म एक अर्धनारीश्वर महादेव

- सन्जु बजगाईं

जून र तारा
चम्किएको सगर
अमिलो मन

जिन्दगी हाइकु जस्तो अक्षरका संख्यासँग सीमित थियो केही बर्ष अघि । पाँच र सात कट्न नहुने । तर कसोकसो उद्धेश्य प्राप्तिले सीमा नाघ्यो । जे चाहेको उही मिल्नु कत्रो भाग्यको कुरा ! बिर्सिसकेकी थिएँ सबथोक । के गर्नू ! टिकट बुक गर्ने कुरा चलेदेखि फेरी उही पुरानो जीन्दगी पुनरावृति हुन थालेको छ ।

मधु सरले उनकी कान्छी छोरीलाई चौधबर्ष हुँदासम्म ‘ए कान्छा’ भनेर सम्बोधन गर्थे मेरै अगाडि । मलाई भने आँखा तर्थे । हिजो....., हिजो नै त हो मेरै मुखिन्जेल सर्ट पाईन्ट पहिराएर फोटो खिचेको ! छि ........छि.......छि.....! कस्तो बिरुप देखिएकी सुरुची । छोरो नै भन्नु पर्ने कत्रो सौख ! आखिर मधुसरले उनको ‘कान्छो’ लाई दुलही बनाएर अर्काको घर पठाएको मलाई थाहा लागेरै छोड्यो ।

“टिट्.......टिट् ।” हर्न बजायो पछाडीबाट ।

ट्राफिक लाईटको ‘ग्रीन सिग्नल’ पर्खाईमा मधुसरको चरित्र संझेर आफै टोलाएको हर्न बजेपछिमात्र थाहा लाग्यो । झस्किदै एक्सलेटर दबाएँ र अघि बढें ।

बाहिर झमक्क रात परिसकेको थियो । टिकट बुकिङ्गको कुरा के गर्नु ? लन्डनको ‘ट्राफलगर स्क्वायर’को ‘ह्याङ्गओभर’ले छोडेकै थिएन । ‘गे परेड प्राईड’ को कत्रो रमझम ! लण्डनको मुटु मानिने स्थानहरु दिनभर हल्लिए समलिङ्गीहरुका आवाजले । समर्थनमा लन्डनको ठूलो व्यापारिक कम्पनीले आफ्नो प्रायोजनमा तेस्रो लिङ्गी समेत समेटिएको झण्डा सहित तीसभन्दा बढी कर्मचारीहरुको ताँती निकाल्यो सडकमा ! ब्राजिलियन ‘साम्बा डान्स’ मा देखिएका सुन्दरीहरु उस्तै राम्रा ! तीसँग फोटो खिच्नेहरुको ठेलामठेल ! अझ ‘गे कम्युनिटी’ का ‘आईकन’ मानिने ‘सेलिब्रटी’ को उल्लेख्य उपस्थिति त्यति नजिकबाट हेर्न पाएको क्षण, कस्तो स्मरणिय ! भनौ एउटा सिङ्गो उपलब्धि मेरो ! सब कैद भएका थिए मेरो क्यामेरामा ।

साँझ छ बजे रोनाल्डलाई लिएर फर्कनु थियो । अघिल्तिरका गाडीका लस्कर ! त्यो छिचोलेर ‘कोभन गार्डन’ पुग्न अझै पन्ध्र मिनेट लाग्ने हुनाले धैर्य गर्नु बाहेक अर्को बिकल्प थिएन मसँँग ।

“ओ.........हो.......हे......., नेभर से द्याट माई लभ........!”

छेवैको कारमा आँटेसम्म बसेका ‘गे’ जोडीहरुले बजाएको म्युजिकको चर्कोे ध्वनी र तिनीहरुको हल्लाले सडक उचाल्यो । हल्लाको बिरोध गर्ने कोही देखिएनन् त्यहाँ । रमाईरहेका थिए सबै जोडीहरु । शायद त्यसलाई हल्ला नभएर कसैको स्वतन्त्रता मानिएको थियो होला । मैले मेरै अर्थ लगाएँ ।

“कति मिनेट लाग्छ आइपुग्न ?” रोनाल्डको खबर बोकेर फोनको मेसेज टोन हल्ला छिचोल्दै बज्यो मेरो कानसम्म ।

“दश मिनेट म्याक्सिमम् । प्यानासोनिक कर्नरमा आइराख ।” मैले रातो बत्तिमा रोकिदाको फाईदा उठाउँदै छोटो जवाफ पठाएँ ।

गाडी अड्याउने ठाउँ थिएन । जरिवानाको उस्तै डर ! जबरजस्ति दाहिनेपट्टिको सडकपेटीमा रोकें । रोनाल्ड फुत्त चढ्यो । उसलाई लिएपछि ठूलै बाजी जिते जत्तिकै लाग्यो ।

........................................


कोठा आईपुग्दा रातको दश बज्यो ।

दिनभरको थकान हातको झोलासँगै फ्यात्त फ्याँके एकातिर र बसें भुँईको कार्पेटमाथि । एक हप्ता अघि हात लागेको ब्रिटिश पासपोर्ट त्यहीं झोलामा छ । पासपोर्ट हात लागेको दुईदिन त थकाई पनि लागेन, भोक पनि लागेन, निद्रा समेत हरायो । कस्तो अचम्म ! हरियो पासपोर्टको ठाउँ रातोले लियो, अनि राष्ट्रिय पहिचान नै बदलियो एकाएक । माहुरे भीरको शिलाजीत ! उफ् ! कल्पिदा रोनाल्डलाई देउता मानुँ–मानुँ लाग्छ आजभोलि त ।

बिचरा ! दिनभरको कामको चटारोले खुब थाकेछ । ढल्किनलाई बेडसम्म चाहिएन उसलाई । डङ्रङ्ग पल्टिसकेको थियो सोफामै । मेरो पनि उही थियो हाल । बसेको ठाउँबाट न उठ्ने जाँगर न त रोनाल्डतिर फर्किने । सोफामा ढेपिएर लमतन्न खुट्टा पारेर बसिरहें ।

हाम्रा थाकेका शरीरहरु निकैबेर लम्पसार भैरहे आ–आफ्नै स्थानमा ।

“तिम्रो त काम भ्याई–नभ्याई थियो होला नि ?” दिनभरका कुराहरुको साटासाट गर्न बोल्नै पर्ने भएकाले कुरा शुरु गरे मैले ।

“जोनको तीन दिनको कमाई एकैदिन भयो ।” रोनाल्डले थकानको आङ्ग तन्कायो र मतिर फर्किदै सोध्यो – “ट्राभल एजेन्सी जान भ्यायौ त ?”

कुरो त आखिर टिकटमै गएर जोडियो ।

“भ्याएर पनि गईन ।” मैले ऊ तिर नफर्कि जवाफ दिएँ ।

“अर्को महिनादेखि टिकटको भाउ चुलिने छ ।” उसले किटान गरिदियो ।

“टिकटभन्दा पहिले हिम्मत किन्न खोज्दैछु !” भन्दिएँ मैले पनि ।

“तिमीलाई आफ्ना बाबुआमा भेट्ने हतारो होला भनेर मात्र हो मैले भनेको ।” लोग्ने हुनुको जिम्मेवारी बोध गर्दै रोनाल्डले प्रस्ट्याउन खोज्यो ।

उसको कुरा बेठीक थिएन तर मेरा अफ्ठयाराहरु उसलाई के थाहा ? कसरी भन्ने मैले ? माथिको आकाश एक झलक हेरेर पुरै संसार नीलो छ भन्न मिल्छ र ? तिल जत्रा कुराहरु पहाड बन्छन् हामीकहाँ ! म त सिङ्गै पहाड छु ! कहाँ लगेर उभ्याउलान् तिनले मलाई ? फेरी ती बिचित्र चरित्र र विचार बोकेका मान्छेहरुको भीडले के–के तर्कना उठाउलान् हाम्रो उपस्थितिमा ?

मनमा तर्कनाको हुरी चल्यो आफ्नै पारामा । खुल्ला भ्यालको पर्दा हल्लियो । मेरो मनभित्रको हुरीले कहाँ हो र ! बाहिर पनि हावाहुरी चलेको रहेछ । चिसो छिर्याे भित्रैैैसम्म । उठेर हत्तपत्त भ्याल बन्द गरे । भित्रिसकेको चिसो हावाको स्पर्शसँग रोनाल्डको पातलो टीसर्टले पक्कै हार खाएको हुनुपर्र्छ । ऊ जिग्राउँदै जुरुक्क उठ्यो र लाग्यो किचेनतिर ।

उसले किचेनबाट आफ्ना लागि बियर र मेरा लागि कफी ल्याउँदासम्म म भने बसिरहेकै थिएँ । कार्पेटको चिसो पनि मिठै थियो । कोठामा सन्नाटाको लेप लागेको थियो । मतलब सन्नाटा भङ्ग गर्ने हामी दुई आ–आफ्नै अन्तरङ्ग विषयमा अलमलिएका थियांै । हामीसँग साटासाट गर्ने बिषयहरु नभएर कहाँ हो र ! म चाहन्थे कुरा रोनाल्डले तन्काओस् ।

“के जवाफ दियौ त फोनमा ?” उसैले सोध्यो ।

“ढाँटे ! भन्दिए छिट्टै आउँदै छु भनेर ।” मैले सुनाएँ ।

“उसोभए यो झुट पनि लेखिने भो तिम्रा डायरीका पानाहरुमा ?” मौका छोप्यो उसले ।

उसको कुराले झनक्क तात्यो मस्तिष्क मेरो ।

“अवश्य लेखिन्छ ।” मैले आफ्नो उदेश्यमा दृढ हुँदै भने –“म जीन्दगीका हर घुम्तीहरुलाई जीवन्त राख्न चाहन्छु ।”

“उसो भए गुड नाईट ।” बियरको अन्तिम घुट सिध्याएर सुत्न तिर लाग्यो ऊ ।

म उठे भुँईबाट । सिलिङ्गको चर्को बत्तिको स्वीच अफ गरँे । त्यसपछि टेबल ल्याम्प अन ।

‘एकपटक बसेको ठाउँबाट उठेपछि कपडा चेन्ज गरेर बसे ढुक्कै हुने’ – मनले अह्रायो । मैले त्यसै गरें ।

बुक ¥याकमा बर्षौदेखि मेरा दैनिकी लेखिएका डायरीहरु सलामी टक्राउन उभिएका सिपाहींझैं तनक्क तन्किएका छन् । सबैबाट उपेक्षित मेरो मनको पीडा बोके वापत यी काजगका डायरीले कहिल्यै केही मागेका छैनन् । त्यसैले मान्छेहरुसँग भन्दा यी कागजका पाना बोक्ने डायरीहरुसँग नतमस्तक छु म । मेरो ठाउँमा कुनै एउटा फ्रिलान्सर राइटर हुँदो हो त बर्षै पिच्छे एउटा किताब छाप्ने थियो होला ! फ्रिलान्सरको बराबरीमा उभिएर गम्कियो मेरो मन !

गम्किएको मनलाई एकातिर थन्क्याएँ । बुक ¥याकबाट डायरी झिकें र दिनभरका कुराहरुलाई लेख्न थाले ।

जुलाई ३, २०११,
बिहान छ बजे उठें............दश बजे सेन्ट्रल लन्डनको रिजेन्ट स्ट्रीट ..........‘गे परेड’ का समलिङ्गी जोडीहरुको लस्कर......गर्मी.......ब्राजिलियन सुन्दरीसँगको चिनजान..........साम्ब डान्स........बुवाको फोन .........सात ‘गे’ जोडीको बिहे.........लन्डनका सेलिब्रटीहरुको समर्थन र सहभागिता.........लन्डन टावरब्रिज........ थकान....... फोटो..........मधु सर.....पुराना कुराको पुनरागमन ........केही दुःखी. .........रोनाल्डलाई लिने काम.......ईत्यादी ।

दिनभरको लेखकिय वृतान्त सकियो ।

रोनाल्ड निदाई सक्यो होला । आफ्नो भने कडा कफीको ‘क्याफिन’ लागेर हो कि भोलि संझेर, निन्द्रा छैन आँखामा । झोलामा ब्रिटिश पासपोर्ट भएदेखि संझना र समस्या दुवै बढेका छन् । मैले पठाएको कमाई दिल खोलेर खान पाउँदा पनि घरमा आमाबुवा खुशी छैनन् । फोन गर्न हुन्न, कहिले आउँने भनेर सोध्न छोड्दैनन् । पासपोर्ट हात परेदेखि रोनाल्ड पनि चर्चमा बज्ने घण्टीको शैलीमा एउटै कुरो भनिरहन्छ – ‘ टिकट बुकिङ्ग गराई हाल ।’ म ओखलभित्रको घान भएको छु – कहिले साँवी र कहिले साँवी नभएको मुस्लीले कुट्ने !

भय र त्रास भरिएका बिचारहरु निकैबेर मस्तिष्कमा आहोर–दोहोर गर्छन् । घर, आँगन, बगैंचा, बेस्सरी दगुरेका चौर, पाखा, खोल्सा–खोल्सी, बर्षभरिका ऋतु, टाटे बिरालो, मसिनी बाख्रो, भोटे कुकुर संझन्छु । सबको अझै उस्तै माया लागेर आउँछ । हृदयको कुनाबाट ति हट्न सकेका छैनन् । तर मान्छे संझियो कि आत्मबल हराउँछ । यस्तो स्थितिमा म कसरी जाउँ घर ?

उतिबेलै मैले आँट गर्नु पथ्र्यो ती सबैको मानसिकतासँग लड्ने । आमाको श्रृंगार बक्सभित्रको लिपिस्टिकको के दोष ? दोषी त म थिएँ । मेरो परिवर्तित ईच्छा शक्ति दोषी थियो । राता, गुलाबी, नीला, पहेंला रङ्गहरु कस्ता प्रिय हुँदै आएका थिए । मलाई रङ्गीन फुलबुट्टे कुर्ता सिलाएर कस्ले दिन्थ्यो र ? ओठमा रातो लाली, आँखामा गाजल लगाउने बिछट्टैको रहर फन्फनाउँथ्यो भित्रभित्रै । केवल घरको फूलबारीमा यताउता गरेर मेरो बदलिदो चाहना पुरा भएन । म आफैसँग बहिष्कृत भाव बोकेर बाँच्न बाध्य भएँ ।

बहिष्कृत मनोदशाले एक दिन चुनौती उठाउन प्रेरित गर्यो । घरमा कोही नभएको मौका छोपेर आमाको श्रृगार बक्सको समर्थनमा म धित मरुन्जेल श्रृगारिएँ । मेरा लाली भरिएका ओठ, गाजल पोतिएका आँखाहरु कुनै पेशेवर मोडलका भन्दा कम सुन्दर देखिएनन् । सानो गोलो ऐनामा केहीबेर एक्लै रमाएँ ।

क्षणिक जीतले निरन्तरता पाउन सकेन । मेरो फक्रिएको रहर पुछ्न नभ्याउँदै आमा आईपुग्नुले म रङ्गेहात समातिएँ । ‘भालुको मन खन्यँु माथि !’ म हतप्रभ भएँ आमाका सामु । वनको बाघले होईन मनको बाघले खायो मलाई त्यसबेला । अन्तत त्यो क्षण नै मेरा लागि हाम्रो सम्बन्धको अन्त्य दरियो ।

त्यसको भोलिपल्ट घरमा कसैलाई नजनाई काठमाण्डौ हानिने निर्णय गरें ।

पूर्वको नामुद बस स्टप ! चारचौरासका मान्छेहरु ओर्लिन्छन् – चढ्छन् त्यहाँ । रङ्गीबिरङ्गी मान्छेहरुको भीडमा आफ्नो उपस्थिति अर्थहीन भएझैं लाग्यो । नितान्त एक्लो महशुस गर्दै बस चढें म ।

‘दाह्री काट्न छाडेर मेकप गर्नु पर्ने साला हिजडा !’ टिकट काउन्टरबाट एउटाले हप्काएको सुनियो ।
‘लौ फुलन्दर एक डान्स जाओस् ।’ छेउको चटपटे व्यापारी जोशियो ।

बसको भ्यालछेउको सिटमा ढेपिएर कसैले नाचेको मौन भै मैले पनि हेरिरहें ।

केहीछिनमै चियाको कितली लिएर उही फुलन्दर पस्यो हाम्रो बसभित्र । बसभरीका मान्छेले उसलाई जंगली हेराई हेरे । खलाँसी र कण्डक्टरले त्यसका गाला चिमोटें । मजबुरीको कमैया बनेर बाँच्नु पर्ने त्यसले कसैसँग गुनासो गरेन ।

बस गुड्यो बिस्तारै । त्यो उत्रियो हतारिदै ।

फुलन्दरको नृत्यको मौन भागीदार भएको कुराले बाटोभरी बिथोलि रह्यो ।

घरको घटना र फुलन्दरसँगको भेट धेरैबेरसम्म मोथें मनभित्र र झोलाभित्रको कपी झिकेर लेखें –

बिक्रम संवत २०६०, फागुन २५, सोमबार, तदानुसार मार्च ८, सन् २००४, श्रृगारबक्स........आमा........आँट............चाहना...........डर...........लिपिस्टिक.........बस स्टप......मनोदशा.......फुलन्दर...........मान्छे.............बाध्यता ।

परिवर्तित जीन्दगीको अफठ्यारो बाटोसँगै मेरो डायरी लेखन यसै दिनदेखि बिधिवत् शुरु भयो ।

..................................................


“म्याउँ.......म्याउँँ.......म्याउँ ।” बिरालो पैताला चाट्न आईपुगेछ । झस्किएँ म ।

बिरालोसँग झर्किदै मैले डायरी थन्क्याएँ र टीभी अन गरे । डकुमेन्ट्री प्लसमा ‘हिन्दू धर्र्र्मका देवता’ शीर्षकको डकुमेन्ट्री प्रसारण भैरहेको रहेछ । भारतका बिभिन्न स्थानमा रहेका शिव, कृष्ण, राम, बिष्णु, काली, महालक्ष्मी, ब्रम्हा आदिका जिवन्त लाग्ने मन्दिर तथा मूर्तिहरु देखिए । बद्रीनाथ केदारनाथ पनि देखियो । दर्शन गर्न आएका मान्छेहरुको भीड पत्याई नसक्नु ! त्यस्तै सडकमा खुल्ला छोडेका साँढे ! तिनको तिब्र आलोचना गर्यो प्रोग्राम प्रिजेन्टरले । तर शिवजीका नाउँमा नाङ्गा जोगीसँग बसेर गाँजा तानेको दृष्यलाई भने भिन्न गरी ब्याख्या गर्यो त्यसले । ‘मोरो पत्रकार !’ कस्तो अवसरवादी !

अर्धनारीश्वर महादेवको मन्दिरमा लाम लागेका मान्छेको भक्ति स्वार्थमा अडिएको देखेर खिन्न भो मेरो मन । भक्तिका लागि नभएर प्राप्तिका लागि तिनले देउताको आराधना गरे । धर्मले कहाँ भन्छ होला मान्छे भएर मान्छेकै हेला गर ? देउताका नाममा शक्तिको पूजा हुन्छ यहाँ । शिवजीको शक्तिको चर्चा धर्मग्रन्थले नगर्दो हो त उनको अर्धनारीश्वर स्वरुपको के अर्थ हुन्थ्यो र ! मनमनै शिवजीको शक्तिसँग टीठ लागेर आयो ।

“अर्धनारीश्वरको भक्ति गर्ने मान्छेले मलाई थोरै भएपनि बुभ्न खोजेका भए मैले यस्तो पीडा भोग्नु पथ्र्यो र ?” खुईइय सुस्केरा हाले मैले ।

“टिङ्ग........टिङ्ग.........टिङ्ग.......!” मेरो सुस्केरासँगै रातको आयु घटेको संकेतमा भित्ताको घडी बज्यो ।

हेर्दाहेर्दै करिब घण्टाको डकुमेन्ट्री सकियो तर निद्रा पटक्कै छैन । के निन्द्रा भनेको प्राप्ती नभएर सन्तुष्टि हो त ? प्राप्ती हुँदो हो त सबथोक पाएर पनि सिङ्गो रात ढल्न लाग्दासम्म म किन निदाउन सकेकी छैन ?

फेरी बुक ¥याकमा पुग्छन् नजरहरु । मेरा डायरीहरुले मलाई एकोहोरो हेरिरहेको भान हुन्छ मलाई । मानौ मेरो भोगाईका बराबर भागीदार, ती केही भन्न चाहन्छन् ! मैले सरक्क एउटा डायरी झिकें । हरेक पानाहरुले थुप्रैथोक सुनाए । एकआपसको दोहोरो संवाद स्वरुप हातमा परेको डायरीका पेज पल्टाउँदै गएँ म ।

पेज ३२– ‘कल मी सल्मा’ नामक डकुमेन्ट्री ............बङ्गलादेशी तेस्रो लिङ्गीको पीडा हेरेर रोएको.......प्रेम र नोक्सान.........बाध्यता.......शहनशिलता.........क्रोध.......ईत्यादी ।

पेज ३९ पल्टाएँ । लेखेकी थिएँ – पाकिस्तानको बैसठ्ठी बर्षको ईतिहाँसमा पहिलो पटक तेश्रो लिङ्गीलाई राष्ट्रिय परिचय पत्र दिने सर्वोच्च अदालतको आदेश.......।

पेज ४५ – भारतमा पनि तेश्रो लिङ्गीलाई मतदानको अधिकार सहित रासन कार्ड दिने निर्णय.........।

पानैपिच्छे कहाँ–कहाँ पुगे म । आँशु झरे कति ठाउँ । थुप्रै पानाहरुको बेस्सरी माया लागेर आयो । सिङ्गो डायरी अठ्याँए, सुम्सुम्याएँ । जीवन जिउँने हिम्मत दिने आधार रोनाल्ड पछि यिनै डायरी हुन् मेरा लागि । सुनसान छिप्पिएको रातमा सरक–सरक आवाज गर्दै निकै पानाहरु कतिबेरसम्म पल्टिए हेक्का भएन मलाई । पल्टिएको पेजको सिरानी लगाएर निदाएका मेरा आँखा खुल्दा झल्मलाउँदो बिहान भैसकेको थियो । वंश थाम्ने छोरोको बिहे गर्न पर्खिरहेका मेरा आमाबुबाले मानसिक र शारिरीक रुपले छोरीमा बदलिएको मेरो रुपलाई कुन मुटुले कसरी स्वीकार्लान् ? म भने अझै अनुमान गरिरहेकी थिएँ ।

लण्डन, बेलायत









प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 20 श्रावण, 2069

लेखकका अन्य रचनाहरु