साहित्य लेख्ने पढ्ने कुरा

- शीतल गिरी

लेख्नका लागि पढ्नु आवश्यक छ । साहित्य सृजनका लागि साहित्य पढ्नु आवश्यक छ । पढ्नु जिज्ञासा हो, लत हो । एकचोटि जसलाई यो लत लाग्यो ऊ यसको फन्दाबाट कहिल्यै उम्किन सक्दैन । किन उम्किन चाहने ? जब यो पढ्नेले एउटा नयाँ जिन्दगी जिउने अवसर प्राप्त गर्छ प्रत्येक दिन एउटा नयाँ लोकमा घुमाउँदछ । यसले जिन्दगीलाई सपनामा र सपनालाई जिन्दगीमा परिवर्तन गराउँछ ।
सृजन क्षमता जसमा हुन्छ उ पढ्न छाड्दै छाड्दैन । वास्तवमा सृजन क्षमता भएकाहरु पढ्नुका साथसाथै लेख्ने पनि गर्छन् ।
उपलब्धिहरुले सामाजिक मान्यता प्रायशः तब पाउने गर्छ जब सृजन गर्नेलाई प्रेरणा दिने ऊबाट टाढा गइसकेको हुन्छ, यो लोक छाडिसकेको हुन्छ । यसकारण सामाजिक मान्यता प्राप्त हँुदाको खुसी प्रेरणाको स्रोतसँग साझेदारी गर्ने अवसर पाइँदैन ।
ती सृजनकर्ता भाग्यशाली हुन् जीवनभर प्रेरणा दिने मानिसको सान्निध्य प्राप्त गर्छ र उसलाई साहित्य लेख्नका लागि घचघच्याइरहन्छ जब पनि ऊ, उसको आस्था डगमगाउँछ भर दिने मानिस उसले भेट्टाइरहन्छ ।
लेख्ने काम सजिलो छैन । लेखेरमात्र जीवनयापन गर्न झन् गाह्रो छ । आफ्नो शैली, भाषा र अलग पहिचान बनाउन महागाह्रो छ । जुन देशका बहुसङ्ख्यक जनता गरिब र अनपढ छन्, पाठकका सङ्ख्या अति न्यून छन् के लेख्ने काम त्यहाँ एक किसिमको ऐयाशी होइन ? यो प्रश्न प्रत्येक लेखकले आफैसँग गर्नै पर्छ । यस प्रश्नको उत्तर पनि स्वयम्ले नै दिनुपर्छ । यस्ता शङ्काले लेख्ने काममा भाँजो हाल्नु हुँदैन, लेख्नुपर्छ र विश्वासपूर्वक लेखि रहनुपर्छ यसो नगर्ने हो भने साहित्य लेखन कहिल्यै हुने नै छैन ।
वास्तवमा साहित्यले समाजलाई समृद्ध बनाउँछ, सुसंस्कृत बनाउँछ ।
साहित्य नभए हामीलाई स्वतन्त्रताको मूल्य थाहा हुँदैन खास गरी जब कुनै तानाशाहको पाइतालामुनि हामी च्यापिएका हुन्छौँ । साहित्य जीवनको एउटा सशक्त अभिव्यक्ति हो र राजनीतिलाई जीवनबाट अलग गर्न सकिँदैन । साहित्यले हामीलाई सौन्दर्य र प्रशन्नताको सपनामा मात्र डुलाउँदैन, हरेक किसिमका दमनका विरूद्धमा सचेत गराउँछ । यदि यस्तो नहुँदो हो त सत्तामा बसेकाहरुले यसलाई प्रतिबन्धित गर्ने कुरो सोच्दैनथे । जसले जन्मदेखि लिएर मृत्युसम्म जनताको जीवनलाई नियन्त्रित गर्न चाहन्छ त्यस्ताले यसकारण स्वतन्त्र विचार बोकेका लेखकका कृति जनताको आँखाभन्दा टाढा राख्न सेन्सरसिपको प्रावधान लागू गर्छ । जनता जागरूक भए तिनीहरुसँग प्रश्न सोध्छन् जसको उत्तर दिन तिनीहरु चाहँदैनन् । रचनाकारले पाठकलाई ज्ञात गराउँछन्, संसार धेरै सुन्दर र समृद्ध बनाउन सकिन्छ । जब जनताले यो कुरा बुझ्छ तब तानाशाहको खोटो टक (सिक्का) चल्दैन । साहित्यले भेदभावविना सबैलाई प्रभावित गर्छ । प्रत्येक युगको आफ्नो भयङ्करता हुने गर्छ । हाम्रो युग फैनेटिक मानिसको हो । यो सुसाइडल बम, टेरोरिस्टको युग हो । उसले सोच्छ, ऊ सत्यको ठेकेदार हो, उसैद्वारा प्रतिदिन सम्पूर्ण विश्वमा असङ्ख्य मानिसलाई बली चढाउने गरेको छ ।
साहित्य सबै किसिमको राष्ट्रवादको विरूद्धमा हुन्छ । धर्मलाई पनि सङ्कीर्ण दृष्टिकोणको वाहक मान्दछ ।
राष्ट्रवादले नस्लवादलाई प्रोत्साहित गर्छ । बौद्धिकतालाई नष्ट पार्छ । इतिहास साक्षी छ, यसले कसरी मनुष्यतालाई समाप्त पारेर नरसंहार गरेको छ । विश्वयुद्ध र थुपै्र देश यसका उदाहरण हुन् । संहारक र विस्फोटक सङ्कलन गर्नमा जुन धन खर्च हुने गरेको छ त्यो धन स्कुल, पुस्तकालय र अस्पताल बनाउन लगाउनुपथ्र्यो । जन्मभूमिप्रति माया र ममता एउटा कुरो हो र अन्ध राष्ट्रवाद फरक कुरो हो ।
जहाँ हामीले जन्म लिएका छौँ, जहाँ हाम्रा पूर्वज रहेका थिए, हाम्रो सपना बनेको छ, प्रियजन बसेका छन् त्यससँग जोडिएका मिठा स्मृतिहरु हामी जहाँ बसे पनि हामीसँगै रहन्छन् । जन्मभूमिप्रतिको ममता हाम्रो ह्दयमा सधैँ रहन्छ ।
बाल्यावस्थादेखि नै साहित्यले स्वर्गको अनुभूति दिन्छ । राम्रा पुस्तकको अध्ययनले अप्ठ्यारासँग जुध्न सहयोग दिन्छ । वरपरको कटुता, एकाकीपनलाई किताबको संसारमा रमाउँदा भुल्न सकिन्छ । कल्पनाको संसार मन पराउन थालिन्छ । कल्पनाको संसारमा स्वतन्त्र र प्रसन्न बन्न पाइन्छ । विद्रोह, पलायन, विरोध र बाँच्ने प्रयास साहित्य बन्न पुग्छ । साहित्य लेखनले निराशा हटाउँछ ।
साहित्य लेखनले अपूर्व शान्ति प्राप्त हुन्छ । जीवनको लक्ष्य देखा पर्छ । लेख्दा रुखोपन पनि आउँछ, त्यस्तोमा कल्पना अनुर्वर बन्ने गर्छ ।
वास्तविक साधकले महिनौँ वर्षौं लगाएर एउटा रचना रच्छ । यस्तोमा आनन्द प्राप्त हुन्छ । प्रारम्भमा सबै कुरा अनिश्चित रहन्छ, लेखक बेचैन र उत्साहित बन्छ अनि बिस्तारैबिस्तारै यसले आकार लिन थाल्छ । जब लेखन अघि बढ्छ आफै सबै कुरा स्वाभाविक बन्दै जान्छ लेख्नु भनेको रति सुखजस्तै हो । दिन, हप्ता, महिनौँ कुनै युवतीलाई निरन्तर माया गर्दै रहनु जस्तै हो । साहित्य जीवनको मिथ्या प्रतिनिधि हो जसले हामीलाई जीवनबारे राम्ररी बुझ्न सहायता गर्छ । वास्तविक जीवनमा फ्रस्टेसन र कमीहरुको क्षतिपूर्ति गर्छ । हामी जन्मिन्छौँ, बाँच्छौँ र मर्छौं, यथार्थ जीवन हामीमा जुन विडम्बना र फ्रस्टेसन लाद्दछ त्यसका लागि साहित्य एक किसिमको मल्हम, एक किसिमको सट्टाभर्ना हो । साहित्यका कारणले नै धेरैजसो मानिसले जिन्दगीको दुरूहतालाई आंशिक रुपमा भए पनि बुझ्छन् । खास गरी त्यस्ता मानिस जसले आफ्नो विचारबाट शङ्का उत्पन्न गर्छ त्यस्ताका लागि साहित्यभन्दा ठूलो कुनै पनि शरण लिने स्थल हुन सक्दैन । साहित्य लेखन या पढ्न जे गर्दा पनि लाभैलाभ छ । साहित्यले हामीलाई बाँच्ने तरिका सिकाउँछ । जिन्दगीलाई बुझ्ने अवसर प्रदान गर्छ ।
साहित्यले हामीलाई सभ्य बनाउँछ, जिन्दगी राम्रो हुन सक्छ भनी सिकाउँछ । जिन्दगीमा जे हुनुपर्ने हो त्यसतर्फ इङ्गित गर्छ । लक्ष्य भेट्टाउने आकाङ्क्षा हामीभित्र जगाउँछ । हाम्रा पूर्वजका जीवनमा धेरै अप्ठ्यारा थिए । यस कुराको कल्पना वर्तमानमा साहित्यमा लेखिन्छ । हाम्रा पूर्वजका सम्मुख एउटा अज्ञात र खतरैखतराले भरिएको संसार थियो । उनीहरुलाई आवश्यक भोजन, प्रकृतिको अप्ठ्यारोबाट रक्षा, सिकार र सम्भोग नै जीवन लागेको हुँदो हो ।
जीवन सपना, प्रसन्नता र कल्पनाको उडान, एउटा आन्दोलनकारी योजना बन्यो होला । जीवन जिउने लालसा, परिवर्तन गर्ने चाहना, राम्रो बनाउने इच्छाले महत्वाकाङ्क्षा जन्मियो होला ।
वरपरका रहस्यहरुको भेदले फेन्टासी रचना गर्ने इच्छा जाग्रत भएको हुनुपर्छ । जब लेखन प्रारम्भ भयो तब यो कहिल्यै नरोकिने प्रक्रिया अझ समृद्ध भयो भन्नुको अर्थ साहित्यमा स्थायित्व आयो । साहित्य मनोरञ्जनभन्दा धेरै कुरो हो, यो बौद्धिक कसरतमात्र होइन । यसले संवेदनालाई तिखार्छ र आलोचनालाई जागरूक बनाउँछ ।
सभ्यताको अस्तित्व कायम राख्न साहित्य आवश्यक पर्छ ।
हामीभित्र जुन सर्वोत्तम छ, त्यो बचाउन र सम्हाल्न साहित्य हुनु आवश्यक छ किनभने पुनः हामी एकाकीपनको पशुतातर्फ नफर्कियौँ, जीवन विशेषज्ञहरुको प्रयोजन मुलुकमा खुम्चिएर नरहोस्, जहाँ वस्तुलाई एउटा खास कुनाबाट मात्र हेर्ने गरिन्छ । वातावरणमा त्यसको वरपर, अगाडिपछाडि जेजति हुन्छ उपेक्षापूर्वक छाड्ने गर्छ ।
जुन मसिन मानिसको सुखसुविधाका लागि आविष्कृत गरिएको छ हामी त्यसको गुलाम बन्नु भएन । साहित्य नभएको संसार इच्छाविहीन, आदर्श नभएको अश्रद्धाको हुने छ । रोबोटको संसार हुने छ । साहित्यले हामीलाई गन्तव्यमा पु¥याउँछ, हामीलाई अरुसँग सम्पर्क गराउँछ । यसले हाम्रो सपनालाई साकार पार्ने शक्ति दिन्छ । यसले हामीलाई डरलाग्दो, आलस्य र आत्मतल्लीनतामा डुब्नबाट बचाउँछ । कुनै अरु कुरोले हामीलाई यति व्याकुल बनाउँदैन, हाम्रो जीवनमा, हाम्रो कल्पनामा खलबली ल्याउँदैन जति साहित्यले ल्याउँछ । साहित्यले जीवनमा मिथ्यालाई जोड्छ जसको कारण हामी महान् रोमाञ्चक यात्राको नायक बन्छौँ । यसले हामीलाई त्यो महान् आवेग दिन्छ जुन वास्तविक जीवनमा हामीले कहिल्यै प्राप्त गर्न सक्दैनौँ ।
साहित्यको यो अमृत, यो असत्य पाठकद्वारा सत्यमा परिणत हुन्छ । पाठकलाई लालसाको सङ्क्रमण लाग्छ र जिन्दगीको मिडियोक्रिटीमा सधैँ प्रश्न गर्न थाल्छ ।
यसले हामीमा आशा जगाउँछ कि हामी त्यो बनौँ जो छैनौँ, हामीसँग त्यो होस् जे छैन । यसले एउटै समयमा हामीलाई अमत्र्य र मरणशील दुवै बनाउँछ ।
हामीमा विद्रोह जगाउँछ, सम्पूर्ण बहादुरीको कार्यका पछाडि जसको हात हुन्छ जुन बहादुरीले गर्दा मानिसको सम्बन्ध थोरै क्रूर भएको छ, अत्याचार घटेको छ । अत्याचार घटेको छ तर समाप्त भएको छैन । सौभाग्यले साहित्य कहिल्यै समाप्त हुँदैन यो अधुरो छ । यसकारण लेखन कार्य बढिरहेछ ।
साहित्य लेखन गर्नेले सपना देख्न, पढ्न र लेख्न कहिल्यै छाड्नु हुँदैन ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 20 श्रावण, 2069

लेखकका अन्य रचनाहरु