पात्र

- जगदीश घिमिरे

“धत्, साला कूपात्र । के गरेर बसिरहिस् देहातमा यतिका बर्षसम्म ।” उसले भन्यो । उसको नाउँ जोशी हो । हामी पुराना साथी थियौं । भेट भएको दुइ–तीन मिनेटपछिदेखि हामी पैले जस्तै खुल्यौं ।
“खूब मक्खी पाइन्छ होला उतातिर ।”
“मक्खी” ऊ केटीहरूलाई भन्दथ्यो । खास गरेर दुई चार फूलमा बसेर रस चाखिसकेका तरुनीहरुलाई । “फूल त हामी हौं” उ भन्दथ्यो “तिनीहरू मधुमक्खी ।”
“कति बस्छन् अब ?” उसले सोध्यो ।
“टूङ्गो छैन । शायद अब यतै बस्छू ।”
“साँच्चै ?”
“साँच्चै ।”
“तर तँ पाखेलाई कल्ले पत्याउँछ ? अब पैला जस्तो सजिलो छैन मक्खी फँसाउन ।”
“किन ?” मैले सोधें ।
“कारको मोडेल जस्तो केटी फँसाउने मोडेल पनि बदलिन्छ । अनुहारको मोडेल र ब्यूटीको मोडेल सबै बदलिन्छ – तँ चुगद इन्डियनलाई काठमाडौंको कुन केटीको लिफ्ट दिन्छ र अब – गाह्रो छ बाबु गाह्रो । पैले नेपाली हो ।”
स्कूलमा ऊ र म सहपाठी थियौं । एस. एल. सी. गरेर उसले त्रि–चन्द्र र मैले पब्लिक साइन्स कलेजमा साइन्स ज्वाइन गरेका थियौँ । वर्षदिन ऊ त्रि–चन्द्रमा हल्लिएर प. सा. क. मा. आयो । दुई वर्षसंगै प. सा. क. हल्लिएर आई. ए. पढ्न कलकत्ता गयो । म तराईतिर टाप ठोकें । एक वर्ष कलकत्ता हल्लिएर ऊ काठमाडौं फर्केछ र आई. कम., बी. कम. पढ्दै रहेछ । म पाँच वर्ष तराई पहाड हल्लिएर थाकेर काठमाडौंमा हल्लन आएको थिएँ ।
“तराईमा खुब मक्खी फसाउँदो होस् तँ हैन ?” उसले सोध्यो ।
“तराईमा मक्खीको अनिकाल छ भाइ, त्यसैले काठमाडौं आएको हुँ फेरि” मैले भनें ।
एक्कै छिनपछि मलाई तलदेखि माथिसम्म नियाल्दै उसले भन्यो – “तर मैले आफ्नू पाखेपन छाड्नु पर्छ यहाँ बस्ने हो भने । तेरो यो बूट भएन । प्वाइन्टेड, आउट अफ डेट । सूट त झन हुँदै भएन । तेरो अनुहारबाट पनि इन्डियनगन्ध आउन थालेछ । अब यहाँ बस्ने हो भने तूरुन्त बेल बटम सूट, गोगो गगल्स, बूटको इन्तजाम गरिहाल् । सर्ट यस्तो (उस्ले आफ्नो देखायो), र प्रोनन्सिएसन् इङ्गलिश होइन प्योर अमेरिकन हुनु पर्दछ ।”
मैले देखें उच्चारण लगायत ती जम्मै कुराहरू उसको शरीर र व्यवहारमा जडिएका थियो ।
हामी फुटपाथमा हल्लँदै थियौं, श्रेष्ठ भत्रे केटी भेट भई जसलाई अघि हामी जिस्क्याउँथ्यौं र अहिले उसले आँखा झिम्क्यायो ।
के. सी. भत्रे केटी भेट भै जसलाई उसलाई मुस्कायो ।
जम्दार्नी (तड्केर हिड्थी, अतअ हामीले जम्दार्नी नाउँ राखेका थियौं) भेट भै जसलाई उसले जिस्क्यायो ।
उसलाई कसैले कुनै प्रतिकृया जनाएनन्, उसका असफलताहरूलाई मैले हाँसेर उडाएँ ।
“हेर्न अचेल मक्खीहरू मलाई पत्याउनै छोडिसके । सब अरू नै फूलमा पल्केका छन् । म दुब्लाएर पनि यस्तो भएको हो” उसले स्वीकार ग¥यो ।
“साला ग्याष्ट्रिक अल्सरले । क्या दियो । पोहोरदेखि सताइराख्या छ । पोहोरसम्म त मक्खीहरू म भनेपछि क्या दिवाना हुन्थे, तँलाई थाहै छ ।”
“अहिले यौटा पनि छैन त ?”
“छ नि एक दुईटा, भएर के गर्नु तर । भनेको बेला सिनेमा लैजान सक्दिनँ । पिकनिक लैजान सक्दिनँ । भोलि सिनेमा हेर्ने टिकट उसैले काटेर बोलाउँछे, आफूसंग राम्रो लुगा हुदैन ... यार जिन्दगी बेकार छ ।”
“अँ निस्सार छ रे ... ।”
“त्यसैले जागीर खान आँटे । लगा न, छैन तेरो कुनै सोर्स ।”
“मेरो के सोर्स हुनु ? बरु होला तेरै । कम्युनल भएको छैनस तँ ? कम्युनल भैदिएर पनि मौकामा फाइदा उठाउनु पर्छ बाबु ।”
“ूसाँच्चै सब सालाहरू कोही बाहुन भनेर, कोही क्षेत्री भनेर, कोही नेवार भनेर, कोही के भनेर कोही के भनेर कम्यनुल हुँदा रहेछन् । हामी छैनौं कम्यनुल । आँखा लडाउने केटीको हामी जातको वास्ता गर्देनौं ।” उसले भन्यो –“साला बूढाहरू कम्यूनल हुन्छन् । हाम्रो जेनेरेशन छैन । ... कुन्नी बुढा भएपछि हामी पनि हुन्छौं कि । के ठेगान ।” ...
“यौटा कूरा भन् त, तैले बायोलोजी पढेको होइन ? अल्सर र मास्टरबेसनसँग के सम्बन्ध हुन्छ ?”
“क्यै पनि हुँदैन ।” मैले जवाफ दिएँ ।
“मैले परारसम्म लगातार दुई वर्ष मास्टरबेशन गरें त्यतिखेर संचो थियो ।”
“अचेल बजारमा पाइने मक्खीकाँ जान्छ ।” आफूले तपस्या गरेर फसाएको मक्खीलाई पिकनिक लैजान पैसा हुँदैन के गर्नु त यार...... घिन लागी–लागी पनि ... छन त छ यौटा होमो । तर होमो मलाई मन पर्दैन । तँलाई चाहिन्छ भने चिनाइदिन्छु । सिनेमा पनि उसले लैजान्छ । होटल पनि उसैले लैजान्छ । तँ इन्डियन । इन्डियामा त यसको खूब बहार हुन्छ रे उसले तराईमा बसेको मलाई जिस्क्यायो ।
उसले भन्दै गयो – “त्यसैले त म कम्यूनिष्ट सपोर्टर भएको ... यूनिवर्सिटी एलेक्सनमा कांग्रेसको विरोध गरेको । तँ के को सपोर्टर नि ? साला पूँजीवाद । वर्तमानप्रति उसले विद्रोह जनायो । ।
“म ? क्यै न क्यै ।”
“साला त साँच्चै लेखक जस्तो भै सकिस् ?” भन् त, तँ लेखक हुन लागेको छस् भत्रे सुनेको थिएँ, कत्तिको लेखक भइस् ? तैंले लेखेको छापिन्छ ? लेखिसकेर तँ कससंग करेक्सन गराउँछस् ?
मलाई हाँसो उठ्यो ।
लेख्ने हो भने गोर्कीको वार एन्ड पीस जस्तो लेख्न सक्नु पर्छ बुझिस् ? ....
मलाई झन् हाँसो उठ्यो । मैले सोधेँ – “गोर्कीको वार एन्ड पीस ?”
“हो त । तैले साहित्य के पढेको छस् र तँलाई थाहा हुन्छ ? साहित्य पढ्न, बुझ्न त हामी जस्तो इन्टेलेक्चुअल कम्युनिस्ट हुनु पर्छ बाबु !”
म पनि लेख्न सक्छु त्यसो त, नत्र त्यतिका फिल्म हेरेको के काम लाग्यो ।
म चुपै लागिरहें ।
“तेरो किताब छापियो भने “प्रिय साथी जोशीज्यूमा” लेखेर प्रिजेन्ट गरिनस् भने हेर्न तँलाई ... मान्छेको साथी लेखक भएर कति–कति प्रिजेन्ट गर्छ–– ।”
“ल ... ल ...” – मैले भनें । यौटा कुराले मलाई काउकूति लगाएको थियो, मौका पाएर सोधें – “तैलें कम्युनिज्म कति बुझेरै कम्युनिस्ट सपोर्टर भएको ?”
उसले भन्यो – “मैले चाहिने जति बुझेको छु – तैँले नी ?”
मैले भनेँ –“नबुझे पनि यति बुझेको छु कम्वयुनिस्टले तँलाई यसरी लोफरी गर्न दिंदैन ।”
“नदिए के त । स्वास्नी त दिन्छ । अल्सरको औषधी त गरिदिन्छ । गरीब भएको भए ठाडै मर्ने म बुझिस् ... साला डाक्टरलाई फीस तिर्दा–तिर्दा हैरान । फिस पाएपछि जे पनि गर्छन् ... नपाए कोही मरोस् कि बाँचोस् के वास्ता ।”
“त्यो त गर्छ, तर तँलाई गरीब सरहै राख्छ ।”
“राखे के त । सबै एकै सरह भए के पीर । कार चढेको मक्खी पछि–पछि साइकल लिएर चेज त गर्नुपर्दैन कि ।”
उसले त्यो सम्झाएको, जून अघि हामी कार चढेर कलेजबाट फर्कने केटीलाई साइकल चढेर लघाथ्र्यौं । जोशी भन्थ्यो, त्यो कार चढ्ने केटीको एक करोड ब्याँक ब्यालेन्स छ, त्यसैलाई फँसाउन सके संसारबाट मुक्ति पाइहालियो । आई. एस्सी. किन पास गरिरहनु प¥यो ? तर त्यो सपना थियो, हामी जान्दथ्यौं ।
उसले फेरि भन्यो –“कम्यूनिस्ट सपोर्टर भएको गल्ती गरियो । कांग्रेस सपोर्टर भएइको भए मक्खी खुब फँसाउन पाइन्थ्यो । तर म त्यति विचार गरेर कम्युनिस्ट सपोर्टर भएको कहाँ हो र ? मत तँ जस्तो इन्डियनको दलालहरू देखर चीन सपोर्टर भएको ... काठमाडौं इन्डियनले लिइसके ... के काठमाडौँ – नेपाल नै लिइसके सब होटेल इन्डियनका ... सब राम्रा मक्खी इन्डियनका ... सब राम्रा कार इन्डियनका हामी त हे¥या हे¥यै ... आफ्नै देशमा आफै पराई ... तँ साला ... इन्डियन जासुस होस् भनेर क्यै नभनेको अघि ... हाम्रो टोलका सब “यँग ब्लड”हरू कम्युनिस्ट भैसके । तँ पनि हो ... ।
एकछिन थामिएर उसले फेरि भन्यो – “इन्डियनको अत्याचारबाट बच्न कम्युनिस्ट हुनै प¥यो । तितो मूख पारेर उसले कुरा अगाडि घचाड्थ्यो” तर कम्युनिस्टमा पनि ग्रुपिङ रहेछ बुझिस्, मैले पछि थाहा पाएँ अचेल मलाई कम्युनिस्टको सपोर्ट गर्नै मन लाग्दैन । उल्ले भन्छ ऊ चोर उल्ले ऊ चोर । को चोर – को चोर हामी के थाहा पाउने ?” ऊ गलल्ल हाँस्यो । यो हाँसोमा निश्छलता थियो एक बथान केटीहरूले, जसको हामी अघि नै देखि पिछा गर्दै थियौं, हामीपटिटे फर्किएर आँखा तरे । शायद जोशीको हाँसो सुनेर हामी अडियौं । जोशीले जिस्क्याउन थाल्यो । केटीहरूको बथान भोटाहिटीबाट छरियो – हामी अडियौं ।
अब उसको कूरा दोहोरिन थालेका थिए । म बोर हुँदै थिएँ । दुई तीन घण्टा जून मलाई बिताउन परेको थियो, सजिलै बिताएको थिएँ, र अब काममा जानु थियो । मैले छुट्टिने प्रस्ताव राखें ।
ऊ त्यस्तै आकस्मिक रूपले छुट्टियो जसरी भेट भएको थियो ।
‘तेरो आजको स्मरण लेख्दैछु, छुट्टिंदै मैले भनें ।
‘लात खालास् नलेख् ...” उसले भन्यो ।
दुई दिनपछि नयाँ सडकमा ऊ भेट भो ।
“फूर्सद छ तँलाई ?”
“छ ।”
“ल आइज, म तँलाई मेरो दार्जीलिङको मक्खी देखाउँछ” उसले तानेर लग्यो र यौटी, उसलाई हात हल्लाउँदै कारमा गैरहेकी केटी देखायो ।
“तर दार्जीलिङसंग झुक्किएर पनि आँखा नलडाउनु । आजसम्म फोनमा बाहेक कुरा गर्न पाएको छैन ।”
छुट्टिने बेला गम्भीर मुद्रामा उसले सोध्यो – ”मेरो कथा लेखिस् ?”
“लेखेको छैनँ तर नलेखी छाड्िदनँ ।”
“हेर, तँ जस्तो लेखक कुकुरसरि छन् । के गर्छस् लेखेर ? ... कल्ले पढ्छ तैंले लेखेको ... ? लेखेर के पैसा पाउँछन् ... ? लक्ष्मीप्रसाद देहकोटाको गति देखिहालिस् मैले भनेको कूरा विचार गरेस् ... तैले र मैले अब सङ्गत गर्नु बेकार छ ... मेरो संस्मरण लेख्छु भन्छस् ... पैला त नलेख्नु ... लेखिहाले पनि नाउँ नदिनु नि ।”
ऊ गयो । कुनै बेला ऊ मेरो निकै राम्रो साथी थियो । अहिले मेरो पात्र भएको छ । विसङ्गति देख्दा हाँसो लाग्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 श्रावण, 2069

लेखकका अन्य रचनाहरु