थुक्क! तैँले पनि घर बनाइहाल्नु परोस्

- सञ्जय बिष्ट

त्यस समय यो ठाउँ आजको जस्तो थिएन। कृत्रिमताद्वारा प्रकृति यसरी बलात्कृत भएको सपना पनि देख्दैन थिए त्यस समयका मानिसहरू। गुरुकै पनि मस्तिष्कमा नहुँदा परीक्षामा विद्यार्थीहरूलाई पर्यावरण संरक्षणबारे निबन्ध लेख्न पनि आउँदैन थियो। दिशाज्ञान भएपछि पूर्वबाट उदाएको सूर्य पश्चिममा अस्ताउँछ भन्ने पुस्तकमा पढ़्नु पर्दैनथ्यो। सूर्योदय र सूर्यास्तको मनोरम दृश्य सबैजसोले आँगनबाटै देख्थे। कृत्रिमता आफ्नो आधिपत्यको सङ्घर्षमा थियो त्यस समय। कृत्रिमताको मूर्खता देखी चॉंप-गुरॉंसहरू ओठमा ब्यङ्ग्यात्मक मुस्कान बोकी बाटैभरि, जङ्गलैभरि फुल्थे।
त्यही चॉंप-गुरॉंस फुलेको बाटो भएर नरेन्द्र नजिकैको स्कुल जान्थ्यो।
स्कुलमा साथीहरू धेरै थिए। जीवनभरिकै जस्तो साह्रै मिल्नेचाहिँ एक-दुई थिए।
‘‘जाऊँ हाम्रो घरमा,’’ बेला-बेला नरेन्द्र उनीहरूलाई भन्थ्यो। लान्थ्यो पनि पालो-पालो साथीहरूलाई उसको सानो घर। जान्थ्यो पनि बेला-बेला ऊ साथीहरूको ठुलो घर। दृष्टिले देखेको पार्थक्यबाट हृदय र मस्तिष्क अप्रभावित रहन्थ्यो। इच्छा ऐँसेलु र भद्रासेहरूमै सीमित थियो। लोभ नपसेको हृदय र मस्तिष्क प्रकृतिझैँ स्वच्छ थियो।
उनीहरूको सानो घरसित जोड़िएको ठुलो घरमा फुपूहरू बस्थे। उनीहरू उता गइरहन्थे, फुपूहरू यता आइरहन्थे। गएका, आएकाहरूमध्ये कुनै-कुनै बेला बाकसबाट झिकी नोटहरू फुपूलाई दिन्थिन् आमा।
किराया शब्द उसले पछिबाट सुन्यो। अर्थ अझ अलिक पछि बुझ्यो शब्दको।
अब ‘‘जाऊँ हाम्रोमा,’’ मात्रै भन्थ्यो ऊ साथीलाई। ऊ साथीहरूको घरमा पनि गइरहन्थ्यो।

आठौँ कक्षामा पढ़्थे नरेन्द्रहरू।
एक दिन घण्टी लागेको पन्ध्र मिनटजति भइसक्दा पनि देवान सर कक्षामा आएनन्। अब सर आउँदैनन् भन्ने लागेपछि कक्षाको वातावरण बिग्रँदै गइरहेथ्यो। बिच्केको मौरीको गोलाजस्तो भन्किरहेको वातावरणमा अचानक सिङ सर आँखामा रिसको ज्वाला दन्काएर पसे।
आइरहेको सिङ सरलाई खिड़कीबाट देख्नासाथ अत्तालिएर उफ्रेर केटाहरू आफ्नो-आफ्नै ठाउँमा बसिसकेका थिए।
ब्ल्याकबोर्डतिर फर्किएर उभिए केहीबेर सर।
केटाहरूतिर फर्किए र ‘‘कसले हो यो?’’ पछिल्तिरको ब्ल्याकबोर्डतिर देखाएर सोधे।
बल्याकबोर्डमा राम्रोसँग नमेटिएका मधुरा अश्लील चित्रहरूको माथिल्लोपट्टि एकदम नमेटिएको, डस्टरले नछोएको चहकिलो एउटा उस्तै चित्र थियो।
‘‘कसले हो?’’ रिसको ज्वाला अब आँखासँगसँगै आवाजमा पनि दन्किरहेथ्यो।
‘‘कसले हो?’’ चारैतिर दृष्टि डुलाएर तेस्रोपल्ट सोधे सरले।
छेउकाहरूले सास फेरेकोसम्म सुन्न सकिने शून्यता थियो कक्षामा।
‘‘थाप्,’’ सिङ सर आफ्नो दाहिनेपट्टिको पहिलो पङ्क्तिको छेउको केटोअघि उभिएका थिए।
क्षणभरमै बेत र हत्केलाको द्वन्द्वले जन्माएको खिरिलो आवाज निश्चित अन्तरालपछि क्रमश: ठाउँ सर्दै बज थालिसकेथ्यो।
‘‘थाप्,’’ तेस्रो पङ्क्तिमा नरेन्द्रमा आइपुगेका थिए सर।
‘‘थाप्,’’दोहोर्याए सरले।
‘‘मैले हैन सर,’’ नरेन्द्रले भन्यो।
‘‘कसले हो, भन् त्यसो भा,’’ आँखा फुकाले सरले।
‘‘देखिनँ सर मैले,’’ भन्यो नरेन्द्रले।
‘थाप्’-लाई छिटो-छिटो दोहोर्याए सरले।
‘‘मैले देखिनँ सर,’’ अघिल्लै वाक्यका शब्दहरूलाई अघिपछि पार्यो नरेन्द्रले।
‘‘चुपचाप थाप्, थापिहाल्,’’ सर गर्जे।
‘‘थाप्दिनँ सर,’’ तातो रातो अनुहारको त्यसले भन्यो।
विद्यार्थीको अप्रत्याशित प्रतिक्रियामा झन्डै दस-बाह्र सेकेन्डजति सर पनि लाटिए।
‘‘निस्किहाल् क्लासबाट,’’ कम्पित गर्जनले मौनता तोड़े सरले।
‘‘निस्किहाल्,’’ थपे उही रौद्रतामा।
झोला टिपेर कक्षाबाट निस्कियो नरेन्द्र।
केही दिनपछि ‘‘खै त्यो?’’ केटाहरूलाई सिङ सरले सोधे।
कसैले केही बताउनै सकेन।

सामाजिक विसङ्गतिले पराकाष्ठा छोएको थिएन त्यो बोला। सपना देख्ने भइसकेको नरेन्द्रले स्कुल छाड़ेको तीन वर्षपछि पहिलो प्रयासमै नोकरी पायो, वन-विभागमा।
नोकरी पाएपछि उसको कोकुनरूपी सपनाभित्र इच्छानुरूपी प्युपाले स्वरूप ग्रहण गर्न थालिसकेथ्यो।
‘‘बेला-बेला निस्किनू नि हाम्रोतिर पनि,’’ सहकर्मी साथीहरूलाई बेला-बेला भन्ने गर्थ्यो ऊ।
साथीहरू आउँथे। ऊ पनि बेला-बेला साथीहरूको घरमा जान्थ्यो।
‘‘होस्, झमेला नगरौँ,’’ आमालाई भनेथ्यो नरेन्द्रले। शाखा-सन्तान, छर-छिमेकी र परिचितहरूलाई बोलाएर खुवाउने आमाको इच्छाविरुद्ध उभेको विजयी नरेन्द्र विजयमा पनि खुशी थिएन तर। सन्तानभित्रका पनि नबोलाउँदा अप्ठ्यारै पर्नेहरूलाई मात्रै बोलाएर स्वास्नी चिनायो नरेन्द्रले त्यहीँ।
तर विवाह गरेपछि उसको इच्छारूपी प्युपाले पुतलीमा परिवर्तन हुनथाल्यो।
छोरी जन्मी।
प्युपा पुतली भइसकेथ्यो।
छोरा जन्म्यो।
प्युपा रङ्गीन पुतली भएर कोकुन छाड़ी उड़ेर फूलहरूमा बस्न थाल्यो।
एक दिन माथि एउटा विवाह-भोजबाट फर्किँदा नरेन्द्र शीतल हावा चलिरहेको डॉंड़ामा उभियो। डॉंड़ाबाट प्राय: पुरै शहर देखिन्थ्यो।
मेरो ठाउँ। मेरो शहर।—मनमनै रमायो ऊ।
नियमोल्लङ्घन गर्न सकेका, नसकेका अग्ला-होचा असङ्ख्य बिल्डिङहरू एकाअर्कामा टॉंसिएरै उभिएका थिए।
यत्तिका असङ्ख्य बिल्डिङहरूमा एउटै मेरो होइन।— ऊ आफैसँग छक्क पर्यो।
जमिन खाली कति कता रहेछ डॉंड़ाबाट खोज्यो उसले। खोज्दै दृष्टि शहरदेखि निक्कै परपर पुगे।
असङ्ख्य फूलहरूमा उड़ेर आफ्नो यौवन सिध्याई पुतलीले वृद्धा र मरणासन्न अवस्थामा पुगेको बेला पॉंच वर्षअघि, अवकाश ग्रहण गर्नु चार वर्षअघि एउटा एल. आई. सी. म्याचोर्ड हुने समयमा नरेन्द्रले ब्याङ्कमा पर्सनल लोन एप्लाई गर्यो।
—‘‘एकपल्ट हामीलाई सोध्नु पर्थ्यो।’’
—‘‘सोसाइटी छैन त्यॉं।’’
—‘‘कुबेत भन्दा पनि हुन्छ त्यो पाटालाई पानीको लागि।’’
—‘‘यसो घरसितकै जमिन हेर्नुपर्थ्यो।’’
—‘‘अलिक बढ़ी हाल्नुभएछ।’’ दुईवटा मिलाएर जमिन मालिकलाई बुझाइ आफू जमिन मालिक भएकै भोलिपल्टदेखि थाहा पाउने परिचितहरूले प्रतिक्रिया जनाउन थाले।
भनाइहरू हॉंसको शरीरमा पानी भए नरेन्द्रलाई। चाहेको पुर्याउनसकेको, पुगेको हर्क ठुलो थियो ऊमा। बिस्तारै अब आँखामा घरका नक्साहरू आउन थाले। पहिला दृष्टि बेवास्ता कुदेका घरहरूमा अब अड्न थाले। घरको चिन्ताले पुरानिँदै गएको जमिनको हर्क परास्त पनि बन्दै गयो।
यसबिच नरेन्द्र चिनेको एकजना इन्जिनियरकोमा गइरह्यो। म्युनिसिपल अफिस पनि धाइरह्यो।
पोहोर उसका सहकर्मीहरूले उसको व्यक्तित्व र कार्यनिष्ठालाई आदर्श बताई उसलाई औपचारिक बिदा दियो।अवकाशको आधा वर्ष नबिती पाउनुपर्ने रुपियॉंहरूमा आधाजति नै पाएपछि इच्छा बनेको पुरानो सपनालाई मूर्तता दिने अभियानमा लाग्ने जमर्को गर्यो नरेन्द्रले।
काठको घर बनाउनु सहज सम्भव होइन— शहरले भनेको उसले बुझिसकेथ्यो।
एक दिन नरेन्द्र तीनवटा ट्रक भएको महिनावारी सौदा खाने महाजनकोमा गयो।
चार दिनपछि बालुवामाथि रड बोकेर एउटा अनि सिमेन्ट बोकेर अर्को दुईवटा ट्रकहरू नरेन्द्रको सपनालाई साकार तुल्याउन उसको चार डेसिमल जमिनमास्तिरको सड़कमा आई रोकियो र तीन-चारपल्ट लामो-लामो हर्न बजायो।
जमिन काटी फाउन्डेसन खन्नेहरूछेउ आलो माटोमाथि टुक्रुक्क बसेको नरेन्द्रले उठेर हर्नलाई हेर्यो। ट्रकहरू देखेर खन्नेहरूलाई ‘‘आइपुगेछ,’’ उसले भन्यो।
खन्ने एकजनाले उँभो हेरेर भन्यो, ‘‘ल्याइहाल्नुपर्छ, छरेर बर्बाद पार्छ कुकुरहरूले बल्वा।’’
भोलिपल्ट पनि ट्रकहरू आए। रोकिए। हर्न बजाए। रड, बालुवा र इँटाहरू ओसारिए।
पर्सिपल्ट सॉंझमा नरेन्द्र थाकेर किरायाको घर पुग्दा आँगनमा तीनजना केटाहरू उभिरहेका रहेछन्।
कोहरू जान्न ‘‘भाइहरू,’’ उसले सोध्यो।
‘‘तपाईँलाई नै भेट्न,’’ एउटाले भन्यो।
लगेर किरायाको सानो घरको सानो कोठाको सानो-सानो चौकीमा बसायो उसले आउनेहरूलाई।
चिया बनाउनु अह्रायो स्वास्नीलाई।
‘‘भन्नोस्,’’ नरेन्द्रले भन्यो।
‘‘घर बनाउनुहुँदै रहेछ पर,’’ एउटाले भन्यो।
‘‘ज्यू,’’ भन्यो उसले।
‘‘खुशी लागेको छ, गाउँमा तपाईँजस्तो मान्छे,’’ अर्कोले भन्यो।
ओठ हॉंसे उसका।
‘‘समाज छ त्यहॉं हाम्रो, म सचिउ,’’ भन्यो एउटाले।
‘‘ज्यू,’’ शिर तल-माथि पनि हल्लायो नरेन्द्रले।
‘‘समाजबाहिर बॉंच जसलाई पनि गाह्रै हुन्छ।’’ सचिवले नै भन्यो।
‘‘सकिँदैन,’’ लाई दोहोर्याएर शिर दाहिने-देब्रे हल्लायो नरेन्द्रले यसपल्ट।
‘‘गाउँमा नयॉं आउनेहरूबाट चन्दा लिने गरेका छौँ समाजको लागि,’’ यो पनि सचिवले नै भन्यो।
‘‘पछिबाट औपचारिक रूपमा समाजको सदस्यता लिन्छु नै,’’ भनेर ‘‘चिया सेलाउँछ होला,’’ सानो टेबलका कपहरूतिर उत्तानो हत्केला तेर्सायो नरेन्द्रले।
‘‘तपाईँले कुरा बुझ्नुभएन; सदस्यता अर्कै कुरा, चन्दा अर्कै कुरा,’’ अर्कैले भन्यो।
केही क्षण कोही बोलेनन्।
‘‘मान्छे हेरेर पन्ध्र-बीस हजार लिने गरेका छौँ,’’ त्यसैले भन्यो।
झस्केको नरेन्द्रको अनुहारमा कोरिएको आश्चर्य पढ़ेर ‘‘तपाईँ हाम्रो मान्छे,’’ भन्यो सचिवले।
एक पैसा दिन्नँ।— नरेन्द्र मनमा रिसायो।
मन रिसाएको भाव अनुहारमा देखेरै होला ‘‘हाम्रो मान्छे भनेर तपाईँबाट नलिँदा पछिबाट हामीलाई अप्ठ्यारो पर्ला, बुझिदिनुपर्यो तपाईँले,’’ स्वर र शैली मधुर थियो सचिवको।
तिनीहरू गएपछि ‘‘एक पैसा दिन्नँ।’’ सस्वर रिसायो ऊ।

सपत्नी नरेन्द्रको दीर्ध प्रतीक्षित आकाङ्क्षाको आधार बन्दै थियो। त्यसलाई छोराले पनि आफ्नो सपनाको आधार ठानिसकेको उसले बुझिसकेको थियो।
रड बुन्दै थिए मिस्त्रीहरू। डिलमाथि चार-पॉंचजना केटाहरू कति बेलादेखि उभिरहेका रहेछन्। उँभो हेर्दा उँधो हेरेर उभिरहेका देख्यो नरेन्द्रले।
देखादेख भएपछि खासखास-खुसखुस गरेर परस्पर, तिनीहरू झरे नरेन्द्रछेउ।
‘‘घर मालिक तपाईँ?’’ सोध्नेलाई नरेन्द्रले बाटोतिर देखिरहन्थ्यो।
उसले ‘‘भन्नुहोस् के छ?’’सोध्यो।
‘‘एकपल्ट सोध्नुपर्थ्यो थाल्नुभन्दा पहिला,’’त्यसैले भन्यो।
कुरा बुझेन नरेन्द्रले।
‘‘हाम्रो लेबर युनियन छ,’’अर्कोले भन्यो।
कुरा बुझेन नरेन्द्रले।
‘‘उहॉं प्रेसिडेन्ट,’’ छालाको कालो ज्याकेट लाउनेतिर देखायो अर्कैले।
‘‘कुरा बुझिनँ,’’ नरेन्द्रले भन्यो।
कुरा बुझाउन अघि सर्यो प्रेसिडेन्ट,‘‘घर बनाउनु हाम्रोहरूले पनि जानेको छ, सिप हाम्रोहरूसित पनि छ।’’
प्रतिक्रियाहीन उभिरह्यो नरेन्द्र।
जोड़्यो प्रेसिडेन्टले नै ‘‘तपाईँहरूजस्तोले यसरी तलकोहरूलाई काम दिँदा।’’रड बुन्नेहरूलाई हेर्यो ‘‘हाम्रो पेट मर्दैन?’’ सोध्यो।
‘‘लात हान्ने काम गर्नु भो हाम्रो पेटमा,’’ थप्यो अर्कोले।
नरेन्द्रलाई ‘‘के भन्नुहुन्छ?’’ सोध्यो प्रेसिडेन्टले।
‘‘के भन्नु र? पहिला सोचिएनँ, भेटै भएन,’’ भनेर ‘‘अब रोक्नु भएन,’’भन्न आयो नरेन्द्रलाई।
‘‘हटाउनुहोस्,’’ शैली आज्ञाको थियो प्रेसिडेन्टको।
‘‘त्यसो गर्न नमिल्ला,’’ भन्यो उसले।
प्रेसिडेन्टको ‘‘तपाईँले केही गर्नुपर्दैन, जे गर्नुपर्छ हामी गर्छौँ,’’ मा ‘‘त्यसो गर्न मिल्दैन,’’ अलिक कड़ा स्वर गर्यो।
‘‘त्यसो भए स्ल्याप हाल्ने ठिका हामीलाई दिनुपर्छ,’’ अरे एउटाले।
‘‘हुँदैन,’’ भन्दिऊँ लागेको थियो नरेन्द्रलाई तर कुरा बिग्रेला भन्ने भयले ‘‘सोचुपर्छ,’’ भन्यो उसले।
‘‘हामी घरमा आउँछौँ,’’ प्रेसिडेन्टले भन्यो।
उसले केही भनेन।
आएकै ओह्रालो उक्कालो गए तिनीहरू।
बिँड़ी तान्यो, खैनी माड़्यो; हप्ता दिनमा सकिने कामलाई महिना दिन लाउँछ, हल्लेरै रोज पड्काउनु खोज्छ, ऐले...।—धुमधाम रिसायो ऊ मनमनमा।
रिसाएकै ऊ घर पुग्यो।
अब प्रत्येक दिन नै रिसाएको भावको अनुहारको हुनथाल्यो नरेन्द्र।
आउँदैन सालाहरू। कुन मुख लिएर के आधारमा आउँछ?— भन्ने गरे पनि आइपुगिहाल्छ कि सोचेर प्रत्येक बिहान, सॉंझ पर्ख्यो तर। ढकढकिएका दैलोहरूमा प्रत्येकपल्ट झस्क्यो ऊ।
त्यस घटनाको हप्ता दिनजतिपछि झस्केकै उसले दैलो खोलेर हेर्दा साधारण परिचयका दुईजना रहेछन्।
‘‘नमस्कार,’’ एकजनाले भनेन।
‘‘ए! भाइहरू,’’ उसले भन्यो।
सानो-सानो चौकीमा बसेपछि सिधा अघिपट्टिकोले भन्यो,‘‘पहिला दुई-तीनपल्ट भेट भएको हो।’’
‘‘हो-हो,’’ भन्यो नरेन्द्रले।
‘‘केटाहरूले दु:ख दिँदैछ भन्ने सुनेँ।’’
‘‘हजुर?’’
‘‘बिल्डिङ बनाउनुहुँदै रहेछ।’’
‘‘टाउको लुकाउने छाप्रो,’’ नरेन्द्रले भन्यो।
‘‘पैसा-सैसा पनि दिनु’भो?’’
‘‘दिइनँ, दिएको छुइनँ,’’ बतायो।
‘‘एक पैसा दिनु पर्दैन त्योहरलाई; अपोजिसनमाम मान्छे नै कति छ त्योहरको? सक्दैन गर्नु केई; गरेछ भने भन्नोस् हामीलाई।’’
‘‘ज्यू,’’ मुखले भनेर ‘मान्छेजस्ता मान्छे’ मनले भन्यो नरेन्द्रले।
‘‘तपाईँको राजनीतिक मत कता?’’ सोधियो ऊ।
‘‘सक्रिय कतै छैन,’’ सॉंचो बतायो।
‘‘प्राथमिक सदस्यता कुन पाटीको?’’ पत्रकारद्वारा जस्तो पुन: सोधियो ऊ।
‘‘त्यसको पनि आवश्यकतै ठानिएनँ,’’ सॉंचो बतायो फेरि।
‘‘अहो!’’ देब्रे हातका औँलाहरूका टुप्पाहरूले निधार छोएर अघिल्तिरको मान्छेजस्तो मान्छले भन्यो, ‘‘गल्ती भएछ, एकदम गल्ती भएछ।’’
कतिवटामा त हाल्नुको औचित्यै नदेख्दा भोटसम्म पनि नहाल्ने नरेन्द्रलाई कुनै राजनीतिक दलको औपचारिक सदस्यता नलिई पनि बॉंच सकिन्छ भन्ने आजसम्म पनि लागेकै थियो।
‘‘लिइहाल्नुपर्छ, झट्टै लिइहाल्नुपर्छ; म प्रशाखा अध्यक्ष रुलिङ पार्टीको,’’ अन्तिम वाक्यमा विशेष जोड़ थियो।
‘‘दु:ख त्यै कारणले दिँदैछ केटाहरूले,’’ सुनिरहने छेउको बल्ल बोल्यो।
‘‘पाटीलाई तपाईँको आवश्यकता छ, त्योभन्दा धेर तपाईँलाई पाटीको आवश्यकता छ अहिले,’’ प्रशाखाध्यक्षले भने।
हो, हो लागे पनि नरेन्द्रले हो, होइन केही भनेन।
तिनीहरू गएपछि ‘‘के भन्छ?’’ स्वास्नीले सोधी।
‘‘सब चोरहरू; एक-सा-एक डाकाहरू,’’ धुमधाम रिसाएको थियो नरेन्द्र।
‘‘के भन्छ?’’ दोहोर्याई स्वास्नीले।
‘‘तीस-चालिस हजार माङ्छ पाटीलाई चन्दा,’’ बताएर ‘‘एक पैसा दिन्नँ, नबने नबनोस् घर-सर,’’ त्यही आक्रोशमा भन्यो उसले।
तर आठवटा सिमेन्टका खम्बाहरू ठड़िइसकेका थिए। काठमिस्त्रीहरू दैलोका चौखट बनाउँदै थिए। अरू साना-ठुला फलामे छड काट्दै थिए। काम निरन्तर हुँदैथ्यो तर निर्माणाधीन उसको घरको काम अघि नसरेको लागिरहेथ्यो नरेन्द्रलाई।
आउँदैनौँ, नभनेका अघिल्लो दिन तर एक दिन काम गर्नेहरू एकैजना पनि आएन।
दस बजेतिर ‘नाथेहरू’ भन्यो नरेन्द्रले मनमनै।
एउटाको कोठा चिनेको थियो। पुग्यो ऊ एघार बजेतिर।
दैलोमा ताला झुन्डिएको रहेछ।
सोद्धा वरपरकाहरूले केही बताउन सकेनन्। ऊ घर फर्क्यो।
घरमा पो पुगेको रहेछ त्यो काठमिस्त्री त।
‘‘बॉंचेर फर्किए एक पेट देशमै पनि पाल्न सकिन्छ; सॉंच्चै हातै काटिदियो भने के गर्नु? हामी नगर्ने काम,’’ फैसला सुनाइहाल्यो काठमिस्त्रीले।
सोचमा पर्यो नरेन्द्र।
‘हुँदैन’ भनेन ‘हुन्छ’ पनि भनेन। ‘‘तिमीहरूको विचार,’’ भन्यो सोचेर।
भोलिपल्ट पनि तिनीहरू आएनन्।
पर्सिपल्ट पनि तिनीहरू आएनन्।
गएर के फाइदा?—नरेन्द्रले पनि जान छाड़िदियो।
तर वरपर सस्वरूप हृदय पनि मान्छेकै भएकाहरू पनि थिए नै। उनीहरू सान्त्वना र सुझाउका सौगत लिएर आउन थाले।
केही दिनपछि नरेन्द्र सत्ताधारी पार्टीको शाखाध्यक्षलाई भेट्न गयो।
‘‘लास त आफ्नै घरबाट निस्कोस् भन्ने इच्छा मात्रै हो,’’ उसले सविनय बतायो।
‘‘तलै मिलाउनु पर्थ्यो,’’ शाखाध्यक्षले भने।
‘‘तपाईँलाई मान्छ,’’ सुनेको भन्यो नरेन्द्रले।
‘‘इलेक्सन आउँदैछ, हस्तक्षेप गर्नु पनि पछि त्यै केटाहरू चाहिन्छ फेरि,’’ असमर्थताको कारण बताए शाखाध्यक्षले।
जनताको साटो चौकीको लागि राजनीति गर्नेहरू।— गाली गर्यो शाखाध्यक्षलाई नि:शब्द उसले।
‘‘यसचोटि तलै मिलाउनुहोस्, प्रशाखामै,’’ ‘‘भनेर पछिबाट म छु,’’ पनि थपे जनताको नेताले।
थप् अशान्त बनेर घर फर्क्यो नरेन्द्र।
घर बनाउने प्रक्रियामा रहनु श्रापजस्तो लाग्यो उसलाई।‘थुक्क! तैँले पनि घर बनाइहाल्नु परोस्’—सुनेको झैँझगड़ामा नेपालतिरको श्राप सम्झ्यो। श्रापको महत्त्व उसको समय र समाजमा तीनगुण बढ़ेको लाग्यो। लागेपछि, मनमनमा दोहोर्याएर त्यही श्राप, तीन-चार अनुहारहरू सम्झ्यो उसले।
मान्छे पाए बेचिदिन्छु।— पनि विचार्यो। तर लगत्तै, बाबुलाई मैले जस्तै धिक्कार्ला फेरि छोराले मलाई।— पनि सम्झ्यो।
तर तीन-चार दिन ऊ चुपचाप बसिरह्यो।
दुई दिनअघि छोरी माइत आई ज्वाइँसित। दुई-तीन छिमेकीहरू पनि आए। पल्लोपट्टिबाट दाजु-भाउजू पनि आए त्यही सॉंझ।
आज, अगि दिउँसो नरेन्द्र ब्याङ्क गयो।
‘‘पुर्याइदिइहाल्नुहोस्,’’ छोरी-जवाइँ र स्वास्नीले पनि भनी।
सौका तीनवटा बन्डललाई उसले खबरकागजमा मिलाएर लपेट्यो र पहिला काममा जॉंदा बोक्ने छालाको भिर्ने झोलामा हाल्यो।
अहिले सॉंझ परेको छ। आकाशलाई कालो बादलले डम्म ढाकेको पनि छ। आँधी-बेह्री आउलाजस्तो भयपूर्ण कालो सॉंझमा एकसट्ठीको नरेन्द्र कॉंधमा झोला भिरेर आफ्नो जीवनभरिको स्विाल कल्पनालाई यथार्थमा अनुवाद गर्न प्रशाखा प्रेसिडेन्ट इन्द्रजितको घर जॉंदैछ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 श्रावण, 2069

लेखकका अन्य रचनाहरु