'यथार्थमा अमेरिका' भित्रको यथार्थ

- भारती गौतम

“नेपाली भाषामै पनि धेरै लेखकहरुले यस समृद्द मुलुकका विषयमा प्रशस्त लेख्तै आएका छन्। त्यस्ता लेख र पुस्तकहरु मुख्य रुपले विभिन्न आकर्षक र विकसित स्थलहरु, शैक्षिक र व्यापारिक केन्द्रहरु तथा पर्यटकिय महत्वका रमणीय दृष्यहरुमै सिमित हुन्छन्, तर यस ग्रन्थमा मन्जु निरौलाले अमेरिकाको भित्री वास्तविकता अत्यन्त निकटवाट अध्ययन गरी ईमान्दारी पूर्वक व्याख्या गरिएका तीस सरल र सुन्दर निवन्धहरु संकलित छन् जसले अमेरिकालाई छर्लङ्गसित चिनाउछन्”।

माथि उधृत डा तारानाथ शर्माको भूमिकाको केहि अंशले स्रष्टा मंजु निरोलाका डेढ दशकका अनुभुतिको संगालो ‘यथार्थमा अमेरिका’ को वास्तविक परिभाषा सिंगै समेटेको पाईन्छ।

आफ्नो र परिवारको जीवनस्तर वृद्दी र सन्तानको उज्वल भविष्यको सपना वोकेर केहि लाउने लुगा, केहि भाडावर्तन र राडी पाखी कुम्लामा तेर्स्याएर काखमा लाला वाला च्यापेर आफू वसीराखेको थलो छोडेर अनाम नगरको यात्राको लागि घर छोड्ने प्रथा हाम्रो मुलुक को मात्र नभएर मानव ईतिहासको लागि नै अनौठो हैन। उत्सुकता, कर्मठता र लगनशिलताले मान्छेलाई वास्तवमा अनिश्चितताको यस्तै आंट र भरोसाको आडमा क्रमश; अगाडि वढाईरहेको छ। विज्ञान र प्रविधिले विश्वलाई नेतृत्व समेत गर्न सक्षम यो मुलुकको थालनी पनि त्यस्तै केहि छालाका सुटकेसहरु , थुप्रै पोका पत्यौराहरु र काखीमा च्यापिएका वाल वालिकाहरु को लामो समुद्री यात्रा पछि अडिएको ‘इलिस आईल्यान्ड’ वाट भित्रिएका उत्सुक, असंतुष्ट, कर्मठ जनसमूह वाट भएको थियो। आफूले चिनेको , जानेको र बुझेको परिस्थिति र परिधि भन्दा अनश्चित र अपरिचित परिस्थितिलाई आफ्नो ठानी अंगाल्ने मानव परम्परा नौलो नमानिए पनि त्यस परिस्थितिका उपहार स्वरुप आईपरेका उकाला ओराला र भीर पहरालाई घुटुक्क निलेर रुन्चेहांसो मात्र आफन्तलाई देखाउने मानव प्रवृत्ति पनि स्वाभाबिकनै मानिन्छ। परिस्थितिले दिएका नकारात्मक अनुभवलाई पनि आफ्नो व्यक्तित्वमा अनुवाद गरेर नकारात्मक परिस्थिति आफ्नो कमजोरी स्वीकारेर आडम्वरी कृत्रिम सम्पन्नताको प्रदर्शनको भ्रामक असर ले धेरै प्रभावित भएको या हुनसक्ने तथ्यको पुष्टी धेरै तरिकावाट भएकै छ। आफ्नो जीवनमा घटेका तर आफूलाई प्रिय नलागेका कतिपय परिस्थितिहरुलाई जन समक्ष जस्ताको तस्तै प्रस्तुत गर्न ठूलो मुटु र आत्म विश्वास को आवश्यकता हुन्छ। तर “यथार्थमा अमेरिका” आत्मपरक निवन्ध संग्रहकी लेखिकाले त्यो हिम्मत गरेर एउटा ठुलो मानव समुदायलाई असंख्य अप्रत्याशित ठोकरहरुवाट जोगाएकी छिन्।

“नेपालमा खाईपाई आएको राम्रो जागिर,चलाउदै आएको व्यवसाय आदिलाई चटक्कै छोडेर अमेरिका आउने सपना यहा यथार्थ वोधको अभावले कसरी चकनाचुर हुन्छ त्यसवारेमा यस निवन्ध संग्रहले प्रकाश पार्न खोजेको छ”।

“मेरो भनाईमा” लेखिका मंजु निरौला स्वयं ले व्यक्त गरे जस्तै ‘ यथार्थमा अमेरिका” वास्तवमा अमेरिका आईसकेकाको लागि भन्दा पनि आउने विचार गर्नेहरुका लागि आंखा खोलिदिन अझ वढी सहायक देखिन्छ।

‘प्रवासका सुस्केरा’ कविता संग्रह पछिको प्रस्तुत निवन्ध संग्रह मा लेखिमा मंजु निरौलाले आफूले डेढ दशक सम्म देखेको र अनुभुत गरेको अमेरिकालाई सकेसम्म नजीकवाट अनि अत्यन्त ईमान्दारीता साथ सरल सरस अनि व्यंग्यात्मक शैलीको प्रयोगवाट नेपाली पाठक सामु ओछ्याईदिएकी छन्।
“जहां जो जस्तो जे भए पनि सत्य वोलिदिए के फरक पर्थ्यो,
परदेशी, आप्रवासीको दु:ख यस्तै हो संघर्ष गर्नुपर्छ भनिदए हुन्थ्यो”
अमेरिका यस्तै छ- मंजु निरोला।

हुन पनि हो अहिलेको प्राविधिक पराकाष्टाको युगममा विश्व खुंचिएर एउटै हुन पुगेको तथ्य सवैले स्वीकार गरेकै छन। अमेरिकामा भएका घटना अमेरिकावासीले थाहा पाउनु अघि वंगला देशको एउटा गांउमा या नेपालको अछाममा थाहा भैसकेको हुन्छ, त्यस्तै नेपाल या चिनको कुनै कुनामा तीनवटा हात भएको वालक जन्मियो भने विश्वभरी त्यसको समाचार मात्र हैन त्यो वालकलाई सवैले थाहा पाईसक्ता त्यहि घरको मास्ला घरको मान्छेले थाहा पाएकै हुदैन। दैनिक घटना,रहनसहनका पद्दति, सामानका नाम गुण र मूल्य, मनोरंजनका माध्यमका विस्तृत विवरणहरु सवैनै सिमलको रुखवाट छरिएका भुवा जस्तो विश्वभरी फिजिईसक्ता पनि कटु यथार्थ र नांगो वास्तवीकता अनुवादमा कतै अल्मलिए जस्तो अनभिज्ञताको अंध्यारो भित्रै हुन्छ। चौविस घन्टामा अठार घन्टा काम गर्दा पनि दैनिकीमा धौ धौ परेको, क्रेडिट कार्डको ऋणमा चुर्लुम्मै डुवेको, साहुले तेस्रो काम वाट समेत निकालिदिएको , फिस तिर्न नसकेर पढाई मा निरन्तरता दिन नपाएर अवैधानिक रुपमा रहनुपरेका कटु तर वास्तविकता फेसवुक, स्काईप, फोन, भिडियो क्यामेरा , प्रत्यक्ष नेपाल यात्रा सवैवाट छलिएर अनुवादको क्रममा यतै छोडिने गरेको थाहा भए पनि धेरैजसोले ‘तैं चुप मै चुप” को मौन तथ्यलाई अंगालेको परिप्रेक्षमा मंजु निरौलाको जस्तो जस्ताको तस्तै व्यक्त गर्न दह्रो र संयमित मुटु अनि पाको आत्म विश्वास चाहिन्छ।
“यथार्थमा अमेरिका” मा संकलित र स्थानिय वेभ पत्रिका अनि कागजी पत्रिकामा छापिएका धेरै र कतै नछापिएका केहि निबन्धहरुलाई मोटामोटी तीन भागमा बाड्न सकिन्छ।

“अमेरिकामा गाडि कुदाउने सपना’, अमेरिकामा छिमेकीसंगको सम्वन्ध’,”अमेरिकामा पाहुना लाग्दा”,अमेरिकामा गोपनियताको सम्मान”,’ग्रिन कार्ड अर्थात हरियो पत्ता’,’मुटु माथि ढुंगा राखि हांस्नु पर्या छ’, आदि शीर्षकका निवन्धहरुमा अत्यन्त सामान्य तर थाहा नपाउदा अत्यन्त गम्भीर तथ्यहरुवारे चर्चा गरिएको छ। नितान्त व्यक्तिगत अनुभवहरुलाई सकेसम्म सरल भाषामा व्यंग्यात्मक मिठास समेत थपेर प्रस्तुत गरिएका यी निवन्धहरु लेखिकाको व्यमग्यात्मक शैलीले कतै कतै हांसो लाग्ने भए पनि निकै गम्भीर निर्देशन प्रस्तुत गर्छन्। “यो घर आफ्नो हो कि भाडाको”, “यहांको तलव कति हुन्छ होला’? भाडाको घर भए कति भाडा छ र किनेको भए कति लाखको हो” घर भित्र पस्ने वित्तिकै पाहुनावाट यस्ता प्रश्नहरुको प्रहार भोगीसकेको हुंदा साना भए पनि परिपाटी र संस्कृति अनुसार वाहेकका टिप्पणी र प्रश्नहरु साधारण कौतुहल भन्दा धेरै पर पुग्न सक्छन्। “मुटु माथि ढुंगा राखि, ले पनि “ अझै घर किनेको छैन? या फलानाले त आउनै नपाई घर किनि सकेछ, जस्ता उत्सुकताको जवाफ दिएको छ। “अनि ग्रिन कार्ड चाहि कहां पाईन्छ?” एयरपोर्टवाट डेरा भित्र पस्ने बित्तिकै सोधिने प्रश्नको वास्तवीक जवाफ ग्रिनकार्डले दिएको छ भने ग्रिनकार्ड चिठ्ठा पर्यो भन्दैमा भएभरको जेथा वेचविखन गरेर काखभरीका लाला वाला लिएर दुईवटा सुटकेसको भरमा हामफालेर हन्डर खानेहरुको व्यथा र कथा ग्रिनकार्डको चिठ्ठा पाएका नेपालीले वताएको छ।

“यथार्थमा अमेरिका” मा भएका निवन्धको अर्को वर्गीकरणमा अमेरिकाको डेढ दशकको आफ्नो वसाई पछि यदाकदा स्वदेश फर्किदा हाम्रो जन्मभूमी नेपाल र आफू वस्तै गरेको अमेरिकी पद्दतिमा भएको विषमताले दुखेको मनले अनुभव गरेका साना तिना तर धेरै ठूलो असर पर्ने चालचलन, रितिथिति, व्यवस्था र व्यवहारको उल्लेख गरिएको छ। “आफ्नो देश आफै विरानो” “अमेरिकाली डाक्टरको उपचारमा मेरो जीवन’ र “चन्द्र सूर्य अंकित मेरो देशको झण्डा “,पश्चात्तापमा तड्पिन्छ जीवन परदेशमा” आदि मा लेखिकाले दुई मुलुकका चालचलनलाई तुलनात्मक ढंगले पेश गर्दै आफूमा रहेको देश प्रेम लाई व्यक्त गरेको देखिन्छ।

“ यथार्थमा अमेरिका” को सवैभन्दा महत्वपूर्ण अनि कितावको शीर्षकलाई सार्थक पार्ने वर्गमा वांकि धेरैजसो निवन्धहरु पर्छन्। यस वर्गीकरणमा पर्ने निवन्धहरुले पाठकलाई अमेरिकामा रहेका नेपालीहरुको नभएर वास्तविक अमेरिकी घर भित्र पुर्याउछन्, जुनकुरा यो कितावको सवैभन्दा ठूलो विशेषता मान्न सकिन्छ। आफूले गरिराखेको जुनसुकै दर्जाको मानिने या कुनैपनि काम वारे गौरवताका साथ अर्काको सामु वताउन नहिच्किचाउने अमेरिकी समाजमा वसोवास गर्न पुगेका ‘काम वारे न सोध्ने अनि नवताउने ‘ परिपाटीमा यो पुस्तककी लेखिकाले आफूले गरेका कामवारेका मात्र नभएर कामको प्रत्यक्ष विवरण दिंदै “अमेरिकामा वेविसिटिङगर्दाको अनुभव” र “एक्रोनमा जुम्ल्याहाको हेरचाह” ,”जुम्ल्याहा छोरी सारा र माया” मा आफ्नु अनुभव मार्फत यहांका केटाकेटीको प्रकृति, आमावावुको व्यस्तता, अनुशासन, अनि वेवी सिटरहरु प्रति घरमालिकको दृष्टीकोणको सजिव चित्रण छ।

त्यसैगरी “जनावरमा समर्पित अपांग मरिया”,”दुष्ट वुढि एथेल जिमरम्यान,”विरालाको साथी फेथ, “बिराला र कुकुरकी साथी हनीकट” र “सेक्सी वुढो मिस्टर ग्रीनट्री” शीर्षक अनुभवप्रधान लेखहरुले अमेरिकाको सवैभन्दा अव्यक्त कोठाभित्र पाठकलाई लैजान्छ। लेखिकाको आफ्नो नितान्त निजी अनुभवको आधारमा चित्रित अमेरिकाको यो पक्ष कुनै पनि यात्रा विवरणवाट वुझ्न संभव छैन। उमेर र शक्ति आफूसंग रहंदाको स्वर्ग अमेरिका उमेर ढल्केका र अशक्तको लागि कति नारकिय छ भन्ने पुष्टी खोज्न उपरोक्त शीर्षक अन्तर्गतका लेखहरु पर्याप्त हुन्छन्। अमेरिका वारेका कुनै पनि पुस्तकले दिन नसक्ने अमेरिकाको यो परिचय वास्तवमा अमूल्य छ।

समष्टीमा भन्न खोज्दा लेखिका मंजु निरौलाको “यथार्थमा अमेरिका” केहि प्रकाशकीय त्रुटीहरु वाहेक शिक्षा प्रद, ईमान्दार, तथ्यपूर्ण, रोचक, व्यंग्यात्मक लेखहरुको संगालो हो भन्दा अतिशयोक्ति हुंदैन। आफूले पाएका तिता मीठा अनुभुतिहरुलाई जस्ताको तस्तै कुनै पर्दा विना आफ्नो भित्री मनवाट सिधै पाठकको मनसम्म पुर्याउन सक्षम “यथार्थमा अमेरिका” अमेरिका वस्ने, अमेरिका वस्न चाहने, अमेरिका आएका , अमेरिका आउन चाहने सवैको लागि पठनिय छ भन्न मलाई अलिकति पनि संकोच लाग्दैन। लेखिकालाई वधाई।

वोस्टन

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 9 जेठ, 2069

लेखकका अन्य रचनाहरु