'प्रेतकल्प' उपन्यास एक दृष्टि

- आरुणि आचार्य

१. विषय प्रवेश
नारायण ढकाल(२०१०) बाग्मती, काठमाडौं,मूलपानीगा. वि. स. ५ का स्थानीय वासिन्दा हुन् । पिता नागेन्द्रप्रसाद ढकाल र माता शान्ता ढकालका दोस्रो गर्भ तथा पहिलो पुत्रका रूपमा जन्मिएका ढकालका पुर्खााको पेशा ज्योतिष रहेको थियो । हाल पत्रकार, राजनीतिज्ञ, कवि, उपन्यासकार र निबन्धकारका रूपमा आफ्नो व्यक्तित्व सबल बनाएका ढकाल २०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका हुन् । उनका सहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१) कथासङ्ग्रह, मुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) बालकथा सङ्ग्रह प्रकाशित रहेका छन् । त्यस्तै पीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५) तीनवटा उपन्यास र तिन संवत्सर र शोकमग्न यात्री निबन्ध सङ्ग्रह प्रकाशित रहेका छन् । ‘प्रार्थना’ र ‘पहिलो घाममा प्रार्थनाको वियोगान्त’ फुटकर कविता पनि प्रकाशित भएका छन् । उत्तम शान्ति पुरस्कार २०५२, लोकेन्द्र साहित्यिक पुरस्कार २०५४, मैनाली कथा पुरस्कार २०५४ बाट पुरस्कृत ढकाल खासगरेर प्रगतिवादी साहित्यकार हुन् । उनको ‘पे्रतकल्प’ उपन्यास ऐतिहासिका विषयबस्तु अ“गालेर लेखिएको उपन्यास हो । यस उपन्यासमा समाज सुधारका लागि विभिन्न पात्रहरूले सङ्घर्ष गरिरहेका छन् । पं. बालकृष्ण, दमयन्ती, मन्नोनरी साम्बे सार्कीजस्ता पात्रहरू आजसम्म पनि छुवाछुत मुक्त समाजको निर्माणका लागि विद्रोह गरि रहेका छन् तर पनि समाज सुध्रिन सकेको छैन । वर्गीय दृष्टिकोणबाट उपन्यास माक्र्सवादी कित्तामा दरिएको छ । महिला र पुरुषको हकमा देखिएको विभेदता उपन्यासमा छर्लङ्ग पारिएको छ यिनै अव्यवस्थित समाज र त्यहा“का पात्रहरूको इतिवृत्तान्त उपन्यासले प्रस्तुत गरेको छ ।
२. विषय विश्लेषण
प्रेतकल्प उपन्यासको कथानक वि.सं.१९७० को दशकमा नेपालमा भएका इतिहासका घटनको वर्णनमा आधारित रहेको छ, तर उपन्यासले इतिवृत्तात्मक कथानक बखानेको छैन । बाबु रामकृष्ण शर्मा र आमा मन्नोदरीको छोरो बालकृष्णको सुधारवादी सोच र त्यही सोचका कारण झेल्नु परेका आरोहावरोहका श्रृङ्खला अनि त्यसबाट प्राप्त संघर्षको शाश्वत प्रस्तुति यस उपन्यासमा बुनिएको छ । तत्कालीन न्याय व्यवस्था र हुकुमप्रमाङ्गी शासनको तलुवामुनि दबिएर छटपटाइ रहेको मानवीय मूल्य र संवेदनाको यथार्थ प्रस्तुति यस उपन्यासमा सघन रूपमा बुनिएको छ । समाजमा नया“ परिवर्तन ल्याउनु पर्छ भन्ने धारणाकै फलस्वरुप आनो देशको नागरिक हुनबाट वञ्चित भएका पण्डित बालकृष्णको कथा यस उपन्यासमा प्रस्तुत गरिएको छ । बालविवाह जातीय छुवाछूत र राजकीय शासनका विरुद्ध उठेको जनलहरको हरित क्रान्तिको बुलन्द आवाज यस उपन्यासमा उठाइएको छ ।
तथाकथित दलित जनजातिहरूले ठुलाबडा धनाढ्यहरू र मालिकको जुठो खाएर बस्नुपरेको बाध्यात्मक स्थिति पनि यस उपन्यासमा कारुणिक रूपमा कथानक भएर आएको छ । न्याय सम्पादनमा रहेका सरकारी भुस्याहाहरूले अनुहार हेरी गर्ने भेदभाव र जनतालाई नोकर मात्र ठान्ने जारशाही तन्त्रको उछितो काढेको यस उपन्यासले वर्तमानका ‘पारस’ प्रवृत्तिसम्मलाई पनि सजीव रूपमा चित्रण गर्न समर्थ रहेको छ । बालकृष्ण पण्डित बनारसमा पढेर फर्केपछि उसले आरम्भ गरेका समाजसुधारका कुराहरू≤ ती सुधारका आग्रहको ग्यास्टिकीय झुसिलो रूप≤ उसको परम्परा विरोधी विधवा प्रेम र ऊस“गको विवाह आनि तथाकथित तल्लो जातको घरमा गएर खाना खाएको आरोप, त्यही काण्डका कारण देश निकाला हुनुपरेको स्थिति र बालकृष्णले घर छाडेपछिको परिस्थितिका बारेमा पछाडिसम्म पनि कुनै तथ्य ज्ञात हुन नसकेको कथानक यस उपन्यासमा बुनिएको छ । विष्णुभक्त पण्डितको जिम्माली रवाफ, उसको छोरो याने रामभक्तको अवसरवादी प्रवृत्ति, स्वामी दयानन्दका सुधारवादी सोचको प्रचारप्रसार, चन्द्रशमशेरको चमकीदमकी ‘शेर’ शासन, बबरेको बर्बरता, शाम्बे सार्की जस्ता मिजारको एक छाक टार्ने समस्या, दमयन्ती र उसकी पूर्वसासू सुभद्राको राम कहानीले ‘प्रेतकल्प’ उपन्यासलाई जीवन्त तुल्याएका छन् । किचकन्या र युवाहरू वीच हुने प्रेम प्रसङ्ग, बोक्सी र बोक्साहरूको निंर्वस्त्र नाचको प्रसङ्ग, शिखण्डी (रामप्रसाद) र रामे(शरीर लोग्नेजस्तो र स्वभाव आइमाइका जस्तो भएको व्यक्ति वा तेस्रो लिङ्गी)को नदन्दीस“गको विवाह र उसको आत्महत्याको प्रसङ्गले उपन्यासमा तत्कालीन शासन व्यवस्थामा झेल्नुपरेका अन्यायका पराकाष्ठाहरू उतारेको छ प्रस्तुत उपन्यासले । अर्काको कविता सुनाएर मान पदवी हत्याउन चाहने नक्कली कवि शङ्खधर, आफ्ना कविता हराएको र अर्कैले चोरेर सुनाएको चाल नपाउने अनि चनमतिलाई दुव्र्यवहार गर्न खोज्ने रामजी भारद्वाजका कथाले तत्कालीन समाजमा रहेको यौनमानसिकता र त्यसप्रतिको धारणा सशक्त रूपमा चित्रण गरेको छ ।
उपन्यासकाले दःखपुर भनेर काठाडौं उपन्यका र त्यसले शासन गर्ने समग्र नेपाललाई उपन्यासमा उतार्न खोजेका छन् । दुःपुर नेपाल हो । यहा“का दुःखी वासिन्दा दुःखपुरवासी हुन् । दुःपुर किन दुःखी भएको भने त्यहा“ सामाजिक न्यायको व्यवस्था छैन । अन्याय र अत्याचारले जरा गाडेको छ । गास वास र कपासको अभाव छ । समाज जातीय कुरीतिले पिछडिएको छ । यस्तै नेपालीहरूका दुःख र पीडा नै दुःपुरले उतारेको छ ।
वास्तविक रूपमा मानिसमा यौनचाहना उत्पन्न हुनु स्वभाविक प्रक्रिया हो । त्यसैले त शारीरिक रूपमा अशक्त भए पनि रामजी भारद्वाज आफ्नो यौन बुभुक्षा शान्त पार्न लागि परेको छ । खास गरेर यिनै पात्रहरूको साङ्गोपाङ्ग वर्णन हो दुःखपुरको कथा । यी पात्रहरु समाजसुधारका लागि कति प्रयासमा लागे पनि उनीहरूको आन्दोलनले दुःखपुरको त्रासद काहानी अद्यापि कायम छ । नाम मात्र फेरिएको गुदी उही भएको कम्पनीको माल भएको छ दुःखपुर । वर्तमानमा दुःखको नवीकरण मात्र भएको छ । नाम मात्र फेरिएको छ । आखिर उस्तै छ दुःखपुरका दलित ब्राम्हण र दलित दलितहरूको कथा ।
वर्तमान सन्दर्भमा देशलाई सङ्घीयता वा विभाजनको रेखामा लैजाने कि नलैजाने भन्ने विषयमा बहस चलिरहेको छ । दलित ब्राम्हणहरु (ब्राम्हण भएर पनि दलितको जस्तो जीविका विताइ रहेका) आफ्ना पुस्ताहरुका लागि स्थान सुरक्षित गर्न सङ्गठित भएका छन् । तथाकथित दलितहरु र जनजातिहरू गास, वास, कपास, समान अवसर र न्यायका लागि सुगठित भइरहेका छन् । वास्तविक रूपमा भन्दा दलितमा दरिएकाहरुले अव फरि अर्का दलित जन्माउने कुचेष्टा गर्नु हुन्न । र आफ्नो पोल्टामा मात्र राज्यसत्ता भएको ठान्ने बुझक्की ब्राम्हण गुरुहरू पनि अवसर स्थानान्तरणका लागि उदार हुनु जरुरी छ ।
समग्रमा कथानकको ढा“चा व्यतिक्रमी छ । कथावस्तु सामान्य भए पनि उपन्यासकारले त्यसलाई सफल रूपमा वितरित गरेका छन् । कतिपय ठाउ“मा उपन्यासकारका आफ्नै टिप्पण्ँीले उपन्यासलाई अझ रोचक बनाएको छ । पात्रहरुको छनोट र शीर्षक चयनमा विशेष चातुरीपन देखिन्छ ।
उपन्यासमा मिश्रित दृष्टिबिन्दुको प्रयोग गरिएको छ । मूलतः १,२,४,६,८,९ र १० मा तृतीय पुरुष र ३,७ मा प्रथम पुरुषको आधिक्यता रहेको छ । तृतीय पुरुषमा सिमित दृष्टिबिन्दुको प्रयोग छ, भने प्रथम पुरुषमा केन्द्रीय दृष्टिबिन्दुको उपयोग गरिएको छ । यसको उदाहरणका रूपमा पृष्ट १, ३, ११, २२, ५४, ९९, १४०, २०९,२२२ हरूलाई अघि सार्न सकिन्छ ।
ऐतिहासिक विषयवस्तुको चित्रण गर्दै प्रगतिवादी समाजवादी यथार्थको प्रस्तुति गर्नु यस उपन्यासको मुख्य उद्देश्य रहेको छ । तत्कालीन सामाजिक र आर्थिक अवस्थाको चित्रण गरेर आशावादी हु“दै भविष्यप्रति सचेत रहन उपन्यासले सन्देश दिएको छ । साथै समाजका अव्यस्थाको चित्रण गर्दै सुव्यवस्थित समाजवादी समाज निर्माणको आकांक्षा उपन्यासको मूल उद्देश्य हो ।
३.वास्तविक रूपमा के हो त प्रेतकल्प ?
“प्रेतकल्प” संस्कृत भाषामा लेखिएको गरुड पुराणको एक पाटो हो । जुन हिन्दू धर्मावलम्वीहरूले मानिस मरेको छैटौं दिनदेखि दशौं दिनसम्म वाचन गर्ने गर्दछन् । सो पुराण लगाएपछि मरेका आत्माहरूले शान्ति प्राप्त गर्ने र नारकीय यात्रामा जान पुगेका आफ्ना आफन्तहरूलाई स्वर्गको गति दिने पुरानो पाठका रूपमा विश्वास गरिन्छ । त्यस पुराणमा नरकको वर्णन र रौरवीय यातनाहरुको वर्णन गरिएको छ । जसको श्रवणले मानिसलाई ‘अहो ¤ मरेपछि पनि यस्तो नारकीय यातना पाइदो रहेछ’ भन्ने बोध भएर वा त्यस भावी पीडाबाट डराएर सत्कर्म गर्दछ भन्ने जनविश्वास रहेको पाइन्छ । त्यही सन्दर्भलाई नारायण ढकालले “प्रेतकल्प” उपन्यासमा यी कुराहरू प्रस्तुत गरेका छन् । यस उपन्यासले गरुडपुराण, मनुस्मृति र अन्य धार्मिक ग्रन्थहरू एकपक्षीय मात्र भएको कुरा सङ्केत गरेको छ । हुन पनि तत्कालीन समाज अविकसित अवस्थामा रहेका वेला पुरुषहरूको प्रधानता थियो । उनीहरकै मात्र बोलबाला चल्थ्यो । महिलालाई पशुवत् अमानवीय व्यवहार गरिन्थ्यो । समाज धर्मको आडमा चलेको थियो । धार्मिक नीतिका आधारमा नियम कानुन बनेका थिए । त्यसैले विधवा विवाह र अन्तर्जातीय सम्बन्धलाई धार्मिक वक्ताहरूले अक्षम्य अपराधका रूपमा व्याख्या गर्दर्थे । त्यसैले विधवा विवाह र अन्तर्जातीय छुवाछूतको प्रथाले समाजमा जरो गाडेर बसेको थियो । त्यही कुप्रथा, कुचलन र कुसंस्कार एवं कुनीतिको विरोध गर्दै क्रान्तिकारी सुधारवादी स्वर “प्रेतकल्प” उपन्यासले प्रस्तुत गर्दछ ।
त्यही गरुड पुराण लगायत अन्य धार्मिक ग्रन्थहरूमा महिलालाई शिक्षादीक्षा दिन नहुने घरखेतमा मात्र सिमित हुनुपर्ने र सन्तान प्राप्तिमा पुरुष वा श्रीमान्लाई साथ दिनु पर्ने भन्ने जुन यन्त्रवत् सिद्धान्तहरू थिए ती सिद्धान्त र सन्दर्भबाट तत्कालीन पितृ सत्तात्मक समाज वर्तमान समावेशी समाजको आ“खाबाट खण्डित भएको देखिन्छ । गरुड पुराणजस्ता अनुशासनका पिन्जडाहरूले नारी र दलित जनजातिलाई कुजो बनाएको थियो । तिनीहरूले स्वतन्त्र रूपमा हिंड्डुल गर्नु, ठूलो जातकालाई होच्याएर बोल्नु वा खानपिन छोइदिनु भयानक अपराध मानिन्थ्यो । यसरी चौरसी लाख योनीको भयानक (हिन्दू धर्मशास्त्रअनुसार मरेपछि प्राप्त गरिन्छ भन्ने जन्म वा पुनर्जन्म, विभिन्न प्रणीमा पुनः जन्मिनु पर्ने भागाइ) आतङ्क देखाएर समाजलाई आफ्नो काबुमा राख्ने प्रयास धर्मग्रन्थहरूले गरेका थिए । उपन्यासमा वैधव्य विवाहका सन्दर्भलाई दमयन्ती पात्रका माध्यमबाट उत्खनन् गरिएको छ । आफ्नो श्रीमान् मरेपछि मन, वचन र कर्मले उसैलाई सम्झदैं जीवन विताउनु हिन्दू धर्मको कृत्य वन्न पुगेको छ । तर श्रीमती मरेको एकदुई महिनामा नै कुनै पुरुषले बिहे ग¥यो भने त्यो आश्चर्यको कुरा भएन । यस उपन्यासको यस प्रसङ्गले पितृसत्तात्मक नेपाली समाजको जल्दोबल्दो चित्र उतारेको छ । यदि यही समाजमा महिलाले पति मरेको दुई महिनामा नै बिहे गरेको भए समाजले के सहजरूपमा स्वीकार गथ्र्यो ? सोझो उत्तर छ स्वीकार गर्ने थिएन, किनभने यो समाजका नीति निर्माता सबै पुरुष हुन् र उनीहरूकै बोल बाला छ समाजमा । अतः जवसम्म महिला र पुरुषका लागि समान रूपमा नीति र दायराहरू निर्माण हुन्नन्, नीति बनेर पनि व्यवहारमा लागु हुन्नन्, सामाजिक चेतनामा परिवर्तन आउ“दैन, महिला मुक्तिका लागि आन्दोलनको ज्वाराभाट दन्किदंैन तबसम्म महिलाहरू यसरी नै पुरुषको तप्केनीमा थिचिई रहनुपर्छ । जसले गर्दा विकसित र समावेशी सभ्य समाज निर्माण गर्नमा बाधा उत्पन्न गर्दछ । यिनै महिला र दलित मुक्तिको अर्को नाम हो “प्रेतकल्प” उपन्यास । पे्रतकल्पको अर्थसामान्यतया यसरी लगाउन सकिन्छ ः
प्रेतः– मरेको, स्वर्गे भएको, मानिस मरेपछि प्राप्त हुने कल्पित योनी, मृत व्यक्तिको आत्मा मृतात्मा, पिशाचको एक जुनी । (ने.बृ.श.को.२०६०)
ः–जो मृतात्मा वा मरेको मान्छेको अदृश्य आत्मा मुक्ति नपाएर समाजमा दुःखपूर्वक भड्किएर बा“चिरहेको छ । यस उपन्यासमा मुक्तिका लागि भड्किरहेका आत्मा दमयन्ती, मनमाया, पं. बालकृष्ण, काले, बहादुरे, सन्ते, धनविरे आदि हुन् ।
कल्पः– मृतक प्रेत योनीबाट मुक्त होस् भनी गरिने दाहस“स्कार, सुरुवात (आदि)देखि सपिण्डीकरणसम्मको कर्म, माङ्गलिक तथा शुभकार्यको विधिविधान । (ने.बृ.श.को.२०६०)

वास्तविक रूपमा “प्रेत”को प्रतीक बनेका यस उपन्यासका पात्रहरू न्याय र समानताका लागि तड्पिएका प्रेतवरावर आत्माहरू जस्तै बनेका छन् । त्यसैले तिनीहरूको मुक्तिको याचना गर्दै प्रेतकल्परूपि औपन्यासिक वैदिक कर्म गरिएको छ, अर्थात् उपन्यासका माध्यमबाट दलित र महिलाको मुक्तिका लागि प्रयास गरिएको छ । जसमा स्वतन्त्रता र समान हकका मन्त्रहरू उच्चारण गरिएको छ । जसलाई उपन्यासकारकै शब्दमा यसरी प्रस्तुत गरिन्छः
यो सब कोतपर्वमा मारिएका भारदारहरूको प्रेतात्माको खेल हो । चन्द्र माराजको शासनमा हाहाकार मच्चाउने तिनीहरू सक्रिय भएका छन् क्यारे पृ.५० ।
एउटा उपाध्याय ब्राम्हणकी तरुनी छोरी र जवानीमा हिंडिरहेका सार्कीको छोरा एकैरात हराउनुमा गाउ“लेहरूले नानाप्रकारका शङ्का र अड्कल काटे । पृ.५१ ।
कटुवालले भन्यो, “अगे दुःखपुरका जनताहरू हो, अब उप्रान्त दुःखपुरका पण्डित बालकृष्ण नामका बाहुनको जात खुस्काइएको छ । ऊ र उसको परिवारलाई पर्म, मेलापात, बठेबेगार नदिनू ।...यिनेरूको खेतमा कसैले गेर काम गरेमा बेक्ति दण्डको भागिदार हुन्या छ ।...माराजको हुकुम हो...।पृ.२०३ ।
...नभन्दै दृश्य स्पष्ट थियो । चालिस पचास जना मानवाकृति त्यहा“ सलवलाइरहेका थिए । टाढै भए पनि रातको नीरवतामा गहु“ काटेको स¥याकस¥याक आवाज त्यहा“सम्म सुनिएको थियो ।...ए भित्र जाम् । या“ नबसम् । भूतको हावा आइपुग्यो भने रगत छादेर ठहरै मरिन्छ । पृ.२०५।
आखिर सप्पै शक्तिको सोरोत भनेको विद्या नै रछ । सिरी तीन बालकिस्न पन्नितसित डराका पनि उनले धेरै पढेर न हो । भाग्गेमानीका भूतै कमारा ...। पृ. २०६।
ए चमारे कुहिएका गाईका सास भन् किन वेद पढिस् ? पृ.२१४।
मध्यरातको भयानक ठिहीमा सुब्बा रामभक्त कसैले पनि चाल नपाउने गरी घरबाट निस्कियो र गायब भयो ।...सुनन्दाले चाल पाई । ओछ्यानको कागजमा ‘महाप्रस्थान’ लेखिएको थियो । पृ.२१८।
यस उपन्यासमा जातीय छुवाछूतको आवाज बुलन्द परिएको छ । उपाध्याय ब्राम्हण र तथाकथित तल्लो जातका बचमा जातीय खाडल रहनु हु“दैन भन्ने कुरामा उपन्यास टड्कारो देखिएको छ । मान्छेको एक मँत्र जात छ त्यो हो मानवता । र त्यसपछि स्त्री र पुरुष जाति भन्ने मान्यता उपन्यासमा स्थापना गरिएको छ । यस उपन्यासले इतिहासको अधिकरणमा टेकेर तत्कालीन समाज विकासको विश्लेषण गर्दै जातीय उन्मुक्ति र छुवछुती प्रथाको अन्त्यका लागि अथक प्रयास गरेको छ । दुःखपुरका जनताहरूको उन्मुक्ति र तत्कालीन जारशाही हुकुमप्रमाङ्गी शासन सत्ता गुज्रिरहेको अवस्थामा कसरी समग्र न्याय व्यवस्था जुताको तलुवा मुनि पर्न पुगेको थियो भन्नेकुरा यस उपन्यासमा ऐना झैं छर्लङ्ग देखाइएको छ । खान, बस्न, बोल्न र स्वतन्त्ररूपमा सम्पत्ति आर्जन गर्न पाउनुपर्ने जस्ता मानिसका न्यूनतम आवश्यकताका कुरामा ध्यान नदिने तत्कालीन शासन व्यवस्थाले विधवा विवाहलाई मान्यता दिएको हेर्न खोज्नु आकाशको फल आ“खातरि मर भने जस्तै हुन्छ । हुकुमी शासन अक्षरसः पालना नगर्दा सर्वस्वहरणमा पर्नु पनि सामन्य कुरा हुन्छ यस समयमा । यसैले उपन्यासमा आजसम्म पनि फेरिन नसकेको समाजको यथार्थ विवरण प्रस्तुत गरिएको छ । उपन्यासको परिवेश पुरानो छ । पात्रहरू पुरानो परम्परामा हुर्केका छन् । समाज सुध्रिन सकेको छैन । त्यसैले उपन्यासले समाजको कालो फल्याटो मात्र उघारेको छ । आशा र नया“ सुधारका कुरामा उपन्यास मौन छ । त्यसैले आजको जीवन चेतनाका आधारमा तत्कालीन समाज अव्यवस्थित थियो भनिएको छ उपन्यासमा । तर अव्यवस्थित र अन्यायको दलदलमा फसेको समाजलाई अब कसरी सुधार गर्न सकिन्छ त ? यस विषयमा उपन्यास मौन छ । नेपाली जनताको दुःखपुरको यात्रा अझैसम्म पनि समाप्त भइ नसकेको कुरा उपन्यासकारले अन्तिम वाक्यमार्फत् यसरी बोलेका छन्ः ‘दुःखपुरका जनताको मुक्तिका लागि लगाइएको उपन्यास हो “प्रेतकल्प”।’ अतः दुःखपुर आझै सम्म पनि सुध्रिन सकेको छैन । दुःखपुरका जनताको अझै मुक्ति भएको छैन । आम जनताले प्रेत योनीबाट मुक्ति पाउनु पर्छ भन्ने यस उपन्यासको वास्तविक तात्पर्य र अर्थ हो ।
मान्छे लागोस् तर दिन नलागोस् भने झैं प्रेतकल्पको प्रमुख पात्र बालकृष्णलाई जेलमा हालेर र खेतीपाती गर्न बन्देज लगाएर पनि अदृश्य शक्ति भूतहरूद्वारा काम गरेको देखाएर उपन्यासमा स्वैरकल्पनाको सिर्जना गरिएको छ । वस्तविक रूपमा समाजमा भूतको अस्तित्व छ छैन । त्यसलाई प्रमाणित गर्नु अर्को एक अध्ययनको विषय हुनसक्छ, तर पनि समाजमा भूतको अस्तित्वले सदियौंदेखि जरा गाडेर बसेको छ । ‘भूत’को अर्थ बितेको वा नभएको भन्ने हुन्छ । यही नभएको तर भएको अनुभूति गराउने भूतले समाजमा विभिन्न चटक देखाएर आफ्नो अस्तित्व अद्यापि सुरक्षित राखिराखेको छ । यिनै भूत र प्रेतजस्ता पात्रहरुले उपन्यासलाई अझ रोचक बनाएका छन् । वास्तविक रुपमा समाजमा अदृश्य प्रेतहरु मुक्तिका लागि छटपटिएर आफ्ना अस्वाभाविक क्रियाकलाप देखाए झैं यस उपन्यासका पात्रहरु पनि उन्मुक्तिका लागि छटपटाइ रहेका छन् । भूत र प्रेतलाई नेपाली जनतास“ग तादात्म्य स्थापित गराएर उपन्यासकारले नौलो प्रयोग गरेका छन् । तिनै अन्याय र अत्याचारको चपेटामा परेर भड्किएका प्रेतात्माको मुक्तिका लागि गरुडपुराणको वाचनशैलीमा वाचन गरिएको छ प्रस्तुत उपन्यास ।
निष्कर्षमा सम्पूर्ण दुःखपुरवासी (काठमाडौं उपत्यकालगायत सम्पूर्ण राष्ट्र)को उन्मुक्ति र त्यहा“का कुशासनको चीसो ठीहिबाट ढकालले प्रेतकल्प लगाएका छन् । विधवाको मुक्तिका लागि, शिक्षित युवाहरुको प्रतिभा स्वतन्त्ररूपमा प्रस्फुटनका लागि, जनमुखी न्यायका लागि, आफ्नो प्रतिभा (रचना) चोरिने त्रासबाट स्रष्टाको मुक्तिका लागि र समाजमा एक्लो पारिएका क्रान्तिकारी बालकृष्णहरूका लागि उपन्यासले प्रेतकल्पको सन्तप्त कराही (जुन उपन्यामा अन्याय र अत्याचारले जनता पिल्सिएका छन्) बाट मुक्तिको प्रयास थालनी गरेको छ । पे्रतकल्प मृतात्माहरूका लागि मात्र लगाइने भए पनि यस उपन्यासमा जिउ“दो मान्छेको स्वर्गतिका लागि प्रेतकल्प सुनाएर मोक्ष दिलाउने प्रयास गरिएको छ । यही नै ‘प्रेतकल्प’को वास्तविक अर्थ र यथार्थ हो ।
४.वर्गीय दृष्टिकोण
साहित्यकार समाजमा जन्मिन्छ, हुर्कन्छ, बढ्छ र त्यसैमा नै विलीन हुन्छ । साहित्य र साहित्यकार त्यसैबाट नै अनुप्रणित हुने भएको र त्यही आधारमा नै समालोचना गर्ने सैद्धान्तिक प्रक्रियालाई समाजपरक समालोचना प्रणाली भनिन्छ । यस सिद्धान्तले साहित्य र साहित्यकारले समाजको उन्नयन र विकासका लागि पारेको प्रभावको अध्ययन गर्दछ । साहित्यिक कृतिका माध्यमबाट समाजको अतीत र वर्तमानको अध्ययन गर्नु अथवा साहित्यकारको सामाजिक स्थिति र चेतनाका आधारमा कृतिको विश्लेषण गर्नुपर्छ भन्नु यस सिद्धान्तको मर्म हो । यस मान्यताले साहित्यकारको सामाजिकता, साहित्यिक कृतिको सामाजिकता र प्रभावको सामाजिकताको अध्ययन गर्दछ । यस मान्यताका प्रमुख अभियन्ताका रूपमा कार्ल माक्र्सलाई लिइन्छ, भने सहयोगीमा एङ्गेल्स, लेलिन, राल्फ फक्स, क्रिस्टोफर कड्वेल र रायमण्ड विलियम्स आदि पर्दछन् । माक्र्सले समाज पूर्णरूपमा अर्थ व्यवस्थाबाट सञ्चालित हुन्छ भनेका छन् । साहित्यकार पनि त्यही समाजकै अङ्ग भएको हुनाले सोही अर्थ व्यवस्थाले त्यसको चेतना निर्माण भएको हुन्छ । त्यसैले साहित्य भनेको युगीन अर्थ व्यवस्था एवम् नियमित सामाजिक तन्त्रको अभिव्यक्ति हो । समाजको ऐतिहासिक विकासका क्रममा साम्यवादी युगदेखि लिएर पु“जीवाद हु“दै पुनः साम्यवादमा प्रवेश हुने सम्भावना पनि उनले देखाएका छन् । त्यस ऐतिमहासिक विकासका क्रममा अर्थको असमान वितरणका कारण विभिन्न वर्गहरु निर्माण हुने र उपल्लो वर्गका मानिसले तल्लो वर्गका मानिसलाई सधैं दवाएर राख्ने सन्दर्भ उनको विश्वव्यापी धारणा नै रहेको छ । त्यही वर्गसङ्घर्षको सिद्धान्तको सेरोफेरोमा ‘प्रेतकल्प’ उपन्यास पनि घुमेको छ ।
‘प्रेतकल्प’ उपन्यासको प्रमुख पात्र बालकृष्ण संस्कृत शिक्षा अध्ययन गरेर पनि सुधारवादी सोच राख्ने (रुढ रूपमा संस्कृत पढेको व्यक्तिलाई परम्परावादी मानिन्छ तर संस्कृत पढ्दैमा परम्परावदी हुपर्छ भन्ने केही छैन) पात्रका रूपमा उपस्थित भएको छ । ऊ संस्कुत पढेको समाजवादी व्यक्ति हो । साथै समाजका वुर्जुवा र सामन्तवादी विकृतिहरूको भण्डाफोरका साथै काले र धनविरे लगायतका पात्रहरूको निम्न आर्थिक अवस्था र दमयन्ती जस्ता विधवा नारीहरुको पीडा यस यपन्यासमा स्थापना गरिएको छ । बालकृष्ण निम्न मध्यम वर्गीय पात्र हो । उसले समाजका ऊ बराबरका पात्रको प्रतिनिधित्व गरेको छ । धनविरे, काले, बैठके, पाले आदि पात्रहरू निम्न वर्गका छन् । यिनै पात्रहरूका माध्यमबाट सामन्ती संस्कारको उत्खनन् गर्दै १९५०को दशकदेखि २००७ सालसम्मका घटना परिघटना र ऐतिहासिक तथ्यको औपन्यासिक प्रस्तुति यस उपन्यासमा प्रस्तुत छ । हुकुमी तन्त्रमा शासन चलाउन चाहने तत्कालीन प्रशासनका ठेकेदारहरूका कर्तुत र तिनीहरूले तल्लो वर्गका जनताहरूलाई दबाएर राखेको स्पष्ट चित्रण यस उपन्यासमा छ । तिनै ठेकेदारका विसङ्गत क्रियाकलापका कारण समाज सुधारको चेतना दिनप्रतिदिन जटिल बन्दै गएको छ । अवसरवाद हावी भएको छ । प्रतिक्रियावाद र सामन्तवादका खराव आचरणले सुधारको चाहनामाथि तुषारापात गरिदिएको छ । जनतालाई नोकर ठान्ने र आफूलाई स“धै मालिक वा भाग्य विधाता ठान्ने तत्कालीन प्रशासकहरू सामन्तवादी ढर्रामा नै आफ्नो शासनसत्ता टिकाएका छन् । र त्यहीअनुसार न्याय दिने व्यवस्था गरेका छन् ।
कानुनका अभावमा महिलालाई भेदभाव गरिएको छ । कुमार बालकृष्णले विधवा दमयन्तीलाई विवाह गरेकै आधारमा उसलाई समाजबाट बहिस्कार गरिएको छ । बालकृष्ण पनि बिधवा विवाह गरेको हुनाले समाजबाट बहिस्कृत भएको छ । दमयन्ती पात्र र कुमार बालकृष्णस“गको विवाहलई समाज र प्रशासनले नकारात्मक दृष्टिकोणबाट नियालेको छ । दमयन्ती दमित छे । विधवा महिलालाई पनि पुरुषलाई बरावर अधिकार दिनुपर्छ भन्ने बुलन्द आवाज दमयन्तीमार्फत उपन्यासले सशक्त ढङ्गबाट प्रस्तुत गरेको छ । नारीलाई उखुको ला“क्रोजस्तो चुसेर फ्याकिने तुच्छ वस्तुका रूपमा प्रयोग गर्ने र निम्नवर्गका व्यक्तिको मानवीय अस्तित्वलाई निकृष्ट तŒवका रूपमा लिने सामन्तवादी संस्कारको जोडदार व्याख्या यस उपन्यासमा गरिएको छ ।
सानो र ठुलो जाति भनेर हेप्ने प्रवृत्ति समाजमा बढिरहेको छ । तथाकथित सानो जातको घरमा गएर खा“दा बस्दा न्यायको कठघरामा उभिनु पर्ने बाध्यता छ । सोही कारण अक्ष्यम्य अपराध गरेको भन्दै बालकृष्णलाई देश निकाला गरिएको छ । यो आन्याय र अत्याचारको पाराकाष्ठाको एउटा प्रदर्शन मात्र हो । समाजमा हरेक व्यक्तिले स्वतन्त्र रूपमा पढ्न, लेख्न र आफ्ना कुरा स्वतन्त्र रूपमा राख्ने अधिकार पाउनु पर्छ भन्ने जुझारु सोच भएका युवालाई माहाराजको गाथगादी ताकेको आरोप लगाएर देश नै निकाला गर्ने तत्कालीन खण्डित समाजको दुर्दान्त कथा ‘प्रेतकल्प’ उपन्यासमा बुनिएको छ । वर्गीय र जातीय छुवाछूतको दृष्टिले उपन्यास खरो उत्रिएको छ । दलित जनजातिलाई तुच्छ काम गर्ने व्यक्ति मान्ने र जारशाहीहरूको निगाहमा मात्र बा“च्नुपर्ने समाज व्यवस्थाले तल्लो वर्गकाप्रति गरिएको चरम अन्याय स्पष्ट रूपमा देख्न सकिन्छ । तथाकथित दलितलाई उपल्लो तहका सामन्तको दास, नोकर र जुठो पुरा खाएर बा“च्ने वर्गका रुपमा परिभाषित गर्नुले उपन्यासकारको सहानुभूति उच्चसंस्कृति र वर्गका विरुद्ध निम्नसंस्कृति र वर्गप्रति छ भन्ने कुरा स्पष्ट रूपमा देखिन्छ ।
‘प्रेतकल्प’ उपन्यासमा चन्द्रशमशेर, विष्णुभक्त, उसको छोरो रामभक्त, बबरशमशेर जस्ता उच्च कुलघरान भएका पात्रहरु, सुभद्रा, दमयन्ती, बालकृष्ण, शंखधर, रामजी भारद्वाज जस्ता मध्यम वर्गीय ग्रामीण पात्रहरू र साम्बे सार्की, काले, चनमती, बहादुरे, सन्ते, धनवीरे आदि पात्रहरू निम्नवर्गीय हुन् । मध्यम वर्गीय पात्रहरूमा सुधार आवश्यक छ भन्ने चेतना आइसकेको छ भने निम्न वर्गीय पात्रमा त्यो चेतना आउन सकेको छैन । पं.बालकृष्ण हेपिएका जनताको मुक्तिका लागि लड्ने प्रतिद्धता जाहेर गर्दागर्दै देश निकाला भएको छ । बालकृष्णको प्रवासबास पछि पनि समाजमा केही सुधार भएका छन्, तर पूर्ण रूपमा जनताको अधिकार सुरक्षित हुन सकेको छैन । त्यसैले ‘प्रेतकल्प’ उपन्यासले ऐतिहासिक रूपमा समाजको दोहन गरेको छ । यस कुरामा उपन्यास सफल छ, तर अत्यधिक पात्रहरुको प्रवेशले उपन्यसको कथानको मूल्यवत्तामा र सुसङ्गठनमा आ“च पु¥याएको छ ।
५. निष्कर्ष
यसरी पत्रकार, उपन्यासकार, निबन्धकार, राजनीतिज्ञ र कविका रूपमा आफ्नो व्यक्तित्व बनाएका ढकाल प्रगतिवादी समाजवादी साहित्यकारका रूपमा परिचित छन् । बालकथा सङ्ग्रह सहित पा“चकथा, दुइ निबन्ध सङ्ग्रह र तिन उपन्यास लेखेका ढकालका दुइ फुटकर कविता प्रकाशित छन् । विभिन्न सस्थाबाट पुरस्कृत उनले ऐतिहासिक विषयवस्तुमा आधारित भई उपन्यास सिर्जना गरेका छन् । ऐतिहासिक विकासका क्रममा अर्थको असमान वितरणका कारण विभिन्न वर्गहरू निर्माण हुने र उपल्लो वर्गका मानिसले तल्लो वर्गका मानिसलाई सधैं दवाएर राख्ने सन्दर्भ वर्गसङ्घर्षको विश्वव्यापी धारणा नै रहेको छ । त्यही वर्गसङ्घर्षको सिद्धान्तको सेरोफेरोमा ‘प्रेतकल्प’ उपन्यास घुमेको छ । प्रस्तुत उपन्यासमा जनतालाई सेबक ठान्ने र आफूलाई स“धै मालिक वा भाग्य विधाता ठान्ने तत्कालीन प्रशासकहरू सामन्तवादी ढर्रामा नै आफ्नो शासनसत्ता टिकाएका छन्, र त्यही अनुसार न्याय दिने व्यवस्था गरेका छन् भन्ने कुरा किटानी जाहेरी गरिएको छ । हुकुमी तन्त्रमा शासन चलाउन चाहने तत्कालीन प्रशासनका ठेकेदारहरूका कर्तुत र उनीहरूले तल्लो वर्गका जनताहरूलाई दवाएर राखेको स्पष्ट चित्रण यस उपन्यासमा छ । त्यसैले ‘प्रेतकल्प’ उपन्यासले ऐतिहासिक रुपमा समाजको दोहन गरेको छ । मिश्रित दृष्टिबिन्दुको प्रयोग गरिएको छ । यस कुरामा उपन्यास सफल छ, तर अत्यधिक पात्रहरूको प्रवेशले उपन्यसको कथानको मूल्यवत्तामा र सुसङ्गठनमा आ“च पु¥याएको छ । संवादहरू लामा छन् । भाषामा आञ्चलिकता पाइन्छ । यस्ता केही ऋणात्मक पक्षहरू उपन्यासमा भए पनि बढी धनात्मक पक्षले उपन्यास सजिएको छ ।

सन्दर्भग्रन्थसूची
१. आचायर्, टीकाराम (२०६७), प्रयोगशील कृतिका रुपमा तपाईंं उपन्यासको विश्लेषण र मूल्याङ्कन, पृ.ना.क्या. आप्रकाशित शोधपत्र ।
२. आप्ट,े वामन शिवराम (सन्२००२), संस्कृत–हिन्दी कोश, नाग पब्लिसर्सः जवाहार नगर दिल्ली ।
३. नेपाली बृहद् शब्दकोश, (२०६०)नेपाल प्रज्ञाप्रतिष्ठानः कमलादी काठमाडौं ।
४. रेग्मी, अमृतकुमार (२०६७), प्रेतकल्प उपन्यासको कृतिपरक अध्ययन, पृ.ना.क्या. अप्रकाशित शोधपत्र ।
५. सुवेदी, राजेन्द्र (२०६४), नेपाली उपन्यासः परम्परा र प्रवृत्ति, साझा प्रकाशनः पुलचोक ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 19 आसाढ, 2069

लेखकका अन्य रचनाहरु