मरुभूमिमा श्वेत सुन्दरी

- सञ्जु बजगाईं

“कतारमा हरेक बर्ष तीन सयको हाराहारीमा नेपाली कामदारको मृत्यु ।”

धनवीरले आफू सुत्ने क्याम्पको कोठाको भित्तोमा यस्तै ‘हेडलाईन’ भएको एउटा अग्रेजी पत्रिकाको ‘कटिङ्ग’ टाँसेको छ । त्यसै पत्रिकाको एक छेउमा एउटी श्वेत सुन्दरी मुस्कुराएकी छे ।

ऊ अंग्रेजी पटक्कै बुभ्दैनथ्यो बर्षदिन अघिसम्म । आजकल अंग्रेजीमै सानोतिनो कुरा गर्न पछि पर्दैन । यस अर्थमा उसले मज्जाले बुझेको छ अंज्रेजीमा लेखिएको त्यो ‘हेडलाईन’ । बौद्धिक साम्राज्यको विकसित रुप ! मलाई हर्ष लाग्छ उसको प्रगतिमा । तर सिरानीमै मृत्युका अक्षरहरु टाँसेर सुत्न सक्ने आँट कहाँबाट आउँछ मैले बुभ्न सकेको छैन ।

‘भाँडमा गए मृत्यु र लाशहरु !’ मैल कुरो उप्काउँदा कस्तो बुलेट प्रुफ जवाफ फर्कायो धनवीरले । त्यसैदिन थाहा लाग्यो मलाई ऊ अंग्रेजीमा लेखिएको त्यस ‘हेडलाईन’ मा ध्यान दिन जरुरी ठान्दैन । तर मेरो सवालमा ? कुरै नगरौ ! कोठामा छिर्यो कि त्यो ‘हेडलाईन’ का अक्षरहरु अजिङ्गर जस्ता देखिन्छन् अनि म कमजोर महशुस गर्न थाल्छु ।

धनवीरको यस्तो आशक्ति के का खातिर ? ऊ र श्वेत सुन्दरीबीच के समानता ? केवल एउटै जात दुवैको – मान्छे ! यो भन्दा अर्को समानता केही देख्दिन म । विपरीत मानवीय जीवनशैली बाँच्नु सांसारिक धर्म भन्नु पर्ला । नत्र काला बुर्काभित्र गुम्सिएर संसार चिहाउने नारीहरुको मुलुकमा कालो चश्माले आँखाका नानी मात्र छोपेर नग्न पोज दिएका पोस्टरहरु कसरी भेटिन्थे ?

सुन्दरताको कस्तो अद्भुत जादु ! सर्लक्क परेको चाँदी जस्तो अर्धनग्न शरीर देखाएर मुस्कुराईदिएकी छे । ओछ्यानमा लम्पसार परेर नजर लगाउँदा उसका तिखा आँखाहरु आफूसँग मनै हरौलाझैं गरी जुधेको भान हुन्छ । अनि कसरी मान्छ धनवीर ‘हेडलाईन’ छेउ छापिएकी श्वेत सुन्दरीको गुलाबी मुस्कानले सदाबहार मरुभूमीमा जीवन जिउँने आधार दिदैन भनेर ?

काम सकेर क्याम्प फर्किदै गर्दा दिनभरको घामले झण्डै पग्लिन लागेको दिमागमा यही कुरो रुमलिन्छ । शारिरिक थकानले पिल्सिएको म मानसिक थकानले अझ मरेतुल्य हुन्छु ।

कम्पनीको गाडी क्याम्पको मूल ढोका अगाडि रोकियो । चर्न छोडेका कुखुराका चल्लाहरु जस्तै गाडीभित्रबाट तीस जना जतिको हाम्रो हुल भुरुरु निस्कियो । हामी छिर्यौ क्याम्पभित्र । हाम्रो ढोकामा ठूलो अक्षरमा लेखिएको नेपाल शब्द हाम्रो स्वागतमा दिनभरको पीडा बिर्सिएर मन्द मुस्कुराई रहेको थियो । धुस्रा–फुस्रा अनि थाकेर लखतरान अनुहारहरु त्यही ढोका खोलेर भित्र पस्यौं ।

म निरीह भएको छु – सोमालियाको कुपोषणयुक्त बालक जस्तो ! मेरा मधुरा आँखाहरुमा मेरो निरीहपन हावी भएको प्रष्ट देखाउँछ कोठाको चारपाटे सानो ऐनाले । मैले जस्तै अरु पनि आफ्ना अनुहार नियाल्छन् । ऐनाले देखाएको प्रतिबिम्ममा हराउँदै सबैजना आफ्ना फुस्रा हातखुट्टा र फुस्रा अनुहार पखाल्छौं पालैपालो र थकान मेट्न ‘बङ्क बेड’ तिर लाग्छौं ।

मभन्दा पहिले धनवीर ‘बङ्क बेड’ मा पल्टियो । भक्ते, वीरमान, नीमा, गणेश, रोक्का दाई, ठाकुर भाई र फुलमान भुईंमा ओछ्याएको रजाईमाथि बसेर दालभात पर्खिरहेका थिए । दालभात आउँनेछ केहीबेरमा बट्टामा बन्दी भएर । घरको भान्सामा चुरा बज्ने हातहरुले पस्किएको खानाको जस्तो स्वाद दिदैनन् बट्टाहरुले । तैपनि भोकाएको पेट बोकेर झम्टिनेछौं हामी भात भरिएका बट्टाहरुलाई बाघे शैलीमा ।

“हैन के सारो पीरो हालेछ ।” फुलमानले हिक्का छोड्दै भन्यो –“दिनभर तातोमा पेलिनु अनि रात परेपछि साला यो खोर्सानीले पोलिनु !”

“पीरो त हुन्छ नि तर खाईलिनु पर्छ भोली काम गर्नु छ ।” ठाकुर बोल्यो ।

बाँकी कसैले खुर्सानीको कुरामा सही थप्ने जाँगर चलाएनन् भलै पीरोले सबै सताईएका थिए । वीरमानको बट्टा भने आज पनि रित्तिएन । उसको फुस्रो अनुहारको रङ्ग अरु बदलिएको थियो केहीदिन यता । सबैको आफ्नै छन् कथा–ब्यथा ! कसले देख्ने अरुका साानातिना कुरा ?

“वीरमान दाई, के हो खाना त रित्तिएन नि ?” छेवैमा बसेकोले मैले सोधें ।

“अँ.........खै सकिएन पो !” उसले पानीको केही घुट निल्यो र भन्यो ।

वीरमानले छोडेको खाना र सहज गरी रित्याएको पानीको गिलास देखेर तरल र ठोसबीचको ठूलो अन्तर राम्ररी महशुस भयो मलाई त्यसबेला ।

म खाना रित्याएर ‘बङ्क बेड’ को चौंथो तलामा छिरें । गर्मीले उकुस–मुकुस भएको छ कोठा । श्वास फेर्न पनि मुस्किल पर्ला जस्तो ! टाउको ठोक्किने सिलिङ्ग छ माथितिर हेरे । घरको चारपाटा मिलेको फराकिलो ग्वाली संझन्छु – बाँसको टाटीबाट छिर्ने सिर्र–सिर्र बतासको स्पर्शले गोठका गाईबस्तुहरु कति आनन्दले उघ्राई रहेका होलान् ! थक्थकाउँछु आफैंभित्र तिनको आनन्दमा अनि भोग्छु आफ्नो पशुभन्दा निरीह कैदी वर्तमान ।

म ओल्टोकोल्टो फर्किन्छु । सुतेका खाटका जोड्नीहरु चाईँचुँई गर्छन् ।

“के सारो खट्पट् हौ कान्छा ? ख्याल गर है तिमीमुनि म पो छु है ।” तलपटिको ओछ्यानबाट रोक्का बोले ।

“के संसाँझै सुत्छौ हौ तिमरु ! उठ है टाईटानिक फिलिम हेर्न ।” हाम्रो झिना–मसिना कुरा नसकिदै धनवीरले उर्दी जारी गर्यो ।

“गाईखाने भाषा हाम्ले बुझे पो हेर्नु !” तासको पत्ता फिट्दै भक्तेले थप्यो –“नेपाली टाईटानिक ल्याउ है धनवीर दाई अर्को पटक चाहिं अनि हेरौला ।”

वीरमान, रोक्का र मैले ओछ्यान नै रोज्यौ । धनवीर फिलिमतिर लाग्यो । बाँकीले तास रोजे । कोठाको पुछारमा राखेको सानो टेबल पंखा फनफनी घुमिरहन्छ । उही त हो, तातो हावा एकोहोरो रुमलिन्छ कोठामा ! बाध्यताको बन्दी भएका हामीहरु कुनै ‘पोल्ट्री फार्म’ का केही महिने आयु हुने चल्लाहरु जस्तै हुन्छौ र एउटा सिङ्गो रात कटाउँछौं भोलीका खातिर ।

......................................

बिहान तोकिएको समयमै कम्पिनीको गाडी हामीलाई ‘कन्सट्रक्सन साईड’सम्म छोड्न क्यामपको मूल ढोकामा आएर अडियो । हाम्रो तीस जनाको टोली पालैपालो छिर्छौ भित्र । आधा घण्टाभन्दा बढीको दुरी पार गर्दासम्म सर्याक–सुरुक, ख्याक्क–खुक्क बाहेक हामी कसैको एक–आपसमा दोहोरो संवाद हुँदैन । मानौ रातभर देखेका हाम्रा निर्दोष सपनाहरुको कुनै मुल्य छैन । या भनौ हाम्रा सपनीहरु दिनभरको तातो मजबुरीको निर्दयी हस्तक्षेपले बिहान हुन नपाउँदै सम्हाल्न नसक्ने गरी पग्लिई सकेका छन् । त्यसैले त हाम्रो यात्रा मौन रहन्छ सधैं ।

म धनवीरलाई हेर्छु । फलाम जस्तो देख्छु । के उसका दुःख र ब्यथाहरु उसका बटारिएका माशंपेशीले यति सजिलै लुकाई दिएको हो त ? टाईटानिक मन पराउने मान्छेको मन कठोर कसरी हुनु ? गणेशले भन्थ्यो –‘धनवीर दाईको श्रीमती त सिनेमाको हिरोईन जस्तै राम्री छ रे ! के गर्नु ? पाँच बर्षको प्रेम पछि बिहे गरेको, छ महिना पनि बस्न नपाई साहुको काम गर्न आउनु पर्यौ ।’ के थाहा, पत्रिकाको कटिङ्गमा उभिएकी अर्धनग्न सुन्दरीको तस्वीरसँग जीवनसाथीको संझना साट्न पो मृत्युको समाचार बोकेको ‘हेडलाईन’ बिस्तारा छेउमै स्वीकारेको छ धनवीरले ? धन्न ! मैले बर्षैभरी मेरी जीवनसाथीसँग हनीमुन मनाउने भाग्य पाएँ । नत्र म के फरक हुन्थे होला ? काठमाण्डौंको बिद्यार्थी बसाईमा आमाले नै भात पकाएर ख्वाउछे घरमा के राख्नु भनि बुहारी पठाई दिनु भो । त्यसको बर्षदिनमा छोरी जन्मिई –सुन्दर फूल जस्तै । पढाई सकेर मैले घर फर्किने बिचार गर्दै थिएँ म ः घरमा माओवादी नामका लुटेरा पसिहालेछन् । सेनाले तिनलाई लखेट्न ग्रिनेट खसाले छन् । हाम्रो घर उड्यो मध्यरातमा । बुवाआमाका आधा शरीर डढेका लाश लडिरहेका थिए म पुग्दा । त्यही निर्दयी समयले धकेलेर धनवीरको साथी भएको छु आज ।

कम्पनीको गाडी काम गर्ने साईटमा रोकियो । बिगतका भोगाई संझेर काम शुरु नगर्दै पसिनाले आधा भिजिसकेको थिएँ म । बाफिदै ओर्लिएँ ढोकाबाट । मेरो पछि ओर्लिदै गरेको धनवीरको खुट्टा चिप्लियो । उसको शरीर ढुन्फुनाउँदै म छेउ आईपुग्यो ।

“झण्डै पो लडियो हौ कान्छा !” मेरो हात अठ्याएर लाज लुकाउँदै धनवीरले भन्यो –“भरे भेटौला है ।”
मैले केही भनिन । उसका बलिष्ठ हातको तातोपन निकैकबेर अनुभूति भैरह्यो मलाई ।

दिनभर सिमेन्टका सयौं बोरा उचालिन्छन् । कयौ फलामे रडहरु तानिन्छन् । सत्ते ! श्रीमती र छोराछोरीका अनुहारमा भरिएका रहरहरु संझनाले मात्र यस्तो ज्यँुदै जलाउने तातोमा काम गर्ने उर्जा दिएको छ । म तीनै रहर बोकेका अनुहारहरु मनमा च्याप्दै सिमेन्टका बोरा उचाल्छु ।
.........................

दिउँसो खाना खानेबेला वीरमान दाईसँग भेट भो मेरो । उनको उस्तै रुन्चे अनुहार ! बिना बोलचाल मेरो भातको डब्बा रित्तियो तर उनको आधा बाँकी नै रहेछ । ‘भोक मिठो कि भोजन महाराज ?’ भनि सोधे भोजन भनि जवाफ फर्काउँने स्थितिमा वीरमान दाईले छोडेको खानाले मेरो मनमा शंका उब्जियो ।

“के भो वीरमान दाई खाना त गएन नि ?” अहिले पनि उनको डब्बातिर देखाउँदै सोध्ने मैं थिएँ ।

“केही हैन...........!” उनले मुन्टो लुकाउँदै भने –“अलि पेट सञ्चो छैन ।”

मर्दले रुनु हुन्न कसले भन्छ ? तर वीरमान रोएको झलक्क मैले देखि हालें ।

“सुपरभाईजरलाई भन्नु पर्छ दबाई चाहियो भनेर ।” मैले थाहा नपाए जस्तो रित्तो डब्बा एक ठाउँ पार्दै भने ।

वीरमान जुरुक्क उठे अनि अलि पर्तिरको कुर्सीमा बसे । मैले पछ्याएँ । दिउँसोको अरबे प्रचण्ड गर्मी ! त्यसमाथि घरको संझनाको रापले सताउन छोड्दैन । भोको पेट काम गर्न सक्ने कुरै हुँदैन । सबथोक बिर्सिएर खाना खानु पर्ने हुन्छ ।

“के छ तपाईंको पीर ?” मैले उनको छेउको फलामे टेबल सार्दै भने –“ मलाई भाई मान्नु हुन्छ भने नढाँटि सुनाउनोस् सकेको मद्यत गरौला ।”

उनी घोरिई रहे ढुङ्गा जस्तै भएर तर उनको निधारबाट भने पसिनाका धारा बगिरहेका थिए ।

“तिमी उस्तै म उस्तै कसलाई के पो भन्नु र !” वीरमानले सेतो युनिफर्ममा टाँसिएको सिमेन्टको लेदो निकैबेर कोट्याए र भने –“उता घर बिग्रे जस्तो छ ।”

“कसैले झुटो खबर ल्यायो नि दाई !” मैले क्षणिक सान्त्वना दिदै भने –“आफैले नबुझि यस्ता कुरा पत्याउनु हुन्न ।”

“सँगै एउटै एजेन्टले उतारेको हामी दुई भाईमा यता साईंलाको पत्तो छैन । उता घर सम्हाल्न भर परेर छोडेकी स्वास्नी अर्कैसँग भागेर बालख छोराछोरीको के हाल भो होला खबर छैन ।” वीरमानले काँपेको आवाजमा सबै भन्दै गए –“राँडले अलिअलि कमाएर पठाएको पनि सप्पै लिएर गई ।”

‘अभागीका भागमा झिङ्गा !’ मन अमिलो बनाएर काममा लागें म ।

...................................................................

“लौ खस्यो है................! हाम्रै मान्छे जस्तो छ ।” सिमेन्टको बोरा उचाल्दै कसैले बोलेको सुनियो । देख्ने जति सबै काम छोडेर दौडियौं त्यतै ।

सुकेको सालको पात जस्तै गरेर बीसौं तलाबाट खसेको मान्छे हाम्रै धनवीर रहेछ । हामी दौडिदै उसम्म पुग्दा गोर्खाली शाहस भरिएको उसको छाती चल्न छोडिसकेको थियो । एउटै कोठामा बस्ने साथी भएपनि परिस्थितिसँग हामी कमजोर ठहरियौं । कम्पनीको तलबी साङ्लोमा बाँधिएका हामीले नाराबाजी गर्न मिल्दैनथ्यो । आफ्नै देश हाँक्नेहरुबाट अपहेलित भएका हामी अर्काको माटोमा जे भयो त्यसलाई मध्यरातको दुःस्वप्न मानेर साँझसम्म मजबुरीको मजदुरी गर्न बाध्य भयौं ।

साँझ क्याम्प फर्किने हामी सबै तातो पानीमा डुबाएर निकालेका कुखुरा जस्तै भएका थियौं । सबैका अनुहारमा भय र सन्त्रास सलबालाई रहेको थियो । बिहान सँगै गाडीबाट उत्रिएको धनवीर फर्किदा हाम्रो साथ थिएन । मैले आफ्ना हत्केला मुसारें । उसले ‘भरे भेटौला है’ भन्दै मेरो हत्केला अँठ्याउँदाको तातोपन मेरा हातबाट सेलाई सकेकै थिएन । निर्दयी मृत्यु ! बिना निम्तो आईदियो धनवीरको जीन्दगीमा ।
“भोली दिउँसोसम्म उसको लाश काठे बाकस भित्र बन्द भैसक्ने छ पार्सल भएर !” वीरमानले क्याम्पको हाम्रो ढोका खोल्दै बोल्यो ।

“भातका डब्बाहरु फिर्ता पठाई देउ है ।” कोठा भित्र नपस्दै भक्तेले छाक छोड्ने संकल्प गर्यो ।

मैले धनवीरको ओछ्यानछेउ भित्तामा उभिएकी श्वेत सुन्दरीलाई हेरें । त्यो धनवीरको मृत्यमा पनि एकैनाश मुस्कुराई रहेकी थिई । सिरानीमुनि राखेको तस्वीरमा मुस्काएकी मेरी श्रीमतीको मुस्कान के त्यो पराया सुन्दरीकोभन्दा कम थियो र ? दुवैका मुस्कान दाँजे मैले । श्रीमतीका ओठको हाँसो धनवीरको मृत्युमा आँशुमा बदलिसकेको थियो । मैले स्वनिर्णयमा ‘हेड लाईन’ छेउ उभिएकी सुन्दरीलाई चिथोरें । मेरा एकोहोरो आक्रोशमा पुरै ‘हेड लाईन’ च्यातचुत भयो । म शान्त भएँ ।

रातभर निन्द्रा परेन । सबै साथीको पालैपालो सुस्केराले आर्यघाटको भाषा बोलेको सुनिन्थ्यो । ठाकुर ओर्लियो ओछ्यानबाट । टेबलमा राखेको बोतलको पानी घट्घटी पार्यो । उसको किलकिलेको आवाजमा अरुका सुस्केरा छिनभरका लागि ओझेलमा परे ।

“हैन ए साथी हो ! कतै चिसो हावा आउने भ्याल खोलन ।” वीरमानले ओछ्यानमा कोल्टो फेर्दै भने – “मुटु पो पोलेर आयो त !”

“वीरमान दाई पानी पिउनुहोस् शीतल हुन्छ ।” नीमा बोल्यो ।

म सिरीङ्ग भएँ । वीरमानको मुटु पोल्नु राम्रो संकेत थिएन । थुप्रैबेरसम्म पनि मन अस्थिर रह्यो । त्यसैले म उठेर वीरमानको खाटसम्म पुगें । उसलाई नियाले र फर्किए आफ्नै ओछ्यानमा ।

“ए कान्छा निन्द्रा छैन हौ आँखामा ..........!” म मुन्तिरको ओछ्यानबाट जुरुक्क उठ्दै रोक्का बोले– “त्यो टीभी खोलन बरु ।”

मैले धनवीरले हेर्दाहेर्दै छोडेको ‘टाईटानिक’ फिल्म अन गरिदिएँ ।

त्यत्रो विशाल जहाज समुद्रले निलिसकेको रहेछ । आफ्नो प्रेमी आफ्नै आँखा अघि गुमाएकी बिचरी प्रेमीका शोकमग्न मन लिएर पानीमाथि तैरिरहेकी थिई ।

“भयो हौ कान्छा, आईमाई रोको के हेर्नु ।” रोक्काले थपें ।

धनवीरको संझनामा मुश्किलले कट्यो रात । साथीको मृत्युमा शोक मनाउन पाउने अधिकार हामीसँग थिएन । काममा जान कोठाका सबै साथी बिहानै उठिसकेका थियौं । सधैं पनि सबैभन्दा ढिलो उठ्ने वीरमानदाई आज पनि उठेका थिएनन् ।

“ए नीमा उठाउ है तिम्रो छिमेकी ।” भक्तेले अह्रायो ।

तरल मन लिएर फेर्न लागेका लुगा त्यसै छोडी म नीमा भएतिर लागें ।

“वीरमान दाई ! तल कम्पनीको गाडी आईसक्यो है, छिटो उठ्नोस् ।” नीमाले उनको कानैमा भन्यो ।

वीरमान हलचले गरेनन् ।

“यसो घच्घच्याउ न हौ नीमा ।” म आत्तिसकेको थिएँ ।

नीमाले वीरमानको कोल्टो परेको काँघ बेस्सरी हल्लायो तर उनका आँखा पटक्कै खुलेनन् । उसले हात समायो । चिसो बरफ भैसकेका हातमा प्राण थिएन ।

“साथी हो.......वीरमान दाईले पनि हामीलाई छोडेर गएछन् है ।” नीमा जोडले करायो ।

हातखुट्टा लुला भए । उभिने तागत नपुगेर म थचक्क थेचारिएँ भुईँमा ।

नीमाको आवाजलाई तलबाट हर्न बजाई रहेको कम्पनीको गाडीले मधुरो बनाएको थियो । काममा जान हामी ढीला भैसकेका थियौं । वीरमानको मृत्युको खबर दिनलाई कम्पनीको आधिकारिक मान्छे दिउँसो मात्र भेट्न मिल्थ्यो । बाटोमा पैतालाले कुल्चिएको कमिलालाई जस्तो वीरमानको मृत शरिर एक्लै कोठामा छोडेर निस्कियौ सबै काममा..........।

लण्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 19 आसाढ, 2069

लेखकका अन्य रचनाहरु