कृष्ण बजगाईँका लघु कथा

- प्रा.डा.माधवप्रसाद पोखरेल

मेरा हातमा कृष्ण बजगाईँको "यन्त्रवत्" भन्ने लघु कथा सङ्ग्रह पर्दा उनी युरोपमा पर्देसिएका धराने कथाकार रहेछन् भन्ने मात्र थाह थियो । उनसँगको मेरो परिचय एक महिना भन्दा बासी पनि भएको छैन त्यो पनि युरोपबाट आएको फोनमा यसैले मैले पाएको उनको परिचय धरानका साइनाबाट भन्दा पनि यस सङ्ग्रहमा बटुलिएका उनका करिव आधा सय लघु कथाका साइनाबाट बसेको र एकदम साजी छ ।

 

नेपाली साहित्यमा अहिले चलेको लघु कथा भन्ने विधा मैले सबभन्दा पहिले सोभियत सङ्घबाट प्रकाशित हुने 'सोभियत भूमि'भन्ने पत्रिकामा पढेको हुँ । नेपाली साहित्यमा "लघु कथा" नाम चलेको यो विधा अङ्ग्रेजी साहित्यको 'शर्ट स्टोरी' पनि होइन 'शर्ट शर्ट स्टोरी' पनि होइन । सके यो रुसी साहित्यमै विकसित भएको विधा हो ।

 

अचेल लघु कथा धेरैले लेख्छन् तर मेरा जानकारीमा नेपालीमा लघु कथा लेख्ने पहिला कथाकार जयनारायण गिरी र धरानका जगदीश नेपाली मध्ये कुनै एक जना हुन् । त्यसको लेखाजोखा गर्न मैले भ्याइसकेको छैन । तिनीहरुको लघु कथा लेख्ने प्रेरणा स्रोत पनि रुसी कथा नै हुनुपर्छ भन्ने मेरो अड्कल छ । जे भएपनि कृष्ण बजगाईँ धरानकै कथाकार भएकाले धरानेहरुलाई उनले जगदीश नेपालीको बिँडो थामेजस्तो लाग्न पनि सक्छ । फरक के छ भने जगदीश नेपाली राजनीतिक व्यक्तित्व भएपनि उनका राजनीतिक कथा एकदम कम देखिन्छन् कृष्ण बजगाईँका कथाले चाहिँ समसामयिक राजनीतिलाई पेच पार्न सेप्न र छेड हान्न बाँकी राखेको देखिँदैन ।

 

लघु कथा छोटा हुन्छन् भनिरहनु नपर्ला । छोटा भएपनि लघु कथामा व्यङ्ग्य अलि तिक्खर हुन्छ । ओ' हेनरीका कथामा झै लघु कथाको अन्त्य तिर अद्भुत रस पाइन्छ । हरेक लघु कथाको अन्तले पाठकलाई रन्थन्याउनुपर्छ । प्राय लघु कथामा लाक्षणिकता हुन्छ । अतिशयोक्ति लघु कथाको विशेषतै हो भनेपनि हुन्छ । लघु कथाले समसामयिक मानवीय कमजोरी वा मानवीय बेहोरामा व्यङ्ग्य गरेको प्राय पाइन्छ । 

 

संसार भरकै लोक कथामा लघु कथासित मिल्ने छोटा लाक्षणिक कथाहरु पाइन्छन् । लोक साहित्यको त्यसै विधालाई रुसीहरुले समसामयिक व्यङ्ग्यका लागि विकास गरे होलान् भन्ने मेरो अड्कल छ । नेपालीहरुले नै पनि आफ्ना लोक कथाको भण्डारलाई यस प्रयोजनका लागि उधिन्न सक्छन् । 

 

बजगाईँका कथामा गरिब हेपिएका र निम्सरालाई मायाँ गरिएको हुन्छ र हेपाहा समाजभाँडा र सरमछाडाहरुलाई पेच पारिएको र कैँची मारिएको हुन्छ । यो कुरो 'मूल्य'भन्ने कथामा पाइन्छ । नेपालमा आफू पनि स्वावलम्बी बन्ने र आफूलाई अघुवा मान्नेहरुलाई पनि सिकूँ सिकूँ लाग्ने गरी स्वाबलम्बी बन्न प्रेरणा दिने बेहोरा ठालुहरुमा विकास भएन । जसरी ठालुहरुले मुलुकलाई स्वावलम्बन तिर लैजानुको साटो विदेशमा गएर वा घरै बसेर विदेशीसित लाज पचाएर माग्ने नयाँ नयाँ फर्मुला बनाएका छन् मगन्तेपनको त्यो सिको सानाहरुलाई पनि पर्दै गएको छ र व्यापक रुपमा नेपालमा माथिदेखि तलसम्म नैतिकताको घाउमा उकुच पल्टिरहेको छ । यस कुरालाई बजगाईँले 'यन्त्रवत्', 'अनास्था', 'मन्त्रीको जुत्ता', 'सजाय', 'पीडा', 'उन्मूलन', 'मितव्ययिता', 'घुम्ने कुर्सी', 'इज्जत',  ' लिफ्ट', 'नयाँ सुट', 'आकर्षण',  'मूक दर्शक', 'जनकारबाही' 'घर' आदि कथामा देखाएका छन् । मगन्ते र भक्त व्यापारीमा केही फरक छैन भन्ने कुरो 'दान' आदि कथामा देखिन्छ ।

 

यसै रोगले गर्दा अरुलाई उपदेश गर्ने पुजारी नेता जस्तामा पनि आत्मविश्वासको कमी बढिरहेको छ । नेपालका सहर र तथाकथित ठूलाबडामा पलाएको यो अर्को ठूलो सरुवा रोग हो । यो कुरो 'अनास्था', 'प्रतिबिम्ब', 'राहत', 'सुन्दरी प्रतियोगिता' 'नाङ्गो मान्छे' आदि कथामा देखिन्छ ।

 

लाक्षणिकता उनका 'सम्झौता'  जस्ता कथामा पाइन्छ । नाउँ रखाइमा पनि लाक्षणिकता पाइन्छ भन्ने कुरो 'विकटपुर' जस्तो नामले नेपाललाई जनाउन खोजेकोबाट पनि झल्किन्छ । कथामा लाक्षणिकता ल्याउनु भनेको बौद्धिकता भर्नु हो भनिरहनु नपर्ला । 'मूल्य', 'पूर्णता', 'भिखारी', 'उन्मूलन', 'प्रतिबिम्ब', 'परिवर्तन', 'आँखा', 'कुकुर', 'शोषण', 'स्वार्थ', 'नरिबल' 'चोर औँला' जस्ता कथामा त्यो बौद्धिकताको जलप पनि पाइन्छ ।

 

राजनीतिक छेडपेच र सेपघोच 'सम्झौता', 'विपत्ति', 'दुःख', 'प्रतिबिम्ब', 'आँखा', 'जादुगरी डन्डा', 'राजनैतिक प्रयोगशाला', 'रामराज्य', 'मन्त्रीको घुर्की', 'शब्दहरुको मृत्यु', 'आकर्षण', 'नरिबल',' खुसी', 'योग्यता', 'मधेस र पहाड', 'दसैँ' 'संचालन' आदि कथामा पाइन्छ ।

 

कृष्ण बजगाईँका कथामा राष्ट्रियता पाइन्छ ।

 

सङ्कलनमा केही कथाले सामाजिक व्यावहारिकताका केही उदेकिला समस्या उठाएका छन् । 'आत्महत्या' आदि कथा त्यस्तै काँटका छन् । नेपालमा सहिद प्रति राष्ट्र र राष्ट्र सेवकहरुले कर्तव्यले भन्दा भावुकताले काम चलाएको कुरो यस कथामा उठाउँदै राष्ट्रले त सहिद मात्र घोषणा गरिदिँदा पुग्छ तर पसलेको तिरो तिरिदिने व्यावहारिकतामा कसैले ख्याल गरेको हुँदैन भन्ने पक्ष तिर लेखकको ध्यान गएको देखिन्छ ।

 

नेपाली समाजमा नारी माथि शङ्काको दृष्टिले हेर्ने परम्परागत कुसंस्कारले गर्दा नारीहरु त्यसै पनि अपमानित हुनुपर्ने स्थिति तिर 'बलात्कार' भन्ने कथाले ध्यानाकर्षण गरेको छ । 

 

पुस्तक विमोचनको रोगले नाम नचलेका लेखकको हुर्मत भएको कुरामा 'विमोचन' कथा केन्द्रित छ ।

कृष्ण बजगाईँका यस सङ्कलनमा परेका कथामा माथि लेखिएका लघु कथाका बेहोराहरु प्राय मिल्छन् । लघु कथा लेख्ने सीप उनको प्रशंसनीय देखिन्छ तर उनका लघु कथामा लाक्षणिकता र व्यङ्ग्य यहाँ भन्दा बढ्ता तिखार्न सक्ने ठावैँ छैन भन्न मिल्दैन । 

 

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 पौष, 2064

लेखकका अन्य रचनाहरु