प्रयोगवाद : केही विमर्श

- आरुणि आचार्य

१.परिचय
प्रयोग+वाद यस्तो रूप संरचनाबाट प्रयोगवाद शब्द निर्माण हुन्छ । प्रयोगको पहिलो अर्थ कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य वा उपयोग हो । दोस्रो अर्थ नीति, नियम, सिद्धान्त आदिको स्थापना गरी कार्यरुपमा ल्याउने प्रक्रिया हो ।१ यसरी प्रयोग शब्दको परिभाषाले के देखाउँछ भने वस्तु वा विषयलाई व्यवहारमा लागु गरी परीक्षण गर्नु हो । प्रयोग भन्ने शब्दले कुनै चलिआएको परम्परा, सिद्धान्त वा मान्यतामा नयाँ प्रयोग गर्नु अथवा स्थापित सिद्धान्त वा वस्तुलाई व्यवहारमा उतार्नु भन्ने अर्थ पनि बुझाउँछ । ‘प्रयोगवाद’ भन्ने समष्टिगत शब्दले ‘पहिलेदेखि चलिआएका कलात्मक वा साहित्यिक परम्परालाई प्रयोगात्मक रुपमा परीक्षण गरेर त्यसमा रहेका अनावश्यक तथा निरर्थक कुराहरूको विरोध गर्दै वा त्यस्ता कुरालाई हटाउँदै नयाँ किसिमको गर्नुपछर्’२ भन्ने अर्थलाई प्रस्ट पार्दछ । ‘प्रयोगवादी’ शब्दले प्रयोगवाद सम्बन्धी, प्रयोगवादका अनुयायी, प्रयोगवादी शैली विचारधाराको प्रतिपादन गर्ने भन्ने अर्थबोध हुन्छ । यस किसिमको शब्दगत विश्लेषणले सिद्धान्त, व्यवहार र परीक्षणमा प्रयोग गर्न सकिन्छ भन्ने अर्थ निकाल्न सकिन्छ । साहित्यका सन्दर्भमा परम्परागत मान्यतालाई भत्काएर नयाँ किसिमको साहित्यिक प्रयोग भन्ने अर्थ हुन्छ । अतः साहित्यमा नयाँनौलो किसिमको रुप, संरचना र भाषिक विन्यास नै साहित्यिक प्रयोग हो ।

२. प्रयोगवादको सैद्धान्तिक चर्चा
विज्ञानले मनुष्यलाई दिएको नयाँ दृष्टि नै प्रयोग हो । विज्ञानको युगमा बौद्धिक विश्लेषणबिन कुनै पनि सत्यलाई अँगालिदैन । जसरी विज्ञानमा प्रयोग र तर्कद्वारा पदार्थको विश्लेषण गरिन्छ त्यसरी नै प्रयोगवादी सर्जकहरू मानव मन र त्यसका स्थितिहरूको विश्लेषण गर्दछन् । सर्जक पनि एक वैज्ञानिकका हैसियतले जीवनका स्थिति र प्रतिक्रियाहरूको मीमांसा गर्दै कलात्मक दृष्टिले तिनलाई अभिव्यक्ति दिन तदनुरुप नवीन शब्दयोजना, शैली वा शिल्पको आविष्कार गर्न पुग्दछ । यसमा नै प्रयोगवादको सार्थकता रहने गर्दछ ।३
प्रयोगवाद खासमा कुनै वाद नभएको चर्चा पनि कतिपय विद्वान्हरूले गरेका छन् । किनभने नयाँनयाँ शिल्पको प्रयोग गर्ने षियमा सबै वादहरूले पूर्णतः वा आंशिक रुपमा झुकाउ राखेकै हुन्छन् ।
उत्तरोत्तर पछाडि सिर्जित हुने साहित्यमा नवीन बिम्ब–प्रतीक वा शिल्पको प्रयोग स्वतः हुँदै आएको छ । हरेक साहित्य सिर्जनामा अभिव्यक्तिका नयाँ माध्यमको प्रयोग भइरहेकै हुन्छ, तर पनि प्रयोगवादले साहित्य सिर्जनामा प्रयोगशीलतालाई अत्यधिक महत्व दिने हुनाले यसलाई प्रयोगवाद भन्नु उचित नै ठहर्छ ।४ खासगरी पूर्व र पश्चिम दुवैतर्फका काव्यसाधकहरूमा प्रयोगात्मक प्रवृत्तिप्रति झुकाउ पहिल्यैदखि रहिआएको पाइन्छ । प्रयोगशीलताका दृष्टिले पूर्वभन्दा पश्चिम धेरै धनी छ, तापनि साहित्यिक वादको रुपमा काव्यसम्बन्धी एउटा छुट्टै अभियानको रुपमा प्रयोगवादको जन्म भारतबाट भएको लक्ष्मणप्रसाद गौतमले बताएका छन् ।
ऐतिहासिक रुपमा प्रयोगवादको आविर्भाव १९४३ को ‘तारसप्तक’ प्रकाशनबाट भएको भएको मानिन्छ । यस वादका प्रवर्तक कवि अज्ञेय मानिन्छन् । उनको उक्त कृति पूर्वीय प्रयोगवादको घोषणापत्र मानिन्छ । वास्तवमा उनी सच्चिदानन्द हीरानन्द वात्स्यायन थिए भन्ने विद्वान्हरूको मत रहेको छ । पश्चिममा भने एज्रा पाउण्ड र टी.एस्. इलियट आदिका कविताबाट प्रयोगवादी कविहरू प्रभावित रहेको पाइन्छ ।५

प्रयोगवादका सन्दर्भमा कवि अज्ञेयको धारणा यस्तो रहेको छः६ प्रयोगवादी कवि कुनै एउटा यस्तो स्कुल होइनन्, कुनै यस्तो लक्षबिन्दुमा पुगेका छैनन्, अझै बाटोमा छन्, बाटामा होइन बाटाको खोजीमा छन् ...। वास्तवमा प्रयोगवादी सहित्यकार आफ्ना कृतिमा अनुभूत मनस्थिति र तथ्यहरूको विश्लेषण गरे पनि नयाँ शब्दको योजना गर्दै तिनलाई नवीन सन्दर्भ र प्रसङ्गमा भिजाएर नवीन सम्भावनाहरूको उद्घाटन गर्दछ, तापनि आद्योपान्त प्रयोगकै पुच्छर समाउनु प्रयोगवादको कर्तव्य रहन्छ ।

३. उपन्यास र प्रयोगात्मकता
विधामिश्रणका सन्दर्भबाट हेर्दा सर्वाधिक विधामिश्रण गर्न सजिलो र कमलो स्वभावको विधा उपन्यास नै हो । उपन्यासको लचकताका कारण जतासुकै तानतुन र मिसमास पार्न सकिन्छ । जस्तोसुकै ढाँचाको साँचोमा ढाल्न सकिन्छ ।
यसै कारणले गर्दा गाथा तथा आहानदेखि उत्तरआधुनिकतासम्मका आख्यानलाई हेर्दा यस्तो प्रयोगको निरन्तरतालाई सम्झाउँछ, यस्तो औपन्यासिक प्रविधिको विकासक्रमलाई दर्शाउँछ, जो नित्य फेरिंदै, बदलिंदै, विविधता र भिन्नतामा नानाविधिको आकार प्रकार, स्वरुप ग्रहण गर्दै अविच्छिन्न रुपले प्रवाहित छ ।७
उपन्यासको आफ्नो स्वरुप, संरचना, कथानक, चरित्र र पर्यावरणमा केही नवीनता थप्दै उत्तरोत्तर नवनव प्रवृत्ति अँगाल्दै जानु प्रयोगको सामान्य नियम मानिन्छ । यही नयाँरुप, अभिव्यक्ति र शिल्पको खोजले गर्दा आज उपन्यासको क्षेत्र धेरै विस्तारित भएको छ । क्षेत्र विस्तार नै प्रयोगवाद आरोपणको कारण बन्न पुगेको मानिन्छ । प्रयोग केबल प्रयोगका लागिमात्र नभएर कलात्मक उत्कर्षका लागि गरिनुपर्छ भन्ने विद्वान्हरूको धारणा रहेको पाइन्छ । प्रयोगका क्रममा रोचकतापूर्ण प्रायोगिक सीप र प्रविधिमा नवीनता अँगालिएको हुन्छ । जुन प्रविधिले धेरै मानिसलाई सम्मोहित पार्दछ, अनि मान्य सिद्धान्त नै नलाग्ने भएपनि भावकका मनमा शैल्पिक र सैद्धान्तिक दुबै दृष्टिले प्रभाव छोड्छ, त्यही प्रविधिले सर्वथा अपरम्परित इतिहासको सुरुवात गर्दछ ।८
प्रयोगोन्मुखता रचना धर्म पनि हो । नत्र रचना प्रविधिको विकास अथवा नवनव स्वरुप अबरुद्ध हुन्थ्यो ।९ प्रचलित परिमिततामा बाँधिन नचाहेर वा त्यस परिमितताले नयाँ व्यक्त गर्न नसकेर पनि अर्को बाटो खोज्न गतिशील भइन्छ । पुरानै मान्यता वा नियमलाई सकारेर लेख्नुपर्छ भन्ने के छ ? किन अर्कै पद्धतिको अबलम्बन नगर्ने ? भन्ने सचेत सोचाइले पनि प्रचलित मान्यताप्रति असमर्थन र अस्वीकृतिको दृष्टिकोण झाङ्गिएको हुन्छ । यही सोचको परिणति स्वरुप विवस्तुता, विपात्रता, विकथनात्मकता, विपरिवेशात्मकता, विवैचारिकता, विसांस्कृतिकता, विचिन्तनता र विमिथकीयताजस्ता मूल्यहरू समायोजन भएका सिर्जनाहरू रचिन थालेका छन् ।
यही पक्षमा अभिमुख भएर सिर्जित साहित्य नै आजको मौलिक पहिचान बनेको छ । यस्तो चिन्तन अकथात्मक कथा लेखन र अउपन्यासात्मक उपन्यास लेखनबाट आख्यान क्षेत्रमा प्रवेश गरेको छ । यस्तो चिन्तनको प्रभाव आख्यानेतर विधा कविता र नाटकमा पनि परेको पाउन सकिन्छ ।१० प्रयोगको नयाँनयाँ संकरण बढ्दै जाँदा पाठकलाई परम्परित रुढ रचनामा जस्तो वैचिœय प्राप्त हुन सक्दैन र त्यस्ता रचना सहज स्वीकार्य पनि हुन सक्दैनन्, तर पनि प्रयोग र नवीनताका नाममा सर्वथा भिन्नै बाटो रोज्नाले उपन्यास वा अन्य विधाले आफ्नो स्वत्व गुमाउँदै गएको कुरा पनि घाम झैं छर्लङ्ग छ । प्रयोगात्मक साहित्य रचना गर्दा बौद्धिक र सामान्य पाठकका लागि उपयुक्त छन् कि छैनन् भनेर ध्यान पु¥याउनु आवश्यक हुन्छ । चिनी मात्र खाएको जिब्रोमा तीते करेला नमीठो हुनु स्वभाविक नै हो । यस दृष्टिले प्रयोगात्मक उपन्यास आरम्भमा अस्वाभाविक लागे पनि विस्तारै बानी पर्दै जने कुरा सत्य छ । प्रयोगात्मक उपन्यास बढी प्रगोगधर्मी रचना भए, उपन्यास कम भए भने प्रयोग केबल सैद्धान्तिक आग्रह मात्र बन्न पुग्दछ ।११ यस्तो स्थिति लेखकले नवीन प्रयोग गरी नाम र दाम कमाउने लालचका कारण सिर्जना हुन्छ ।
प्रयोग साहित्यको बाध्यता पनि हो, किनभने अरु साहित्याकारभन्दा पृथक् देखिनुपर्ने चाहना र रहरले साहित्यकारलाई नयाँबाटो अपनाउन घचघच्याई रहन्छ । प्रयोग वादका रुपमा रुपान्तरित भएपछि त्यो सिद्धान्त वा दर्शन बन्छ । त्यसमा प्रयोगको अंश बाँकी रहँदैन । अतः ‘प्रयोगवाद’ भए पनि यसको प्रवृत्ति प्रयोगशील रहन्छ ।
प्रयोगवादले साहित्यिक रुढिलाई तोडेर नयाँ परम्पराको स्थापना गर्दछ । यस वादले प्रगतिमा आस्था राख्ने भएको हुनाले गतिशीलता प्राण र नवीनता मुटु हुन् । अतः परम्पराभन्दा केही नवीनता भएका सबै उपन्यास प्रायोगिक उपन्यास हुन् । प्रयोग सापेक्षतामा आधारित हुने गर्दछ । आदर्शका अपेक्षा स्वच्छन्दता र त्यसका अपेक्षा अरु उŒारोŒार सिद्धान्तहरू प्रयोगात्मक प्रवŒाका हुन्छन्, तर प्रयोगको यस्तो किसिमको सामान्य अर्थ होइन । बरु प्रयोग भन्नाले ‘उपन्यासको परम्परागत मूल्यलाई धराशायी पारेर वा भाँचेर नयाँ क्षेत्रको अन्वेषण गर्ने’१२ बुझ्नु पर्दछ । विशेष गरी उपन्यास लेखनका क्रममा आजकल ‘नयाँ उपन्यास’, ‘अउपन्यास’, ‘अधिउपन्यास’ आदि प्रयोगवादी उपन्यास लेख्ने गरेको पाइन्छ । प्रयोगवादको यति लामो बहसपछि यसका प्रवृŒिा र विशेषतालाई बुँदागत रुपमा यसरी देखाउन सकिन्छ १३
 नयाँ कथ्य, नयाँ पद्धति र नयाँ सम्भावनाहरूको खोजी गर्नु
 रुढ बनिसकेका नियमहरूमा प्रश्नवाचक चिन्ह खडा गरी अगाडि बढ्न प्रेरित गर्नु
 जिज्ञासा शान्त पार्न नयाँप्रयोग गरी त्यसका कलात्मक गुणहरूको परीक्षण गर्नु
 अनुकरणको पद्धतिलाई अस्वीकार गरी अरुलाई पनि अन्वेषण गर्न प्रेरित गर्नु
 चमत्कारलाई महŒव नदिई विवेकको उपयोग गर्न सचेत प्रयास गर्नु
 नवीनताप्रति आस्थावान् रही यस्तै प्रवृतिको विकाशमा योगदान दिनु
 प्रयोग आफैंमा पूर्ण नहुने भएको हुनाले लुप्त र नवीन सत्यको साक्षात्कारको प्रयास गर्नु कथ्य, शैली र भाषाको नयाँ प्रयोग प्रणालीबाट नवीन सौन्दर्यका गोलाद्र्धको खोजी गर्नु
 समसामयिक स्थितिप्रति सजगता राखे पनि तद्विषयक बोध ज्यादै देखाउनु तर समाधानसम्म पुग्ने आँट नगर्नु, सामाजिक स्थितिको सम्पर्कद्वारा उद्विग्न हुनु र भाग्नु१४
 अतियथार्थवाद र अस्तित्ववादबाट प्रभावित हुँदै अस्पष्ट र विकृत रुपमा यथार्थको उद्घाटन गर्नु,
 कल्पनाको प्राय अभाव रहनु
 आत्मग्लानि वा लघुताबोधको उद्घाटन गर्दै आफ्नो दुर्बलता र खिन्नतालाई बौद्धिक आबरणले ढाक्न खोज्नु
 मनोराज्यको दिवास्वप्नबाट अतृप्ति, क्षोभ र विद्रोहको स्वर उराल्नु
 कवि वा साहित्यकारको अहम् समाजपरक नहुनु र सौन्दर्यबोधको पर्यवसान घृणामा या जुगुप्सामा हुनु
 कलापक्षया शिल्पतर्फ मुक्त छन्द र उन्मुक्त नवीन प्रयोगका निमित मरिमेट्नु
 व्यङ्ग्य र बैचित्र्यको प्रदर्शन गर्नु र यौन प्रतीकको आधिक्य रहनु
वास्तवमा सामाजिक जीवन प्रणली र परम्परागत मान्यताप्रति शङ्का र असन्तोष व्यक्त गरे पनि प्रयोगवादसित निजी मान्यता र प्रयत्नहरूलाई विकसित एवं परिमार्जित गर्ने खासै कुनै योजना छैन । प्रयोग केबल प्रयोगका लागि मात्र पनि उपयोग गरिँदा सिर्जनाको कलात्मक वैचिœय पनि लुप्त भएर जन्छ । कठोर प्रयोगको शैल्पिक आग्रह नवनवोद्भावनाहरूको मोहका कारण उपन्यास थिलथिलिन पुग्छ र आफ्नो स्वत्व गुमाउने अवस्थामा पुग्छ । जसको कारण स्थापित मूल्य जरैदेखि उखेलेर फाल्नेकाम हुन्छ भने नयाँ कुनै मूल्य र मान्यताको स्थापना हुन सक्दैन । अनि कुहिरोमा हराएको काग जस्तै प्रयोगवदी साहित्यकार हराइरहन्छ । अतः प्रयोगवादी साहित्यकार जीवन र जगतप्रति उदासीन बनेर काव्यका बहिरङ्ग पक्षमा नै याने शिल्पसन्धानमा आफ्नो ध्यान केन्द्रित गर्दछ । यस वादमा काव्यको उपयोगितालाई भन्दा कथनको चमत्कृतिलाई बढी महत्व दिइन्छ । अतः प्रयोगवादले जीवन र जगतका अनुभूतिलाई त्यति महत्व नदिएर अभिव्यक्ति वैचित्र्यलाई नै आफ्नो सर्वस्व ठान्दछ ।

सन्दर्भ सूची
१. नेपाली बृहत् शब्दकोश, (काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०६०) पृ.८२९ ।
२. ऐजन
३. भानुभक्त पोखरेल, ‘सिद्धान्त र साहित्य’, (ललितपुरः साझा प्रकाशन,२०५९)
पृ. ८५ ।
४. ऐजन ।
५. ऐजन ।
६. ऐजन
७. कृष्णचन्द्र सिंह प्रधान, ‘नेपाली उपन्यास र उपन्यासकार’, दो.सं, (ललितपुरः साझा
प्रकाशन,२०६१) पृ.१९६ ।
८. कृष्णहरि बराल र नेत्र एटम, ‘उपन्यास सिद्धान्त र नेपाली उपन्यास’, दो.सं., (ललितपुरः साझा प्रकाशन,२०५८) पृ.६३ ।
९. कृष्णचन्द्र सिंह प्रधान,पूर्ववत्, पृ.१९७ ।
१०. राजेन्द्र सुवेदी, ‘नेपाली उपन्यासः परम्परा र प्रवृत्ति’,(ललितपुरः साझा प्रकाशन,२०६४)
पृ.४९८।
११. कृष्णचन्द्रसिंह प्रधान, पूर्ववत्, पृ.१९७ ।
१२. कृष्णहरि बराल र नेत्र एटम,पूर्ववत् पृ.१५३ ।
१३. ऐजन ।
१४. भानुभक्त पोखरेल, पूर्ववत्, पृ.८६ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 14 श्रावण, 2069

लेखकका अन्य रचनाहरु