क्रान्तिकारी बिमला दिदी

- विश्वराज अधिकारी

सरला दिदीसँग मेरो निकै लामो समयको अन्तराल पछि भेट भएको थियो, यस्तै अठार बीस वर्ष पछि, काठमाडौको नया सडकमा, एउटा गहना पसल नजिक, २०५३/ ५४ साल तिर। मेरी पत्नी, निशाले गहना छान्न अति नै समय लाएकोले म सडक बाहिर उनको बाटो कुर्दै थिएँ र त्यही क्रममा मेरो सरला दिदी सँग बाटोमा भेट भयो, अनि कुराकानी पनि। सरला दिदीसँग निकै नै लामो समयसम्म कुराकानी भएको थियो। अब तपाँई स्वयंले अन्दाज गर्नुस मेरी धर्म पत्नीले गहना किन्न कति समय लगाएकी होलिन किनभने उनी गहना किनेर बाहिर आए पछि मात्र मेरो र सरला दिदी बीचको कुराकानी सकिएको थियो। सरला दिदी सँग भएका सम्पूर्ण कुराकानीको फेहरिस्त त म प्रस्तुत गर्न सक्तिन केवल सानो अंश मात्र प्रस्तुत गर्छु, यहाँ। सरला दिदी आइ. ए. मा पढदा म दस कक्षामा पढथें, नेपाल राष्ट्रिय विद्यापीठ स्कूल, श्रीपुर, बीरगंजमा। अँ, सरला दिदी सँग त्यस्तो किसिमले कुराकानी गर्न सक्ने घनिष्टता कसरी भयो, त्यो भने पछि सुनाउँला।
मेरो र सरला दिदी बीच कुराकानीको क्रम शुरू भयो। कुराकानी लाई अगाडि बढाउँदै सरला दिदीले हाँस्दै भन्नु भयो ‘कसैद्वारा मेरो जिवनी लेखिएको छ र त्यो जिवनीमा बिमला दिदीको कतै पनि चर्चा गरिएको छैन भने या त त्यो जिवनी नै अधुरो छ या त्यो लेख्ने मान्छेले मेरो बारेमा त्यति जानेको नै रहेन छ।’
मैले पनि हास्दै प्रश्न गरे- किन होला त्यस्तो, हँ, सरला दिदी? सरला दिदीले एकै छिन केही सोँचे झै गर्नु भयो अनि भन्नु भयो ‘मेरो जिवनमा बिमला दिदीको विचार, सिद्धान्त, आदर्श र भन्ने हो भने वहाँको सम्पूर्ण व्यक्तित्वको ज्यादै बलियो प्रभाव परेको थियो त्यो बेला जुन बेला म बीरगंजको ठाकुर राम क्याम्पसमा पढ्थे। त्यो प्रभाव अहिले पनि कायम छ, धेरै हदसम्म। सेतो कपडालाई कुनै रंगको घोलमा राखे पछि त्यो सेतो कपडा त्यो रंग रंगिए जस्तै मेरो व्यक्तित्व पनि बिमला दिदीको विचारले रंगिएको छ। वहाँका हरेक कुरा- बोल्ने तरिका, व्यवहार, जिवन प्रतिको दृष्टिकोण, सिद्धान्त सबै मेरो लागि आदर्श हुन्थे, त्यति बेला। यति सम्म कि म घरमा आएर वहाँले बोल्ने तरिकाको नक्कल समेत गर्थे। परिवारको सदस्य, साथी, परिचित वा अन्य कुनै व्यक्तिसँग कुराकानी गर्दा वा वादविवाद हुँदा पनि, म बिमला दिदीले झै गर्थ्ये, वहाँ झै प्रस्तुत हुन खोज्थे। हामी दुई नै ठाकुर राम क्याम्पस, बीरगंजमा पढ्थ्यौ। म आई. ए. तर वहाँ भने बि. ए. मा। पढेको समय भने यस्तै २०३३ वा ३४ साल हुनु पर्दछ।
मैले सरला दिदीको भनाइमा छोटो प्रतिक्रिया जनाए- होइन, त्यस्तो, ज्यादै ठूलो, प्रभाव परेको थियो तपाँईंमाथि वहाँको व्यक्तित्वको। यो पटक भने केही गंभिर मुद्रामा प्रस्तुत हुनु भयो सरला दिदी। अघि देखि मुहारमा देखिएको हाँसोलाई चिंतामा रुपान्तरित गर्दै भन्नु भयो ‘हो, अति नै प्रभाव पारेको थियो, बिमला दिदीको बिचारले। हुन त वहाँको व्यक्तित्व नै त्यस किसिमको थियो, जो पनि छिटै प्रभावित हुन्थ्यो वहाँबाट, कुरा गरेको एकै छिनमा। तर म भने अलि बढी नै प्रभावित भएको थिएँ बिमला दिदीबाट, खोइ किन हो कुन्नी ………………..।’
सरला दिदीले फेरि भन्नु भयो ‘बिमला दिदी विचारमा प्रष्ट हुनु हुन्थ्यो। सिद्धान्तमा पनि त्यतिकै अडिग। अति नै दृढ निश्चयी अनि आफूमा विश्वास पनि उत्तिकै। वहाँका यिनै विषेशताहरुले नै मलाई आकर्षित गर्थ्ये। पछि वहाँका तिनै विषेशताहरु मेरा आदर्श बने। सबै भन्दा त, वहाँको पुरुषहरु प्रतिको दृष्टिकोणले मलाई अति नै प्रभावति पारेको थियो। बिमला दिदी जहिले पनि के भन्नु हुन्थ्यो भने नारी-शोषणको आधार भूमि यो पितृ-सत्तात्मक पुरुष-प्रधान समाज हो। एउटा सबल बिद्रोह द्वारा यो पुरुष-प्रधान समाजलाई तहस नहस पार्नु पर्छ। नारीको भूमिकालाई समाजमा महत्वपूर्ण पार्नु पर्दछ। पुरुष-प्रधान समाज सामन्ति संस्कृतिको अवशेष हो। त्यसकारण हामीले अहिलेदेखि नै आफूमा विद्रोही स्वभावको विकास गर्नु पर्दछ, सामन्ति संस्कृतिको त्यो अवशेषलाई समाप्त पार्न। आफूलाई सफल विद्रोही तुल्याउनु पर्दछ। पुरुषहरुले नारीहरु माथि लगाएको अंकुशलाई टुक्रा टुक्रा पार्नु पर्दछ। पुरुषहरुले धेरै हुकुम चलाए नारीहरु माथि। पुरुष-प्रधान समाज प्रतिको आफ्नो बिरोधी विचारलाई चट्टान झै बलियो र अडिग पार्नु पर्छ। पुरुष- प्रधान समाज प्रतिको वहाँको त्यस्तो नकारात्मक दृष्टिकोण देखेर मैले एकचोटी क्याम्पसबाट फर्किंदा सोधेको थिए, वहाँलाई- बिमला दिदी, तपाँईले बिहे गर्ने व्यक्ति यदि नारीलाई दबाउने किसिमको परे भने के गर्नु हुन्छ नि? मेरो त्यो प्रश्नको उत्तरमा वहाँले भन्नु भयो – के को बिहे गर्नु? बिहे नै गर्दिन। किन र? के बिहे गर्न आवश्यक छ र? लोग्ने मान्छेको साहारा चाहिन्छ नै आइमाईलाई बाँच्नका लागि? यदि चाहिन्छ भने म लोग्ने मान्छे बिनाको जिवन बाँचेर यो समाजलाई देखाइ दिन्छु, बुझ्यौ। यदि विज्ञानले, आउने दिनहरुमा पुरुषको सम्पर्क बिना बच्चा जन्माउने प्रविधिको विकास गरे छ भने म पुरुषको सम्पर्क बिना बच्चा जन्माएर देखाइ दिन्छु यो ढोंगी, यो पाखण्डि समाजलाई। म प्रगतिशील नारी पो हो त। म पौराणिक कालको सीता होइन, अग्नी परिक्षा दिने। म त आधुनिक युगको बिमला हो।’
यति भनेर सरला दिदी केही छिन मौन हुनु भयो। एकै छिनको मौनता पछि फेरि भन्नु भयो ‘एक चोटी हामी बीरगंजबाट रक्सौलको कृष्णा टाकिजमा सिनेमा हेर्न जाँदै थियौ, रिक्सा चढेर। हाम्रो रिक्सा रक्सौल पस्न मात्र केही समय बाँकी थियो अर्थात हामी सिर्सिया नदीको पुल माथि थियौ। बिमला दिदीले भन्नु भयो – हेर सरला, महिलाहरु कहिले स्वतन्त्र भएर बाँच्न पाउँदैनन, यो नारी-शोषणको युगमा, यो बुर्जुआ समाजमा, यो आधुनिक युगमा पनि। नारीले जहिले पनि एक किसिमको बन्धनमा बाँच्नु पर्छ, गाई गोरुले डोरीमा बाँधिएर बस्नु परे झै। बिहे भन्दा पहिले बाबुको बन्धनमा। बिहे पछि लोग्नेको बन्धनमा। लोग्ने पछि, छोरा ठूलो भए पछि, छोराको बन्धनमा। अनि यदि छोरा छैन भने कुरौटो छिमेकी वा समाजको बन्धनमा। यसरी एउटा नारीको जिवन बन्धनबाट शुरु भएर बन्धनमा नै समाप्त हुन्छ। त्यस कारण अब हामीले त्यो बन्धनबाट आफूलाई मुक्त पार्नु पर्छ। दासतबाट आफूलाई उन्मुक्त पार्नु पर्छ। बिमला दिदीका यस्ता कुराले म निकै प्रभावित हुने गर्थ्ये त्यो बेला।’
म मौन भएर केवल सरला दिदीको कुरा सुनि रहेको थिएँ। सडकमा उभिएर कुरा गर्न गार्हो भएकोले मैले रेष्टुरेन्टतिर जान आग्रह गरे। मलाई विश्वास थियो, हामी रेष्टुरेन्टबाट फर्किंदासम्म पनि निशाको गहना किन्ने क्रम जारी नै रहने छ। चिया खान जाउँ भन्ने मेरो प्रस्ताबमा सरला दिदीले स्वीकृति जनाउनु भएन। बरु कुराकानीको क्रमलाई अगाडि बढाउँदै भन्नु भयो ‘म त्यस बेला, क्याम्पसमा पढदा, एउटा मसँग नै पढ्ने, नारायणघाटको केटाले निकै हैरान पारेको थियो मलाई। कुनै व्यापारीको सन्तान जस्तो लाग्दथ्यो त्यो, लबाइ खबाइ हेर्दा। म प्रति हुरुक्कै हुन्थ्यो तर भद्र तरिकाले। ऊ प्रति म पनि आकर्षित थिएँ तर किन हो म आफूले नै पनि स्वीकार गर्न चाहन्थिन कि म पनि उसलाई मन पराउँछु भनेर। कुनै बेला लाग्थ्यो त्यो केटा पनि त्यै पुरुष-प्रधान संस्कृतिको प्रतिनिधि हो। मैले यो सँग बिहे गरेमा यसले मेरो शोषण बाहेक केही गर्दैन। मेरो शोषण, मेरो शरीरको शोषण। यसको अहिलेको मप्रतिको आकर्षण केवल मेरो उमेर प्रतिको हो, मेरो जवानी प्रतिको हो। उसको मप्रतिको आकर्षण केवल ……………… को भोक हो।’
सरला दिदी एकै छिन शान्त हुनु भयो। न्युरोडमा मोटरको चाप बढदै थियो। गाडीहरुबाट निस्केको आबाजले हामीलाई अलि चर्को स्वरमा बोल्न बाध्य पारेको थियो। सरला दिदीले हाँस्दै भन्नु भयो ‘त्यो केटाको नाम नरेन्द्र थियो। नरेन्द्रले कति पटक उसको आँखामा केही पर्यो भन्दै मलाई झिकी दिन आग्रह गरेको अहिले पनि मलाई याद छ, क्याम्पसमा। त्यसको आँखामा के को केही पस्नु। त्यो त उसको केवल बहाना हुन्थ्यो मलाई ज्यादै नजिकबाट हेर्ने। म पनि उसको आँखामा हेर्थ्ये केहि छिन, र केही छैन आँखामा, त्यतिकै चिलाएको होला भन्थ्ये। ऊ मेरो ज्यादै नजीक हुन खोजे पनि मेरो नजीक त हुन दिएँ उसलाई तर मेरो मनको नजिक हुन दिइन, कहिले पनि। केवल मेरो वरिपरि चक्कर काट्यो मात्र, लामो समयसम्म। पछि थाकेर मेरो पछि लाग्न छाड्यो। मैले त्यस बेला उसलाई देखाएको त्यस्तो व्यवहार बिमला दिदीले निर्माण गरि दिएको त्यस किसिमको मेरो मनोविज्ञानको कारणले हुन सक्छ। त्यस्तो अब लाग्दै छ। त्यो केटा, केटा के भन्नु अब, संयोगले अहिले म बसेको टोलमा नै बस्छ, यही काठमाडौंमा नै। भद्र र अशल किसिमको जिवन बिताई रहेको छ उसले, त्यस्तो लाग्छ मलाई, उसलाई हेर्दा।
धेरै बेरदेखि म केवल मौन बसेकोले मलाई पनि केही बोल्न मन लाग्यो। सरला दिदीको कुरा बिमलामा केन्द्रित हुन छाडेर नरेन्द्रमा बढी केन्द्रित हुन थालेको देखेर झनै केही बोल्न बाध्य भएँ म। म भने बिमलाको बारेमा जान्न उत्सुक थिए। मैले भने- सरला दिदी, पुरानै प्रशंगमा फर्कौ न, हुँदैन? तपाँईलाई त्यति बढी प्रभावित गर्ने तपाँईको आदर्श, बिमला दिदी कहाँ हुनु हुन्छ नि, अहिले? अनि के गर्नु हुन्छ, नि?
सरला दिदीले छोटो उत्तर दिनु भयो ‘राजनीति गर्नु हुन्छ।’
मैले फेरि प्रश्न गरे- अनि, तपाँइको बिमला दिदीले बिहे गर्नु भयो कि भएन नि?
सरला दिदीले भन्नु भयो ‘किन नगर्नु, गर्नु भयो नि। छोरा छोरी छन। बिराटनगरमा हुनु हुन्छ।’
सरला दिदीले हाँस्दै भन्नु भयो ‘सुन्नुस न, मैले आइ. ए. सक्याएको दुई तिन वर्ष पछिको कुरा हो, बिमला दिदीलाई बिराटनगरमा भेटेको थिएँ, एक पटक। वहाँको, बि. ए. सकिएको पनि त्यतिकै समय भएको थियो। बिराटनगरमा, एउटा बिहेमा भेट भएको त्यो बेला, मैल आश्चर्य मान्दै सोधे- तपाँईको काखको बच्चा कसको हो, बिमला दिदी? तपाँई कै त होइन? बिमला दिदीले हाँस्दै भन्नु भयो- हो, मेरो छोरा हो, यो। यसको नाम गौरव हो।’
मेरो आँखामा फैलिएको आश्चर्यको बाढीको अर्थ बुझ्न बिमला दिदीलाई समय लागेन।
मेरो काँधमा हात राख्दै भन्नु भयो ‘जिवनमा धेरै मोडहरु आउँदा रहेछन। सोंचे जस्तो हुँदो रहेनछ, यो जिवनमा। विद्यार्थी बेलाको कुरा गरेर के साद्दे लाग्छ। वद्यार्थी बेलाको, आलो काँचो बुद्धि………….।’
बिमला दिदीको पछिल्लो कुरा सुने पछि वहाँसँग थप कुरा गर्न रहर नै भएन मलाई। वितृष्णा जागेर आयो, वहाँ प्रति। बेहुलीलाई भेट्नु छ भन्दै पन्छिए म बिमला दिदीबाट।’ यति भनेर एक छिन सम्म न्युरोड गेटलाई हेर्या हेर्यै गर्नु भयो सरला दिदीले।
मैले कुरा सक्याउने बिचार गरे। मेरी पत्नीको गहना किनमेल सकिन थालेको अनुमान पनि गरे। हुन पनि उनले गहना किन्न लगाएको समय दुई घण्टा भन्दा बढी भइ सकेको थियो। सरला दिदीको त्यो एकहरो हेराइलाई तोड्दै मैले प्रश्न गरे- अनि, सरला दिदी, तपाँईले बिहे गर्नु भयो कि भएन, हँ?
सरला दिदीले भन्नु भयो ‘गरिन।’
मैले पुन: प्रश्न गरे- किन? किन नि?
सरला दिदीले भन्नु भयो ‘गर्न मन लागेन।’
छुट्टिने बेलामा मतिर केही बेर हेर्दै सरला दिदीले भन्नु भयो ‘हुँ, क्रान्तिकारी बिमला दिदी रे।’


प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आसाढ, 2069

लेखकका अन्य रचनाहरु