सिमल

- गोपाल झापाली

सिरसिर हावा चल्दै । बिहान र मध्यान्हको सङ्घार । वातावरणको चमक उडेको । केवल चमक छ त तेजिलो घामको । करिव शुन्यताको नेपथ्यमा अनेकौं चराका मिश्रीत आवाजको चास्नि छरिएको । पिललिाउँदै बगेको खहरे । त्यस माथिको पुरानो काठे पुल । समथर तराईको ठाँउ । किनारामा राँगाका दुई हल चर्दैछन् । वरिपरिका रुखबुटाको वतासको छाँया छपक्कै त्यहि पुलमा परेको छ । पारि पटि बाँया किनाराको सिमलको बडेमान रुख आफ्नो आखिरी यौवनको थुङ्गा भुवा बनाएर छर्न थालि सकेको छ । उसको सस्तो भएको यौवन वतासले निक्कै पर सम्म पु¥याउँछ, खेलाउँछ अनि थपक्कै बेवारिस छोडि दिन्छ, भुँईमै मिल्ने गरि ।
अर्धनो रातोमा कालो रङ्ग मिसिएको कुर्ता सलवार लगाएकी सिमल धुलाम्ये बाटोमा पर्ने त्यहि काठे पुललाई सिस ताक्दै पूर्व हानिदैछे । निराश चेहरा, मौसम जस्तै रङ्ग उडेको अनुहार । २३ वर्षे ठिटी भएकाले पनि होला उ जति सुकै निराश भए पनि उसको यौवन चाँहि त्यो रुख सिमल जस्तो सस्तो ठानेकी चाँहि छैन, उसले । त्यो काठे पुलको उस्तै पुरानो बेरामा अढेस लागेर निक्कै बेर घोरिई । रुख बाट खसेको सिमलको भुवादार मादकतासँग मिसिएर तातो बतास बारम्बार उसको उत्कर्सको लालिम्य शरीर चुम्न बारम्बार झम्टन्थ्यो, केस खेलाउँथ्यो । अग्लो छाति लुकाएको सेतो सल उडाउन निक्कै जम्का गथ्र्यो अनि निक्कै उत्तेजक बनेर बेपत्तासँग हुँईकिन्थ्यो, उहि रुख सिमलको भुवादार कौमार्य बोकेर । त्यो बेरामा उभिएर एकोहोरिएकी सिमलको त के सक्थ्यो र लैजान । निक्कै बेरको एकोहोरोपन भ¨ गरि सिमलले । दाहिने हात छिर्के कुर्ताबाट छातिको देब्रे तिर घुसाई । हावा उस्तै डाहा गर्दै बत्तिरहेको थियो । हुलाकको टा“चा लागेको खाम बिस्तारै निकालि । निक्कै बेर ओल्टाई–पल्टाई । निक्कै गहिरो चुम्बन गरि । दा“या–बा“या निक्कै पर सम्म बाटोमा स–साना पतिङ्ग बोकेर उडेको बतास बाहेक केहि थिएन । जतनसाथ खाम उघारी र त्यसैमा गाडिरहि आ“खा ।
बाख्रालाई डाले घा“स लिन गएकी छोरी सधैं भन्दा एक घण्टा ढिला पनि नआई पुगे पछि आमा फत्पताउ“दै थिईन् । ‘यो सिमली जता गयो, उतै हराउन थालेकी छे, यस्तै पारा हो भने पछि पोईको कुटाई खाएर फर्किन्छे यो’– बाख्रालाई टाट्नामा बकाईनाको डाले घाँस झुण्ड्याईदिदैं गरेकी सिमल आमाको फतफ सुन्दै थिई । ‘एकछिन ढिलो हुँदा के साह्रो गन्गन् हौं, घरमा चाँहि के बित्या छ ?’– उ उसै गरि कड्किई । सलले पसिना पुछ्दै सिमल पिँढिबाट माथि उक्लि । ३ वर्ष अघि छाएको खरको छानो हावा आउँदा फर्फराई रहेको थियो । बाँसका टाटीमा माटो लिपेको बेरामा डोरी मक्किन थालेका छन् । सामान्य उचाईको मान्छे पिँढीबाट माथि उक्लँदा थोरै निहुरिनै पर्छ । उहिल्यै बितेका बा को फोटोफ्रेमको सिसामा फोहरका लत्का घिनलाग्दो देखिन्छ, दैला माथि । ७ महिना अघि कतार गएको भाइले साहुको ऋण तिरि सके पछि पहिलो पटक पठाएको पैसाले छानामा टिन लगाउँला भनेकाले यस वर्ष पनि घर छाईएन । ‘उमेर पुगेकी छोरी बिहे नगरी राख्नु जस्तो घाँडो केहि नहुँदो रहेछ’– आमा गन्गनाउँदै पटुका कसिन र कम्मरमा हँसिया सिउरेर घर पछाडी लागिन् ।
हलु¨ेको लोटामा राखेको पानी ठाडो घाँटी लगाएर कलकल पिई भित्र पसेर अनि पााखुराले मुख पुछ्दै सिकुवाको पुरानो खाटामा भकारीको अढेस लागि । अर्धनो सुरुवाल माथि सम्मै सुर्की । कलकलाउँदा पिडुँला छिचोलेर घुँडा सम्म पुगेको सुरुवाल त्यो भन्दा माथि सरेन । दाहिने खुट्टो पसारी र घुँडो सुम्सुम्याउन थालि । निक्कै गहिरो चोट त्यो घुँडामा सिम्रिकको माँयाको निसानी भएकाले उ बारम्बार त्यो सुम्सुम्याउँथी ।
२०५६ सालमा एसएलसि दोश्रो श्रेणीमा पास गरे पछि सिम्रिक नेपाली सेनामा भर्ना भयो । सानै देखिका साथी उनिहरु कहिल्यै छुट्टिन चाहेका थिएनन् । तर उनिहरुको चाहना घरको विवसतासँग पराजीत हुनै प¥यो । घरको जेठो छोरा भएकाले परिवारको जिम्मेवारी थाम्न उ देशमा चलेको सशष्त्र द्वन्द्वको जोखिम मोलेर पनि सेनामा लागेको थियो । सिम्रिक भर्ति भए पछि सिमल घरैबाट साईकल पेलेर १ घण्टा टाढाको क्याम्पस पढ्न थालि । सिम्रिक सेनामा भर्ना भए पछि सिमलको घर पर्तिरको त्यहि खोलो पारि रहेको उसको घरमा बिद्रोही आएर छोरालाई जागिरबाट फिर्ता बोलाउन दवाव दिन थाले । केहि उपाय गरि दिन उसका बा–आमाले सिमलसँग गुहार मागे । उसले पनि आँट गरि, आँफै बिद्रोही सेनामा प्रवेश गरेर उसको रक्षा गर्ने । घरमा आमा र भाइलाई पनि थाहै नदिई उ हराई । रुवाबासि चल्यो घरमा ।
उसको पार्टीमा नाम रोजा थियो । पार्टीको सेनाकी उ सानो–तिनो डफ्फाकी नेता भई सकेकी थिई । उ सहितको टोलीले अर्को जिल्लामा रहेको सेनाको गुल्म आक्रमण गर्ने भयो । तर उ भरसक त्यो गुल्ममा आक्रमणको योजना टार्न खोज्थि । कारण, सिम्रिक त्यहि गुल्ममा प्युठ थियो । आखिर पार्टीको निर्णयलाई उसले जित्न सकिन । उ पनि त्यहि लँडाईमा सामेल हुनु प¥यो । रातभरि गोली हानाहान भयो । भरसक उ आफुलाई बिपक्षीको गोली लागे पनि आफुचाँहि रुख र झाडी तिर गोली हान्थि । कतै सिम्रिकलाई लागि हाल्छ कि भनेर । सेना र सिमलको टोलीका गरि ७ लास पसारिए । मध्यरातमा भागाभाग भए पछि गोलीका पर्रा रोकिए । छेउका रुखका बोक्रा त केहि रहेनन् । त्यहि लडाँईमा लागेको हो, उसलाई त्यो घुँडामा गोली । सिम्रिकलाई बचाउन रोजेको बाटो हिँड्दा लागेको ठेसनंै उसको जीवन भरिको निशानी बन्यो । सिमल । नाम जस्तै नरम,कोमल । उ फेरिएको नामकी रोजा जस्तै ‘क्रान्ति’की कठोर बाज बन्न सकिन । फरक–फरक पगामा बाँधिएका उनीहरु बिच निकताको डोरो कहिल्यै चुँडिएन । युद्धका क्रममा सिमल कता पुगि कता । सिम्रिकको घरमा सिमलको पार्टीले ‘छोरोलाई जागिरबाट बोलाउ नत्र ७ कक्षा पढ्दै गरेको भाइ आन्दोलनमा पठाउ’ भने पछि उ जागिर छोड्न बाध्य भयो । युद्ध र प्रेम कहिल्यै एकै ठाँउ बस्न सकेनन् । सिम्रिक जागिर छोडेर सुरक्षा गार्डको जागिर खान बहराईन हानियो । सिमल भन्थि– ‘सिम्रिक, म पार्टीको सिद्धान्त भन्दा बाहिर जान सक्दिन । हामी सामन्तवाद विरुद्धको अन्तिम लँडाईमा छौं । मैले अहिले पार्टी छोडेर गाँउ आँए भने न पार्टीबाटै सुरक्षित हुन्छु न सरकारी सुरक्षाकर्मीबाटै । म आमा र भाइ छोडेर बिदेश गएर आत्मसमर्पणवादी हुन सक्दिन । त्यसैले हाम्रो माँयाको जीत चाहन्छौं भने केहि समय तिमि बाहिर जाउ । सत्य भनेको प्रेम हो । सत्यको जीत हुन्छ । जीत पछि हाम्रो मिलन अवश्य ।’ सिम्रिक सिमलको यहि भनाई र पारिवारीक तथा व्यक्तिगत सुरक्षाका लागि बहराईन पुगेको पनि ७ वर्ष हुन लाग्यो ।
२०६२ सालको अन्त्य तिर वशन्त क्रान्ति भयो । देशमा ठुलै उथल–पुथल भयो । सिमल आफ्नो लँडाईको जीत भएको ठान्थि । उ राष्ट्रिय–अन्तराष्ट्रिय सहमति अनुसार ‘क्याण्टोमेण्ट’मा पुगि । ‘जनयुद्ध’ लडेकाहरुलाई सरकारी सेनामा समायोजन गर्ने सरकारी र उसको पार्टी बिचको सहमति पछि छानविनको क्रम शुरु भयो । राष्ट्रिय–अन्तराष्ट्रिय बिशेषज्ञहरुले छानबिन गरे । उ अयोग्य ठह¥याई । उ बसेको ‘डिभिजन’मा भब्य बिदाई समारोह भयो । बिदाई समारोहमा रगत उमाल्ने भाषणहरु चर्किरहँदा उ निचाल रगतको मुटु बोकेर भित्र पोको पुन्तरो कस्दै थिई । बाहिर बिदाई हुनेहरुलाई क्रमैसँग कमाण्डर र उपस्थित मन्त्रीहरुले नाम बोलाई बिदाई टिका लगाई दिन थाले । उ बिदाईको टिका थाप्ने पङ्तिमा सामेल भई । नाम आयो–‘कमरेड रोजा’ । उ मञ्चमा पुगि र दाहिने हात निधार छेउमा पु¥याएर कस्सिलो मुट्ठि कसेर अभिवादन गर्दै टिका थापि । कठोर युद्ध गर्नेहरुको मनमा पनि त्यसबेला भावुकता र आक्रोशको मिश्रित आँधि चल्दै थियो । कोहि उपस्थित सञ्चारकर्मीलाई आक्रोस पोख्दै थिए–‘हामी युद्ध लडिन्जेल र यि नेताहरुलाई मन्त्री बनाईन्जेल योग्य भयौं, आज अयोग्य । हेरौं, एक दिन इतिहासले हाम्रो पनि हिसाव–किताब चुक्ता गर्नु पर्छ ।’
‘सिमली, हैन क्याहो पारा । भकारी भाँचिञ्जेल अढेस लाग्दैमा भरे गाईले दुध दिन्छ ? घाँस ल्याउनु पर्दैन ? मैले यस्ता घाममा ल्याएको भारीले त भैंसीलाई पनि पुग्दैन ।’ आमाले धोतीका फेरले आमाले अनुहार पुछ्दै आक्रोस पोख्दा उ घुँडै सुम्सुम्याई रहेकी थिई । झल्यास्स ब्युँझे जस्ति भई । केहि बोलिन । सुरुवाल तल सार्दै भित्र पसि । आमा थप्दै थिईन्– ‘अब लडाँई गर्ने जमाना गए । मैले मात्रै के गरेर भ्याउनु । सँगैका साथी कति पढे ? नपढ्नेले घरजम गरेर नानी हुर्काए । एक थोक नभए एक त होस्न ।’
फुत्त भित्र बाट निस्कि । सिमलको फक्रिएके फूलबाट भुवा निस्के जस्तै । बिचारले डो¥याएको बन्दुक सहितको युद्ध हारे पनि उ प्रेमको युद्ध नहार्नेमा ढुक्क थिई । अझै बढि आजै सिम्रिकले पठाएको चिट्ठिले आशाको दियोमा तेल थपेको थियो । जहाँ सिम्रिकले लेखेको थियो–‘खै सिमल, तिमिले आफ्नो युद्ध जित्यौ जितिनौ ? तर प्रेमको युद्ध चाँहि अवश्य जित्ने छौ । म आउने दशैंमा ६ महिनाको छुट्टिमा आउँदैछु । यसै सालको मंसिरमा हाम्रो सम्बन्धले औपचारी रुप लिने छ । त्यस बेला तिमिलाई बन्दुकले लगाएका चोट र मलाई समयको घनले हानेका घाउ एकैचोटि पुरिने छन् ।’

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 बैशाख, 2069

लेखकका अन्य रचनाहरु