कथामा बाल मनोविज्ञान

- छविरमण सिलवाल

महिला कथाकारहरूको नियमिततालाई निलमले पच्छ्याइरहेकी छिन् । उनको पछिल्लो कथाकृति “बेली” मार्फत । उनको यो कथाकृतिको हिसावले तेस्रो पुस्तक हो । कविता र कथा गर्दा छैटौ स्थानमा पर्दछ “बेली” । उनका कथाका आफ्नै विशेषताहरू छन् । सरल भाषामा गम्भिर प्रस्तुति उनको प्रमुख उपलब्धि नै हो । यसैले गर्दा नै उनी कथाका क्षेत्रमा आफ्नो पकड बलियो बनाउन सफल भएकी छिन । कथामा उनी सधैं पाठकलाई नयाँपनको आभाष दिन चाहन्छिन् ।
उनका कथाका विषयवस्तुहरू पनि यही समाज भित्रकै हुन । समाज भित्र पनि कसैको ध्यान नपुगेक स–साना कुराहरूलाई निलमले कथाका पात्र चयन गरेकी छिन् । र,कथालाई कलात्मक बनाउँन निकै मेहनत गरेकी छिन् । उनका कथाभित्र मानविय संवेदनाहरु सल्वलाई रहेका हुन्छन् । अब कल्पनाका कथामात्र लेख्ने युग रहेन । समाजका यथार्थतालाई पाठकसामु पस्कन सक्नु नै सच्चा साहित्य बन्न सक्छ । “बेली” भित्रका कथाहरू पनि यस्तै यथार्थताले भरिएका छन् । विषयवस्तु भने अलिक फरक छन् “बेली”मा । बाल मनोविज्ञानलाई उनले कथाका प्लटमा सजाएकी छिन् । “बेली” भित्रका अठार ओटा कथाहरूले भिन्नाभिन्नै परिवेशमा रहेर भिन्नाभिन्नै सन्देश प्रवाहित गरेका छन् । निलमले बालकथाको कारुणिक चित्रलाई सजिव बनाएकी छिन् ।
सायद नेपाली साहित्यको इतिहासमा बालमनोविज्ञानलाई मात्र समेटेर लेखिएको यो पुस्तक पहिलो नै हुनसक्छ । निलम विदेश गएको धेरै समय भएको छैन । स्वदेशमै रहँदा पनि साहित्यमा निकै सक्रिय थिइन उनी, हाल विदेशमा रहेर अझै सक्रिय रहेको र एउटी आमा पनि भएका नाताले बालबालिका प्रतिको उनको दृष्ट्रि निकै दुरदर्शी रहेको प्रमाण यस कथामा भेटिन्छन् । नेपालका विभिन्न परिवेशका साथै विदेशी परिवेशका कथाहरू बेलीमा रहेका छन् । छोराको चाहनामा अवाच्छित गर्भ फाल्ने बीभत्स र कारुणिक चित्रण समेटिएका छन् कथामा । जन्मिन नपाएका नानीहरू शिर्षकको कथा साँच्चिकै कथा नभएर यथार्थ चित्रण हो । कथामा बालश्रम शोषणका कुराहरू पनि उठेका छन्, कथामा जातिय विभेदका कुराहरू रहेका छन् । बाल यौन व्यवसायमा बाध्य पारिएका खाते केटाकेटीहरूको मनस्थितिलाई कथाका माध्यमबाट उजागर गरेकी छिन निलमले “बेली”मा मार्फत । आर्थिक विपन्नताले गर्दा आफ्नो रोग निको पार्न नसकेर आत्महत्या गर्ने बालकको पीडा पोखिएका छन् । दम्पती विचका पारपाचुकेले बालकको मनस्थितिमा उव्जने विविध कठिनाइलाई कथाका माध्यमबाट बालबालिका कारुणिक चित्कारलाई उजागर गरेकी छिन निलमले । गोष्ठि र सेमिनारहरूमा बाल अधिकारका कुराहरू गर्ने र आफ्नै घरमा कामगर्न बालक राख्ने परम्पराले उनीहरूको हक अधिकार हनन भइरहेका छन् । खास गरी नेपालका नगर क्षेत्रहरूमा यस्तो कार्य वढिनै रहेको छ । नेपाली समाजका तिता यथार्थहरूलाई उजागर गर्नु कथाको मूल उद्देश्य रहेको छ । यसमा कथाकार निलम सफल रहेकी छिन् । उनका कथाहरू सरल भएर गम्भिर प्रस्तुुति गर्नु उनको विशेषता हो । अर्को कुरा बाल–बालीकाहरूको समस्यालाई उजागर गर्नु भनेको माववीय समस्याहरूको पहिलो खुड्किलोलाई प्राथमिकता दिनु नै हो, बाल–बालिका भनेका भोलिका कर्णदारहरू नै हुन । यही कुरालाई ममन गर्दै निलमले यी कथाहरू लेखेकी हुन्, यसमा उनी निकै सफल भएकी पनि छिन । “बेली”कथा सङ्ग्रहले नेपाली साहित्यमा पुस्तक प्रकाशित गर्ने परम्परालाई निरन्तरता मात्र नदिएर एउटा गम्भिर विषयलाई उठाएर नयाँ आयाम ल्याउँन सफल देखिन्छ । रत्न पुस्तक भण्डारद्धारा प्रकाशित “बेली” विमल भौकाजीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 जेठ, 2069

लेखकका अन्य रचनाहरु