कान्छी हुर्किई अरे !

- होम सुवेदी

‘तपाईंको कथाका पात्रहरु अलिक बढी लाटालठेब्रा भए । सारसांैदा पात्रहरु छानेर कथा लेख्न किन मन गर्नुहुन्न ?’ मलाई मेरा कथामाथि शोध गरिरहेका एक जना विद्यार्थीको यो एक प्रश्न थियो । अनि मेरो कथाका एक जना समालोचकले पनि मेरा पात्र प्रयोगमा यही कुरा भनेका थिए ।
‘हो, म यस्तै पात्रहरुका अवस्था दर्शाउन चाहन्छु । सद्दे मान्छेका कथा त धेरैले लेखेकै छन् नि ! यस्ता पात्रहरुको स्थिति दर्शाउनु पनि हाम्रो कर्तव्य होइन र ?’ मैले मेरा कथाका पात्रहरुमाथि टिप्पणी गर्ने र शोध गर्ने ती मित्रहरुलाई प्रतिप्रश्नात्मक उत्तर दिएको थिएँ । आज अब एउटा कथा लेख्न लाग्दैछु, यसमा पनि यस्तै हुन आँट्यो । पात्रको प्रयोगका हिसाबले मेरा यस कथामा पनि त्यही खण्ड पर्न आँटेको छ ।
मैले गाईवस्तु पालेको छैन । त्यसैले मेरो करसाबारीमा पलाएको घाँस मलाई चाहिँदैन । जसले काटेर लगे पनि मलाई केही फरक पर्दैन तर मेरा इच्छा के रहेको छ भने जसले घाँस काटेर लगे पनि मेरो बारी सफा होस् । आफूले निःशुल्क घाँस काट्न दिएपछि त्यति ता गरिदेओस् भन्ने भावना छ । मेरो बारीमा अलिक परतिरका छर–छिमेकबाट दुई जना घँसियाहरु घाँस काट्न आउँने गर्छन् । एउटी लठेब्री छे । अर्काे पनि लठेबै्र छ । एउटी भर्खर किशोरावस्था पार गर्दै गरेकी छे, अर्काे बूढो–बूढो छ । बूढो–बूढो लठेब्रो पनि मेरामा घाँस काट्न आउँछ, र भर्खरकी लठेब्री पनि त्यही कामका लागि मेरोमा आउँछे । छाँटबाट दुवैको एकै धर्म रहेछ भन्ने अनुमान हुन्छ । ती एकै घरमा पालिएका होइनन् भन्ने मलाई थाहा छ तापनि ती दुवैको व्यवसाय भने एकै छ– घाँस काट्नु, गाई हेर्नु र घरधन्दा गर्नु नै यिनीहरुको धन्दा हो भन्ने मैले बुझेको छु, थाहा पाएको छु । विशेष गरी मेरा करसाबारीमा पाक्षिक रुपमा घाँस काट्नु तिनको नित्यक्रिया जस्तै छ । कहिले केटीले घाँस काट्छे, कहिले बूढाले । बूढोले घाँस काट्यो भने लठेब्री मसँग उसमाथि रिस देखाउँछे, अनि लठेब्रीले घाँस काटी भने बूढो पनि उसै गरी रिसाउँछ । मानौं तिनीहरुका लागि मेरो करसाबारी घाँस काट्ने बिर्ता हो । मानौंं ती दुवैको आफ्नो अधीनस्थ रुपमा रहेको क्षेत्र हो यो मेरो घरसँग जोडिएको बारी । केटीलाई म कान्छी भन्दछु, बूढालाई घोइरे भनेर बोलाउँछु, तिनको नाम के हो मलाई थाहा पनि छैन । थाहा पाउनु आवश्यक पनि ठान्दिनँ । कान्छी घाँस काट्तै गरेको बेलामा बूढो आयो भने कान्छीलाई हप्काइ–दप्काइ गरेर खेद्छ र आफू मात्र घाँस काट्छ मानौं आफ्नो अधीनको क्षेत्रमा कुनै शत्रुको प्रवेश भएको छ र त्यसलाई ऊ खेदाइरहेको छ । तर कान्छी भने बूढालाई हप्काउन सक्तिन । बूढालाई तथानामका गालीले सराप्तै बारी छाडेर अर्कातिर लाग्दछे बरु आफैं । बूढो कसको घरमा बसेको छ मलाई थाहा छैन र कान्छी पनि कसको घरमा बसेकी छे त्यो कुरा पनि मलाई थाहा छैन । मलाई यतिमात्र थाहा छ, ती दुवै कसैका नोकर वा गोठाला हुन् । यिनका काम गराइका बिचमा अलिकति फरक पनि छ । फरक के छ भने बूढो निकै नै मिहिनेत गरेर मेरो करसाबारी सुक्सुकाउँदो पार्दै घाँस काटेर लान्छ, कान्छी भने उति राम्रो गरी घाँस काट्तिन । करसाभरि घाँस छोडेर जर्खरिलो र फोहोर पारेर छाड्छे । यी दुईले मैले रोपेका घरबारीका बिरुवाहरु काटिदेलान् भन्ने मलाई त्राहि–त्राहि पर्दछ । अनि उनीहरुलाई म केही अराइपराइ गरेर घाँस काट्न लगाउँछु र यो थोरै भए पनि मेरो करसाबारी सिनित्त होस् भन्ने आन्तरिक इच्छा राख्छु ।
‘हेर् कान्छी, त्यहाँ बिमिरो, अम्बक र कागतीका बिरुवा छन् । बिरुवाहरु काटिएलान् नि !’ होस गरेर घाँस काट्नू !’ केटीलाई म अराउँछु । अनि ऊ निकै सतर्क भएर बारीका बोट–बिरुवाहरुलाई जोगाएर घाँस काट्छे । सतर्क हुँदाहुँदै पनि मेरी श्रीमतीले ल्याएर रोपेको एउटा अम्बकको बिरुवा एकपटक कान्छीले घाँसका साथ थाहै नपाई काटिदिइछे । यो कुरा थाहा पाएपछि मेरी श्रीमतीबाट उसले निकै झपार खाएकी थिई । विषय पनि झपार खाने नै थियो । पैसा हालेर रोपिएको भर्खर मात्र सरेर केही पात हाल्दै गरेको अनि मेहेनतका मलपानी गरी रोपेर हुर्कन मात्र लागेको त्यो बिरुवा काटिनु निकै दुःखको विषय थियो ।
म पनि बिचैमा आएर उसलाई झपार्दै कराउँछु–‘कस्ती हुस्सू रहिछे ! तँलाई गठेरी, के गरेकी त तैंले ? झन् बिरुवाहरु जोगाएर मात्र घाँस काट्नु भनेको थिएँ । यसले त सखाप पो पारिछे ! बरु यो भन्दा बूढो नै धेरै राम्रो र सफा गरी घाँस काट्छ !’
आफ्नो गल्ती भएकाले ऊ चूप लागी । उसलाई चूप नलागेर धर पनि थिएन । मैले अझ थपेें—‘तँलाई त्यही बूढो लगाइदिन्छु अनि खालिस् ! यस गठेरीलाई त्यही राले बूढासँग बिहे गरिदिनुपर्ने !’
कुरा यति हो । यसपछि ऊ घोसे मुन्टो लाएर आफूले काटेको घाँस लिएर गई । यो घटना भएपछि ऊ मेरा घरवरिपरिको बारीमा निकै दिनसम्म घाँस काट्न आइन । बूढाको एकछत्त राज्यका रुपमा मेरो बारी केही दिन रहन पुग्यो । मेरा घरवरिपरि कान्छीलाई नदेखिए पनि गल्लीतिर गाई चराउँदै गरेको अवस्थामा उसलाई मैले देखि नै रहेकाले कान्छी यतै छे भन्ने प्रमाण जुटिरह्यो । ऊ मेरी श्रीमतीदेखि निकै डराउँछे, तर मदेखि उति डराउँदिन । म उससँग केही जिस्किदिन्छु । मसँग पनि ऊ जिस्किन खोज्छे । अलिक इत्रिन पनि खोज्छे । मैले राम्रोसँग नबुझ्ने भाषामा केके भनेर एक्लै हाँस्छे, म पनि हो न हो हाँसिदिन्छु ।
बूढो पनि कता हो निकै दिनदेखि घाँस काट्न आएको छैन । बारीमा घाँस बढेर निकै अग्लो भएको छ । किन आएनन् यिनीहरु घाँस काट्न ! मलाई कताकता एक प्रकारको उत्सुकता लाग्न थाल्यो । कान्छीले ता गल्ती गरेकी थिई त्यसैले आइन होला तर बूढो त आउनु पर्ने ! मैले सोचिरहें । अलिक दिनपछि कान्छी मेरामा पहिलेकै जस्तो गरी हातमा हँसिया, डोरी र बोरा लिएर घाँस काट्नका लागि आई र सोधी—‘बूढी छैन ?’
उसको सङ्केत मेरी श्रीमतीतिर थियो । अनि मेरा घरमा म मात्र छु भन्ने थाहा पाएपछि खुसी भएर बारीतिर पसी । यसभन्दा पछि मेरा बारीमा घाँस काट्न ऊ मेरी श्रीमती नभएको बेला पारेर आउन थाली । त्यसले मसँग केके हो केके गन्थन पनि गर्न थाली । उसको बोली उति बुझिँदैन तापनि म ‘अँ–अँ’ भनिदिएर उसको चित्त बुझाउन थाल्नु परिरहन्छ । अहिले पनि मैले त्यसै गरें ।
मसँग ऊ उति डराउँदिन । म कहिले–काहीं उसलाई अलिकति जिस्क्याई पनि दिन्छु । मेरो करसाबारी सफा पारिदिएर घाँस काटिदेओस् भन्ने लोभले कहिले–काहीं त्यही बारीमा फलेका फलफूलसमेत उसलाई खान दिन्छु । याम अनुसारका बारीमा फलेका फलफूल खान दिन्छु । उसले चोरेर खाएको देखिएको छैन । ऊ इमानदार छे । बूढो पनि बेइमान छैन । दुवैका लामा हात छैनन् । तर कान्छीलाई त्यसरी पल्काउनु हुने रहेनछ भन्ने लाग्छ । त्यसरी कहिलेकाहीं केही कुरा खानसमेत दिएकोबाट उसलाई भित्र–भित्रै मसँग निकटताको अनुभव पनि हुन थालेछ क्यारे ! अनि यदा–कदा ऊ हँसिया, बोरा र डोरी लिएर मेरी श्रीमती नभएको मौका पारेर मेराअघि आउँछे र भन्छे–‘तितौला छैन अङ्तल ?’ उसको बोली अड्कल काटेर बुझ्नुपर्छ । म अड्कल काटेर बुझ्दै उसलाई उत्तर दिन्छु ।
‘छैन तितौरा । तेरो तितौरा खाने बेलै भएको छैन ।’ अनायासमै फ्यास्सै भनिदिएँछु मैले । पछि पो थाहा भयो उसको अघि यसो भन्नु मेरो भुल भएछ ।
‘कहिले हुन्छ त मेलो तितौला खाने बेला ?’ उसले सोध्दछे ।
अब उसको यस उत्तरलाई के भनेर टार्ने हो भन्नेमा मलाई अलिक अप्ठेरो पर्छ । अलिक सोचेर भन्छु—‘अलिक पछि तेरो बेला हुन्छ । तँ हुर्केपछि मात्र तितौरा खालिस् ।’
‘म निकै हुःिकंए अले त ! अस्ति मेलो अङ्तीले भनेको ।’ ऊ पनि सहज रुपमा फ्यास्सै भन्छे ।
‘खै कुन्नि ? हुर्किस् कि हुर्केकी छैनस् नि ! मैले के जान्नू !’
‘किन हुल्किनँ ? हेल्नुहुन्छ ?’ ऊ यसो भन्न पछि पर्दिन ।
अनि मलाई भित्रैबाट डर लाग्न थाल्छ । आखिर यो लठेब्रीले आफू हुर्केको कुराको प्रत्यक्ष प्रमाण मलाई देखाउने हो कि भनेर मलाई निकै अप्ठेरो पनि पर्न थाल्छ । यसलाई लाज सर्मको के हेक्का ! कथम् उसले आफू हुर्किएको कुरा सप्रमाण मेरा अघि देखाउने ता होइन ? मलाई यसमा अझ अप्ठेरो लागेर आउँछ । अनि अर्कातिर फर्किएरै भनें– ‘भैगो भैगो । हुर्किइछेस् । देखें ।’
‘मैले देखाउँदा अल्कातिर फल्कनुहुन्छ ? मैले नदेखाइकन तपाईंले के देख्नुभयो ? लौ हेल्नुहोस् !’ उसले निकै ठूलो आवाजमा भनी ।
साँच्चै मैले अघि सोचेजस्तै पो गर्ने हो कि भन्ने बुझेर म अर्कातिर फर्किएको थिएँ । हेरौं कि भन्ने पनि भइरहेको थियो ।
‘कता हेलेको ? यता हेल्नुहोस् न भन्या’ !’ उसले मेरो ध्यान आकर्षित गर्न खोजी । अनि बिस्तारै उसतिर हेरेको उभिएर तन्किएकी मात्र रहिछे । धन्न मैले सोचेजस्तो गरिनछे । त्यसरी ऊ उभिएको अवस्थामा मैले उसको हुर्किंदै गएको स्थिति झलक्कै देखें । उसको जिउ निकै बान्किलो र सुडौल हुँदै गएको रहेछ । पहिलेको भन्दा उसको स्थितिमा निकै परिवर्तन भइसकेको रहेछ । वक्षस्थलमा पनि हुर्किएको स्थितिबोधका लागि परिवर्तनका सङ्केतहरु देखिन थालेका रहेछन् । उसका अनुहारमा पनि केही निखार आइसकेको रहेछ । नितम्ब पनि केही चेप्टो हुँदै गएको भान हुुन थालेको रहेछ । उसको सम्पूर्ण शरीरमा किशोरावस्थाको र यौनावस्थाको संक्रमण हुँदै रहेछ । अनि यो उसको उत्सुकताबाट के बुझिन्थ्यो भने उसको मानसिक परिवर्तनका गतिविधिहरु पनि त्यसमा आउन थालेका छन् । श्याल पनि युवाकालमा घोर्लिन्छ भन्छन्, अब यो पनि घोर्लिन थालिछे । यसको बेला नै तितौरा खोज्ने भएको रहेछ भन्ने कुरा मलाई लाग्यो ।
‘अस्ति भनेको कुरा फेरि भन्नुहोस् न !’ कान्छीले मसँग भनी । मैले उसको बोलीको आशय अनुमानले मात्र ठम्याएँ । वास्तवमा उसँग अस्ति के भनेको थिएँ, मलाई हेक्कै थिएन । अनि सोधें—
‘कुन कुरा ?’
‘अस्ति भन्नु भएको थियो नि !’
‘अस्ति के भनें भनें नि ! अस्ति भनेका सबै कुरा मलाई के थाहा हुन्छन् त ?’ उससँग मैले कहिले के भनेको थिएँ त्यो सब बिर्सिसकेको रहेछु । कुनै गल्तीको कुरा ता यसका साथ गरेको थिइनँ ? मैले सोचें बडो शङ्काका साथ । कुनै गलत कुरा ता यसका अघि भनिनँ मैले ? मलाई यही कुराले चिमोट्यो । वास्तवमा अस्ति उससँग के कुरा गरेको थिएँ त्यो कुरा मलाई थाहै थिएन ।
‘अस्ति क्या, बूढासँग बिहे गलिदिनु पल्ने भन्नु भएको होइन ?!’ उसले मलाई सम्झाई । ‘गलिदिनुहोस् अब मलाई त्यही बूढासँग भए पनि बिहे ।’ फेलि भनी ।
म अब छक्क परें । यसलाई कुन दिनमा त्यस्तो कुरा गरेंछु भन्ने लाग्यो र आफ्नै गल्ती भएको अनुभव गर्न थालें । अब के भन्ने ? यसको यो समस्याबाट अब कसरी पार पाउने मलाई चिन्ता लागेर आयो ।
अनि अब अलि बुझ्झकी भएर भनें—‘हेर् कान्छी ! अहिले तेरो बिहे गर्ने बेला भएको छैन । अलिक हुर्किएपछि पो बिहे गर्नुपर्छ त ।’
उसले मलाई अबोध भएको अनुभव गरी र भनी– ‘म अब हुल्किइसकें भनेर सबैले भन्छन् । तपाईंका लागि भने हुल्किएकी छुइनँ होला । ढाँट्नुहुन्छ ? बरु तपाईंले भनेको कुला मिलाइदिनुहोस् ।’
‘त्यस्तो रालसिँगाने बूढासँग तेरो कहाँ बिहे गर्ने ? तँ ता भर्खरकी केटी पो छेस् त । भर्खरका केटासँग पो बिहे गर्नुपर्छ त भनौं कि भन्ने लाग्दै थियो । यसो भने भने झन् उसले भर्खरको केटा खोजेर बिहे गरिदिनुहोस् न त !’ भन्ली भन्ने अर्काे समस्या सम्झेर यसो पनि भनिनँ । यसै बेला मेरी श्रीमती बाहिरबाट टुप्लुक्क आइपुगिन्, कान्छी कतातिर लुसुक्क लागी । तत्कालका लागि मेरो समस्या समाधान भयो तर अहिलेको यो ताजा समस्या समाधान भए पनि अब कुन बेला कान्छीले मेरो सातो लिन बेर लाउँदिन भन्ने भयले मेरो मन निकै बेरसम्म चिसो भइरह्यो । कान्छीबाट यो फाल त संयोगवश जोगिएँ, हेरौं अबको अर्काे फाल जोगिन सकिएला कि नसकिएला !

सहप्राध्यापक, मेची बहुमुखी क्याम्पस, भद्रपुर


प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 बैशाख, 2069

लेखकका अन्य रचनाहरु