भर्खरैका यथार्थता

- छविरमण सिलवाल

मोहनराज शर्माद्धारा लिखित भर्खर कथासङ्ग्रह अधोपान्त पढिसके पछि केही लेखौं लेखौं लाग्यो । मनमा अनेकन तरङ्गहरू उठिरहें । पन्ध्रवटा कथाहरूलाई समेटेर उनको यो पुस्तक तयार भएको छ । डिकुरा पब्लिकेशनद्धारा प्रकाशित यस पुस्तक भित्रका कथाहरूले एउटा तरङ्ग उत्पन्न गराउछन् । केही सत्य जस्तो केही आफ्नै कथा जस्तो हामी भित्रै रुमल्लिएका अनेकन विषयवस्तु कथा भित्र भेटिन्छन् । भर्खरै भन्नाले अहिलेको अर्थात तुरुन्तै भन्ने जनाउँछ । यस भित्रका कथाहरूले पनि अहिले भइरहेका समसामयिक विषयवस्तुलाई समेटेको पक्कै छ । यस भित्रका केही कथाहरू धेरै समय अगाडि लेखिएका छन्, भने बाँकी कथाहरू साठीका दशकमा लेखिएका छन् । यी सवै कथाहरूका विषयवस्तु परिवेश भने भर्खरै भइरहेका जस्ता लाग्छन् कथा पढ्दै जाँदा । शर्माका कथाहरू सरल छन्, पठन योग्य छन् । उनका कथाहरू पढ्दा आफ्नै वरिपरि भैरहेका घटनाहरू झल्झली घुमिरहन्छन् । आफ्नै कथा जस्तो, आफैले भोगेजस्तो अनुभव भैरहन्छ उनका कथाहरू पढ्दा । उनका कथाहरू शुरुमा पढ्दा उनले यो उमेरमा पनि किन यस्ता अस्लिल शब्दहरू प्रयोग गरेका होलान भन्ने कुरा मष्तिष्कमा खेलिरहन्छ । कथाहरू शुरूमा पढ्दा बौद्धिक बर्गले पढ्ने किसिमको नभए जस्तो लाग्छन् । सस्तो मनोरञ्जनका लागि मात्र लेखिएको अनुभव चाहिँ हुन्छ नै । तर पढ्दै जाँदा कथाको अन्त्य यसरी भएका छन् कि त्यसले एउटा सिँङ्गो समाजकै कुरिति विरुद्ध धावा बोलिरहेका छन् । यस पुस्तक भित्रको एउटा कथा “बाटामा भेटिएकी केटी”शिर्षकको कथामा पढ्दा पनि यस्तै अनुभव हुन्छ । यस कथा भित्र पनि एउटा पात्रले बाटोमा एउटी केटी भेट्छ उनीहरू बिच भएका गन्थन भित्र केटी धेरै व्वाईफेन्डहरूसंग भेट्न हिडिरहन्छे, एकछिन पछि पुनः आउँछे । उ निकै फ्याङ्क कुरा गर्दछे, निकै अश्लिल शब्दहरु बोल्छ्े, त्यस्तै शब्दहरू विचमा पनि कुनैबेला राम्रा कुराहरू पनि गर्छे । अन्तेममा उसले गरेको व्यवहारले कथाको पात्र निकै चकित हुन्छ । र यता उताका मान्छेहरूले यो केटी त बहुलाही हो नि भन्दा ऊ झल्यास्स हुन्छ । र कथाको अन्त हुन्छ । मैले यहाँ भन्न खोजेको कुरा के हो भने यस कथा भित्र शुरूमा निकै अश्लिल शब्दहरू प्रयोग भएका छन् । जो कोहीलाई नपच्न पनि सक्छन् ति शब्दहरू । कथा पुरा नपढेसम्म कथाको सार थाहै पाइँदैन । जब कथा पढि सकिन्छ अनि त्यहाँ भित्रको सार थाह पाइन्छ । र, एउटी पागल केटीले त जे पनि बोल्छे, त्यहीँ शब्दहरूलाई शर्माले कथाका विषय रोजेका छन् । उनका कथा पढ्नको लागि धैरेता भने चाहिन्छ नै । उनका कथाहरूमा चित्रित जीवन, परिवेश, भोगाइ र प्रतिक्रियाले पनि सधैँ भइरहेका जस्ता जीवन्तता बनाई राखेका छन् । “केबुलकारकी केटी शिर्षकको”कथा भित्र पनि यस्तै संवेदनाहरू छन् । एउटी नारी हुनुको पीडा र उसले समाजमा भोग्नुपरेका पीडाहरू जीवन्त भएर पोखिएका छन् । यस कथाले समग्र नारीहरूको भोगाइ, रहनसहनका कतिपय कुराहरूलाई प्रतिनिधित्व गरेका छन् । अर्को कुरा उनका कथाका महत्वपूर्ण पाटो भनेको राजनीतिक हस्तक्षेपबाट विथोलिएका र विकृति सिर्जना भएका यथार्थ तथ्यहरू पनि कथा भित्र अटाएका छन् । “भर्खर”सङ्ग्रह भित्र कथाका बारेमा शर्मा लेख्छन्ः–“म कथामा पर्याप्त आख्यान होस् भन्ने चाहन्छु । आख्यानमा कथा नभएको रचना पढ्न र लेख्न म प्रायः रुचाउन्न । कथामा कथा वा आख्यान बढाउने तत्व घटना हो । कथामा कम्तीमा दुईवटा स्वतन्त्र घटना नभएर कथा नै तयार हुँदैन अर्थात् चरमावस्था नै आउँदैन भन्ने मेरो धारणा छ । यहाँ के स्पष्ट पार्न आवश्यक छ भने एउटा कथामा आश्रित घटनाहरू जति पनि हुनसक्छन्, तर ती कुनै स्वतन्त्र घटनासंग अन्वित भएर आएका हुन्छन् । यस अन्वितिका कारण कथागत धेरै घटनाहरू कथानकभित्र आश्रित वा परतन्त्र बनेका हुन्छन् । यिनै स्वतन्त्र र आश्रित घटनाहरूको सञ्जाललाई म कथा भन्छु र आफ्ना कथामा यो सञ्जाल बढी उपेक्षित वा दविएको नहोस भन्ने प्रयास गर्छु ।” नेपाली साहित्यमा लामो समय देखि कलम चलाउँदै आएका शर्माका कथा, समालोचना, निवन्ध, कविता आदि विधाहरूमा थुप्रै पुस्तकहरु प्रकाशित भइसकेकाछन् । उनको पछिल्लो सङ्ग्रह “भर्खर” यसैको निरन्तरता हो । एकथरी पाठकको मनमा शर्माका कथाहरू अश्लिल शब्दहरू विना पनि प्रस्तुत गर्न सकिन्थ्यो कि भन्ने प्रश्न उब्जाउन सक्लान, तर उनको प्रस्तुत कलाले कथाकारले नबोली सहि स्थानमा सहि पात्रले बोलेका हुनाले कथालाई ति शब्दहरूले सुन्दर बनाएका पक्कै छन् । समग्रमा प्रस्तुत पुस्तक पठन योग्य रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 14 आसाढ, 2069

लेखकका अन्य रचनाहरु