अस्ताचलतिर

- सञ्जय बिष्ट

उसले। उसले भन्नाले उसले। नामभन्दा उमेर उसको आवश्यक छ यहॉं। कसैले सोधिहाले यति भयो भनेर नभनी आफू जन्मेको साल बताउँछ ऊ। जोड़्नुपर्छ अठ्सट्ठी हुन्छ उमेर उसको। त्यति जतिको देखिन्छ पनि उसलाई। त्यसैले उसले भन्नाले अठ्सट्टी वर्षको वृद्धले। अर्थात् उसले।
पहिला अर्थात् धेरै वर्षअघिजस्तो एकोहोरो ऐना हेर्न छाड़ेको ठिकसित त भन्न सकिन्न तर निक्कै वर्ष भयो उसले। ज्ञान आएदेखि नै हेर्थ्यो। बाइस-चौबिसको हुँदा एकोहोरो हेर्थ्यो सानो ऐना उठाएर, राखेर अघिल्तिर आफ्नो, आफ्नो अनुहार ऊ। के नपाएर हो, खोजेको पाउनलाई जस्तो ठुलो ऐनाअघि पनि गएर उभिएर आफू डल्लैलाई र अनुहार मात्रैलाई पनि हेरिरहन्थ्यो। खॉंदै गरेको म कस्तो देखिन्छु लागेर खाइरहेको उसले, खाइरहेको उसलाई ऐनैमा हेर्ने गर्थ्यो। त्यहॉंसम्म कि निदाएको म कस्तो देखिँदोरहेछु सोचेर आँखालाई नब्बे-पन्चानब्बे प्रतिशतजति बन्द गरेर उसले कतिचोटि ऐना उठाएको थियो।
तर हिजोआज ऊ आफू अथवा आफ्नो अनुहार हेर्नलाई त ऐना उठाउँदैन नै। ऐनाअघि पुगिहाले कुनै अर्कै कारणले आफूलाई सक्दो छिटो त्यताबाट पन्साउँछ। पन्साइहाल्छ।
स्त्रीको कुरै नगरौँ। पुरुषकै पनि सुन्दरताको आधा श्रेय कपाललाई जॉंदछ भन्ने कुरा बुझिसकेको उसले कोराइको ढङ्ग कस्तो रहँदा आफू अझ सुन्दर देखिइन्छु—शैली परिवर्तन गरेर कोराइको भिन्ना-भिन्नै, जान्न चाहन्थ्यो ऊ त्यो समयमा जुन समयमा ऊ मघ्याह्नको सूर्यलाई आफू देख्दथ्यो। आफूमा त्यही सूर्यमा निहित शक्ति अनुभव गर्दथ्यो।
म को हुँ?—मान्छेमा बेला-बेला यस प्रकारको कठिन र अचम्मको प्रश्न जन्मन्छ। ऐनाले बताएको कुनै निश्चित समयको आफू नै यस प्रश्नको उत्तर मान्दछन् अधिकत्तर मानिस। उसको निम्ति पनि यस प्रश्नको उत्तर त्यही समयको ऐनाले उसलाई बताएको उसको अनुहार छ, जुन समयमा उसले आफूलाई मध्याह्नको सूर्यानुभव गरेको थियो।

‘‘पर्दैन। तेरो अनुहार त्यै सानो ऐनामा पनि देख्छ।’’ उसले त भनेको थियो।
तर एक्काइसकी छोरी मानिन। मान्दै मानिन। त्यसैकारण उसले रुपियॉं निकालेर दिएकै भोलिपल्ट पॉंच फुटको आफूलाई सम्पूर्ण देखिने चार फुटको अग्लो ऐना घर ल्याई उसकी छोरीले वर्ष दिनजतइघि।
भर्खर ल्याएको अग्लो अनि ठुलो ऐनालाई टाढ़ैबाट हेरेर सठ्सट्ठीको उसले यो सामूहिक आवश्यकता परिपूर्तिको साधन होइन—मनमनै भनेको थियो।
उत्कट चाह भएरचाहिँ होइन। कुनि किन आज, अघि घरबाट बाहिरिनअघि ऊ त्यही ठुलो ऐनाअघि उभियो। शरीरका अरू अङ्ग छाड़ेर उसले आफ्नो अनुहार मात्र एक क्षण हेर्नसक्यो। हेरिरहन सकेन। आफूले बिताएका वर्षहरूको गणनाजस्ता लामा-छोटा धर्साहरू कोरिएका विशेष उसले देख्यो आफ्नो अनुहारमा। जवान उसले वृद्ध उसको कल्पना गरेर सुखकै प्रतीक मुस्कुराउने गरेको याद आयो उसलाई। तर आज यत्तिका वर्षपछि भएकै ऊ वृद्घ ऐनामा हेरेर ऊ केही क्षण दु:खित बन्यो। यसरी दु:खी बन्दा अनुहारमा थप धर्साहरू जन्मिएको लागेपछि उमेर कि दु:खहरूले मान्छे वृद्ध बन्छ? कि दुवैको सम्मिलनले?—सोचेर उसले टोपी उठायो।
‘‘यस्तो गरममा नलाउनुहोस् टोपी,’’ एक दिन भनेकी थिई उसलाई छोरीले। सुनेर उसले टोपी खोलेको थिएन।
ठन्डा मात्रलाई छेक्नु नभएर आधाभन्दा अधिक झरिसकेर रहेका सेता केश छोपी क्षणिक र बाह्य आत्म-सन्तुष्टि लिनु पनि उसले टोपीको आवश्यकता ठानेको थियो।
त्यही टोपी लगाएर घरभित्रदेखि आँगनमा निस्कियो ऊ। पश्चिमाकाशमा रहेको घाम हेर्यो उसले। पूर्व दिशाका डॉंड़ा-पाखाहरूलाई उज्यालो न्यानो खालि पारेको रहेछ त्यसले, हेर्दा देख्यो। उसलाई त्यो सूर्य आफूजस्तै अशक्त लाग्यो।
एउटा कुरा, हिजोआज उसलाई सबै कुरा गरिहालूँ; छिटो-छिटो गरिहालूँ; गइहालूँ त्यहॉं, पहिले कहिल्यै नगएको ठाउँमा; फेरि एकचोटि पुगिराखूँ पहिले गएकै ठाउँमा पनि, आफ्नोहरूलाई, परिचितहरूलाई एकचोटि फेरि भेटिहालूँ, हेरिहालूँ अर्को थपपल्ट सधैँ हेरिरहेकाहरूलाई पनि लागिरहन्छ। वास्तवमा लागेको यस्तोहरू किन होला?-को उत्तर छ ऊसित तर डराउँछ ऊ उत्तरको सम्झना मात्रले। यसैकारण, किन लागेको मलाई यस्तोहरू?—सोच्छ ऊ।
यसरी प्रत्येक बेलुकी यो तेर्सो बाटो भएर परतिरसम्म हिँड़्ने गरेको पनि यिनै कारणहरूले हो ऊ। हिँड़ाइको दैनिक अभ्यासद्वारा शरीरका सर्वाङ्ग यो उमेरमा यही उमेरकै जस्तो नहोस् भन्नेचाहिँ उसले सोचेकै छैन।
आँगनमा उभिएर विशृङ्खल के-के सोचेपछि उसले हिँड़्न शुरू गर्यो। बुहारीलाई ‘‘पर्तिर पुगेर आउँछु है एक छिन,’’ भन्न चाहेको थियो हिँड़्नअघि सधैँजस्तै तर आज भनेन।
‘‘काका हिँड़्नु भो?’’ सधैँ त्यो बाटो हिँड़ेको देख्ने आइरहेको एकजना भतिज पर्नेले गइरहेको उसलाई सोध्यो।
प्रश्न औपचारिक थियो। जवाब अनिवार्य थिएन, त्यसैले, ‘‘कताबाट?’’ सोध्यो उसले।
‘‘यो ल्याउनुथ्यो,’’ हातमा झुन्ड्याएको झोला देखायो भतिज पर्नेले।
झोलाभित्र के थियो कुनि तर देखेरै थाहा पाएकै जस्तो ‘‘ए’’ उसले भनिहाल्यो।
‘‘हवस्’’ भनेर भतिज पर्नेले हिँड़्न शुरू गर्यो।
देब्रे खुट्टा कहीँ परेपछि लरखराएर केही अघिल्तिर पुगेर सम्हालिएपछि, फर्केर पछिल्तिर हेर्दा परेको खाल्डो देख्यो उसले। खाल्डो सानो परेको रहेछ बाटोमा।
मैले नदेखेको कि नदेखिएको खाल्डो?—प्रश्न आफैलाई सोच्यो।
देख्छु म। राम्रैसँग देख्छु। आँखा कमजोर भएको भए पछिबाट फर्केर हेर्दा पनि नदेख्नु पर्ने खाल्डो। देखेँ। ठिक छ। कमजोर भएको छैन आँखा।—आफैभित्रको शङ्का निवारणको निम्ति उसले यो तर्क जन्मायो।
तर झन्डै लड़ेको ऊ बाटोमा। सम्हालिनु सक्यो यद्यपि सम्पूर्ण शरीरलाई दुईवटा खुट्टाले सम्हाल्नु एकदमै गाह्रो परेको थियो उसलाई। सोचिहालेको ‘यी खुट्टामा अब तागत कम रहेछ’ चाहिँ उसले स्वीकार गर्यो।
‘‘सजिलो हुन्छ भेना। यसो टेकेर हिँड़्नु।’’ अस्ति दसैँमा आउँदा ल्याएको किनेर होला बुट्टा-बुट्टा भएको लट्ठी देखाएर अनुभवीले जस्तै भन्दा पैँतालिसजत्तिको लाग्ने सानु सालोले, ‘‘पर्दैन ऐले नै त’’ उसले भनेको पनि सम्झ्यो।
देखेर मजेत्रोले टाउको छोपेपछि साइनो नै नलगाई ‘‘ए, कता हिँड़्नु भो?’’ सोध्ने बुहारी पर्नेलाई नरोकिई ‘‘यसो पर्तिर’’ भन्यो उसले।
बाटोमुनि-बाटोमाथिको सधैँ देखिरहेकै घरहरू पुन: आज पनि देखेर, जङ्गलै-जङ्गल थियो पहिला—सोच्यो अनि मस्तिष्कमा अङ्कित पुरानो जङ्गललाई सप्रयास उसले धमिलो रूपमा आँखामा ल्यायो।
नानीहरू थुप्रै कुद्दै थिए बाटोमा। कुदेर ऊछेउ आइपुग्ने कुनि को एकजनालाई उसले ‘‘लड़्छ-लड़्छ,’’ भन्यो। तर त्यो नानी उसको सुझाउजस्तो चेताउनी अथवा चेताउनीजस्तो सुझाउसित डराएन, कुदिरह्यो अरूहरूजस्तै।
कुद्छन् नानीहरू। बेडर कुद्छन्।—सम्झेर मनमनै भन्यो।
कति चोटहरू लागेका थिए हात खुट्टामा उसको यही पाखामा, यस्तै नानी हुँदा, केटा हुँदा। एक-दुईको सम्झना छ मस्तिष्कमा तर जम्मैका दागहरू मेटिए शरीरबाट।
जानै पर्थ्यो र त्यसरी चोट लागेको दिन ऊ डराइ-डराइ आमा-बाबुको अघि जाने गर्थ्यो। चोट लागेको थाहा पाएपछि आमा-बाबु उसलाई गाली गर्दथे। पिट्थे पनि बेला-बेला। चोट लाग्दा अझ किन पिटिइन्छ? गाली किन गरिइन्छ? गाली खाएको पिटिएको प्रत्येक दिन ऊभित्र यही प्रश्न जन्मन्थ्यो। आफू उसरी नै कुदिहिँड़्ने छोराको बाबु भएपछि मात्र उसले यस प्रश्नको उत्तर पाएको थियो।

देखेको त टाढ़ैबाट हो उसले आइरहेकी एउटी स्त्री सानो नानीको हात समाएर हो कि समाउन दिएर हो नानीलाई आफ्नै हात।
केही नजिक भएपछि बिच बाटोमा आफ्नो दाहिने हात समाउन दिएर सानो केटोलाई, आइरहेकी आइमाई शिर झुकाएर बाटोको छेउछेउ हिँड़्नलागी।
निर्मला!—भन्यो उसले मनमनै र भन्यो, ‘बुढ़ी भइछ,’ वृद्धा भई अब आइमाई।
तर उसले पनि अर्कोपल्ट हात समाएर आइरहेको सानो केटालाई बाहेक वृद्धालाई हेर्नु सकेन।
नाति होला—सोच्यो उसले।
शिर किन झुकाएकी होली मलाई देखेर? भाइ छ एउटा यता मूल घरमा, यसैले आइरहन्छे बेला-बेला। आएकी जम्मैपल्टमा कुनै-कुनै बेला अघि पर्दछे। यत्तिका वर्षहरूमा जत्तिपल्ट पनि निर्मल मेरो अघि परी, शिर उठाएर कहिल्यै मलाई हेर्नु सकेकी छैन, कत्रो अपराध ठानिछ निर्मलाले त्यसैलाई। नभए किन होला?—लाग्यो उसलाई।
जब उनीहरूलाई प्रेम के हो थाहा थिएन। अर्थसितै शब्द पनि नभएरै पनि उनीहरू आपसमा प्रेम गर्दथे। त्यो प्रेम अर्कै थियो फेरि पनि त्यो प्रेम नै थियो।
ती पाखाहरूमा तिनीहरू कैयौँपल्ट हात समाएर कुदे। कैयौँपल्ट हात छाड़ेर कुदे। दिनभरि कुदेर गले। गलेको चटक्क भुलेर प्रत्येक अर्को दिन पुन: उनीहरूले आफूलाई त्यही पाखामा व्यस्त राखे।
‘‘तँ कसलाई बिहा गर्छस्?’’ किन सोधिन्छ होला बिहा देखेकै मात्र नानीहरूलाई।
‘‘निर्मला,’’ सात-आठ वर्षको उमेरमा यही उत्तर थियो ऊसित उक्त प्रश्नलाई। तर यही सात-आठ वर्षको नानीदेखि चौबिस वर्षको युवक भइन्जेलसम्मको अवधिभित्र अर्थात् सत्र-सोह्र वर्षको लामो अवधि उसले निर्मलाको परिवर्तित हात समाएन।
ऊ चौबिस वर्षकोे अविवाहित जवान थियो। सधैँजसो भेटिरहने एउटै गाउँकी निर्मलालाई उसले आफूद्वारा प्रेम गर्न थालिएको कुरो बताएको थियो। प्रेमको अर्थ बुझेका दुवैले त्यसपछि मात्र एकाअर्काका अर्कै हात अर्कै अनुभवसित समाएर अर्कै आत्म-सन्तुष्टि पाएका थिए।
निर्मलाले ‘‘ऐले होइन,’’ भनेकी थिई। मध्याह्नको घामजस्तै उसले विश्वासमाथि टेकेर निर्मलालाई बाध्य तुल्याएको थियो।
विश्वास गरेकै थियो होली र त निर्मलाले आफूलाई त्यस दिन निक्कै विरोधपछि ऊअघि समर्पित गरिदिई। त्यसै दिनपछि कतिचोटि सविरोध र कतिचोटि निर्विरोध पनि यही निर्मला; होइन, यहीचाहिँ होइन। कसले कल्पनासम्म पनि गरेको थियो—त्यो निर्मला यो निर्मला हुन्छे भनेर। त्यसैले यही निर्मला होइन, त्यही निर्मला, ऊप्रति सशरीर समर्पित भई।
तीनचोटि हुनुपर्छ, निर्मला रोई ऊअघि त्यस समय।
कारणहरू बताउँदा-बताउँदै पहिलोपल्ट रोई।
‘‘म छु,’’ बिचरा उसले भनेको थियो।
‘‘म खान्न त्यस्तो,’’भनेर दोस्रो दिन अर्कोपल्ट रोई।
‘‘म खान्न यस्तो,’’ भनेर तेस्रो दिन तेस्रोपल्ट रोई।
‘‘पापी। बिहा गर्ने त विचार थिएन रै’छ त,’’ भनेर पनि रोइरही निर्मला। रोइरही।
धेरै कुनि के-के भनेर सम्झाउने कोसिस गर्यो उसले निर्मलालाई। त्यो दिन अर्थात् तेस्रो दिन अर्थात् अन्तिम दिन निर्मला लामो तर बिस्तारै रोएकी थिई। जे होस् अन्तमा निर्मलालाई दबाई भनिएको विष थपाएर ऊ आधा ढुक्क भएको थियो।
केही दिनपछि एकपछि अर्को गर्दै ‘‘अस्ति माग्न आउने केटालाई निर्मलाले ‘ल’ भनेको खबर उसका घरकाहरूले पठायो अरे, भोलि लिनु आउँछ अरे,’’ भन्ने उसले सुन्यो।
जब भोलि आयो। केटा र केटापटिकाहरू आए। र निर्मला कसैकी स्वास्नी बनेर अर्कै गाउँ गई तब ऊ पुरै ढुक्क भएको थियो। एउटा छटपटीले उसको मानसिक-गृह त्याग गरेको थियो। एउटा बोझ पुन: नबोक्नलाई उसले बिसाएको थियो। यद्यपि कुन कारणले हो, राति छिट्टै भने निदाएको थिएन ऊ।
अपराधबोध त गर्यो उसले केही दिनहरूसम्म। तर आफूलाई निरपराध साबित गराउन आफूभित्रको मान्छेलाई उसले भन्न थाल्यो—छ्या! के भएको म? कस्तो-कस्तो अक्षम्य अपराध गरेर, कस्तो-कस्तो घृणित कार्य गरेर त कति मान्छेहरू समाजमा हॉंसेरै बॉंचिरहेका छन्। एउटी केटी हो विश्व भनेको? विश्व भनेको एउटी केटी हो?
दृश्यहरू फेरिँदै गए उसका आँखाहरूलाई। नयॉं-नयॉं घटनाहरूले नयॉं अनुभूति दिइरहे मस्तिष्क र हृदयलाई। निर्मला पुरानो बन्दै गई। क्रमश: पुरानो बन्दै गई।
के चाड़ थियो होला त्यो दिन। आफ्नो लोग्नेसित हॉंस्दै माइत आइरहेकी निर्मला बाटोमा उसको अघिल्तिर परेकी थिई।
उसलाई देख्नसाथ शिर निहुर्याई पहिलोपल्ट। त्यस दिनपछि जतिपल्ट उनीहरू एकाअर्काका अघिल्तिर परे—हारेकी जस्तो, आत्मसमर्पणजस्तो, कुनै महान् अपराधले पिरोलिएकी जस्तो उसको छेउबाट निर्मला झुकेर गई आजजस्तै।
‘‘कसरी भयो आठै महिनामा होइन यसको,’’ भने अरे लोग्नेका सन्तान कतिजनाले।
‘‘न रूप मिल्छ। न रङ्ग मिल्छ।’’ पाउने कतिजना मन नपराउनेहरूले मौका चुकाएनन्।
सुन्ने कतिजना साथीहरूले ‘‘तैँजस्तो छ अरे, काटीकुटी मिल्छ अरे,’’ उसलाई सुनाए।
तर ‘‘किन हुँदैन? मान्छेले सातै मैनामा त पाउँछ नानी।’’ निर्मलाको आफ्नोहरूको तर्क थियो, पृथ्वीनारायणलाई प्रमाण प्रस्तुत गरेर—उसले अरूबाटै सुन्यो।
त्यसपछि उसले विवाह गर्यो। उसकी स्वास्नीले ठिक समयमा छोरो पाइदिई। छोरो पाइदिएकीमा भन्दा ठिक समयमा पाइदिएकीमा ऊ मुसुक्क हॉंसेको थियो।
त्यस घटनापछि धेरै वर्षहरू बिते। बेला-बेला उसले बाटोतिर शिर झुकाएर हिँड़ेकी निर्मलालाई देख्यो। नदेख्दा पनि उसलाई बेला-बेला उही पुरानो निर्मलाको याद आउँथ्यो। तर प्रत्येक दिन नयॉं-नयॉं बन्दै बुढ़ी भइसकेकी निर्मला उसले आज याद गर्यो।

माथि पाखाबाट आएको ठुलो आवाज, ठुलै रुख ढल्दाकोले त्यो यथार्थ खोसेर उसलाई यो यथार्थ दियो। हिँड़िरहेको रहेछ ऊ अघि कतिचोटि हिँड़िसकेको तेर्सो बाटोमा।
कत्ति लामो हिँड़िसकेछु म। फर्किनुपर्छ अब मैले।—सम्झेर यत्ति लामो हिँड़ेकोमा थाक्यो ऊ।
हो, धेरै लामो हिँड़िसकेछु म। फर्किनु पर्छ अब मैले।—अझ मनमनै भन्यो।
गइरहेको दिशातिरबाट आइरहेको दिशातर्फ अर्थात् पछिल्तिर फर्क्यो ऊ।
फर्किनसाथ उसले देख्यो—क्षयरोगीजस्तो एकदम पहेंलो सूर्य। देखेर घामको अर्थ निर्वाह गर्न नसक्ने त्यो गोलाकार वस्तु र वस्तुबाट फैलिएको पहेंलो टक—ऊ खुब डरायो।
अचानक उसले घर सम्झ्यो। अझ डरायो ऊ। परिवारका एक-एक सदस्य सम्झ्यो उसले। डरको विष उसको शरीरमा पानीमा तरङ्गजस्तो फैलियो।

अहँ, आवाज केही थिएन त्यहॉं रुख ढाल्नलाई काट्दाको। ढाल्नेहरूकै पनि। हावा थियो, थिएनै जस्तो। अहिलेजस्तै।—सोचेर उसले माथि पाखातिर हेर्यो अनि मनमनै भन्यो, ‘अर्को कारण चाहिँदैन ढल्नलाई रुखलाई? वृद्धता त्यसको कारण हुनसक्छ ढल्नको रुखलाई पनि।’
अब उसलाई घर पुग्ने, पुगिहाल्ने हतारले समात्यो। छिटो-छिटो पाइला चाल्न थाल्यो उसले। हिँड़्दा-हिँड़्दै उसले फेरि पश्चिमाकाशको पहेंलो सूर्यलाई हेर्यो। हेरिरह्यो तर हिँड़्दै नै। हात-खुट्टाहरू गल्दै आए पनि हिँड़्न नछाड़ी उसको मनले भन्यो—नाङ्गो आँखाले पनि हेरिरहन सकिने कस्तो बुढ़ो सूर्य।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 8 जेठ, 2069

लेखकका अन्य रचनाहरु