मटेला पुलपारि

- टीकाराम उदासी

नेपालगञ्जबाट चौरजहारीसम्म जम्मा बीस मिनेट जतिको हवाईयात्रा । यात्राको थकाइ त थिएन तर नेपालगञ्नको एयरपोर्टमा घण्टौँ प्लेन कुर्दाको छटपटीले भने मन अशान्त नै थियो । त्यसैले चौरजहारीको स्वादिलो एक रातपछि मन पुनः यात्राका लागि उत्साहित बनेको थियो ।
उज्यालो त राम्रै भएको थियो तर घाम अझै ओर्लिसकेको थिएन धरतीमा । हामी जाजरकोट यात्रारम्भका लागि तयार भयौं अघिल्लो साँझ मात्रै परिचित बनेका सुर्खेती मित्र तोयनाथ योगीजी र म । हाम्रा सामान होटलबाहिर पेटीमा थिए तर हिंजो साँझ कुराकानी गरी फर्किएको भरिया दाइ भने अझै आइसकेका थिएनन् । चौरजहारी एयरपोर्टदेखि उत्तरतर्फ जंगलको छेउँमा एउटा गाउँ छ– रुमाल गाउँ । उनी त्यतैका थिए । हामीले साँझमै हामीसँग बस्न आग्रह गरेका थियौं उनलाई तर घरायशी कामले बस्न नसक्ने तर विहानै आइपुग्ने बताएका थिए उनले । केही ढिला गरेपछि हाम्रो मनमा त्रास फैलिएको थियो– कतै नआउने हुन् कि अथवा अर्को मानिस खोज्नुपर्ने पो हो कि भनेर किनकि अर्को मानिस भेट्न त्यति सजिलो थिएन ।
मैले हिंजो ओर्लिएको एयरपोर्ट हेरें, एयरपोर्ट दक्षिणको लेक, भेरीपारिको समथर मैदान जक्तीपुर अनि चौरजहारीको मैदानी भूभागहरु हुँदै डाँडामा देखिने खलंगा । खलंगा हाम्रो गन्तव्य–चौरजहारीको समथर भूभाग भएर भेरी नदी पार गर्दै उकालै उकालो चढेर पुग्नुपर्ने उत्तरी भेगको डाँडा । मैले सोच्दै थिएँ जिन्दगीको यात्रा अनि यात्राको देउराली चौरजहारी, अबको अर्को देउराली खलंगा । त्यत्तिकैमा भरिया दाइ आइपुगे मुस्कुराउँदै । उनी तीस बत्तीस वर्ष उमेरका थिए– कथित दलित परिवारका व्यक्ति । गरीवीका कारण वैंशमै रित्तिएझैं देखिने । चियानास्तापछि उनले भारी बोकेर बाटो लागे, हामी दुई त्यस भूभागका नयाँ यात्री पनि उनको पछि–पछि लाग्यौं ।
बाटामा पैदलयात्रीहरु प्रशस्तै भेटिन्थे तर सबै अपरिचित । चौरजहारीबाट जाजरकोट खलंगा हिंडेकाहरुभन्दा खलंगाबाट चौरजहारी हुँदै सल्लीबजार हिंडेका, चाक्लीघाट वा खलंगाबाट. हिंडेका वा चौरजहारीसम्म हिंडेका मानिसहरु बढी भेटिन्थे । बाटामा खच्चडहरु अथवा पहाडी ट्रकहरु पनि बेलाबखत भेटिरहेका थियौं हामीले । एयरपोर्टबाट हिंडेपछि पल्लो बजार, वल्लो बजार हुँदै अगाडि बढ्यौं । ठाउँठाउँमा चौपारी र बिसौनीमा भरिया दाइले भारी बिसाउँदै पनि थिए अनि हामीलाई त्यहाँको भौगोलिक परिचय पनि दिंदै थिए– हामी भने आज्ञाकारी विद्यार्थीझैं उनीसँग जिज्ञासा राखिराखेकै थियौं बेलाबखत ।
करिब एक घण्टा जतिको समय लगाएर हामीले टाटागाउँ हुँदै चौरजहारीको यात्रा छिचोल्यौं । चौरजहारीको उत्तरी छेउँमा रहेको वरपीपलको चौतारीमा बस्यौं । शीतल हावा, सिधै तल निरन्तर बगिरहेको भेरी नदी अनि शरीरमा बिस्तारै ओभाइरहेको पसिना– एउटा रमाइलो र अनौठो अनुभूति भइरहेको थियो मलाई । थोरै हिंडेपछि मटेला पुल झ¥यौं । मटेला पुल जमानामा चन्द्र शमशेरले बनाइदिएका रहेछन् । चन्द्र शमशेरले जाजरकोटी राजाकी छोरी विवाह गरेपछि श्रीमतीलाई सोधेछन्– ‘तिम्रा माइतीलाई के दुःख छ ?’ रानीले भनिछन्– ‘अरु सबै ठिकै छ स्वामी ! तर दुईवटा कुराको निकै दुःख छ मेरा माइतीलाई । पहिलो डाँडामा दरबार भएकाले खानेपानीको दुःख निकै छ र अर्को चौरजहारीबाट जाँदा बीचमा भेरी नदी पर्ने भएकोले वर्षायाममा निकै कठिनाइ भइरहेको छ । ती दुई चिज भएमा मेरो धोको पूरा हुने थियो ।’
त्यसपछि जाजरकोटको सदरमुकाम खलंगामा पानी आइपुग्यो । समयको अन्तरालमा भएको जनसंख्या बृद्धि र पानीको स्रोत सुक्दै गएर पानीको अभाव खड्किरहेको भए पनि त्यतिबेलै बनेको खलंगा, रानागाउँको पानीटंकी नै भरपर्दो मानिन्छ । पछिल्लो समयमा खानेपानी कार्यालयले बुडबुडीबाट नयाँ पाइपहरु विछ्याएर पानी लिएपछि पनि पुरानै खानेपानी धारा सबैको लागि भरोसायोग्य छ । अझै पनि राणाकालीन पानीधारा, पानी ट्यांकी र पानी व्यवस्थापनलाई धेरै खलंगावासीले सम्झिरहन्छन् । त्यस्तै राणाकालमै बनेको मटेला पुल खलंगाबासीलाई भेरी तर्ने साधन बनिरहेको छ । भर्खरै चौरजहारी–जक्तीपुर आवतजावतका लागि पनि पुल बनेको सुनिएको छ तर पुरानो पुल त मटेलाकै हो । हिंउदमा धेरै मानिस भेरी तर्छन्– कति ठाउँमा नाउ (डुंगा) पनि चल्छन् तर असार, साउन र भदौको झरीमा भेरी तर्ने एउटै साधन हुन्छ– मटेला पुल । त्यो जमानामा स्कटल्याण्डको इञ्जिनीयरले बनाएको त्यो पुल अहँ अझै केही बिग्रिएको छैन– जस्ताको तस्तै छ । शायद नेपाली ठेकेदारले बनाएको भए सयौंपटक मर्मत गर्नुपथ्र्यो वा पुल नै फेर्नुपथ्र्यो ।
हामी मटेलापुल तरेर पल्लोपट्टी गयौं अर्थात् राप्ती छाडेर भेरी अथवा रुकुम छाडेर जाजरकोट । फेरि बिसायौं मटेलामा अनि चिया पियौं । मटेला सानो बजार क्षेत्र– १०÷१२ होटल र साना पसलहरु छन् तर भेरीका माछा पाइने हुनाले चर्चित पनि छ त्यत्तिकै । यसलाई खलंगाका कर्मचारी र चौरजहारी पुगेका यात्रीहरु बारम्बार सम्झिरहन्छन् । माछा त चौरजहारीमा पनि पाइन्छ तर मटेलापुलको माछाको स्वादै बेग्लै । शायद नदी छेउँको वस्ती भएर पनि होला ।
मटेलाबाट खलंगा पुग्न सोझै उकालो बाटो चढ्नुपर्ने रहेछ । हामीले पनि त्यसै ग¥यौं । घाम चर्किरहेको थियो, त्यसमा पनि उकालो बाटो– पसिनाले शरीर भिजेका थिए, प्यास पनि बढिरहेको थियो– साथमा छाता पनि थिएन । शुरुमा अघिअघि हिंडिरहेका भरिया दाइ स्वाभाविकरुपमा पछाडि परेका थिए उकालोमा, बीचबीचमा हामीले पर्खदै उनलाई पनि साथै हिंडाइरहेका थियौं । उकालो यात्रा, थकाइ, पसिना, घाम र सुस्केरा सबैले आक्रमण गर्दै थिए हामी सबैलाई– हामी भने ती सबलाई छिचोल्दै अगाडि बढिरहेका थियौं निरन्तर ।
बोहरागाउँ छिचोलेपछि शान्ति चौतारा आयो । चौतारीमा फेरि भारी बिसाए भरियादाइले अनि हामी छेउँमा उभियौं र फर्केर भेरी नदीलाई हे¥यौं । चौरजहारीलाई हे¥यौं अनि हामी भर्खरै हिंडेको बाटोलाई, हामीले असिनपसिन हुँदै छिचोलेको जंगललाई– देउरालीलाई, थकाइ मारेका चौतारीहरुलाई । फेरि उकालो चढ्यौं– केही क्षणमै खलंगा गेट भेटियो । त्यसमा लेखिएको थियो– तपाइँलाई हार्दिक स्वागत छ । त्यसपछि तेर्साे बाटो हुँदै बागलुङ गेष्ट हाउसमा आइपुग्यौं । जुन जाजरकोटको चर्चित र परिचित होटल हो । कस्तो संयोग– चौरजहारीमा पनि बाग्लुङ होटल– खलंगामा पनि बाग्लुङ होटल । हामीलाई साँच्चै आश्चर्य लाग्यो ।
मसँग एउटा पत्र थियो मित्र पूर्ण भण्डारी पंकजको । शायद दाङ छोड्नु एकदिन अघि मात्र उनी सल्यानबाट दाङ झरेका थिए । उनी त्यतिबेला दाङ झरेपछि शायद मलाई नै खोज्थे वा भेट्थे सर्वप्रथम अनि अरु काम गर्थे दर्जनौं काम भए पनि तर अहिले हप्तौं दाङ बसेर पनि नभेटिकनै सल्यान फर्कन्छन्– शायद अरु व्यस्तताका कारण । त्यतिबेलाको मित्रता अहिले पनि छ उस्तै तर व्यस्तताको बहाना भने शायद अहिले अलि बढी छ उनीसँग । म उनलाई गुनासो पनि गरिरहन्छु बेलाबखत । अँ, म भन्दै थिएँ– उनी दाङ जिल्ला आएका थिए म जाजरकोट प्रस्थान गर्नुअघि उनले जाजरकोट खलंगामा पसल गर्ने सल्यानी आफन्त टेकबहादुर डाँगीलाई पत्र लेखेका थिए वा मेरा लागि लेखिदिएका थिए । त्यतिबेला उनले ठाँटीबजारमा पसल गर्थे मैले त्यो पत्र दिएँ उनकी श्रीमतीलाई– उनी कतै बाहिर गएका थिए । मैले आफ्ना सामान उनकै पसलमा राखें– तोयनाथजीका तालिम सामग्री पनि त्यतै राखियो । खाना भयो बाग्लुङ होटलमा । खाना खुवाएर भरियादाइलाई विदा ग¥यौं । शायद त्यतिबेलासम्म १०÷१०.३० बजिसकेको थियो विहानको । त्यतिबेला ठाँटी बजारमा मुस्किलले ८÷१० पसलहरु थिए ।
ठाँटी बजारबाट माथिल्लो थाप्ले हुँदै हामी थाप्लचौर झ¥यौं, जहाँ क्याम्पस थियो– जिल्ला स्वास्थ्य कार्यालय पनि थियो । जिल्लाको एक मात्र उच्च शिक्षाको थलो भेरी ज्ञानोदय क्याम्पस अनि जिल्ला सदरमुकामको हाइस्कूल त्रिभुवन मावि त्यतिञ्जेलसम्म उच्च मावि पनि भइसकेको थियो । दुबै थाप्लेचौरमा थिए । त्यसबाहेक जिल्ला वन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय पनि त्यहीं थिए । त्यसबेला खाद्य संस्थान पनि त्यहीं थियो । २÷३ वटा होटलसहित त्यतिञ्जेलसम्म थाप्लेचौरमा सर्वसाधारणका मुस्किलले १० घर बनेका थिए तर स्वास्थ्य, वन अनि विद्यालय र क्याम्पस भएका कारण खलंगामा सबैभन्दा बढी चहलपहल थाप्लेचौरमै हुन्थ्यो । ठाँटीबजार र गौरीखाली पनि चहलपहल भइरहने अन्य ठाउँ थिए । जिल्ला विकास समिति, जिल्ला प्रशासन आदि सरकारी अड्डामा धाउनेहरु पनि हुन्थे मानिस त ।
जिल्ला स्वास्थ्य कार्यालयको क्वाटरमा हामीले त्यस साँझ बास पायौं । कारण– प्रेम जैसवाल र विकास हमालहरु स्वास्थ्यका कर्मचारी थिए अनि तोयनाथजी जिल्ला स्वास्थ्य कार्यालयमै सञ्चालन हुने तालिमको प्रशिक्षक र म उहाँको साथी, जाजरकोटका लागि दुबै नयाँ पाहुना । प्रेमजी कुनै समय दाङ घोराहीको आई.एन.एफ.मा बस्नुभएको– जागिरकै सिलसिलामा अनि विकासजी पनि त्यस्तै । साथै उहाँको पुरानो घर दाङ रामपुरतिर र हाल सुर्खेत बसाइसराई । बिकास निकै रमाइला र मिजासिला व्यक्ति । म अहिले पनि प्रेम र विकास अनि तोयनाथजीको अनुहार झलझली सम्झिरहेको छु । कानमा उहाँहरुकै आवाज र हाँसो अनि आँखामा उहाँहरुकै अनुहार आइरहेको छ यतिबेला । विकासले त दाङ क्याम्पस नै पढ्नुभएको रहेछ ।
दिउँसो नुवाइ–धुवाइ गरी आराम ग¥यौं । घुमफिर केही पनि भएन । शायद त्यसदिन विदाको दिन थियो । मलाई शायद अहिले सम्झना भएन किनभने प्रेम र विकास पनि अफिस नगएर हामीसँगै क्वाटरमा बस्नुभयो ।
चैत्रको पहिलो हप्ता भए पनि शायद पानी परेर हुनुपर्छ, त्यतिबेलाको मौसम अलि चिसै थियो । बाक्लो उलनको कमीज लगाएको म अहिले पनि स्मृति अनुभव गर्दैछु । दिउँसो गफगाफ र हाँसो मजामै समय बित्यो । साँझतिर मुखियाको होटेलतिर आयौं । थाप्लेचौरमा त्यतिबेला दुईवटा मुखियाका होटल थिए । एउटा कालेगाउँ मुखियाका र अर्को चाहिँ स्याँला मुखियाका । विकास र प्रेमजीले नजिकैको घरमा खाना खानुहुन्थ्यो– आफ्नै कर्मचारी साथीको घरमा । त्यसैले तोयनाथजी र मैले खाना खाने कुराकानी भयो– स्याँला मुखियाको होटलमा । त्यसदिन मौसम चिसो भएकाले साथीहरुले पिउने विचार गर्नुभयो ।
होटल नै त थियो । स्थानीयदेखि कर्मचारीहरु प्रायः सबै पिउने मनसायले होटलमा आइरहेका थिए । मलाई भोक लागेको थियो । त्यसैले म खाना खाएर कोठामा फर्कन चाहन्थें । कारण रक्सी खाएका मानिसहरुको बीचमा बस्दा कुनै नरमाइलो घटना पनि हुने सम्भावना पनि थियो त्यसमा पनि नयाँ ठाउँ, नयाँ परिवेश अनि सबै अपरिचित मानिसहरु । त्यसबाहेक मलाई घरको सम्झनाले पनि खूब सताएको थियो, दाङको झझल्कोले पनि पछ्याइरहेको थियो ।
बाहिर भित्र दुबैतिर भीड थियो । म थिएँ भित्रको कोठामा तोयनाथजीहरुसँगै । होटेल्नी साहुनीले गिलासमा रक्सी राख्दै गईन् । मैले खान्न भनें । तोयनाथजीहरु पिउँदै गफ गर्न थाल्नुभयो, हाँस्दै जानुभयो । म पनि उहाँहरुसँगै हाँस्न थालें वा हाँसेको अभिनय गर्न थालें । मलाई त्यतिबेला कतिखेर होटलबाट निस्कौं र कोठामा आएर ओछ्यानमा पल्टौंजस्तो लागेको थियो ।
नयाँ सरलाई माल चल्दैन कि ?– अचानक निस्केको साउनीको आवाजले म झस्किएँ अनि अलमलमा पनि परें । मैले साथीहरुको अनुहार हेरें, उहाँहरुले पनि मलाई नै हेरिरहनुभएको थियो । साहुनीलाई हेरें । उनले अझै मलाई नै हेरिरहेकी थिइन्, शायद मेरो जवाफ पर्खिरहेकी थिइन् । झन् हाँसिरहेकी हुनाले मलाई थप लज्जाबोध भयो । सरले माल भनेको बुझ्नुभएन कि !– साहुनीले फेरि सोधिन् । दाङतिर ‘माल’ शब्दको अर्थ अर्कै हुन्छ तर जाजरकोटमा रक्सीलाई ‘माल’ भन्ने चलन छ– विकासले हाँस्दै वातावरणलाई सहज बनाउनुभयो ।
अहँ, चल्दैन, मैले अहिलेसम्म लिएको छैन– मुस्किलले यति भनें मैले । म यो प्रसंग नै टुंग्याउन चाहन्थें तर विकासले फेरि प्रसंग अगाडि बढाउनुभयो– हैन, सर त मगरको छोरा भएर पनि किन यस्तो ? हेर्नुस् म ठकुरी, प्रेमजी बाहुन अनि तोयनाथजी जोगी भएर सबै भोगी यसैका, सुहाएन है यो त । ‘सरको बसाइँ जाजरकोटमा धेरैदिन होला जस्तो छैन है..... ।’ उहाँहरु फेरि जुट्नुभयो निरन्तर जुटिरहनुभयो । मौसम चिसो थियो । चिसो मौसमलाई तताउने बहानामा उहाँहरु स्वयं आफै तातिरहनुभएको थियो । त्यतिबेलासम्म बाहिर अँध्यारो धेरै बढिसकेको थियो अनि भित्र मैनवत्ती आफू जलेर हामीलाई उज्यालो प्रकाश दिइरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 14 आसाढ, 2069

लेखकका अन्य रचनाहरु