एउटा राजमार्ग सपना

- रमेश सायन

अहिले म सुनकोशी किनारामा छु । बाटो सिधा छ, निलो नदी आफ्नो गन्तब्य नबिर्सि ओरालो बगेको छ । हरियो पहाड, हरियो संगीत बोकेर जूनसँगै नदीमा खसेको छ । मंसिर महिनाको चिसो मेरो आंङ्गमा साम्राज्य फैलाउन खोजिरहेको छ । मैले अमेरिका सम्झेँ । म चिसोसँगको युद्धमा छु । बैँसमा मेरी आमा माइत जान श्रृङ्गारिएकी झै देखिने नदीमा खसेको यो जूुनले मेरो मन पहाडका भित्ता–भित्तामा टाँगेको छ ।
भर्खर–भर्खर मंसिर उठेक‍ो बाँझो खेत,दसैमा पोतेका घरका राता भित्ता,लोग्ने बिदेसिएको गोरेटो बाटो,चिसो रात, सङ्लो जून, बतासमा मिसिएर आउने सम्झनाको घोल, सानो नानीको स्कुल जाने बाटो, धेरै बृद्ध आमा बाबुको लहरे खोकीको औषधि,लाहूरी भँैसीको दुध, डेरी पु्¥याएर फर्केको खाली डुंग्रो,धेरै एन.जी. ओ. आइ. एन.जी.ओ को सपना, होटलमा काम गर्ने केटाकेटीहरुको बिहानबेलुका जोडिने गाँसको सपना, किसोर किसोरीको सुदुर प्रेमको काल्पनिक संसार आदि आदि यही सुनकोशी किनाराको राजमार्ग भएर ओहोर दोहोर गरिरहन्छन् ।
म रिभर साईड रिसोटको बातानुकुलित कोठाबाट बाहिर नदी किनारामा छु । शान्त हुन नसिकेको यो नदीले जूनसँगै खसेको मेरो अनुहार पनि हल्लाई रहेको छ ।
यो राजमार्गले छातीमा आफ्नै कथाको तक्मा भिरेर यो रातको चिसोमा ओसिएकोछ । यो राजमार्गको बाटो सुगम छ, पैतला दुर्गम । नदी सुगम बगेको छ, छाल दुर्गम । शीत सुगम खसेको छ, रात दुर्गम उभिएको छ । यो होटल सुगम छ, यसका टेवल, टेवलमा आई पुग्ने सेवाहरु पनि सुगम छन् तर ती सेवाहरु टेवल टेवल सम्म बोकेर ल्याउने मनका सपनाहरु दुर्गम छन्, सुदुर छन् ।
यहि होटलमा काम गर्ने सानु कद हँसिलो अनुहारको त्यो वेटर भाइको सपना होटल म्यानेजमेन्टको ट्रेनिङ्ग लिन हो । जसले मलाई होटल म्यानेजमेन्टको ट्रेनिङ्ग लिन लाग्ने खर्च सोधेको थियो । मेरो विषय परेन मलाई थाहा भएन तर अर्काे पल्ट यो ठाउँमा पुग्दा यस विषयमा बुझेर बताई दिनु छ । उ सँग सपना छ, सपना देख्ने मान्छे मलाई मन पर्छ । दुईचार पल्ट भयो, यो होटलमा बसेको उ सँग म परिचित र आत्मीय भएको छु । उसको सपनाको अगाडि यो पुसको जाडो आफै कामे जस्तो लाग्छ । मध्यराति सम्म निद्रा डराएर भागे जस्तो लाग्छ । उसको सपनाको अगाडि चिसो सिरेटो पनि खोला पारिपारिबाटै उकालो लागे जस्तो लाग्छ । उसको ओठले खुसीको प्रतिनिधित्व गर्छ । उसको मेहनेतले सपनाको रागमार्ग सुगम बनाउँछ । उ श्रम पुज्छ ईश्वर पुज्दैन ।
गाँउकै नि.मा.बि.सम्मको पढाई सकेर पोहोर साल यता राजमार्ग झर्नु अगाडिसम्म आफ्नु आँखा भन्दा पारीको क्षितिज नदेखेको उ ।
तर अहिले कहाँबाट कहाँ आयो ?
उ जन्मेको त्यो ठाउँमा सरकार पुग्ने गोरेटोबाटो छैन । लाग्छ त्यो लेकमा भुगोलमात्र छ, देश छैन । ऐना छ, अनुहार छैन । पैतला छ, बाटो छैन । पंखेटा छ, आकाश छैन । उसको त्यस ठाँउमा धेरै कुरा छन्, तर उसले बुझ्ने कुनै भाषा छैन ।
सुत्ने बेला आफ्नी आमालाई बारम्बार सम्झन्छ । सरकारले नदेखेको आमाको बिधुवा सिँउदो, गा.वि.स.मा बिधुवा भत्ता बाँडिन्छ भनेर नसुनेको आमाको बहिरो कान । यता राजमार्ग तिर झरे पछि अलि अलि जानेको छ । प्रायः आमालाई सपनामा देख्छ । दशँै पछि आमालाई सपनामा बाहेक भेटेको छैन । भर्खर मोबाईल फोन किनेको छ तर उता आमा यो प्रबिधिसँग अपरिचित छे । हरेक दिन निदाउनु अघि आमाको सम्झना यो पहाडको डिलै डिल भएर उ सुत्ने कोठा सम्म आई पुग्दो हो । म पनि बेसमारी आमाको सम्झना कल्पना गर्न सक्छु । केहिबेर अघि चिसोले फुटेको आफ्ना हत्केला देखाउँदै उसले भनेको थियो “ लेकतिर मेरी आमाको हात खुट्टा पनि बेसमारी फुटेका होलान् । पोहोेर पोहोर तिर त आमाको हातबाट रगत पनि बगेको हुन्थे यस पाला पनि उस्तै त होला नि जाडो । यता त यस्तो छ ।” उ आमाको सम्झनामा पुरै बिलीन भएर एककोहोरो बरबराई रहेको थियो । त्यति नै खेर रेष्टुरेन्टको टेलिभिजनमा नरम त्वचाको बिज्ञापन बज्यो । तर उसकी आमाले यो बिज्ञानपनको भाषा बुझ्िदन । मेरो मष्तिष्कमा उसकी आमाको काल्पनिक स्केच बन्यो ।
त्यो सानो केटो जो होटलमा काम गर्दै होटल म्यनेजमेन्टको ट्रेनिङ्ग लिने सपना देख्छ । यता झरे पछि धेरैकुरा जानेको हुनु पर्छ, उसले । सपना देख्न र मेहनेत गर्न सिकेको हुनु पर्छ नत्र त उसको त्यो भुगोलमा कुन बतासले सपना उडाएर उसको बलँेसिमा खसाल्ला र आँखाले टिप्ला, पैतलाले बाटो छाम्दै यी राजमार्ग किनारामा आई पुग्ला र ? उ बिनायोजना अकस्मात यो राजमार्गमा खसेको हुनुपर्छ र धेरै कुरा जानेको हुनु पर्छ ।
आज होटलमा अलि फुर्सद रहेछ । चिसोले गर्दा गेष्टहरु कम । सबै भन्दा कान्छो भएकोले अरुको अगाडि मायालु पनि । उ बारम्बार मेरो टेवलमा आईपुग्छ । म लगातार तातो पानी पिईरहेको छु । उ निसफिक्री मसँग गफिन चाहान्छ । म अलि चासो दिन्छु उसको सपनाहरु सुन्न चाहान्छु । उ अव होटल म्यनेजमेन्टको ट्रनिङ्ग लिएर बिदेश जान चाहान्छ । बिदेश जाने सपना यहि होटलको सिनियर दाईबाट देख्न थालेको रहेछ । म कल्पना गर्छु अब उसको मेहनतले उसकी आमाले नयाँ मजेत्रोमा आफूलाई बेर्ने छे । पहिलो पल्ट ऐना हेरेर लजाउने छे । समयले उसलाई राजमार्गै राजमार्ग उकालो लाग्न दियो भने मूनाहरुमाथी बसन्तले खसालेको बीर्य जस्तै परिवर्तन हुने छ, उ ।
उ फेरि मेरो अगाडि उभिएको छ । ल्याटिन अमेरिकी चिलीको आन्दोलनको बारेमा समाचार प्रसारण भईरहेकोछ । मिठो भाषण गरिरहेकी क्यामिला भ्यालेजो को अगाडि लाखौँहातहरु हल्लिन्छन् । उसले त्यो समाचारको भाषै नबुझे पनि टोलाएर क्यामिला भ्यालेजा को सुन्दर अनुहार हेरिरहन्छ । साहयद यसबेला उसले लेकतिर आफ्नी डोल्मा सम्झेको हुनु पर्छ । मैले चाँहि आफनै देशको त्यो बिसाल आन्दोलन सम्झेँ । त्यतिखेर हम्रो आन्दोलन पनि ल्याटिन अमेरिकी चिलीकै आन्दोलन जस्तै थियो । तर आज त्यहि आन्दोलनको जगबाट टाउको उठाएको सरकार उसकी आमाको थोत्रो मजेत्रो र चिसोरातको अगाडि अन्धो भएको छ । उसको घर पुग्ने गोरेटो बाटोको अगडि लंङ्गडो भएको छ र उसकै निजी सपनाको अगाडि यो सरकार बौलाएको छ ।
फेरी म छेउमा आएर कानमै भन्यो दाई मैले पचास हजार जम्मा गरिसकें अव कति महिना काम गर्नु पर्छ होटलम्यनेजमेन्टको टनिङ्ग लिन ? अर्काे पल्ट आउँदा यस बारेमा बुझेर आईदिनु होला ।
राजमार्गमा अनेक कुराहरु हुन्छन् । खाली पैतला हुनेहरुले जुत्ताको सपना देख्छन् । मैलो कपडा हुनेहरुले सुकिलो कपडाकाको ,जाडो हुनेहरुले न्यानो कपडाको, खलासी हुनेहरुले ड्राईभरको , मजदुरले मालिकको, मालिकले सासकको । राजमार्ग भनेको आफँैमा गन्तब्य हो । यहाँ गन्तब्यको मात्र सपना देखिन्छ । उसले पनि गन्तब्यको सपना देखिरहेको छ ।






प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 20 श्रावण, 2069

लेखकका अन्य रचनाहरु