पास्निता

- जीतमान राई "सबिन"

आज ठ्याक्कै तीन हप्ता भो हाम्रो बोलचाल नभएको । सायद अब हुदैन पनि होला । मलाई त्यस्तै लाग्छ, किनकी अबको केही हप्ता पछि नै म आफ्नो स्वदेश फर्कदैछु र उनी पनि । मलाई त्यो थाहा छ हाम्रो भिषाको म्याद एउटै महिना समाप्त हुदैछ । एउटै कम्पनी, एउटै बिल्डिङ्ग र एउटै तला मै वल्लो पट्टी पल्लो पट्टी हाम्रो काम छ तर अहिले बोलचालको सृंखला पुर्णतः समाप्त भईसकेको छ । न इमेल न च्याट हाम्रो सबै सम्बन्धको बाटोहरु बन्द भइसकेका छन् । दैनिक घण्टौ हुने फोन वार्ता नभएको पनि धेरै भयो । एस. एम. एस. लेखेर टचफोन ह्याङ्ग हुन छाडेको छ । एक अर्थमा मलाई आनन्दै लागेको छ । कम से कम काममा कसैले बाधा त पु¥याउदैन ।
म इन्जिनियरीङ्ग डिपार्टमेन्टको सव–इन्जिनियर उनी अर्थात पास्निता क्वालिटि डिपार्टमेन्टकी सेक्सन लिडर, कम्पनीमा हाम्रो जिम्मेवारी यही हो । फरक डिपार्टमेन्ट भए पनि एउटा पारदर्शी सिसाले मात्रै छुटाएको छ हाम्रो टेवललाई । त्यसैले दैनिक देखादेख हुन्छ हाम्रो तर बोलचाल छैन । सामुन्ने पर्ने बितिक्कै हामी एका तर्फ अनुहार फर्काएर घुर्की देखाउछौं तर त्यसमा कुनै अर्थ भए जस्तो लाग्दैन मलाई । उनी इन्डोनेशियन म नेपाली हामी यहाँको एउटा बहुराष्ट्रिय कम्पनीमा बिगत केही वर्ष देखि कार्यरत छौं । काम भन्नु दिनभरी कम्प्युटरको स्क्रिन चाहारेर प्रोग्रामिङ्ग गर्नु हो । दिमाग थाकेर पुरा लोत हुन्छ, आँखा सुन्निएको भान हुन्छ । यस्तो बेला पनि हामी सिसा भित्र र बाहिर बसेर कहिले वाइ.एम त कहिले स्काइपमा कुरा गर्न भ्याउथ्यौं । तर हाम्रो कुराकानी कहिले पनि उच्छृंखल भएन, जीवन भोगाई अनि दुःख सुखका किस्साहरु सुनाउदैमा समय बितेको पत्तै हुदैनथ्यो । कम्पनीमा फेसबुक ल्बक गरेकोले गर्दा फेसबुकमा कुरा कम हुन्थ्यो । कहिलेकाही कोठामा हुदा बाहेक फेसबुकमा हाम्रो च्याट कमै हुन्थ्यो ।

गगनचुम्बी भवनहरुको शहर भित्र एउटा पैतालिस तले भवनको तेतिस तलामा छ, हाम्रो कम्पनीको अफिस । चिया खान जाउ किरण कहिलेकाही वाइ. एम. मै म्यासेज आउथ्यो उसको । वाइ. एम. को कनेक्ट ह्यान्डफोन मै जोडेकोले म तत्काल थाहा पाउथे, अनि हत्तपत्त स्वचालित मेसिन जस्तै तत्काल उसको सामुन्ने हाजिर भइदिन्थे । अनि तेतिस तला मुनि ओर्लेर ग्राउण्ड ल्फोरमा रहेको क्यान्टिनमा हामी गफिदै पुग्थ्यौं । त्यस पछि मेरो च्वाइस नेस कफी आइस र उनी रोज्थिन् मिलो, यस्तै हुन्थ्यो हाम्रो पेयका परिकारहरु । नेस कफीको गुलियो घुट्कीसंगै मैले उसको जीवनको धेरै अध्यायहरु प्नि निल्दै गए, कहाली लाग्दो परिवेशबाट आईपुगेकी उनले मलाई आफ्नो जीवनको धेरै किस्साहरु बाढ्थी र कहिलेकाही सुक्–सुक् गर्दै आँसु झार्थिन् । मलाई लाग्थ्यो त्यो बनावटी पक्कै थिएन, म त्यहाँ देख्थे सुनामीका थोपाहरु तप्किरहेका छन् । अफिसका साथीहरु भन्थे इन्डोन केटीहरु खराब हुन्छन्, खाली पैसाको पछि लाग्छन् । तलाई फसाउला, तेरो सबै कमाई लिएर भाग्ली, सबै जनाले तर्साउथे मलाई । तर पास्निताको निर्दोष अनुहारमा मैले बनावटी स्वाङ्गको गन्ध खोजेर पनि भेट्टाउन सकिरहेको थिइन । साथीहरुको कुरामा गम्भिर त थिए नै किनकी धेरै नेपाली केटाहरु यस्तै केटीहरुको पछि लागेर घर न घाटको भएर हिडेको पनि देखिए कै हो । मेरो पाँच वर्षे विदेश बसाइ यही महिना समाप्त हुदैछ । अब स्वदेश मै गएर केही गर्ने मनस्थिती बनेकोले बिदेशको राम्रै भए पनि यो जागिर छोडेर जाने निर्णय गरे मैले । त्यसो त उनी पनि जादै छिन् । सन् २००४ को डिसेम्बरमा आएको नरसंहारकारी सुनामीले आफ्नो परिवार घरबार र शुन्दर भविष्य गुमाएकी उनी आफैमा एउटा कहानी जस्तो लाग्थ्यो मलाई । लामो समय सम्म एउटै कार्यथलोमा काम गर्दा उनी भित्र थुप्रै दुःखका सृंखलाहरु मैले अनुभव गरेको थिए । कहिलेकाही यस्तै सोचमा डुब्दै गएको बेला मेरो सोचाइ भङ्ग गराउदै वाइ. एम. मा सन्देश पठाउथिन्, “किरण जिन्दगी के हो ?”म आफै जिन्दगीको परिभाषा खोजिरहेको बेला के उत्तर दिन सक्थे । त्यसैले चुपचाप बसिदिन्थे । उताबाट बन्ज गर्दै मेरो ध्यान खिचिरहन्थिन् । अनि बाध्य भएर लेख्थे “जिन्दगी भोगाईहरुको सृंखला हो”, चित्त बुझ्दैन थियो की खै कुनै उत्तर आउदैन थियो । म बन्ज गर्दै बस्थे । अलि ढिलो उत्तर आउथ्यो “म बिजी भए ।” यस्तै बिजी र बाध्यता मै त बितेको थियो आधा दशकको हाम्रो मित्रता । तर नजानिदो समयले आज कोल्टे फेरिसकेको छ । हामीबाट धेरै अनवरत ऋतुहरुले बिदा लिइसकेको छ । थाहै नपाई बितेछ प्रवासको आधा दशक सुख, दुःख अनि हासो र रोदनको किस्साहरु बाड्दै ।

“किरण म संसार की दुःखी केटी हु ।” एक दिन फेसबुकमा यस्तै सन्देश छाडेकी थिई । त्यो पढेर मैले उनलाई तत्काल फोन गरेको थिए । उनले भनेकी थिइ, “मैले जीवनमा धेरै भोगेको छु र बाचेकी छु । अब त दुःख र पिडा देखि मलाई डर लाग्दैन । सोच्छु त्यो त मेरा सहयात्री हुन् । किनकी मैले त्यसैको सहारामा बाच्न सिकीसकेको छु ।” उनी साच्चै भावुक बन्दै आफ्नो कहानी मलाई सुनाउथिन् । तर म केही गर्न सक्तिन उसको लागि । फरक देशका हामी न हाम्रो धर्म मिल्थ्यो, फरक धर्म, भाषा र परिवेशका हामी जिन्दगीका भविष्य खोज्ने क्रममा यो प्रवासमा भेट भएका हौं । यही क्रममा हामी असल मित्र बन्न सक्यौं यसैमा खुशी लागेको थियो मलाई । समयले फेरी के गरायो कुन्नी, हामी आज बिस्तारै टाडिदै छौं । थाहा छ अब छिट्टै हामी भौतिक रुप मै टाडिदै छौं । त्यस पछि समुन्द्रको छालहरु संगै उनी मेरो स्मृतिको गर्भ भित्र हराउने छिन् भने म हिमालको चिसो पानीमा रमाइरहेको हुनेछु । हुन त हाम्रो सम्बन्ध एउटा असल साथी भन्दा बड्ता केही थिएन । उनी मलाई एउटा साथीको रुपमा हेर्थिन अनि मैले पनि । उनलाई थाहा थियो स्वदेशमा म बिवाहित हुँ र एक जिम्मेवार पिता पनि । अहिले म सम्झिरहेको छु । उनले मलाई भनेको कुरा “किरण सबै इन्डोन केटीहरु म जस्तै हुदैनन्, प्राय उनीहरु प्ैसाको लागि माया गर्छन्, न कि तिम्रो रुप र यौवनको लागि ।” हो त मेरो आधा दशकको यो प्रवास बसाइमा मैले त्यही कुराको अड्कल काटेको थिए । जुन मलाई पास्निताले भनेकी थिई । मेरै कम्पनीका अधिकांस केटीहरु दिनै ब्वाइफ्रेण्ड फेर्दै घुमिरहेको देख्थे । कहिलेकाही म उनलाई जिस्काउथे “ तिमीले चाही किन डार्लिङ्ग नबनाएको नी ?”त्यतिबेला उनले भन्थि “ मेरो डार्लिङ्ग तिमी हुन्छ ?” म हासिदिन्थे । तत्कालै उ फेरी बोल्थि “माफ गर ठट्टा गरेको वास्तवमा मलाई डार्लिङ्ग बनाएर बन्धनमा बाधिन मन लाग्दैन । म स्वतन्त्र चाहान्छु । तर कसैको मायामा फसियो भने त्यो पाउन सकिन्न । कुनै दिन परिस्थितीले डो¥याएर त्यो अवस्था पक्कै आउला जतिबेला म जिवनमा आफु जतिकै माया गर्ने श्रीमान् र सुखी परिवारको बनाउन सकु, बस त्यती हो । सधै भरी एक्लै बाँच्न पनि त सकिदैन हैन र ?” उनी फेरी भावनामा बग्न थालिहाल्थी, त्यसैले त म केही भन्नै डराउथे, कतै उनको विगतका घाउ बल्झिन्छ की भनेर । उनको यो संसारमा कोही थिएन । भन्थि “यो खुल्ला आकाश नै मेरो आफन्त र परिवार हो ।”

सुनामीले घरबार र परिवार बगाए पनि संयोगले आफु बाच्नुको कुनै खुशी थिएन उ संग । स्वर्ग जस्तो घर, मायालु बाबा आमा, भाई र बहिनी एकै पल्ट गुमाए पछि उनी एउटा क्रिष्चियन च्यारिटी ल्कबको सहारा हुर्केर आज यो अवस्थामा आइपुगेकी हुन् । र त उनी क्रुसमा टागिएको येशुको माला लगाएर आफु क्रिष्चियन हुनुको परिचय दिइरहेकी छिन् । “केही समय यहा काम गर्छु अनि स्वदेश फर्केर म जस्तै अनाथ र असहाय इन्डोनहरुको सेवामा लाग्छु ।” उनी यसै भन्थि । आफ्नो कहाली लाग्दो बिगत हत्तपत्त सम्झिन चाहान्न । भुल्न चाहेर पनि नसकिदो रैछ उसले सधै मलाई भन्थि । समाजसेवामा लाग्ने उनको कुरा सुनेर मैले पनि हौसला दिन्थे “मानविय सेवा नै जीवनको उत्तम सेवा हो, तिम्रो बिचार र उदेश्य ठुलो छ । तिमी एक दिन अवश्य सफल हुनेछौं ।” यस्तै केही भन्थे म उनलाई । यस्तै–यस्तै बिगतका हाम्रो मित्रताको समिक्षा गरिरहदा म आफै भित्र कता–कता हराइरहेको छु । बिगत सम्झिरहेको छु, आगत हेर्दैछु । धेरै इन्डोन केटीहरुको बिचमा उभाएर हेरिरहेको छु । त्यो भाव बिहिन निर्दोश मुखाकृती भित्र म केही लुकेको देखिरहेको छु । तर अब केही सोध्न सक्तिन किनकी हाम्रो बोलचाल बन्द भइसकेकोछ तीन हप्ता अघिबाट र यो बोलचलको सृंखला फेरी शुरु हुनेवाला पनि छैन । तथापी हामीमा इशर्या र व्देशको भाव लेस छैन । बरु सम्झना, बिछोडको पिडा र एकापसमा बाडेका दुःखर सुखका खातहरु छन् । त्यसैले त हामी छुट्टिदै छौं एउटा पवित्र मित्रताको अन्त्य गर्दै । म मनैबाट भन्दैछु बाइ–बाइ पास्निता ।

लक्ष्मीपुर–५, नमुनाबस्ती, ईलाम, हालः पेनाङ्ग, मलेशिया

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 चैत्र, 2068

लेखकका अन्य रचनाहरु