अनौठो प्रगति

- विश्वराज अधिकारी

त्यो गाउँको छेउमा चाक्लो, लामो र अति व्यस्त एउटा राजमार्ग थियो। त्यसैले त्यो गाउँका बासिन्दाहरुलाई यातायातको निकै सुबिधा थियो। त्यस्तो राजमार्ग त्यो गाउँको छेउमा भएता पनि त्यो गाउँको आर्थिक विकास भने भएको थिएन, गाउँलेहरुको बुझाईमा। त्यो गाउँको विकास नभएकोमा त्यहाँका सबै बासिन्दाहरु निकै चिंतित थिए। एक दिन गाउँका सबै वुद्धिजिविहरुले आफ्नो गाउँको विकास कसरी गर्न सकिन्छ भनि गंभिर छलभल गरे अनि त्यो गाउँको विकास नहुनुको कारण पत्ता लगाए पनि। पत्ता लगाईएको कारण थियो- गाउँ राजमार्गको छेउमै भएता पनि त्यहाँ गाडीहरु नरोकिनु। र व्यापार व्यवसाय त्यहाँ नफष्टाउनु।
त्यो गाउँका सबै प्रभावशाली व्यक्तिहरुले त्यो गाउँमा गाडीहरु अनिवार्य रुपमा रोक्न लगाउने, गाडिहरुले त्यस्तो नगरे आन्दोलन गर्ने, र यदि आन्दोलनको क्रममा हिँसाको प्रयोग गर्न परे पनि पछि नपर्ने निर्णय गरे।
त्यो गाउँको त्यो व्यस्त राजमार्ग छेउमा बस पार्क बन्यो। गाडीहरु त्यो गाउँको त्यो बस पार्कमा रोकिन थाले। बस पार्कमा अपेक्षा गरिए भन्दा पनि बढी व्यापारिक चहल पहल हुन थाल्यो, धेरै गाडीहरु रोकिएको कारणले गर्दा। त्यो गाउँ ज्यादै नै ब्यस्त र अति नै मुनाफा हुने बजारमा परिणत भयो। अचम्म भयो, त्यो गाउँको बजारमा व्यापार गर्नेहरु, जो बाहिरबाट आएका थिए, ले लाखौ, करोडौ रुपैयाँ कमाउन थाले। तर अर्को पनि अचम्म भयो, त्यो गाउँका सबै बासिन्दाहरु आफ्नो घर जग्गा बेचेर अर्को गाउँमा बसाइ सरे। अरु ठाउँबाट आएका व्यापारीहरुले त्यो गाउँका सबै बासिन्दाहरुको घर जग्गा ज्यादै बढी मूल्य दिएर खरिद गरि दिए। त्यो गाउँका बासिन्दाहरु धेरै पैसा पाएको हुनाले ज्यादै खुसी हुँदै अर्को नयाँ गाउँमा बसाइ सरे। तर नयाँ गाउँमा गए पछि भने त्यसरी बसाई सर्नेहरु त्यो व्यस्त राजमार्गबाट धेरै नै टाढा हुन पुगेका थिए। त्यो नयाँ गाउँ त्यो व्यस्त राजमार्गदेखि धेरै नै टाढा थियो।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 3 बैशाख, 2069

लेखकका अन्य रचनाहरु