आमा

- छविरमण सिलवाल

धर्तिमा पहिलो
पाइला टेकाउने पनि उनै हुन् ।
आफू भोकै बसेर
मेरो पेट भर्ने पनि उनै हुन् ।
मेरा दुःखका पहाडहरू छेक्दै
मलाई सुखानुभूतिको
आभाष गराउँदै
मेरो पुकार सुन्ने पनि उनै हुन् ।
मेरी आमा !

आफू खोले खान्थिन्
मलाई दुध खुवाउथिन्
आफू घाँसको भारी बोकेर
मलाई भारी माथि
बोक्थिन,
मेरो हरेक प्रहरको
देखवाल गर्थिन,
म ठूलो मान्छे बनेको
हेर्न चाहन्थिन्,
आज पनि मेरा हरेक प्रहरमा
उनी चिन्तित छिन्,
आफ्नो मातृवत्सल्य बाढेर
मेरो खुशीको कामना
गरिरहेकी छिन्
ईश्वरसंग
मेरी आमा !

आफू निरक्षर थिइन
चिठ्ठीपत्र पढ्न अरूको सहारा लिन्थिन
मलाई पढ्न पठाएर
आफू साक्षर बन्ने कोशिस गर्थिन्
म आज सोच्ने गर्छु
उनी नहुदी हुन् त
म यो संसारको
सुख भोग्नबाट वन्चित हुने थिए ।
यसरी नै
संसारीक ममता वढिरहेको छ
युगौँयुग देखि
म यसैको प्रतिनिधि पात्र मात्र हुँ
मातृत्व प्रेममा लुटपुटदै
आफूलाई
भाग्यमानी ठान्छु,
अनि,
उनको दिर्धायुको
कामना गरिरेको छु
हरेक प्रहर
उनै हुन ममताको प्रतिक
मेरी आमा !

आजकल म हरेक प्रहर
सोच्ने गर्छु
मैले उनको चाहना पुरा गरें या गरिन ?
स्वार्थी बन्दै गएको हाम्रो समाजमा
आमाको महत्वमाथि
कुठाराघात भइरहेका हरेक घटनाहरूले
मेरो हृदय छियाछिया भएको छ
तापनि, मेरी आमाको विशाल हृदयले
भनिरहेछ,
एक दिन मेरो महत्व सवैले बुझ्नेछन् ।
चिन्तित हुने कुनै कारण छैन ।
सधैँ सकारात्मक सोच्न
सिकाउँछिन मेरी आमा
विशाल हृदय भएकी
सधैं ममता वाढिरहने
उनै हुन् मेरी आमा !

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 जेठ, 2069

लेखकका अन्य रचनाहरु