कोशी टप्पुमा चार घण्टा

- भेषराज रिजाल

वि.सं. २०६९ साल असार २३ गते शनिबारको दिन । वन्य जीवजन्तुका जीवन-जगत नियाल्ने अश्विनी पोखरेलजीको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै कोशी टप्पु वन्यजन्तु आरक्षतर्फ निस्कियो हाम्रो टोली । गुरूजीसमेत हामी छ जना थियौँ ।
मूल सडकैसडक पश्चिमतर्फ हानियौँ हामी । रोपाइँ भर्खर सकिएका चाक्ला गराहरू हेर्दै थिएँ मैले, सुनसरी नदीको पुल तरिसकिएछ । रोपाइँ भइसकेर पनि पानी सुकेका फाँटहरू देख्दा भने नरमाइलो लाग्यो । रातभर अनिदो बसी पानी सोस्ने पहाडी खेतमा सिँचाइ गरेर पानी टम्म पारेर समाहा चलाएको आफ्नो पूर्व अनुभव सम्झेर त्यो नरमाइलो बिर्सन खोजेँ मैले ।
दायाँतर्फ भोक्राहा र बायाँतर्फ नरसिंह गाविसको बीचबाट सडक कुदयो । सडकसँगै कुद्न नसके पनि केरा, सनपाट र उखुका लहलहाउँदा खेतहरूले टाढाटाढासम्म हेरिरहे । यति सुन्दर फाँटमाथि बसेका झुप्रा घरहरू । मलाई लामो सुस्केरा हाल्न मन लाग्यो, ती झप्राहरू स्रोतसाधन सम्पन्न मुलुकमा बसेका विश्वका सबैभन्दा गरिब नेपालीजस्तै लागे ।
सनपाटका रेशा निकाल्ने प्रक्रियाका बारेमा चर्चा भयो । केतुकीको रेशा निकालेको देखेको छु मैले र देखेको छु पोखरीमा कुहाएको केतुकी छाँटेर पखाल्दै गरेका मान्छेहरूको मेहनत पनि । खेतिपातीमा आधुनिक प्रविधिको प्रयोग भए बाँझा फाँटहरूमा कति अन्नपात फल्दो हो । मैले कल्पना गरेँ । कल्पना मात्र गरेर के गर्ने - फेरि कल्पनासम्म नगर्ने हो भने अरू के गर्न सकिला र - म तर्कवितर्कमा हराइरहेको थिएँ ।
"यस ठाउँको दर्तास्थल अलि पल्तिर थियो ।" अश्विनीजीले आफ्नो कामको स्मरण गरे । झण्डै दुई दशक पहिले पृथ्वीनारायण क्याम्पस, पोखरामा पढ्ने एक जना विद्यार्थी भाइलाई उसका बाबुले पठाएको नासो लिएर गएको थिएँ म । उसले मसँग कुरा गर्दै दिउँसोको कक्षाका विषयवस्तु स्मरण गरिरहेको थियो । सरको प्रस्तुतीकरण । साथीहरूको प्रतिक्रिया । उसको आफ्नो धारणा । अनि निष्कर्ष। उसको अध्ययनशील स्वभावलाई सम्मान गर्दै म आफ्नो काम पूरा गरेर छिटै निस्केको थिएँ उसको कोठाबाट । त्यो विद्यार्थीभाइको स्मरण र अश्विनीजीको स्मरणबीच भने फरक थियो । अश्विनीजीको स्मरणबाट भागेर निस्किहाल्न पर्दैनथ्यो । उचित विकल्पसहितका निष्कर्षनिकाल्दै हामी हाम्रो सेरोफेरोमा टहलिन सक्दछौँ । रमाउन सक्छौँ । प्रशन्नतापूर्वक गरिएको लगनशीलताले जन्माउँछ नवीन उपलब्धि ।
"गत साल कोशीको भङ्गालो यहाँसम्म आएको थियो ।" गुरूजीले पश्चिम कुशाहामा पर्ने एउटा तलाउ देखाए । मैले कोशीको बाँध फुटेर भयानक डुबानको तराइ सम्झेँ । कोशी फुट्दाको विशाल छाल मेरै छेउछाउमा हुत्तिएर आएझैँ लागिरहेको थियो ।
जमुवा चोकबाट उत्तरतिर लाग्दा एउटा फटयाङ्ग्रो झ्यालबाट छिरेर मेरो काँधमा बस्न आइपुग्यो । शुरूमा झस्के पनि थाहा नपाएझैँ गरेर उसलाई हेरिरहेँ मैले । त्यो घरि छाती त घरि पाखुरातिर सरिरहयो । अब कता पुग्यो भन्दै नहल्लिकन मैले त्यसलाई हेर्थे । त्यसले थाहा पाएझैँ उफ्रेीर मेरो शरीरको अर्को अङ्गतिर पुग्थ्यो । एवंरीतले त्यो मेरा नजरसँग लुकामारी खेलिरहयो । आखिर कतिबेला मलाई छोडेर कतै फड्केर गएछ त्यो । त्यो कुनै उखु वा केराका झाङभित्र छिरेहोला, तर त्यसले मलाई धेरै वर्ष पहिलाको एउटा सम्झना दिलाएर गयो ।
मैले पढाउने विद्यालयका केही विद्यार्थीहरूले सिसाको बोतलभरि हरिया फटयाङ्ग्रा जम्मा गरेका रहेछन् । मैले उनीहरूलाई निरूत्साहित गर्दै भनेँ "विद्यार्थी भएर पनि यस्ता किराफटयाङ्ग्रा छोपेर बस्ने ?"
"पिँपीँलाई पनि किरा भन्नुहुन्छ र सर -" उनीहरूले पनि झण्डै सामूहिक स्वरमा प्रतिप्रश्न गरे ।
"किन छोपेको यतिधेरै पिँपीँ -" मैले वास्तविकता जान्न चाहेँ ।
बिनाउत्तर उनीहरू हाँसी मात्र रहे । थाहा भयो, उनीहरू पिँपीँ भन्ने ती हरिया फटयाङ्ग्रा खाँदा रहेछन् । पर्यावरण बचावटतर्फलाग्नुभन्दा पहिला त्यहाँको संस्कार जान्न जरूरी ठानेँ मैले । किनकि सबै मान्यताहरूको कडी संस्कार नै हो । अनि ती विद्यार्थीका अभिवावककहाँ कुरा बुझ्न गएँ ।
"एउटा हरियो फटयाङ्ग्रा हुँदो रहेछ नि पिँपीँ भन्ने ..." मैले कुराको थालनी गरेँ ।
"हाम्रा केटाकेटीले जम्मा गरिरहेको त देख्नु भएन सरले -" अभिभावकले पनि मुसुमुसु हाँस्दै प्रत्रि्रश्न गर्दै थपे "हामीले पनि केटाकेटीमा बटुल्थ्यौँ । बूढाबूढी बिरामी हुँदा पनि खाने गरिन्छ । निकै तागतिलो हुन्छ त्यो । घिउ तेलमा फ्राई गरेर खान सकिन्छ ।"
मैले कुरा बुझिहालेँ । बच्चादेखि बूढासम्म सबैलाई चल्दो रहेछ पिँपीँ । अनि मैले पिँपीँको कुरै नगरेर उनीहरूका बालबच्चाका पढाइलेखाइ र विद्यालयका अन्य कुरा गरेर फर्केँ ।
त्यतिबेला फर्के पनि सिसाभरि बटुल्दा धेरैजसो निसासिएर मरिसकेका र अधमरो भएर तिनका बीचबाट सल्बलाएका एकाध निर्दोष फटयाङ्ग्राहरू सम्झँदा मनमा चसक्क हुन्छ अझै पनि । वन्यजन्तु आरक्षणतिर हानिएको यो बबुरोलाई त्यो फटयाङ्ग्राले त्यही पुरानो सम्झना मात्र सम्झाएन बरू त्यसको र्स्पर्शले प्रकृति प्रेम पनि सिकाएर गयो । तिनीहरूको मान्छेसँग दोहारो सम्वाद गर्ने भाषा नभए पनि हाम्रो जस्तै दुनियाँ छ । हाम्रो जस्तै घर परिवार र साथी सङ्गतीहरू छन् । हाम्रो जस्तै बाँच्ने अधिकार छ । जानेर वा नजानेर त्यो मेरो शरीरमा आए पनि त्यो सुरक्षित प्रकृतिमै फर्किएको छ । मैले सन्तोषको लामो सास फेरेँ ।
अश्विनीजीले श्रीलङ्का टप्पुमा गएर फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्दाको अनुभव सुनाउँदै थिए । हामी कोशी वन्यजन्तु आरक्षको कार्यालय पुगिसकेछौँ ।
छतरी परेको चेरीको बोटमुनि सुस्ताउँदै थियौँ हामी । कार्यालयभित्र पसेका अश्विनीजीले बोलाइहाले । कार्यालयका संरक्षण अधिकृत अशोककुमार रामसँग परिचय भयो । अनि रेञ्जर अरविन्द यादवसँग पनि ।
अर्ना, हिउँदे चरा, गोही, हात्ती र लघुनाका लागि आरक्षको प्रसिद्धी रहेको विषयमा चर्चा भयो । चार सय त्रियानब्बेभन्दा बढी चराहरू र पाँच सय चौधभन्दा बढी वनस्पति पाइने जानकारी मिल्यो । तथ्याङ्क सबैथोक होइन भन्ने कसैको भनाइ बिर्सेर भर्खर आरक्षक्षेत्र घुम्न निस्किहालौँ जस्तो लाग्यो । प्रजाति विविधता र पर्यावरणका ती उदाहरणहरू सुन्दा ।
"कोशी कटान यहाँको प्रमुख समस्या हो ।" कुनै हिमताल फुटेर सुनकोशीमा ठूलो बाढी आयो भन्ने अस्ति भर्खरैको हल्लाको स्मरण गर्दा रामको अनुहारमा नमिठो भाव देखियो । उनको भनाइले किताबमा पढेको बिहारको दुःख कोशी भन्ने कथन सम्झेको थिएँ मैले ।
"कटान रोक्ने स्परले हो, तटबन्धले भन्दा पनि ।" रेञ्जरसा’ब बोले ।
"नयाँ गेमस्काउट ।" एउटी भर्खरकी तरूनी कर्मचारी भित्र पस्नासाथ रामले भने । तिनले हाम्रा लागि चिसो कोक ल्याएकी थिइन् ।
"एउटा म्युजियम बनाएका छौँ । ब्याउँने बेलामा जङ्गली हात्तीबाट बलत्कृत भएर तुहेको छावा पनि छ त्यहाँ । हात्ती पनि बचाउन सकिएन ।" राम बोले ।
"अनि छावा कस्तो भएको छ त -" सोधिहालेँ मैले । मलाई बच्चा भन्नासाथ जेको पनि बिछट्टै सुन्दर लाग्छ ।
"बच्चो पनि बचेन नि । रासायनिक घोलमा डुबाएर राखेको हो।" राम भावुक भए । तिनका रसाएका आँखा हेरिरहन सकिन मैले पनि ।
हामी म्युजियम हेर्न निस्किन लाग्यौँ । त्यतिबेलासम्म हाम्रा लागि आरक्ष डुल्ने पास बनिसकेको थियो ।
हामी म्युजियमभित्र छिर्यौँ । हात्तीको खप्पर । अर्नाका बडेमानका सिङहरू । जरायोका सिङहरू । अजिङ्गरको छाला । जङ्गली बिरालो, हाँस, दुम्सी, र्सप, घडियाल गोही र बँदेलका मुमिनहरू । सधैँ डरलाग्दा लाग्ने जीवजन्तुहरूका मरेका सुकुटी शरीर देख्दा तिनीहरूप्रति माया पलाएर आयो ।
"अर्नाको बच्चा । गाडीले ठोकिदिएर आमा बच्चा दुबै मरेका । अप्रेशन गरेर बच्चा निकालेको ।" सर्लाही घर भएका गेमस्काउट मैखर चौधरीले हामीलाई म्युजिममा राखिएका सबै चिजहरूको एक-एक गरी देखाउँदै थिए ।
"डल्फिनको बच्चा ।" कोशी बाँध फुट्दा मरेको बच्चा भेटाएर नसड्ने घोलमा डुबाएर राखिएको रहेछ ।
अर्को कोठामा देखियो मरेको हात्तीको छावा । बलत्कृत आमाको पीडासँगै मरेको बिचरो । हाम्रा मोबाइलभित्र त्यो कैद भयो । हात्तीसारमा खेल्दाखेल्दैको अवस्थामा जिवितै देख्न पाएको भए त्यसलाई । मनले चिताएर मात्र के गर्नु । त्यत्ति रहेछ बिचराको दुनियाँ । नजन्मदै मृत भए पनि उसलाई हेरेर दुनियाँ रोइरहेछ । उसले नदेखे पनि सबैले उसलाई हेरेर पछुताइरहेछन् । बच्चा जन्मने बेलाकी अबला गर्भिणी नचिन्ने त्यो मोरो लफङ्गो हात्ती । लाग्यो, पुरुषले महिलाका दर्द सम्झनै सक्दैन ।
मृत हात्तीको बच्चा हेरेर सङ्गालिएको पीडा भुल्न जिउँदा हात्ती राखिने हात्तीसारतिर लाग्यौँ । हात्तीसार खालि थियो । सबै हात्ती चर्न गइसकेका रहेछन् । एक जना माहुतेले जङ्गलतिर जान सुझाए ।
हामी गाडीमा बसेर नहरमा खेलेका मान्छेका बच्चा हेर्दै अगाडि बढ्दै थियौँ । पिच गर्दै गरेको सडकबाट अघि जान पाइएन । फर्कियो ।
एउटा टावर नजिकबाट अर्ना देखियो । किनारमै पुगेर मजाले हेरियो । एउटा बसेको र अर्को त्यसकै छेउमा पल्टिरहेको । मुढो लडेझैँ सर्लम्म लडिरहेको ।
"एउटा मुढो त होइन -" कसैले विश्वासै गरेनन् । मुढो नै हो भन्ने धेरै भइसक्दा त्यसले मुन्टो उठायो । अलि पल्तिर दुईटा अर्ना चरिरहेका थिए ।
पानी माथिबाट उड्ने चराहरू । पर क्षितिजमा माछा मार्नजसरी तैरिइरहेको डुङ्गा । क्षितिजसम्म पानी नै पानीको संसार । किनारको काँसको झाडीमा हावाको बयली ।
"पश्चिमतिर सप्तरी, उत्तरतिर उदयपुर ।" गुरूजी स्थानीय भएकाले सबैभन्दा जानफकार छन् । हामी वरपर देखिए जति जल संसार हेरेर थाकिसक्यौँ ।
"कोशी फुटेको यहीँ हो । फुटेर पूर्व लाग्यो ।" फेरि स्थानीय साथीहरूले जानकारी दिए । झण्डै एक वर्षपछि भए पनि कोशीको दुःख झेल्नेहरूप्रति मैले फुक्लो सहानुभूति राखेँ कोशी किनारमै पुगेर ।
छाता ओढेर आफूमाथि बसिरहेको मान्छेलाई वेवास्ता गर्दै चरिरहेको एउटा हात्ती । त्यसकै छेउमै पुच्छर हल्लाउँदै चरिरहेको अर्को हात्ती । सडक किनारमा गाइवस्तु चराइरहेका गाउँलेहरू । एकापट्टि विशाल जल । अर्कोपट्टि बालुवाका थुप्राहरू । डिलैमा जाली भर्नेहरूका झुप्राहरू । वयर घारीका घना काँडामाथि नाचेका पुतली र चराहरू ।
जङ्गे पिलर पारिपट्टि भारतीय बस्तीहरू । छपन्न ढोकाले थुनेको विशाल जलप्रवाहलाई आठ नौ ढोकाबाट पार गराइएको छ । हिउँदमा पूरै खोलेर भारततिर सिँचाइ गरे पनि वर्षात्‍मा थुनेर हुने भयानक डुबान । कोशी पारिका माछाको स्वादमा रमाए पनि भरे फर्केर आएपछिको रातको एक निद निर्धक्क निदाउन सकेको थिइन म । कोशी आसपासका मान्छेहरू उर्लँदो कोशी हेरेर कसरी निदाउँदा हुन ।’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 श्रावण, 2069

लेखकका अन्य रचनाहरु