होली हेर्दै नवलपरासी

- भेषराज रिजाल

पर्वमा इलामसम्म पुगेर र्फकंदै गर्दा घर परिवारबाट भएको बोलाबटले मनमा एउटा पारिवारिक मिलनको मनोकांक्षा बढ्दै थियो । तीन दिने र्सार्वजनिक विदाको बीचमा परेको शुक्रबारलाई क्याजुयल विदामा गाभ्न पाएपछि २०६८ साल फागुनको अन्त्यमा म काठमाडौंबाट नवलपरासीतर्फहानिएँ । चाडबाडका बेलाको चर्को यातायात भाडाको मार सहँदै कलंकीबाट नारायणगढका लागि माइक्रो चढियो । सिटमा बसेको आधा घण्टा पछि गाडी गुडयो ।
अभ्यस्त यात्रा, परिचित भूगोल -यिनले एउटा निश्चिन्तता दिन्छन् यात्रुलाई । होलीको दिन भएकाले गाडीका झ्याल ढोका वरपर लाग्ने एकाध लोला सामान्य नै हुन् । थानकोट पार्क नजिकैबाट गुर्जिँदा हानिएको एउटा लोलाले होलीको याद गरायो । अलि समयदेखि अस्वस्थ्य शरीरले गर्दा नचंगिएको मनमा एउटा तरङ्ग । तर "तीक्ष्ण मस्तिष्कका लागि स्वस्थ्य शरीर" भन्ने कसैको भनाइ याद भइरहेको थियो । गाडीमा बजेका पुराना हिन्दी गीतहरू, सानो गाडीको चुपचापप्रायः स्थिति र खाली बाटाले मेरो मनका उदास पानाहरूलाई अहँ पटक्कै छुनै सक्दैनन् ।
नौबीसेबाट बाइरोडको बाटो छुट्टयिो । केही अगाडि तरकारीका स-साना गराहरू । "अचल सम्पत्तिको सट्टा जसको करेसाबारीमा बढी तरकारी फल्छ, उसलाई धनी मानिन्छ अचेल" भन्ने कसैको भनाइ सम्झायो । काउली, बन्दा र आलुका फाँटहरूले त्यही भनाइ प्रतिध्वनित गरिरहेझैँ लाग्थ्यो ।
खोलामा थोरै पानी । खोलाको किनारै किनार गुडिरहेको सडक । सडकको निरन्तरतालाई मापन गरिरहेको पाङ्ग्रामाथि अडिएर मैले राजधानीका छिमेकमा रहेका उराठ लाग्दा डाँडाहरू नियाल्दै थिएँ । होचा थुम्काहरू । थुम्कामा स-साना झुप्राहरू । फागुन चैतको खडेरी । दृष्य दुनियाका लागि पटक्कै हाइजेनिक थिएनन् । रातो माटो र सुख्खाग्रस्त परिदृष्यलाई वरपर देखिने गिटी र बालुवाका थुप्राहरूले झन् उराठ लाग्दो बनाएका थिए । कंक्रिटको जङ्गल बन्दै गइरहेको काठमाडौंका लागि हुनुपर्छ ती गिटी र बालुवाका थुप्राहरू । यो जोसुकैले गरे पनि मिल्ने लख ।
बिहानै आमाको फोन । फेरि जीवन सङ्गीनी र सानी छोरीको फोन । यी मेरो जीवन्त संसारका सशक्त तरङ्गहरू हुन । यस्तै फोनहरू सुनिरहने इन्द्रिय कामना । शब्द, दृष्य र र्स्पर्शप्रतिको चाहना । "विषयदेखि टाढा रहनुपर्छ" कतै सुनिने याचना । "विषय कण्ठ गर" केटाकेटीमा विद्यालयका गुरूहरूका मन्त्रणा । खोइ के गरूँ मैले । केही नबुझेरै जीवन बितिरहेछ खुरूखुरू । जसले जे भने पनि जसले जे गरे पनि खै किन किन सबै ठीक लाग्न थालिरहेको छ । सभ्य भनिनेहरूका सभ्यता । असभ्य भनिनेहरूका असभ्यता । कहाँनेर छ खै पृथकता । रनभुल्लमा पर्छु । बरू निरपेक्षता’ भन्ने शब्दप्रति साँच्चै अगाध आस्था बढेझैँ हुन्छ । धार्मिक निरपेक्षता, ....व्यवहार निरपेक्षता, ....पार्टी निरपेक्षता,...। निरपेक्षता भन्नु सबै प्रतिको सापेक्षता त हैन - म किन यस्ता तर्कनामा हराएँ खै - कतै जोगी बन्न लागिएको त होइन । आफैसँग हाँसो उठ्छ ।
गाडी रोकिन्छ । काँक्रा, पानी राखिएको एउटा भित्ताको छाप्रो । थालमा भर्खरै निस्तो निस्तो भात लिएर खाँदै गरेकी एउटी दिदीसँग सोध्छु -"यो कुन ठाउँ हो -"
"बयरघाट ।"
तल खोला । घुम्तीयुक्त साँघुरो सडक । दिदीले भातको गास घाँटीमै अड्केजसरी बोलिन -"महेश खोला ।" सधैँ हिँड्ने भएर पनि चासो नराख्दा थाहै नपाइएको बाटो, घुम्ती, खोला खोल्साहरू । जहाँ पायो त्यहीँ पिसाब फेर्ने चलन । गाडी आइरहे पनि, गइरहे पनि नदेखेझैँ गरी कान ढाले पछि कस्को के लाग्छ र -
बेल्खु खोला । आदमघाट । आदमघाटको पारिपट्ट िझोलुङ्गे पुलले जोडिएको सुन्दर वस्ती । सालको जङ्गल । सालका पात पहेँलिन थालेछन् । चैतमा र्झनका लागि फागुनको अन्त्यमा नपहेँलिएर सुखै छैन ।
खोला ठूलो हुन थाल्यो । खोला किनारमा बालुवा निकाल्ने मेशिनहरू । लोकमार्गको किनारमा झुप्राहरू । ती दृष्यहरू हुनु वा नहुनुले कुनै फरक नपर्ला जस्तो । भएर पनि कुनै महत्ता नभएजस्तो । नभए पनि केही नापिँदैन जस्तो । खोला किनारमा गिटी, बालुवा भएर करोडौँ पल्टिरहेछ । बेथितिले जति सक्छ उठाउँछ । चोर्छ । लुट्छ । एकजना प्राध्यापकलाई सम्झन्छु -डा. जनार्दन पन्थी । मेरो शोधपत्र भाइवाका क्रममा भेट भएका गुरू । उनले भनेका थिए -"कानुनसम्मत चोरी -थिभ्स बाइ रूल)" । हेर्दा नियमसंगत तर चोरी, भष्ट्राचारी, बेइमानी । सचेतहरूका लागि नियम संगत । निरीहहरू बोल्नै नसक्ने । यसै भएर लुटाहाहरू रमाउँछन् यहाँ ।
नदी किनारमा केही गाडी । नदी पारि हेलिकप्टर । मान्छेहरूको पातलो उपस्थिति । एउटा ब्यानरले वस्तुस्थितिको सार बताइरहेको थियो -धादिङ कृषि महोत्सव । फर्कि फर्कि हेरेँ । नदी धमिलो थियो । सडकमा हिँडिरहेका एकाध युवायुवतीका गाला मात्र रङ्गीन थिए ।
बाटाको नागबेली । खोलाको गुडुल्की । यी दुबैलाई सुहाउने गरी पारिपट्टी सुन्दर चौर । शान्त बगेको निलो खोलाको सुनसान किनारा । पर्यटन विकास गर्न सकिने सम्भावनाबीच पनि टुहुरे चाला । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ । अर्कै धुनमा मस्त शासक प्रशासक । नदीको गन्तब्यतर्फकुदिरहेको सडकसँग त्रि्र हुन्छ विचार ।
धादिङबेँसीका लागि बाटो खोला तरेर बायाँ लाग्यो । केही अगाडि मलेखु झुल्क्यो । माछाका लागि नाम चलाइएको ठाउँ । माछाका सुकुटीको माला भिरेर आत्मगौरब गरिरहेझैँ । दायाँतर्फखोला । खोलामा माछा त अवश्य होलान् । तर जनकपुरे माछालाई पनि आफ्नो व्यापारमा मिसाउँछ मलेखुले भन्ने आरोप खेपिरहेको छ मलेखु ।
नदीको आकार बढ्दै गइरहेको थियो । बाल्यकालबाट प्रौढतिर बढेजसरी । मैले कुरा खेलाएँ -खोलाको बढयौली सागर रहेछ कि । परिपक्वता -प्रौढता -विचारको गहनता -अवशान । शून्यमा शून्य विलाएजस्तै सागरको नूनिलो खारमा नदी नून भएर थिग्रिने र वाफ भएर रित्तिने गर्दो रहेछ कि - नजिकको नदी हेरेँ । त्यहाँ त नदी भर्खर वैशमा थियो । छेउको हरियाली र सुन्दरताले नदीलाई झन् वैँशालु बनाइरहेका थिए । सुस्तरी बहेको शितल हावा । त्यसैले भनिएको होला शीलत बजार । नदी किनारको एउटा वस्ती ।
नदीको पारिपट्ट िदायाँ किनारमा सुन्दर फाँट । गहुँबाली, तरकारी र बोट वृक्षले अलेली छेलिएका घर आँगन । अलिकति जुल्फी अनुहारतिर झारेकी सुन्दरीजस्तै । पारिवारिक मिलनका लागि आतुर वासन्ती मनले सुन्दरता तौलन खोज्छ । सुन्दरतासँगै रमाउन खोज्छ । जिस्किन खोज्छ । मच्चिन खोज्छ । नमच्चिने पिङको सय झड्का भन्ने उखान सम्झेर मनमनै हाँसो लाग्छ । मन मच्चिन्छ । शरीर गाडीको झ्याकझुकमा थच्चिन्छ । लाग्छ, उखान जुराउनेहरू पनि ठूलै विद्वान हुन ।
सुतरीले सामान तार्न खोज्ने नदी पारिका वस्ती देख्दा अत्यास लाग्न थाल्छ । मोटर बाटोको गतिशीलता हेरेर कसरी स्थिर भएर बसेका होलान् ती वस्तीहरू ।
र्याफि्टङका लागि उपयुक्त मौसम र शान्त नदी । तर नदी एक्लै विरहमा बगिरहेछ । फाँट, नदी, वस्ती र रूख विरुवाबीचको छहारी । तिनीहरूबीच कोरिएको अनवरत रेखा । यस्तो रेखामा गुडिरहन पाए रम्ने मन कति आनन्दित हुँदो हो । मैले रातो क्याप लगाएका अलेली गाला रातो पारेका गुरूजीलाई हेरेँ । दृष्य दुनियाका चलायमान चालक । सधैँ आफू गुड्ने र अरुलाई गुडाउने महारथी । किताबहरू बीचमा बसेका पसलेजस्तै त पक्कै होइनन् होला । बरू हेर्दा हेर्दै थाके होलान् । त्यसैले उनी अर्कै धुनमा थिए । सडक किनारका ठिटीहरूपट्टी लहसिएझैँ देखिन्थे उनी ।
तल नदीमा थुप्रै रङ्गीन डुङ्गाहरू । रङ्गीन मान्छेहरू । मेरो मनको मनोकांक्षा पूरा भएझैँ लाग्यो । नदीको गीत । नदीको शीतलता । नदीको सरसता । मन पनि तिनीहरूकै कल्पनामा रमाइरहेको थियो ।
गाडीको अघिल्लो सिटको झ्यालनेर धमिलो पानीले हान्यो कसैले । पूरै झ्याल खोलेछन् अघिल्लो सिटका बूढाबाले । गाली गर्न नमिल्ने यस्तै आदरणीयहरूका गल्तीले नेपालमा बढी समस्या ल्याइरहेको छ । शरीरमा परेका छिटाहरू पुछपाछ गरेँ मैले । बूढाबाले भने धेरै नै बेर पुछिरहे मनले शुद्धताको अनुभूति नगर्दासम्म । घरि चश्मा । घरि मुख । घरि लुगा ।
खोलाका ढुङ्गा, सडक, भीर पहरा, बगर । यी सबै चुपचाप पार भइरहेका थिए । गाडीको प्लेयर मात्र एकोहोरो बजिरहेको थियो -
......................
मौवा खोलानेर पुगेपछि बूढाबालाई खुसुक्क सुझाएँ मैले नै -अलिकति झ्याल खोलौँ । बस्ती आए बन्द गरौँला । कसले कतिबेला फोहोर छयाप्छ । निश्चिन्त हुन सकिएको थिएन ।
अब खोला पुरै तलाउ जस्तै प्रवाहहीन देखिन थाल्यो । दुबैतिर ठडिएका डाँडाहरूका बीचको खोला । धेरै पटक हिँडेको बाटो पनि आज नियाल्न मन लागि रहेको थियो ।
केही अगाडि पुगेपछि मोटरसाइकलमा आएका दुईजना भाइहरूले एकैछिन रोकेको हाम्रो गाडीका गुरूजीलाई पूरै रङ्ग्याइदिए । रङमा रमाउनेहरूको रमाइलो हेर्न झन् रमाइलो हुँदो रहेछ ।
कुरिनटारको फाँट । नदीको प्रवाह हेरेर मात्र पनि आनन्दित भैरहेको थियो मन । काभ्रो, सिसौका नयाँ काइनाहरूले वसन्तको आगमन र्सार्थक गर्दै थिए । गाडीको गीतले मादकता थप्दै थियो । विपरिततर्फाट आएका माइक्रोका गुरूजीले फेरि रमाइलो गरे – होलीपूर्ण रङ्गीन रमाइलो ।
अब देखिन थाले केबलकारमा र्सर्किरहेका बट्टाहरू । जाँदै गरेका केबलकारसँग मेरो मनको श्रद्धा पठाएँ मनकामना मन्दिरतर्फ। २.८ किलोमिटर लामो केबलकार यात्राबाट मनकामनामा दुईपटक भौतिकरुपमा उपस्थित भएपनि यो बाटो हिँड्दा धेरै पटक श्रद्धा व्यक्त गरेको छु मैले मनकामना र मन्दिर जोड्ने यो आधुनिक तारलाई ।
खोला पारिको भित्तामा पनि सडकको कल्पना गर्दै थिएँ । झसङ्ग बनायो एउटा दृष्यले । सडकमा आधाभन्दा बढी खसेर पनि अडिएको ठूलो ट्रक ।
मुग्लिन आइपुग्छ । पोखरातर्फाट आउँदै गरेका गाडीहरू मुग्लिन पुलमाथिबाट आतेजाते गरिरहेको हेर्दै थिएँ । मलाई फेरि पारिपट्टकिो भित्तामा सडकको रेखा कोर्न मन लाग्यो ।
तल खोला त्रिशुली झन् गहिरिँदै थियो । पानी झन् सङ्गलिँदै थियो । निलो पानी । पानीमा जीवन छ । पानीमै मृत्यु छ । गहिरो नदी हेरेर डुब्दै उत्रँदै गरेको मान्छेको बिम्ब बनाएँ । शान्त नदीमा हावाले उठाएका लहरहरूसँग तरङ्गिँदै थिएँ म । नदी र सडकबाहेक वरपर अनकण्टारप्रायः पाखाहरू । शून्य वस्तीका जंगलहरू । राता फूल फुकेका सीमलका रुखहरू । प्रकृतिले मान्छेलाई चञ्चले मन नदिएका भए शायद दिनै व्यतित हुने थिएन होला ।
भित्ताबाट नदीमा ठाडै खसेको खहरे । खहरे माथिका पुलहरू । दायाँतर्फखसे गहिरो नदीमा । साँघुरो बाटो । डिलको गाडी । जीवन जत्तिकै जोखिमपर्ूण्ा यात्रा । चालक माथि विश्वास नभए कसरी सम्भव हुन्छ र यात्रा । तर चालकै खराब परे के गर्न सक्छन् र यात्रुले । मुलुक हाँक्न पनि योग्य चालक चाहिँदो रहेछ । इतिहासलाई सरापेर वर्तमानको अभिशप्त जीवन बाँच्न विवश छौँ हामी नेपाली ।
नारायणगढ आउन करीब बीस किलोमिटर बाँकी रहँदा बिग्रिएको बाटोमा माइक्रो निक्कै उफ्रँदै कुद्दै थियो । पछिल्ला सिटमा बसेका बुढीआमैहरू भन्दै थिए -थोत्रो ट्रकमा चढेभन्दा बढी भयो ।
भित्री मधेशका फाँटहरूले नदीलाई फराकिलो बनाइसकेका थिए । जुगेडीको जंगल । नारायणगढ बजार । नारायणी पुलबाट देखिने विशाल जल प्रवाह । पूर्वतर्फ देवघाट । पश्चिमतर्फ सौराहा । लुगा धोइरहेका र पौडिखेलिरहेका मान्छेहरू । २०६२ सालको अन्त्यतिर नारायणगढबाट देवघाटमा स्टिमरबाट गएको थिएँ म । त्यही स्मृति चित्रसँग रोमाञ्चित हुँदै म गुनगुनाएँ -
सधैँ बग यो मुटुमा भई नारायणी
चुमिरहू जीवनका खुसीका त्रिवेणी
तिम्रो सुवास लिई फुलेँछु म पनि
सिउरेर चुल्ठोमै राख जुनी जुनी
गैंडाकोट । पूर्व पश्चिम लोकमार्गको शिलान्यास भएको स्थान । पश्चिम थुम्काका मौला कालिका मान्दिर हरियो डाँडाको गजुर जस्तै भएर ठडिएको थियो । पूर्व तर्फ सुतेको फाँट । बीचबाट तीब्र रफ्तारमा कुदिरहेको लोमार्ग । म आफ्नो गाउँसँग रमाउँदै थिएँ । अनुहारभर रङ्ग पेन्ट गरेका आकृति छेउबाट गुज्रिए । पिचकारी हानिरहेका फुच्चेहरू । केही तातो हावाको र्स्पर्शसँगै होलीको रौनक थपिएको भान भयो । गहुँ, मकै बारीका फाँट सकिएर थुम्सी आइपुग्दा नारायणी पनि मसँगै समानान्तर भएर दक्षिणतर्फहानिँदै थियो ।
जनआन्दोलन दुई मच्चिँदासाइकलमा घरबाट भरतपुर पुगेर प्लेन चढेर काठमाडौं पुगेको थिएँ म । झण्डै ३५ किलोमिटर साइकल यात्रा । त्यो छोटो यात्राको लामो सम्झना मनका पानामा अग्रस्थानमा स्टोर भइरहेको छ । चार कोशे झाडीका शीतलतासँग रमाउँदै अनुभव र अनुभूतिका फाँटहरूमा गुड्दै थिएँ, २३ स्मृति पुल देखेर मनलाई एउटा नरमाइलो स्मृतिले झक्झकायो । बालबालिकाको मृत्युको सम्झनाले आङै सिरिङ्ग भयो । विद्यालय हिँडेका २३ जना विद्यार्थी चढेको गाडी दुर्घटना भएर एउटै चिहान भएको स्थान । उनीहरूकै सम्झनामा बनेको मन्दिर ।
कावासोतीनेर गाडीबाट ओर्लिए पछि आमा बुबा र केटाकेटीहरूलाई भेट्ने आतुरताका साथ म घरतर्फ लम्किएँ - होली पारिवारिक मिलनको पर्व हो भन्ने मान्यतालाई सार्थक पार्न ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 चैत्र, 2068

लेखकका अन्य रचनाहरु