थिति सम्भव छैन, भन्ने धारणाले पुराने मान्यतालाई अमान्य ठान्दछ । उपस्थिति नै मौलिकता हो र पूर्ण हो भन्ने तथ्यलाई असत्य सिद्ध गर्दछ । यसरी उत्तरआधुनिक परिवेश र परिभाषाले उपस्थितिको मिमांसालाई उल्ट्याइदिएको छ । यसै अनुपस्थितिको अवधारणाले साहित्यमा विषयपरकताको आलोचना गर्दछ । विनिर्माणको तर्कलाई सत्य सिद्ध गर्दछ । अनि परम्परित ‘पूर्ण’ वा ‘ईश्वर’ का सट्टा अपूर्ण र अनीश्वरको मान्यतालाई बल दिन्छ । यही अनुपस्थितिको दर्शनले नित्सेको ‘ईश्वरको मृत्यु’ घोषणा बुझ्न गहिरो अर्थ प्रदान गर्दछ ।१४ अनुपस्थितिले पुरानो पूर्णतालाई भङ्ग गर्ने र प्रयोगले पनि परम्पराको विरोध गर्ने अनि नयाँनयाँ टेक्निकमा उपयोग गर्ने हुँदा प्रयोगात्मक प्रवृत्ति र अनुपस्थितिकाबीच नजिकको सम्बन्ध देखिन्छ ।
ज्याक डेरिडाले पनि यही अनुपस्थितिको सिद्धान्तलाई समातेर आफ्ने दर्शन सथापित गरेको मानिन्छ । भाषाले सङ्केतित वस्तु र विचारको समग्रतालाई आंशिक रुपमामात्र समेट्छ, पूर्ण रुपमा होइन भन्ने उनको धारणा रहेको छ । यस प्रकारले अनुपस्थितिको अवधारणा भविता, ईश्वर र वस्तुताका समस्त सोचको केन्द्रक हो । यो उत्तरआधुनिक साहित्य कला, समालोचना, सङ्गीत आदि बुझ्नका लागि अपरिहार्य साधन हो ।१५ अतः प्रयोगात्मक साहित्यमा भाषाको पनि नयाँनयाँँ प्रयोग हुन्छ त्यसैले अनुपस्थितिको सम्बन्ध नजिकको छ ।


१.३.४. अनुरूपण र प्रयोग
अनुरूपण भनेको कुनै प्रक्रिया वा प्रणालीको नक्कल गर्दै उस्तै लाग्ने गरी पुनरुत्पादन गर्नु हो । अनुरूपणले कुनै प्रक्रिया वा प्रणालीको प्रतिनिधित्व वा मोडेलको निर्माण गर्दछ । साहित्यमा अर्का सर्जकको अनुरूपण वा नक्कल गर्ने र पुनर्लेखन गर्ने काम भई नै रहन्छ ।१६ उपन्यासमा विभिन्न विधा मिसाउनु, केहीकुरा भन्नका लागि खालि ठाउँ छोड्नु प्रयोग र अनुरूपण दुबै हो । कृतिको पुनर्लेखन गरेर सच्याउने काम वा अर्को कुनै कृतिजस्तो गरेर कृति सिर्जना गर्नु अनुरूपण हो ।

१.३.५. खेल(प्लेइ) र प्रयोग
‘खेल’ शब्दले साहित्यका सन्दर्भमा परम्परित शारीरिक क्रियाकलापसम्बन्धि अर्थ नदिएर ‘शब्दको खेल’ भन्ने अर्थ दिन थालेको छ । शब्दले वा विचारले घुमाएर नवीन अर्थ उत्पन्न गर्ने प्रक्रिया साहित्यिक ‘खेल’ हो । नित्सेले घोषणा गरेको ‘ईश्वरको मृत्यु’ शब्दखेलको प्रयोगले अर्थात् विचार—दर्शनको प्रयोगले अर्थपूर्ण भएको छ ।१७ अतः सहित्य लेख्नु पनि शब्द—शब्दसँग खेल खेल्नु हो । शब्दको खेल खेल्दा र विचारको खेल खेल्दा नै नयाँ अर्थहरू उत्पन्न हुन्छन् । उत्तरआधुनिक शैलीकै भाषा खेलमा लाक्षणिकता, श्लेष, वर्ण विपर्यय, परोक्ष सङ्केत, नयाँ शब्द उत्पादन, शाब्दिक नयाँ अर्थ प्रतिपादन आदि साहित्यिक खेल हुन् । यसरी भाषिक खेल खेल्दा नयाँनयाँ प्रायोग त भइ नै रहन्छ ।

१.३.६. विखण्डन, विसर्जन, विच्छिन्नता र प्रयोग
उत्तरआधुनिकतावादी चिन्तनमा शङ्का, अनिश्चय, वितृष्णाका र शून्यताका साथै असन्तुलन, टुक्राटाक्री, असङ्गठिता अराजकता, असमानता, अनेकता जति भयो त्यति नै सुखद र ठीक मानिन्छ । उत्तरआधुनिकतामा एउटा पदावली चर्चित छ चकनाचुर र सनक । यस वादले वस्तुहरूबीच सामाजिक दृष्टिले समाज र मानव जीवनबीच जति बेमेल, भद्रगोल र असम्बद्धता हुन्छ त्यति नै ठीक मान्दछ । जसले जे जसरी सोच्छ, विचार गर्छ, मन पराउँछ, गर्छ, त्यसरी नै स्वतन्त्रता दिनु उत्तरआधुनिकता हो । त्यसलाई नै उत्तरआधुनिकताले ठीक मान्दछ । अर्थात् प्रमाणिक सन्दर्भ, अर्थ, तर्क, विवेकजस्ता कुराहरू उत्तरआधुनिकतामा निरर्थक कुरा हुन् ।
यस अर्थमा उत्तरआधुनिकतावाद राजनीतिक दृष्टिमा प्रतिक्रियावादी र दार्शनिक दृष्टिले फाँसीवादी चिन्तनलाई सहयोग पु¥याउने दर्शन ठहर्छ ।१८ यसरी साहित्य र कलातर्फ यस वादले जनविरोधी र मानवीय मूल्य विरोधी भावना र चेतनाको विस्तार गर्दछ । अनि उपभोक्तावादी संस्कृतिलाई सहयोग पु¥याउँछ । यस वादको अर्थ व्यक्तिवाद, मनपरीवाद, प्रामाणिकताको अन्त पनि हो । उत्तरआधुनिकताले यसैलाई पछ्याएर समाज र सामाजिक चिन्तनलाई फटेर टुक्राटाक्री भएको सिसा सँग तुलना गर्दै यसैअनुरुप हेर्न वा बुझ्न जोड दिन्छ । यसरी विखण्डन, विसर्जन र विच्छिन्तालाई उत्तरआधुनिकताले महŒव दिएझैं प्रयोगात्मक प्रवृत्तिले पनि साहित्यमा असङ्गठन, असमानता र टुक्राटाक्री अदिलाई जोड्ने असफल प्रयास गर्दछ ।


१.३.७. सामजिक व्यवस्थित सम्बन्धविरुद्ध अराजकता र प्रयोग
उत्तरआधुनिकतावादी सिद्धान्तले दर्शन, सत्य, झूठ, समाज, यथार्थ केही पनि छैन, जताततै भद्रगोल, अस्तव्यस्तता र नमिलेको मात्र छ, भन्ने कुरामा विश्वास राख्दछ । तर सबैभन्दा बढी भ्रमको दर्शन पिट्ने सिद्धान्त पनि यही मानिन्छ । तर्क, कारण, विवेक र उद्देश्यलाई अस्वीकार गर्ने यस सिद्धान्तले जताततै विमर्शमात्र देख्दछ । उत्तरआधुनिकतावादीहरू उत्पादनका सामग्रीलाई पनि ‘स्कर्सिभ कन्स्ट्रक्सन’ भन्दछन् । उनीहरू दर्शनलाई पनि ‘मेटा डिस्कर्सिभ’ मान्दछन् ।१९ समाजले नीति र नियमलाई खोज्ने भएकाले उत्तरआधुनिकताले समाजलाई अस्वीकार गर्दछ । समाजले सत्य र यथार्थलाई प्रमाणित गर्दछ । त्यसैले यो वाद अनुमानमा आधारित हुन्छ । अतः उत्तरआधुनिकताले नियम, पद्धति, नैतिकता र तर्कलाई आफ्नो बाटाका पर्खाल ठान्दछ । यस वादको सम्बन्ध अराजकतासित,ध्वंससित र शून्यवादसित गाँसिएको छ । दादावादमा अराजकताको पराकाष्ठा थियो तर समाजको निषेध थिएन बरु समाज कारक तŒव थियो । अस्तित्ववादमा पनि ‘म’ पूर्ण थियो मान्छे निषेधित थिएन ।२० अतः उत्तरआधुनिकतावादले सबै व्यवस्थालाई अस्वीकार गर्ने हुनाले प्रयोगसँग यसको निकटता देखिन्छ ।


१.३.८. प्रतिकृति र प्रयोग
प्रतिकृति भनेको सादृश्य वा पुनरुत्पादन हो । यसलाई अङ्ग्रेजीमा सिम्युलेक्रम भनिन्छ । समकालिक साहित्यिक प्रयोगमा सिम्युलेक्रमको अर्थ बिम्बप्रतिबिम्ब वा सादृश्य भन्ने हुन्छ । कुने कुरा हो कि, हो कि, जस्तो लाग्ने, साम्यता र प्रतिनिधित्व जस्तो देखिने नक्कल नै प्रतिकृति हो । उत्तरआधुनिक सिद्धान्तमा प्रतिकृतिका कम्तीमा तीनवटा सिद्धान्त स्थापित भएको पाइन्छ । स्वेच्छाले गरिएको साहित्यको चित्रात्मक प्लाष्टिकको पुनरुत्पादन हो । जसले आत्माको अदृश्य आवाज अर्थात् पीरलाई सादृश्यमा उतार्दछ ।२१ तर यस्तो किसिमको नक्कल छायाभास मात्र हो । छायाभास र प्रतिकृति अहिलेको साहित्यले जोडतोडका साथ प्रयोग गरेका सिद्धान्त मानिन्छ । पुनरुत्पादनको प्रक्रिया प्रयोगकै नमुना भएको हुनाले प्रयोग र प्रतिकृतिबीच तादात्म्यता देखिन्छ।

१.३.९. पुनः संयोजन र प्रयोग
पुनः संयोजन भनेको अङ्ग्रजीको ‘प्यास्टिस’ शब्दको अर्थ आउने पदावली हो । नेपालीमा अनुकरण शब्दसँग यसको अर्थ मिल्न गएको देखिन्छ । इतिहासका सर्जक कलाकारको कृतिको अनुकरण प्याष्टिस हो । इतिहासको स्वीकृति जनाउनुका साथै त्यसलाई उल्टाउनका लागि उत्तरआधुनिक टेक्निक(तरिका)का रुपमा प्यस्टिस र प्यारोडीको प्रयोग गरिन्छ । यस्तो प्रक्रियामा इतिहासलाई तत्कालिक आख्यान जस्तो ठानिन्छ र त्यसको पुनः संयोजन हुन्छ । जेमसनले ‘प्यास्टिस’लाई सकारात्मक दृष्टिकोणले अवलोकन गर्छन् भने जँ बोद्रियारले सदृशता शब्दको प्रयोग गरेर प्यास्टिसमा अझ गहिरो अर्थ थप्नेकाम गछन् ।२२ वास्तवमा बोद्रियारको सदृशता भनेको अघिको कला, साहित्य,रङ्गजस्ता कर्मको यस्तो प्रतिलिपि हो । जसमा कुनै मौलिकता रहेको हुँदैन बजारमा उपलब्ध बुद्ध र कृष्ण भगवान्को वा फोटो जस्तै हो । जमसनको पुरातन सँस्कृतितिर फर्कनुको तात्पर्य इतिहासको पुनरारम्भ होइन, बरु मानवभित्र रहेको इतिहासतिर फर्कने इच्छा मात्र हो । नेपालका सन्दर्भमा उत्तरआधुनिक चिन्तनका तीन धार देखिएका छन्ः पहिलो सकारात्मक वा पक्षधार, दोस्रो नकारात्मक वा विपक्षधार र तेस्रो मध्यमार्गी धार ।
पहिलो धारमा गोविन्द भट्टराई लगायतका समालोचकले उत्तरआधुनिकताको घोर प्रशंसा गरेका छन्, भने दोस्रो धारका माक्र्सवादी समालोचक ऋषिराज बरालले खुङ्खार विरोध गरेका छन् । उनले उत्तरआधुनिकतालाई बृद्ध पँुजीवादको उपज मान्दै क्वाँटी सिद्धान्तका रुपमा पेश गरेका छन्, तर लक्ष्मणप्रसाद गौतम र सञ्जीव उप्रेती जस्ता समालोचकले मध्यम पथ अगाँली उत्तरआधुनिकताका सकारात्मक र नकारात्मक दुवै पक्षको राम्रो व्याख्या विश्लेषण गरेका छन् । वास्तवमा कुनै पनि सिद्धान्त वा मान्यताका सकारात्मक र नकारात्मक पक्षहुने हुनाले तटस्थ रहेर त्यसका गुण अवगुण केलाउनु नै समालोचनात्मक धर्म हो । खास गरेर व्यक्ति र समाजलाई दिइएको असाधारण स्वतन्त्रता उत्तरआधुनिकताको राम्रो पाटो हो, भने अराजकता र गञ्जागोल नराम्रो पाटो हो । वर्तमान परिप्रेक्षमा युगीन जटिलताहरू व्याख्या विश्लेषण गर्न यो मान्यता सहयोगी सिद्ध भएको हुनाले समालोचकहरू यसतर्फ आकर्षित भएका छन् ।त्यसैले उत्तरआधुनिकताको अन्ध भक्त भएर त्यसकै गुणगानमा समय खर्चनु ठीक होइन र धारे हातलाएर गाली गर्नु पनि ठीक होइन । अतः गुणात्मक र ऋणात्मक पक्षको यथोचित व्याख्या विश्लेषण गर्नु नै बुद्धिमत्ता ठहर्छ ।

सन्दर्भग्रन्थसूची
१. गोविन्द भट्टराई, ‘उत्तरआधुनिक विमर्श’, (कठमाडौः मोर्डन बुक्स,२०६४) ।
२. मोहनराज शर्मा र अन्य,पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’, (काठमाडौंः विद्यार्थी पुस्तक भण्डार
भोटाहिटी,२०६१)पृ.३५३ ।
३. गोविन्दराज भट्टराई, पूर्ववत् ।
४. मोहनराज शर्मा र अन्य, पूर्ववत्,पृ.५५४ ।
५. ऋषिराज बराल, ‘उत्तरआधुनिकतावाद र समकालीन यथार्थ’, (काठमाडौंः प्रगतिशील साहित्य
अध्ययन केन्द्र,२०६३), पृ.२४ ।
६. ऐजन, पृ.१४ ।
७. ऐजन पृ.१५ ।
८. ऐजन,पृ.२७ ।
९. लक्ष्मणप्रसाद गौतम, ‘नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना’, (काठमाडौंः ओरिएन्टल
पब्लिकेसन हाउस प्रा.लि.,२०६६) पृ.२२ ।

१०. ऋषिराज बराल, पूर्ववत्, पृ.२७ ।
११. लक्ष्मणप्रसाद गौतम, पूर्ववत्, पृ.३६ ।
१२. मोहनराज शर्मा, पूर्ववत् ।
१३.गोविन्दराज भट्टराई, पूर्ववत्,पृ.४६ ।
१४. ऐजन,पृ.४७ ।
१५.ऐजन ।
१६. ऐजन ।
१७. ऐजन, पृ.५२ ।
१८. ऋषिराज बराल, पूर्ववत्, पृ.४२ ।
१९. ऐजन, पृ.४३ ।
२०. ऐजन ।
२१. गोविन्दराज भट्टराई, पूर्ववत्,पृ.५३ ।
२२. ऐजन ।
















प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 श्रावण, 2069

लेखकका अन्य रचनाहरु