मेजोँ चान्स

- सञ्जु बजगाईं

हरेकदिन जर्जकोटलाईनको बाटो भएर युनिभर्सिटी जानु पर्छ । देब्रेतिरको निलो रङ्ग पोतिएको घरको भित्तो हप्तैपिच्छे नयाँ–नयाँ सूचनाले भरिएको हुन्छ । फ्रान्सको यो ब्यस्त शहरको चाला हेर्दा लाग्छ यत्तिका सूचना पढ्ने फुर्सद कसको होला ? आजसम्म कसैले एक मिनेट उभिएर कुनै सूचना पढेको त के, हेरेकोसम्म मैले देखेको छैन !

म पनि त्यस्तै हुँ । हतारमा निस्कन्छु र हतारमा फर्किन्छु ।

आज बिहानैदेखि झलमल ! म घर बाहिर निस्कदा क्याफे तथा रेस्टुरेन्टका रङ्गीन छाताहरुले जर्जकोटलाईन रङ्गमञ्च जसरी सिँगारिई सकेछ । मे महिनाको पहिलो हप्तै यस्तो रौसिएको घाम ! समुद्रका छालहरु उर्लिने भए सुन्दरीहरुका पिडौलामाथि ! आफै पनि रोमाञ्चित भएँ अलिकति ।
“म पनि सुन्दरी नै त हो नि !” हिड्दा हिड्दै मनले भन्यो अनि ब्यागभित्रको सानो ऐना हेरुँहेरुँ लाग्यो ।

तर आँट पुगेन । अस्ट्रेलियन आईसक्रिम कर्नरको कालेले मैतिर आँखा लगाउँदै थियो ।

“मोरो हप्सी ......!” रीसको पारोले सय डिग्री काट्यो ।

“के तपाईं फ्रान्स, स्वीटजरल्याण्ड, क्यानडामा बसोबास गर्नुहुन्छ र छुट्टी मनाउन भियतनामको ‘हो चि मिन्ह’ सिटी जाने बिचारमा हुनुहुन्छ ? के तपाईको लगेजमा अलिकति ठाउँ खालि छ र अरु अलिकति वजन लैजानका लागि राजी हुनसक्नु हुन्छ ? सम्पर्क गर्नुहोला......'मेजोँ चान्स'....।”
निलो घरको भित्तोमा पनि ठूल्ठूला अक्षरहरुले भरिएको रातो ब्यानर टाँगिएछ । परैबाट पढें सूचना । बल्ल थाहा लाग्यो निलो भित्तो भएको घर ‘मेँजो चान्स’ नामक संस्थाको रहेछ । छुट्टीको मौसमको शुरुवातमै टाँगिएको यो सूचना ब्यानरले मान्छेलाई राम्रै तान्न सक्ने देखें मैले ।
“छुट्टी मनाउन नेपाल जाँदैहुनुहुन्छ भनेर लेख्नु नि...............!” लाग्यो सन्तेको नाममा एउटा पार्सल त पर्ने थियो होला कसैको खाली लगेजमा !

भाग्य भए पो ! बाटै छेक्न आईपुगेको सन्तेको अभागी अनुहारको झझल्को पन्छाउँदै अघि बढे म ।

मौसम राम्रो त मनोवाद पनि राम्रो ! सन्तेको अभागी अनुहार पनि राम्रो लाग्यो एकैछिन । मेट्रोबाट बाहिर निस्कदाको मान्छेहरुको भीड राम्रो, जीप्सीको बाजा बजाई राम्रो, जँड्याहा मगन्तेहरुको भिख मगाई पनि राम्रो । सब राम्रो । युनिभर्सिटी आईपुगिन्जेल जे–जे भेटिए सब राम्रा लागे आज ।
अझ युनिभर्सिटीको महौल झनै राम्रो ! क्लासमा पुग्दा त सबका सब मिनी स्कर्टमा ! मिनी स्र्कट हिजो साँझ नै ड्रेसिङ्ग रुममा निस्किईसकेका थिए क्यारे ! हुनत यी गोरीहरुलाई मिनी स्कर्टको अर्थ मेरै हिसाबको लाग्छ भन्ने के छ ? पिँडौला देखाउने मौलिक संस्कार हाम्रो कहाँ हुनु ? भर्खरैदेखि आधुनिकताको नाममा संस्कारलाई मिच्न थालेका छौ । तर यी फैसन कन्सियस छन् । सिजनेवल लुगा लगाउँछन् ।

“हाई एभा ....!” सधैंजस्तै सरासर उसकै पछाडीको सिटमा गएर बसे ।

एभाको नजिक पुगेर आज मलाई सबथोक राम्रा लागे कसरी भनुँ ? उसको निन्याउरो अनुहार, मनभरि बन्द हुन बाध्य उसका तरुनी रहरहरु मलाई कहिल्यै राम्रा लाग्दैनन् । मौसमको फेरबदलले उसलाई बदल्ने तागत राख्दैन । तर पनि सन्तेभन्दा कति हो कति भाग्यभानी छे । अहिलेका लागि उसलाई सन्तेसँग दाँजेर चित्त बुझाएँ ।

मभित्रको संवेदना एभासँग चुम्बकीय पारामा टाँसिएको छ शुरुदेखि नै । फरक ऊ, फरक म अनि फरक अरुहरु ! मलाई उसको फरक शारीरिक बनौटले धकेल्दैन बरु तानिरहेको छ । के म उदार चरित्रको प्रयोगात्मक अभ्यासमा लागेकी हुँ त ? यो प्रश्न आफ्नै ईमान्दारीताको जाँच गर्न धेरै अगाडिदेखि आफैंभित्र उठेको । यसको तत्कालिन मौलिक जवाफ छैन मसँग । तरपनि एभासँगको सामीप्यता मन परिरहेको छ मलाई ।

“फर्सीका मुन्टाजस्तै हुनु नि अङ्गहरु ! चटक्क टिप्यो फेरी पलाउने !”

एभालाई देख्यो कि यही स्वैरकल्पना घुम्छ मेरो मस्तिष्कमा । कहिलेकाहीं सपनीमा सन्तेलाई बोकेर आजाद उडेजस्तो !

“के संझनु त्यस अभागीलाई ? हप्ताभरीको बसाईमा कति राम्रा सपनीहरु उसकै कर्कश आवाजले बिथोलिएका थिए ।” एभासँग नजिकिँदा सन्तेलाई बिर्सन खोजे एकैछिन ।

“चार बजे भिक्टोरियन कयाफे है, लास्ट समर हामी सबको ।” क्लास शुरु हुन नपाउँदै ग्याम्जे

‘मेसेज’ बाँड्दै हाम्रो सिटसम्म आईपुगी सकेकी थिई ।

“भिक्टोरियन क्याफे, नो...... म आउन्न ।” उसको प्रस्ताब मैले सिधै नकारे ।

“मेरो पनि ‘मेजो चान्स’ मा एपोईन्टमेन्ट छ ।” एभाले पनि ईन्कार गरी ।

तीन बजे क्लास सकियो । हामी लाग्यौ आ–आफ्नै बाटो ।

......................................

“ईट वाज अमेजिङ्ग .........!” बेलुकी आठ नबज्दै ग्याम्जेले ट्वीट गर्न भ्याई सकिछ ।

“होप... लास्ट टाईमको जस्तो पक्कै भएन होला ।” मैले लेखिदिएँ ।

रीस त मलाई दिउँसो नै उठेको । भिक्टोरियन क्याफे नरोजेकी भए के थाहा म पनि जान्थे कि ? फेरी जसलाई निषेध छ उसैलाई चहार्नु पर्ने भएभरका क्याफे ! यो सालको ‘न्यू ईयर ईभ’मा कत्रो सास्ती पाएकी थिई । टर्की मूलको उसको बाबु तीस बर्षदेखि फ्रान्स बसे पनि कस्तो कट्टर ईस्लाम रहेछ । आईपुग्यो टुप्लुक्क ! उसैले देखि पहिले । चुस्की लाउन ठीक्क पारेको वाईन ग्लास भुँईतिर बजारेर कुदी । आधाघण्टा ट्वाईलेट रुङ्दा कस्तो बेहाल भएको मोरीको !

“थ्याङ्क्स गड, .......अन्त्यत ‘मेँजो चान्स’ले मलाई चान्स दियो ।” एभाले पनि फेसबुक ‘स्ट्याटस’ लेखि सकि छ ।

यी ट्वीटर, फेसबुक, स्काईप सब ‘टाईम किलर’ भएका छन् । मनले माने पो ! चासो लागि जान्छ । ‘मेँजो चान्स’ को कुरा के होला ? एभालाई समेत चान्स मिल्ने ! फेरी पार्सल पठाउने सूचना हिजै हो मैले पढेको । त्यही ठाउँमा उसले काम पाई । सानोतिनो काम मलाई पनि मिले सन्तेलाई राहत हुने थियो ।

फेरी उही सन्तेको अनुहार मेरो ल्यापटपको स्क्रीनभरि आयो र मलाई बिथोल्यो ।
“कङ्ग्रयाचुलेशन......! म ‘मँेजो चान्स’ को अफिस नजिकै बस्छु । म तिमीलाई तिम्रै अफिसमा आएर अर्को एकपटक बधाईदिनेछु ।” बधाई दिने बहानामा एभाको ‘स्ट्याटस’ को कमेन्ट बक्समा आफ्नो कुरा लेखिदिएँ ।

“सन्ते, भोली कसले देखेको छ र...... ?” मैले लामो श्वास ताने । मेरो अन्र्तध्वनिको अनुगुञ्जन सन्तेसम्म पुर्याउँन चाहन्थे शायद म ।

सन्तेको जीन्दगी बदल्न पाए के चाहियो मलाई ? श्वास मैले जस्तै गरी फेर्छ । अक्सिजन तान्यो कार्वनडाईअक्साईड फाल्यो । बिचरा ! उसको घरै मुन्तिरबाट मान्छे बोकेर सयौ चारपाङ्ग्रे पनि कार्बन फाल्दै कुदिरहेकै होलान् अहिले पनि । तर को रोकियो आजसम्म उसका लागि ? बिटाका बिटा पैसा बोकेर कति व्यापारी कुदे, कति लुटेरा कुदे, कति नेता कुदे, कति भ्रष्टाचारी कुदे । सन्तेका कानमा केवल गाडीको झर्को लाग्दो हर्न मात्र बज्दो छ उहिल्यैदेखि ।

सबथोक बिना मार्क, बिना लेबलको ब्यापार भएको हो त आजभोली ? नाफा हुनुपर्ने ! आत्मियता, विद्धता, मित्रता, संवेदनाको किनबेच कसरी संभव भएको ? तर पनि यी खैरेहरु गोर्खाली ईमान्दारीताको कुरा गर्छन् प्रसङ्ग पर्दा । ग्लोवल वार्मिङ्गले सगरमाथाको हिउँ पग्लिएको नाप्न सक्ने यिनीहरुको क्षमताले घट्तै गएको आत्मियताको लेबल कहिले ठम्याउँला ?

सन्तेसँग जोडिएर कुराहरु कहाँ–कहाँ पुगे । लग आउट गरीसकेकी थिईन फेसबुक अकाउण्टको नोटिफिकेशनमा रातो बल्यो ।

“थ्याङ्स डियर ! यदि तिमीलाई ‘मेजो चान्स’ हेर्न र बुभ्न मन भए अर्को हप्ताको मंगलबार आउ ।” एभाको जवाफ थियो । ..........................................
मंगलबार बिहान नौ नबज्दै रिसेप्सनमा पुगें ।

“मिस एभालाई भेट्न सक्छु ?” खुब उत्साहित थिएँ म ।

अफ्रिकन मूलकी काली रिसेप्सनिस्टले मलाई घुरेर हेर्दै सोधी – “तिम्रो एपोईन्मेन्ट छ ?”

“एपोईन्टमेन्ट त छैन तर तिम्रो क्लासमेट भेट्न आएकी छ भनिदेउ न ।” मैले कालीलाई बिनम्रतापुर्वक भने ।

त्यसले पर्खन आग्रह गरी ।

रिसेप्सन भब्य लाग्यो । सफा । भित्ताहरु निलो रङ्ग पोतिएका ।

– “कल्पना गर कि तिमी अपाङ्ग छौ र सबलाङ्गहरुले गर्ने अधिकांश काम तिमी जीवनभर गर्न असमर्थ छौ.......।

–“निलो अर्थात आशावादी रङ्ग !”

– “हाम्रो आम्दानीको तीन प्रतिशत एडमिनिस्ट्रेटिभ काममा खर्च हुन्छ र बाँकी सबै रकम ‘मेजो चान्स’ मा बस्नेहरुका लागि छुट्याईन्छ.........।”

यस्तै–यस्तै कुराहरु लेखिएका थुप्रै बोर्डहरुका साथै फोटोहरु पनि भित्तामा झुण्डिएका थिए ।
फोटोहरु हेरेपछि एकातिर सही बाटो पैल्याएँछु भन्ने लाग्यो भने अर्कोतिर बोर्डमा लेखिएका कुराहरुले ईमान्दारीता र संवेदनशीलताको हद केले नाप्ने भन्ने शंका उत्पन्न गरायो । यी दुई भिन्न कुराबीच एकैछिन म रन्थनिएँ । कताकता डर पैदा भो । मेरो परिचयले मेरो राष्ट्रको नक्सा बोक्छ । सन्तेको दुर्भाग्य ! म कुन शब्दले बुझाउँला ? मेरा आँखाका निर्मल नानीहरुमा जीवित सन्तेको श–शरीर उपस्थिती पानी भएर बग्न खोज्यो एकैछिन ।

“हे....! आउ भित्र ।” रिसेप्सन हलमा बसिरहेकी म एभाको आवाजले झस्किदै उठे ।

हामीले संबोधनमा गाला जोडाजोड गर्यौ ।

“बधाई.....मुरी–मुरी बधाई !” भित्रै हृदयबाट बोले म ।

ऊ उस्तै थिई । हिजो जस्तो त्यस्तै । मात्र उसको जिम्मेवारी परिर्वतन भएको थियो । तर म ? किन–किन हिजो जे थिएँ त्योभन्दा भिन्न महशुस गरिहेकी थिएँ । हिजोसम्म हलुङ्गेको थालमा भातका सिताहरु टिप्थे, प्रत्येक छाक कहाँ हुनु ! कहिलेकाहीं भोकै बस्ने संझौता गर्थे । आङ्गको लुगा सधै सग्लो कहाँ हुनु ! अनि चप्पलजुत्ताको के कुरा, खालीखुट्टा गाईबस्तुसँग गोठाले लुकामारीमा खेल्थे । कसरी पत्याउँनु कहाँ त्यो उपेक्षित जीन्दगीको जर्जर पाटो कहाँ अहिलेको अर्थ बोकेको दैनिकीको उर्वर पाटो ! आखिर सबैभन्दा महत्वको के त ? प्रश्नले मनमा जाल हान्यो । त्यसकै तरङ्गलाई खेलाउँदै मेरो सबलाङ्ग शरिर एभाको पछि लाग्यो ।

हामी मुखामुख भएर बस्यौं । उसको कुर्सी र मेरो कुर्सीलाई बिचको टेबलले अलग्याएको थियो । म विश्वास गर्न सकिरहेकी थिईन । म सबलाङ्ग, ऊ खुट्टा नभएकी अपाङ्ग, उसको पद, अनि ‘मेजोँ चान्स’ कसरी एकै ठाउँ संभव भैरहेछ ?

“तिम्रो अफिस कस्तो भब्य रहेछ ।” बोले म ।

“साँच्चै हगि ! तर हेरन अर्को हप्ता म भने भियतनाम जाँदैछु ।”

उसले योजना सुनाउँदै थपि –“त्यहाँ मजस्ता थुप्रै अभागीहरुलाई सहयोग गर्नु छ ।”

“तिमी कसरी यहाँ आईपुग्यौ ?” थोरै आश्चार्य मिसिएको थियो मेरो आवाज ।

“यो संस्था नै अपाङ्ग, असाहयहरुका लागि हो त नि !” उसले मेरो आश्चार्य भङ्ग गरी ।

“योजना त मेरो पनि छ ।” अलिकति अड्किएँ अनि भने– “तिमीले जस्तो धेरैलाई त होईन तर

एउटालाई भने पक्कै सहयोग गर्ने छु ।” “को हो त्यो स्पेशल ?” साथी न हो ! ठट्यौलो पारामा सोधि उसले ।

“सन्ते ! सन्त बहादुर क्षेत्री ! तर उसलाई सबैले बधुँवा भन्छन् ।” मैले सन्तेको नाम भनेँ ।
आफ्नै देशमा आफ्नो नामको सग्लो रुप हराएर बाँचेको सन्तेको पुरा नाम यो बिरानो मुलुकमा कसैले ध्यान दिएर सुनिदिदै थियो ।

“हेरन, बिचरा बर्षौदेखि कस्तो पीडा शहेर बाँचेको छ ।” आफूले देखेको सन्तेको दैनिकी एभाका आँखामै टाँसौलाझैं गरी मैले भने –“पाँच बर्षको उमेरदेखि गोठमा पशु जस्तै बाँधेर राखेका छन् ।”
आलो घाउ चह¥याए जस्तै भो मलाई यति सुनाउँदा ।

“मान्छेलाई बाँधेर राखेको ........! किन ?” उसका आँखा दुईगुणा ठूला भए ।

“मानसिक र शारिरीक अपाङ्ग छ त्यसैले बाँधेर राखेको । मैले भने ।

“तिमीले केही गरिनौ त उसका लागि ?” उसले सोधि ।

“मैले मात्र हैन अरु कसैले केही गरेका छैनन् उसका लागि ।” मैले भने ।

“उसका आमाबाबु छैनन् ?” एभाले अर्को प्रश्न गरी ।

“आमाबाबु दुवै छन् तर सन्तेलाई बिहान बेलुकीको खाना बाहेक अरु केही दिन सक्ने सामथ्र्य छैन उनीहरुसँग । सन्तेको उपचार गर्दा भएको सम्पत्ति सबै सकेर रित्ता भई बाँचेका छन् ।” मैले थपें ।

म सबथोक सुनाउन चाहन्थे एभालाई ता कि सन्तेको उद्धार हुन सकोस् । सन्तेलाई देखेका दिनदेखि मेरो मनमा शान्ति छैन । केही घोच्ने बस्तुले चिथोर्दो छ भित्रभित्रै । मेरी फूपुले सन्तेको घरछेउ बसाईं नसरेकी भए म सन्तेको दुर्भाग्यमा भाग लिने थिईन । मैले सन्तेको मात्र होईन सन्तेकी आमाको पनि प्रतक्ष्य दुर्दशा देखेकी छु । एउटी आमाले आफ्नै सन्तानलाई पशु सरह बाँधेर राख्दा उसको मन कति बाँचेको होला ? आमा हुनुको कर्तब्यलाई बिर्सन नसकेर ऊ पल–पल मर्दै बाँचेकी थिई जसको म आज पनि अन्दाज मात्र गर्न सक्छु ।

‘आफ्नो सन्तानलाई किन गोठमा बाँध्नु भएको त ?’ मैले सन्तेकी आमालाई सोधेकी थिएँ ।
जवाफमा उसले भनि – ‘दिनभर काम गर्न निस्कनु पर्छ । लिएर जान मिल्दैन । घरभित्र छोडे केही राख्दैन सग्लो । हामी बाबुआमा बाहेक अरु मान्छे छेउ परे राक्षसले जस्तो टोक्न झम्टिन्छ । यहाँ यो गाईबाच्छोसँग एकोहोरिएर बस्छ त्यसैले यहीं बाँधेको ।’

यस्तो सुन्दा कस्ले भन्न सक्ने ऊ बाँचेकी छ ? ऊ त सन्तेका खातिर सास फेरिरहेकी छ ।
“तिमीसँग उसको फोटो छ ?” मैले सुनाएको नपत्याउँदो सत्य तस्वीरमै भए पनि हेर्न आतुर भई एभा ।
“झझल्को छ तस्वीर छैन ।” मैले भने ।

तस्वीर नभएपनि सन्तेको जीवन्त पीडा मैभित्र बाँचेको छ । मैले पहिलो पटक उसलाई देख्दा गाईको बाछोछेउ ओछ्याएको गुन्द्रीमा लमतन्न परेर निदाएको थियो । पाखुरामा दाम्लोले बेरेर किलामा बाँधिएको थियो । पातलो मैलो कम्बलले जीउ ढाकिएको भएपनि अनुहार भने राम्ररी देखिन्थ्यो । फुस्रो र मैलो देखिएको उसको अनुहारमा उसकै काला लामा नङले चिथोरेर खत मज्जाले देखिन्थे । कपाल फोहोर बेरिएर लट्टा परेको थियो । छेवैमा स्टीलको एउटा थाल र लोटा लडिरहेका थिए । गरीब हुनुको अर्थ राम्ररी बुझेकी भएपनि अपाङ्ग हुनुको पीडा यो हदसम्म मैले कहिल्यै देखेकी थिईन । जे मैले देखें त्यो मानविय मूल्य विपरीत थियो ।

त्यो निरीह गरिबीको मूल्य ईमान्दार भएर चुकाउँदै थियो । मानव र पशुबिचको दोहोरो संसार शब्दमा ब्यक्त गर्न नसके पनि उसका आँखाहरुले उद्धारको याचना गरेको प्रष्ट देखिन्थ्यो । दोस्रोदिन मैले चकलेटको प्याकेट लगेर दिएँ । डर थियो मलाई उसको राक्षसी स्वभावको । तर त्यसले चकलेटको प्याकेट स्वीकार्यो । ओल्टाई पल्टाई गर्यो । उसकी आमाले एउटा खोलेर खान दिई । चकलेटको गुलियोपनले त्यो खुब रमायो । त्यसले हातखुट्टा नचायो । चिच्यायो । बाँधेको दाम्लो चुँडाउँलाझैं गरी किनैबेर वर र पर गर्यो । यो सब छेउमै बसेकी सन्तेकी आमाले आँशुका धारा बगाउँदै हेरिरही ।

शहनशिलताको अन्त्य नदेखेर सन्तेकी आमालाई मैले सोधें – ‘यस्तो सबै भोगेर पनि जिन्दगी चलाईरहनु भएको छ हगि !’ उसले भनि – ‘दिनभर त हाँस्छु पनि । खेतका गरा, काँल्लामा बस्तुभाउ चरेको हेर्छु , छेउछाउमा चराचुरुङ्गीको चिरबिराहटले के–के भनेर जान्छ । माथितिरको आकाश पनि राम्रो लाग्छ । यिनै कुराले पो डोर्याईरहेको होला प्राण धान्न ।’

उसको कुराको अनुगुञ्जन कानैमा ताजै छ अहिलेसम्म । यस्तै कुराले डोर्याएर होला म पनि यहाँसम्म सन्तेको पीडा सुनाउन आईपुगेकी छु ।

“तिमीलाई लाग्दैन उसको उपचार गर्न सकिन्छ ?” मेरो कुराहरु सुनेपछि समाधानतर्फ लागेकी हुनु पर्छ एभा ।

मैले यस्तै मौकाको पर्खाईमा थिएँ जहाँ कसैले सन्तेलाई डोर्याउन सक्ने नयाँ बाटोका बारे बोलिदियोस् । यो मौका मलाई पहिले मिलेन । घरतिरकाले त भने– ‘यस्ता कयौ सन्तेहरु छन् कतिलाई हेरी साध्ये ?’ त्यो बेला निरीह लाग्यो आफ्नै उदेश्य । तर मेरो लामो प्रयासपछि आज हाम्रो बिचमा सन्ते आईपुगेको थियो ।

“खर्च जुटाउन सके उपचार पक्कै गर्न सकिन्छ ।” मैले भने ।

अपाङ्गलाई सबलाङ्ग बनाउन सक्ने को भगवान् हो र ? तर सन्तेलाई मानवीय जीवन दिएर कमसेकम मानवीयताको न्यूनतम ईज्जत राख्न चाहन्थ्यौं हामी । सन्तेका लागि यो भन्दा ठूलो उपचार के हुनु ?

हामी दुई साथी ‘मेँजो चान्स’ भित्र सन्तेलाई ‘चान्स’ दिन निकैबेर घोत्लियौं ।

“म यहाँ अफिसमा अनुकुल मिलाएर यो कुरा राख्ने छु ।” केहीबेर अडिएर एभाले टेबलको कलम टोक्दै बोली– “मेरो पहिलो तलब उसैलाई दिन्छु के त्यो मान्छेलाई तत्काल घरभित्र राख्ने कुनै उपाय छ ?”

उसको कुराले म अवाक् भएँ । उसको परिश्रम कसरी स्वीकार्नु ? ऊ आफैं अपाङ्ग थिई । म त केवल ‘मेजोँ चान्स’ को सहयोग जुटाउने ध्याउन्नमा एभालाई माध्यम बनाउन चाहन्थे ।

“म तिमीलाई त्यति दुःख दिन चाहन्न मिलेसम्म ‘मेजोँ चान्स’ भित्र सन्तेको कुरा पुर्याईदेउ त्यो नै उसका लागि ठूलो हुनेछ ।” एभाको आग्रह स्वीकार्न नसक्दा एक पाईला पछि सर्न बाध्य भएँ ।
“काम गरे तलब बाह्रै महिना आईजान्छ तर तिम्रो सन्तेको जीवन बाह्रै महिना चल्ला भन्ने के ठेगान ?” उसले टेबलमा राखेको ग्लोवलाई एक फन्को घुमाई र भनि – “यो महिनाको अन्तिम दिन सन्तेलाई मैले दिने रकमको चेक तिम्रो हातमा दिनेछु । एभाको निर्णय सुन्दा मानवतालाई उकास्न मानवताकै धरौटी राखे जस्तो लाग्यो । आफू बाँधिए पनि सन्ते फुकुवा भएको खुशी बोकेर कुर्सीबाट म उठें । टेबुलको ग्लोब भने मन्द गतिमा अझै घुमिरहेको थियो ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 चैत्र, 2068

लेखकका अन्य रचनाहरु