सामाजिक समस्याको लहरो: 'बेली'

- विवश वस्ती

नीलम कार्की 'निहारिका' कथामा सामाजिक एवं पारिवारिक तहमा गहिरिँदै गएको नैतिक संकट, ह्रासोन्मुख प्रवृत्ति र स्खलित चेतना निसंकोच उतार्न चाहन्छिन्। स्वार्थ, कुण्ठा, महत्त्वाकांक्षा र आत्मप्रवञ्चनाको डोरीमा अल्भि्कएर अचेलका मानिसले जसरी मानसिक, आत्मिक र नैतिक स्वत्व गुमाइरहेका छन्, उनका कथाले त्यस्ता मनुष्यप्रति तिख्खर असहमति जनाउने साहस जुटाएका छन्। तसर्थ उनी पटक-पटक त्यही विन्दुमा फर्किन चाहन्छिन्, जहाँ जीवनदृष्टि, मूल्य र सम्बन्धको तीव्र गतिमा क्षरण भइरहेको छ।

बाल मनोविज्ञानमा आधारित कथा समेटिएका 'बेली' मा बालउत्पीडन, शोषण र मनोवैज्ञानिक पक्ष उद्घाटन गरिएको छ तथापि, 'बेली'भित्रका कथा बालकथा होइनन्। बालबालिकाले भोग्ने सामाजिक/पारिवारिक/सांस्कृतिक उत्पीडन, दुर्दशा र भयावह तस्बिरलाई 'ठूला मान्छे'का नजरमार्फत देखाइएको छ।

नेपाली समाजभित्र समस्याका अनेकन तन्तु जोल्ठेका छन्। भु्रणहत्या पनि त्यहीमध्ये एक हो। 'जन्मिन नपाएका नानीहरू' भु्रणहत्यामा केन्द्रित कथा हो। बढ्दो सामाजिक एवं पारिवारिक जटिलता, संकट र अन्तर्द्वन्द्वले भु्रणहत्यालाई मलजल पुर्‍याइरहेको छ। खासगरी, आधुनिकताको लेपनभित्र पुरिएको महानगर, सहर र सहरोन्मुख ग्रामीण भेगमा व्याप्त यौनजन्य विकृतिले भु्रणहत्याको ग्राफ बर्सेनि बढाइरहेको छ। तर भु्रणहत्याका पछि थुप्रै कारण जेलिएका छन्- कसैले सामाजिक मर्यादा जोगाउन, कसैले उन्मत्त यौनआवेगको प्रतिफल लुकाउन र कसैले अभिभावकीय जिम्मेवारी र दायित्व निर्वाह गर्न नसक्नु। अवैध यौनसम्बन्ध, खस्कँदो आर्थिक स्थिति र बलात्कारजस्ता पक्ष पनि भु्रणहत्याका खलनायकी पक्ष हुन्। भु्रणहत्यासम्बन्धी अध्ययन गर्ने अध्येताको मनोदशा खिच्न यो कथा सक्षम छ। 'खोटी खुसी' एउटी अपांग बच्चीको आत्मलाप हो। कुनै पनि परिवारमा छोरी अपांग भएर जन्मँदा, त्यस परिवारले, अझ आमाचाहिँले स्विकार्नुपर्ने सामाजिक/पारिवारिक तनाव कति उच्च हुन्छ? कथाले तिनै तनाव संकलन गर्न चाहेको छ। हुन पनि बच्ची खोटी भएर जन्मँदा पुरुषहरूका पुस्तामा कोही त्यस्ता देखिएका थिए कि भनेर खोजी गरिँदैन, बरु महिलातिरका पुस्तामा त्यस्ता कोही थिए कि भनेर खोजी गरिन्छ। नेपाली समाजले महिलालाई सधैं हेय र पुरुषवादी नजर लगाउने गरेको तितो तथ्य कथामा छ।

'सेतो भात'मा बालगृहको साइनबोर्डमा गरिने बालबालिका बेचबिखन धन्दालाई उजिल्याउने प्रयत्न गरिएको छ। ग्रामीण क्षेत्रका अशिक्षित बाबुआमालाई बालबालिका बेच्ने दलालले कसरी प्रलोभनमा फसाएर तिनका बच्चा उम्काउँछन्, ती बच्चालाई कथित बालगृहमार्फत बेच्छन्? यही तस्बिर उतारिएको छ। सेतो भात भनेर चामलको भातलाई इंगित गरिएको हो। चरम गरिबीबीच बाँचिरहेका ग्रामीण भेगका मानिसलाई चामलको भात खान दसैंतिहार नै पर्खनुपर्छ। त्यही चामल अर्थात 'सेतो भात' खान पाउने प्रलोभन देखाएर बच्चाहरूलाई आकर्षित गर्ने दलालको कथा हो यो। 'राजमार्गछेउका भुराहरू' बालश्रम शोषणको कथा हो। घरमा काम गर्ने केटा खोज्न भौंतारिएका सहरका मध्यमवर्गीय परिवारका एउटा पात्रको बेचैनी, हैरानी र दिक्दारी कथाले टिपेको छ। ती पात्र जताजता जान्छन्, त्यतैत्यतै बालबालिकालाई श्रममा लगाइएको देख्छन्। ती दृश्य हेर्नुबाहेक उनीसित विकल्प पनि हुँदैन। यो कथा बालश्रमको यथार्थ प्रतिविम्बन गर्ने दिशामा मात्र केन्द्रित छ। त्यसविरुद्ध झिनो आवाज कहीँकतै उठाइएको छैन।
अछुत भएकै आधारमा कथित माथिल्लो जातिबाट प्रताडित एउटा बालकको मनोविज्ञान उन्ने दिशामा कथा 'उखुबारी' केन्द्रित छ। उखु रस उमाल्न राखिएको भाँडामा एउटा 'अछुत' बालकले छोएपछि सुरु भएको सवाल ती बालकका अभिभावकले हर्जाना नतिरेसम्म रोकिँदैन। तथापि, कथावस्तु अत्यन्तै खज्मजिए पनि अन्त्य भने आशलाग्दो छ। 'बोर्डर साइडको बब्लु' एउटा मुस्लिम किशोरको कथा हो। नेपालगन्ज पृष्ठभूमि रहेको उक्त कथा पनि ठाउँठाउँमा खुम्चँदै अगाडि बढेको छ। कथा मुस्लिम र हिन्दुबीचको विभेद, हिंसात्मक गतिविधि, मुस्लिम र हिन्दु समाजबीचको मेल र मुस्लिमको आर्थिक अवस्था केलाउने उद्देश्यमा लक्षित भए पनि संरचनागत हिसाबले धेरै नै जटिल बनेको छ। नीलमसित कथावस्तुको अभाव नभए पनि त्यसलाई कथ्यगत संरचनामा ढाल्ने सवालमा अलमल र खोट छ।
'बेली' बाल यौनशोषणको पर्दा उघार्ने महानगरीय कथा हो। महानगरका रंगीबिरंगी जीवन देखेर लोभिने बालिका कसरी थाहै नपाई यौनशोषणको दुस्चक्रमा फस्छन्? कथाले त्यही त्रासद पक्ष उठाएको छ। त्यस्तै 'हिजोआज काठमाडौंमा'ले सडकमा माग्न बसेका बालबालिकाको व्यथा उजागर गरेको छ भने 'जेलमान्छे'ले आमा जेल पर्दा त्यहीँ जन्मेका बालकको मनोविज्ञान खोतल्ने प्रयास गरेको छ। 'वृत्तचित्र'ले खाते बालक र 'कागजमा दस्तखत'ले आमाबाबुको सम्बन्धविच्छेदपछि बालबालिकाले भोग्नुपरेका एक्लो, निरस जीवन सन्दर्भ खोतलेको छ।
वाक्यगत संरचनाका हिसाबले पनि केही ठाउँमा त्रुटि छन्। एउटा वाक्य यस्तो छ- 'रोएपछि मात्र म जीवित भएको घोषित गरे डाक्टरहरूले।' तर 'घोषित' नभएर 'घोषणा' हुनुपर्ने हो। 'मलाई हेर्नका लागि आफन्तीहरू आए' -यो अर्को नमिलेको वाक्य हो। आफन्ती होइन, आफन्त हुनुपर्ने हो। त्यस्तै, एक ठाउँमा लेखिएको छ- 'सुक्रेले खोला किनाराको डिलबाट दूधकुमारी ल्याई दलिदिन्छ पोलेको ठाउँमा।' पोलेको ठाउँमा 'घ्युकुमारी' लगाइन्छ। 'दूधकुमारी' नामक कुनै वनस्पति अहिलेसम्म वनस्पतिविदले पत्ता लगाएका छैनन्। त्यसो त कथाकारले एकै ठाउँमा खन्यु र बयर पाकेको देखाएका छन्। खन्यु र बयर एउटै हावापानीमा फल्दैन। यस्ता गल्ती पुस्तकभित्र यत्रतत्र छन्। राजाका छोराले चरम गरिबीमा डुबेको एउटा 'गरिब बालक'बारे कथा लेखेजस्तो तथ्यहीन प्रसंग आउनुले केही कथालाई हल्का तुल्याएको छ।
नीलमले आफ्ना कथाका सबै पात्रलाई प्रायशः निरीह र बेसहाराको दर्जामा उभ्याएकी छन्। के समाजमा निरीह, अवहेलित र बेसहारा बाल वा किशोर पात्र मात्र छन् त? त्यस्ता पात्रलाई उभ्याइँदा केवल निरीह रूपमा प्रस्तुत गर्नुको तात्पर्य के हो?
त्यस्ता पात्रभित्र दबिएर बसेको कुण्ठा, अवहेलना र तिरस्कृत भावले उनीहरूमा विद्रोह, सचेत दृष्टिचेत पनि उब्जिन्छन् भन्नेतिर कथाकारले ध्यान पुग्न सकेको छैन।
००
कृति : बेली
कथाकार : नीलम कार्की निहारिका
प्रकाशक : रत्न पुस्तक भण्डार
पृष्ठ : १४८
मूल्य : रू.१७५/-

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 8 जेठ, 2069

लेखकका अन्य रचनाहरु