रानीमहलमा भेट्न नपाइएका भूतहरू

- धीरकुमार श्रेष्ठ

“रानीमहल जाने बाटो कता होला ?” पाल्पा बसपार्कमा भेटिएका एक जना अपरिचितसँगकोे जिज्ञासा थियो मेरो ।
“था’ छैन” ती अपरिचितको जवाफ थियो ।
“आगराको ताजमहलजस्तै नेपाली ताजमहल भनेर पत्रपत्रिकामा खुब समाचार आउँछ नि ...” कतै समाधान निस्किहाल्छ कि भनी अथ्र्याउन थालेको थिएँ म । मेरो वाक्य पूरा नहुँदै बीचैमा कुरा काट्दै उनी भन्न थालेका थिए, “ए रानीघाट भन्नु भा’ त्यो यताबाट” । त्यति बेलामात्र थाहा भयो, रानीमहललाई स्थानीयरूपमा रानीघाट भनिदो रहेछ । देखाइएको बाटोमा हामी हिँड्न थाल्यौँ । हामी अर्थात् करिब तीस जनाको शैक्षिक भ्रमणको टोली ।
रानीमहलतर्फ हिँद्दै गर्दा एक जना सानो भाइ “म देखाउँछु तपाईंहरूलाई बाटो” भन्दै हामीसँगैसँगै हिँड्न थाल्यो । केही क्षण बाटो देखाएर फर्किहाल्ने होला भनी उसको सामीप्यलाई स्वीकार गरेको त ऊ हामीसँग झन्झन् लेपासिन थाल्यो र हाम्रो पाल्पा बसाइभरि हामीसँगै बस्यो । स्कुल पढ्न छाडेर ऊ पाल्पा आउने नवागन्तुकसँग घुम्न र घुमाउन पल्किसकेको रहेछ । घरमा आमाबुबाको दयनीय अवस्था बताएर नवागन्तुकहरूको मन पगाल्न सके केही आम्दानी हुने र (उसका सन्दर्भमा) मीठो–मीठो खान पनि पाइने रहेछ (त्यसो त हामीमात्रै कुनचाहिँ मीठो खाने होैँ र !) । उसका आमाबुबालाई भने उसका यस्ता क्रियाकलाप पचेको रहेनछ । उहाँहरू चाहनुहुँदो रहेछ “छोराले पढिमात्र देओस् ।” धन्य हुनुहुन्छ उसका आमाबुबा ! छोराको दृष्टिभ्रमलाई उहाँहरूले कसरी सहन गरिरहनुभएको होला !
उसलाई देख्ता विजय मल्लले लेख्नुभएको नाटक ‘बौलाहाकाजीको सपना’ को मुख्य पात्र ‘वीरे’ को सम्झना मलाई भएको थियो । पढाइमा तेज भएर निस्किनुअगाडिको ‘वीर’े को अवस्था त्यस्तेै थियो । घरमा ढाँटेर र छलेर पाल्पाको ‘वीरे’ यस्ता कार्य गर्न ‘मुर्गा’ को खोजीमा दिनहुँ बसस्टेन्डमा भौँतारिइरहेको हुँदो रहेछ । हामीलाई यो रहस्य कसरी थाहा भयो भने शीतलपाटी पुग्न लाग्दा ऊ एक्कासी हामीमाझबाट गायब भएको थियो र एकै पटक डाँडामा पुगेपछि पुनः प्रकट भएको थियो । ऊ यसरी अलप हुनु र प्रकट हुनुको कारण उसैलाई सोध्दा थाहा भयो, उसको घर शीतलपाटीकै छेउमा पर्दोरहेछ । बुबाले त्यसरी हिँडेको देखे समातेर घर लाने डरबाट ऊ भागेको रहेछ । उसकै मुखबाट निर्धक्क त्यस्ता कुरा सुन्दा एक मन त भयो हप्काएर घरतिर फर्काइदिऊँ, तर मैले सकिनँ । किनभने मैले हप्काउँदा ऊ हप्किने खालको थिएन र हप्किहाले पनि हामीजस्तै अर्को ‘मुर्गा’ उसले नसमाउला भनी ठोकुवा गर्न सकिन्नथ्यो । नयाँ ठाउँमा बाटो देखाउन सक्ने पथप्रदर्शकको हाम्रो आवश्यकताका कारण पनि उसको उपस्थिति हाम्रा लागि आवश्यक बन्दै गएको थियो । हाम्रा कत्ति स–साना नानीहरू यसरी आमाबुबालाई ढाँटेर पढ्न छाडी असमयमै बरालिएर हिँडेका होलान् ! सम्झँदा दुःख लाग्यो ।
डाँडामा पुग्दा ऊ मेरा सहयात्री विद्यार्थीहरूका लागि समय कटाउने रमाइलो माध्यम बनिसकेको थियो । उनीहरूले उसको नामकरण गरिसकेका थिए, ‘फुच्चे गाइड’ । उसको वास्तविक नाम भने नारायण नेउपाने रहेछ । मेरा सहयात्रीहरूले उसको नामकरण गर्दा ऊ रिसाउला भन्ने मलाई लागेको थियो तर रिसाएन । उसभित्रको स्वाभिमानलाई उसले पचाइसकेको रहेछ । ऊ नरिसाउनुमा सायद भ्रमणको अन्त्यमा उसले हामीबाट आशा गरेको ‘टिप्स’ ले पनि काम गरेको होला भन्ने अनुमान लगाएँ मैले । यस कारण उसको ‘मुर्गा’ बन्नुलाई मैले अन्यथा अर्थमा लिइनँ ।
उसका आमाबाबुका लागि ऊ जेजस्तो भए पनि हाम्रालागि एउटा असल पथप्रदर्शक सिद्ध भयो । उसले रानीमहल जाँदा र आउँदामात्र नभई हाम्रो दुईदिने पाल्पा बसाइअवधिभर हामीलाई बाटो बिराउन नदिन खुब सहयोग ग¥यो जसको प्रशंसा नगर्नु कृतघ्नतामात्र हुन्छ ।
२०५७ साल पुस १७ गते अर्थात् दुईदिने नेपालबन्दको पहिलो दिन; हाम्रो टोली रानीमहललाई भेट्ने उत्कट अभिलाषाका साथ ओरालो ओर्लिरहेको थियो । फुच्चे गाइड मेरा सहयात्रीहरूसँग मज्जैसँग भिजिसकेको थियो । उसको मिलनसार र सहनशील स्वभावलाई सम्मान गर्नैपर्छ । तरपनि म सम्झिरहेको थिएँ, सन्तानको उज्ज्वल भविष्य देख्न चाहने आमाबाबुहरूलाई । आफ्ना छोराछोरीहरू असमयमै पैसाका पछाडि बरालिँदा उहाँहरूलाई कस्तो अनुभूति भइरहेको होला । म अनुमानमात्र लगाउन सक्थेँ । त्यसभन्दा बढी केही गर्न सक्ने ल्याकत ममा थिएन । मैले मेरो आदर्श बखानेर फुच्चे गाइडलाई सम्झाए पनि त्यसबाट सकारात्मक परिणाम निस्कने आशा थिएन । त्यसैले चुपचाप उसको सामीप्य स्वीकार्नुलाई नै मैले बुद्धिमानी ठानेको थिएँ ।
कतै प्रकृतिको हरियाली नियाल्दै कतै झर्नाका प्राकृतिक फोहोराले नुहाउँदै हाम्रो टोली अगाडि बढिरहेको थियो । बाटामा तरुनी–तन्नेरीहरू “लैबरी” का भाकामा मस्त नाचिरहेका भेटिन्थे । त्यस्ता बेला मेरा सहयात्रीहरू निर्धक्क भीडमा मिसिन्थे र भाका मिलाएर गाउँदै नाच्न थाल्थे । त्यहाँ उनीहरूका लागि परिचयको बन्धन थिएन । निम्ता नगरिएका पाहुनाहरू आफूसँग मिसिन आउँदा पनि स्थानीयवासीहरू कुनै प्रतिवाद गर्दैनथे । उनीहरू झन् हौसिएर नवागन्तुकसँग गीत गाउन र नाच्न मस्त हुन्थे । उनीहरूको सहृदयता देखेर म सम्झिन पुग्थेँ, सम्पूर्ण देश र विश्वमै यस्तो सौहार्द वातावरण भइदिए मावनसभ्यताको इतिहास कुन उचाइको शिखरमा पुगिसकेको हुन्थ्यो !
लगातार तीन घन्टाको पैदल–यात्रापछि हाम्रो टोलीले टाढैबाट रानीमहलको दृश्य देख्यो । रमणीय प्रकृतिका बीचमा रानीमहललाई टाढैबाट देख्ता हाम्रो भ्रमणटोलीमा रमाइलोको लहर छाएको थियो । परिश्रमपूर्वक प्राप्त चीजको प्राप्तिको आनन्द बेग्लै हुने रहेछ । केही क्षणअगाडिका हाम्रा थकाइ फुमन्तर थिए ।
त्यस बखत मेरो मनको एउटा कुनामा बाह्र वर्षअगाडि घुमेको आगराको ताजमहलको दृश्य चुपचाप बसिरहेको थियो । त्यसैले ताजमहल र रानीमहल दुवैका बीचमा निकै साम्यताको अनुभव भएको थियो मलाई । शाहजहाँले आफ्नी पत्नी मुमताजको सम्झनामा सन् १६५३ तिर ताजमहलको निर्माण गर्न लगाएका थिए भने पाल्पाका गभर्नर खड्गशम्शेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा वि.सं. १९५५ मा बैकुण्ठे चतुर्दशीका दिन रानीमहलको निर्माण गर्न लगाएका थिए । ब्रिटिस इन्जिनियर बोलाएर युनानी शैलीमा बनाउन लगाइएको रानीमहल कालीगण्डकीको तीरमा अवस्थित पत्रे चट्टानबाटै जग उठाएर बनाइएको रहेछ ।
भारतमा जसरी ताजमहलले प्रेमको प्रतीकका रूपमा मान्यता प्राप्त गरिसकेको छ त्यसै गरी रानीमहलले पनि हाम्रो देशमा प्रेमको प्रतीकका रूपमा मान्यता प्राप्त गरिसकेको छ । ताजमहलले जस्तै रानीमहलले पनि पर्यटकीय गन्तव्यस्थलका रूपमा मान्यता प्राप्त गरिसकेको भए पनि ताजमहलमा जस्तो यहाँ पर्यटकको ओइरो आगमन नहुने रहेछ । बाटोघाटोको असुविधा, प्रचारप्रसारको कमी, सुविधाहरूको अभाव यसका मुख्य कारण रहेछन् । यसका विपरीत यी दुवैमा अर्को साम्यता के रहेछ भने ताजमहल यमुनाको किनारमा अवस्थित छ भने रानीमहल कालीगन्डकीको किनारमा । यमुनाको भेल आएर ताजमहलको भित्तामा ठोक्किएजस्तै त्यहाँ पनि कालीगन्डकीको मूल भङ्गालो रानीमहलको भित्तामा ठोक्किने रहेछ । रानीमहल र कालीगन्डकी दुवैले एकअर्काको शोभा बढाउनामा खुबै मिहिनेत गरेका रहेछन् । कालीगन्डकी आफैँ हिन्दू धर्माबलम्बीहरूका लागि पवित्र र महŒवपूर्ण छ भने त्यसैको किनारमा रहेको नेपाली ताजमहल हृदयतः प्रेम गर्नेहरूका लागि । पूर्वबाट बग्दै आएर कालीगन्डकीमा मिसिने बराङ्दी खोलाको दृश्यले मलाई बराहक्षेत्रको पनि सम्झना गराएको थियो । रानीमहलमा जस्तै बराहक्षेत्रमा कोकाखोला सप्तकोसीमा मिसिएर अनौठो प्राकृतिक सुन्दरताको सिर्जना भएको छ ।
रानीमहलसम्म आउनाका लागि तानसेनबाट बराङ्दी त्यसपछि बौघापोखराथोकको वडा नं. ९ को औलगाउँ हुँदै अलङ्चे खोला र अन्त्यमा खानीगाउँको कलावारीबाट आउनुपर्ने रहेछ । रानीमहल आफैँ भने बौघागम्हा गा.वि.स.को वडा नं. २ मा पर्ने रहेछ । प्रायः गा.वि.स.को नामका अगाडि जोडिने ‘बौघा’ शब्दको अर्थ भने मैले थाहा पाउन सकिनँ । स्थानीय व्यक्ति कसैलाई सोधेको भए थाहा पाउँथेँ कि तर रानीमहलको आकर्षणले मलाई त्यतातिर सोच्ने फुर्सत दिएको थिएन । कालिगन्डकीवारि रानीघाट र त्यसको पारिपट्टि छेर्लुङगाउँ रहेछ । वारिबाट हेर्दा मिलेका सफा घरहरूको समूहमा छेर्लुङगाउँ देखिने रहेछ । गाउँको बाह्य दृश्यले मन ताने पनि त्यहाँ जान पाइएन । छेर्लुङ परम्परागत सिँचाइप्रणालीका लागि प्रसिद्ध रहेछ र त्यहाँ पुग्न रानीमहलबाट एक घन्टाको पैदलयात्रा गर्नुपर्ने रहेछ ।
रानीमहलको भौगोलिक अवस्थिति वर्णन गर्ने सूचनापाटी रानीमहल पुग्नु अगावै बाटैमा भेटिने रहेछ जसमा उक्त विवरणहरू पर्यटकको जानकारीका लागि लेखिएका थिए । त्यसको प्रायोजन GETUP अर्थात् वातावरणीय पर्यटन प्रबद्र्धन समूह, पाल्पा (Group for Environment Tourism Upgrading Palpa) नामक संस्थाले गरेको रहेछ ।
रानीमहलको मुख्य भवन पुग्नाका लागि सिढीँहरू उक्लिँदै हामी उकालो लाग्यौँ । मुख्य भवन नपुग्दै दायाँतर्फ शिवजीको मन्दिर रहेछ जुन रानीमहललाई घेरेर बनाइएको मुख्य पर्खालको बाहिर पर्छ । मूल भवन प्रवेश गर्नुअगावै शिवजीको मन्दिर बनाउनुमा पक्कै पनि धार्मिक आस्थाले काम गरेकोे हुनुपर्छ । शिवमन्दिरको दुईतिर शिवजीका प्रिय बाहन बसाहाको दुई ओटा ढुङ्गाको प्रतिमा छ । त्यही मन्दिरको छेउमा झुन्ड्याइएको घन्टाको वरिपरि दुई पङ्क्ति कुँदिएका छन् । जसलाई हुबहु उतार्ने प्रयास मैले गरेँ । पहिलो पङ्क्ति यस्तो छ, “स्वस्तिश्रीगिरिराजचक्रचूडामरिाानरनारायराोज्यादि श्रीमन्महाराजधिराजकुमारात्मज श्रीमच्चौतरिया वीरबहादूरस्............हवम्र्मराा पौत्री श्रीमच्चौतरियासूøर्यप्रतसाहवम्र्मराा पुत्री स्वस्ति श्रीमद्रा (रा?)जकुमारकुमारान्(?)मज श्री कम्याराडरइ.........(यसपछिका घन्टाका केही अंश भाँच्चिएको छ र त्यसपछि)......(ब?)....(हा?) दुर बम्र्मराा ः पत्नी तेजकुमारीदेवी ।।” दोस्रो अथवा अन्तिम पङ्क्ति यस्तो छ “तस्यावैकुराठ लोक वास कामनया श्री परमेश्वरप्रीतयो घरारे यंसमर्पिता इतिसम्वत् १९५५ साल शुभम् (.........गरिएका अंश अनुपलब्ध हुन् र प्रश्नचिह्न दिइएका अंश नबुझिएर पङ्क्तिकारबाट सम्भावना व्यक्त गरिएका हुन्) । संस्कृत भाषाका ती शब्दहरूका अर्थ नबुझे पनि रानीमहल बनाउँदाकै समयमा शिवमन्दिर पनि बनाइएको अनुमान सहजै गर्न सकिने रहेछ । उक्त अभिलेख रहेको घन्टको रालो भाँच्चिएर अन्तै कतै राखिएको जानकारी महलको रेखदेख गर्नाका लागि पुरातŒव विभागबाट नियुक्त गरिएका स्थानीय पाले शिव थापाले दिए । उनले २०५५ सालदेखि रेखदेख गर्नुृपूर्व मन्दिरका के—के सामान हिनामिना भए भन्ने कुराको यकिन तथ्याङ्क उनीसँग नरहे पनि मन्दिरको सामान हिनामिना भएकोमा उनी विश्वस्त रहेछन् ।
रानीमहलको उक्त अभिलेख पढिसकेपछि मलाई ताजमहलको मूलद्वारको दायाँपट्टि लेखिएका निम्न पङ्क्तिहरूको सम्झना भयो जसलाई त्यहाँ जाँदा मैले सारेको थिएँ । पङ्क्ति यस्तो छ, “ताजमहल के सम्राट शाहजहाँ (१६२७ – १६५८) ने अपनी बेगम मुमताजमहल के मकबरे के रूप मे १६३१ और १६५३ के बीच बनवाया । मुमताजमहलका वास्तविक नाम अर्जुमन्द था और वे आसफरबाँ की पुत्री थी । उनका जन्म १५९२ मे और शाहजहाँ से विवाह १६१२ मे हुआ । उनकी मृत्यु अपने चौदहवें शिशु के जन्म के पश्चात १६३१ मे हुई । सम्राट भी अपनी मृत्यु के बांद यही सम्राज्ञी के पास दफनाये गये ।”
रानीमहलका बारेमा वर्णन गर्ने कुनै आधिकारिक पथप्रदर्शक नभएको र रानीमहलसँग सम्बन्धित कुनै ब्रोसियर पनि उपलब्ध नभएकोले मुख्य भवन परिसर पुग्नु अगावै न्भ्त्ग्ए द्वारा राखिएको सूचनाबोर्ड र पालेले भनेकै कुरामा भर पर्नुपर्ने रहेछ । हाम्रो ‘फुच्चे गाइड’ त्यस बखत चुपचाप थियो । उसको काम त्यहाँसम्म पुग्ने बाटो देखाउने मात्र रहेछ । उसलाई त्यहाँका बारेमा बाक्लो जानकारीबाहेक अरू रहनेछ । फेरी ऊ मबाट किन–किन टाढै बस्न रुचाइरहेको थियो । मेरो र उसको ग्रह त्यति मिलिरहेको थिएन । सायद मेरो आदर्शलाई उसले पनि पचाउन सकिरहेको थिएन ?
शिवमन्दिरको परिक्रमापछि हाम्रो एउटा टोली रानीमहलको मुख्य भवनतर्फ लाग्यो भने अर्को एउटा टोली कालीगन्डकी नुहाउन पुगिसकेको थियो । हात हल्लाएर दुवै समूहले एकअर्काको अभिवादन गरिसकेपछि हामी लाग्यौँ चिरप्रतिक्षित गन्तव्यस्थलतर्फ । रानीमहलको सिरानमा प्रस्ट अक्षरमा लेखिएको भेटियो, “श्रीपरब्रह्मचरण श्री रानी तेजकुमारीदेवी शरण” । त्यहाँ प्राप्त हुने स्थानीय अभिलेख यिनै दुई रहेछन् जसले त्यहाँको इतिहासलाई जीवित राखिरहेको रहेछ । रानीमहलको ठीक अगाडि दुई ओटा माछापोखरी जीर्ण अवस्थामा थिए भने शिवमन्दिर रहेकै दिशामा शितलपाटी र त्यसको विपरीत दिशामा घोडा बाँध्ने तबेला रहेछ । यी दुवै संरक्षणविहिन अवस्थामा थिए । यसपछि हामी मुख्य भवनतर्फ पस्यौँ । भवनमा जम्मा दुई तला रहेछ भने दुवै तलामा कोठाहरू रहेछन् । तल्लो तलामा सात र माथिल्लो तलामा चार ओटा गरी भवनभित्र जम्मा एघार ओटा कोठा रहेछन् । रानीमहलको मुख्य आकर्षण तल्लो तलाभन्दा पनि माथिल्लो तलामा रहेछ जहाँ पूर्व र पश्चिममा गरी दुई ओटा वार्दलीहरू छन् ।
रानीमहलको मुख्य भवनको पछाडिपटिृ भान्सा र नागकन्या रहेछ । यो नागकन्या र तबेला दुबै मुख्य पर्खालको बाहिर पर्छ तर पर्खालसँगै टाँसिएको छ । हामी त्यहाँ पुग्दा पुरातŒव विभागबाट भवनको मर्मत र रङरोगनको कार्य हुँदै थियो । मुख्य भवनका भ¥याङ र झ्यालढोकाका काठहरू नयाँ राखिदै थिए भने झ्यालढोकाका पुरानै चौकोसहरूलाई पुनः प्रयोग गरिदै थिए । भवनका गाराहरू मर्मत गर्नाका लागि सुर्कीचुनाको साटो सिमेन्टी र बालुवा प्रयोग गरिएको देख्ता मन अमिलिएको थियो तर व्यक्त गर्ने ठाउँ थिएन । भवनका छाना रातो, झ्याल कलेजी, भित्ता सेतो र खावाँ आकाशे गाढा नीलो रङले रङ्गिदै थिए । रङसंयोजनको भने प्रशंसा गर्नैपर्छ । मुख्य भवनका कोठाहरू रित्ता थिए । त्यहाँ के–के सामान थिए र के–के हिनामिना भए त्यसको लगत नभेटिने रहेछ ।
सपनाको महल रानीमहललाई नजिकबाट हेरिसकेपछि टाढाबाट हेर्ने रहर ममा पलायो । नजिकबाट लिन सकिने फोटाहरू लिइसकेपछि मसँग बाँकी भएका दुई जनासहित हामी लाग्यौँ रानीमहलअगाडिको झोलुङ्गे पुलतर्फ । नजिकबाट हेर्दा नदेखिने रानीमहलको सुन्दरता झोलुङ्गे पुलबाट देखियो । प्रकृतिको काखमा गजधम्म परेर अविचल, अविश्रान्त बसिरहेको प्रेमीजस्तै उसको रूप थियो । केशराशी चारैतर्फ हावासँग बयेली खेल्दा अनौठो सुन्दरता त्यहाँबाट प्रस्फुटित भइरहेको थियो । निमेषभरमै त्यहाँ दिव्य चेतनाको अनुभूति भयो र त्यसलाई समात्न “क्लिक” के गरेको थिएँ त्यो फेरि त्यहाँबाट हरायो र रानीमहल कुनै समर्पित प्रेमिकाझैँ मुस्कुराइरहेकी थिई ।
रानीमहलको मुस्कानसँगै एक रात त्यहाँ बिताउने मेरो चाहना त्यस बखत बेकार भयो जति बेला सहयात्रीहरू त्यहाँ बस्न रुचाएनन् । मेरो प्रस्ताव यसकारण पनि अनुचित थिएन किनभने भोलिपल्टको नेपाल बन्द बाँकी नै थियो । कुन्नि कसले हो समूहमा एउटा अव्यक्त त्रास फैलाइदिएको रहेछ “राती–राती रानीमहलमा भूत नाच्छ” भनेर । यो सुनेपछि मलाई झन् त्यस रात रोमाञ्चकारी हुने भयो भनेर खुसी लागेको थियो । किनभने जिउँदा भूतहरूसँग लड्दालड्दा स्पात बनिसकेको मेरो विश्वासले मृत भूतसँग डराउनुपर्ने कुनै कारण थिएन । कम्तीमा यो थाहा पाउन सकिन्थ्यो कि उनीहरूका मा न्यायव्यवस्था कस्तो छ, जिउँदाका मा जस्तै कि फरक । तर मेरो इच्छा अल्पमतमा प¥यो र बहुमतको कदर गर्दै हामी भूतको अव्यक्त त्रासबाट लखेटिदै तानसेनतर्फ फक्यौँ । त्यस बेला मयुरले पङ्ख फिजारेभैmँ पहाडपछाडिबाट सूर्यकिरणहरू फिजारिन थालिसकेका थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 बैशाख, 2069

लेखकका अन्य रचनाहरु