बन्दै बन्द

- छविरमण सिलवाल

आज निमेषको जरुरी काम थियो । आजै नेपाल बन्द रे, तैपनि केही उपाए लाग्छ कि भनेर मोटरसाइकल लिएर काममा लाग्यो ।
चोकमा एक झुण्ड मान्छेहरू बन्दमा मोटरसाइकल चलाउने ऊ मोटर साइकल आयो, समात समात, हान ढुङ्गा जलाई दे .....आदि आदि अस्लिल शब्दहरू प्रयोग गर्दै रोके । भिडमा एकजना भद्र जस्ता देखिने व्यक्तिले भने केही नगर फिर्ता पठाई देऊ फिर्ता । भिडमा कसैले कसैको कुरा मान्ने देखिएन । निमेष पुनः घर फर्कियो । वैकल्पिक बाटोको खोजिमा लाग्यो । उही भिड, उही कोलाहल । मोटरसाइकल छोडेर ऊ पैदल अगाडि वढ्यो । पसलहरू बन्द थिए सडक सुनसान, थिए त केबल मान्छेहरू आफ्ना स्वार्थमा बन्द गराउँदै हिडेका । ऊ पनि सामेल भयो बन्दकर्तामा । सडकमा टायर बाल्यो, गुडेका गाडीहरू रोक्यो । कसैलाई फुटायो कसैलाई जलायो । तर उसको कुनै स्वार्थ थिएन, यसो गर्नमा मात्र लहलहै थियो आफ्नै कुण्ठा थियो । उसले एउटा उखान सम्झियो “नागाको देशमा लुगाको के काम” सबै नाङ्गिए पछि उसले मात्र लुगा लगाउनुको कुनै अर्थ थिएन । त्यसैले ऊ पनि नाङ्गिएको थियो । र सडकमा टायर बाल्दै थियो ।
सडकमा टायर बलिरहेको थियो ऊ सोच्दै थियो टायरसंगै अनेकौ सपनाहरू जलिरहेका थिए । उसको आफ्नो सपना, श्रीमतीको सपना, बाबुको सपना, छोरा छोरीको सपना यी सबै सपनाहरू टायरको कालो धुँवा भएर आकाशमा मडारीरहेको देख्यो । र सोच्यो हामी कसैका स्वार्थमा आफूले आफैलाई बन्धक बनाई रहेका छौं । नेपाल आमालाई बन्धक बनाई रहेका छौं । अब यो बन्दको राजनीति नगर्ने हो कि ? आदि कुराहरू बोली रहदा त्यहाँ ऊ एक्लो थियो देख्नेहरू सबै उसलाई पागलको संज्ञा दिदैं ओझेल पर्दै थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आसाढ, 2069

लेखकका अन्य रचनाहरु