म आकाशबाट खसे झै भएको थिएँ

- विश्वराज अधिकारी

मैले पच्चिस वर्ष पछि कान्ता दिदीलाई भेटेको थिएँ, बीरगंजमा, गीता मन्दिर नजिक। कान्ता दिदीलाई पच्चिस वर्ष पछि भेट्दा मैले कस्तो अनुभव गरे त्यो बेलि बिस्तार लगाउनु भन्दा पहिले म त्यो बेला, त्यो समय बिन्दुमा तपाँईलाई लग्न चाहन्छु जुन समय बिन्दुमा कान्ता दिदी बि. ए. अनि म आइ. कम. मा ठाकुर राम क्याम्पस, बीरगंजमा पढ्ने गर्थ्यौ। कान्ता दिदी अनि मेरो, हामी दुबैको घर छपकैंयामा थियो। तर अहिले हामी दुबैको घर त्यहाँ छैन र यो भन्नु पर्दा मेरो मुटुमा कसैले सियोले चसक्क घोचि दिए झै भएको छ, मलाई। हामीले बीरगंज किन छाड्नु पर्यो त्यसको पनि आफ्नै राम कहानी छ, सुनाउँला त्यो कुनै दिन, पछि।
काठमाडौबाट हामी दुबै एकै समयमा बीरगंज पुगेको थियौ, जुन केवल एक संयोग मात्र थियो। बीरगंजबाट बसाइ नै सर्ने गरी काठमाडौतिर हिँडेको पाँच वर्षभन्दा बढी नै भएता पनि बीरगंज बेला बेलामा पुग्ने क्रम भने टुटेको थिएन। आफू बसेको परिवेश, समय र भूगोलको माया अति नै अचम्मको हुँदो रहेछ। र त्यही मायाले घरि घरि तानेर ल्याउँदो रहेछ आफ्नो पुरानो थलोमा। चुम्बक झै तानेर पुर्याएको थियो मलाई बीरगंजमा त्यही मायाले। अनि त्यस्तै भएको थियो कान्ता दिदीलाई पनि।
बिगत लामो समयसम्म मैले कान्ता दिदीलाई भेट्न सकेको थिन र त्यो पनि एउटा संयोग नै थियो, एउटै सानो शहरमा, त्यति लामो समय सम्ममा पनि। म जागिर र अध्ययनको सिलसिलामा देश विदेश भौंतारिने मान्छे भएकोले पनि त्यस्तो भएको हुन सक्छ।
आफ्नो जबानीमा कान्ता दिदी अति नै राम्री हुनु हुन्थ्यो। मलाई लाग्छ कान्ता दिदी जति राम्री कोही पनि थिएन, वहाँका समकालिनहरुमा। कान्ता दिदी जति राम्री हुनु हुन्थ्यो स्वभावले त्यति नै हक्की पनि। कसैसँग नडराउने स्वभावको। त्यो बेलामा, जुन बेला बीरगंजको समाज अहिले जति खुला भइ सकेको थिएन, मा पनि कान्ता दिदीका जति केटीहरु साथी थिए त्यो भन्दा बढी केटाहरु थिए। म कुरा गर्दे छु २०३४ ३५ सालतिरको। हामी क्याम्पस पढदाखेरिको। बीरगंजको लागि बाहिरी विश्वसँगको साक्षात्कार भनेको बि बि सि रेडियो सुन्नु र रक्सौल हुँदै आउने भारतीय पत्र पत्रिका पढ्नु, आकाशवाणी र अल इण्डिया रेडियो सुन्नु थियो।
अँ, त, म कुरा गर्दै थिएँ कान्ता दिदीको बारेमा। कान्ता दिदीको एउटा बानी अचम्मको थियो। त्यो के भने वहाँ आफ्ना समकालिन मात्र होइन आफू भन्दा केही माथिल्लो उमेरकाहरुलाई पनि नाम समातेर मात्र हो र तँ भनेर बोलाउनु हुन्थ्यो। वहाँले कुनै केटालाई दाई वा कुनै केटीलाई दिदी भनेको मैलै सुनिन नै भने पनि हुन्छ, समयको त्यो काल खण्डमा।
एक चोटीको घटना भन्छु म, कान्ता दिदी रिक्सामा चढेर छपकैंयादेखि क्याम्पस आउनु भएको थियो, हत्तरिंदै, ढिलो भएकोले, क्लास भित्र पस्न। क्याम्पसको गेट अगाडि रिक्सा रोकिए पछि वहाँले कति भाडा भयो भनी रिक्साबालालाई सोध्नु भयो। रिक्साबालाले चलन चल्तिको रेट भन्दा तीन गुना बढी भाडा भन्यो। बीरगंजको गर्मीले त्यसै पनि कान्ता दिदीको दिमाग तातिरहेको थियो, त्यस माथि थपिएको थियो क्लास भित्र कुन बेला पस्न पाइएला भन्ने वहाँको चिन्ता। त्यस्तो स्थितिमा, रिक्साबालाले भनेको त्यो भाडाले त झनै तताई दियो वहाँको दिमाग। रिक्साबालालाई लगातार चार चडकन हिर्काउनु भयो, कान्ता दिदीले। रिक्साबाला रुन थाल्यो। विहान १० वा यस्तै ११ बजेको समय थियो, विद्यार्थीहरु हतार हतार गरि क्याम्पसमा प्रवेश गर्दै थिए। धेरै विद्यार्थीहरु त कान्ता दिदीले थप्पड हिर्काए पछि बन्न पुगेको त्यो तमासा हेर्न अडिएका थिए, क्याम्पसको मुल गेट अगाडि, एकै छिनका लागि क्लास जान बिर्सेर। त्यो घटना पछि ‘कान्ता दिदीको थप्पड’ निकै प्रख्यात भएको थियो, क्याम्पसमा। कुनै विद्यार्थीले कसैलाई तर्साउने किसिमबाट मात्र होइन, साथी साथी बीच ख्याल ठट्टा गर्दा पनि ‘कान्ता दिदीको थप्पड’ खालास है भन्ने गर्थ्ये। त्यो थप्पड प्रकरण पछि क्याम्पसमा कान्ता दिदीसँग डराउने विद्यार्थीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको थियो।
छिमेकमा पनि कान्ता दिदीको अगाडि पर्न वहाँ भन्दा उमेरमा कम हुनेहरु त के बढी हुनेहरु पनि उत्तिकै डराउँथे। कहिले काहिँ, कसैले कुनै गल्ति गरेको कान्ता दिदीको आँखा अगाडि परेमा बोली र हात दुबैले एकै साथ सम्झाउने गर्नु हुन्थ्यो, गल्ति गर्ने लाई। कान्ता दिदीको साहस देखेर म दङ्ग पर्थ्ये। तर म भने वहाँ सँग पटक्कै डराउँ थिन। मलाई थाहा थियो, कान्ता दिदीले गल्ति गर्नेलाई मात्र गाली गर्ने, हिर्काउने गर्नु हुन्थ्यो भन्ने यथार्थ। रिस र घमण्डलाई नियन्त्रण गर्न नसकेर वहाँले कसै सँग रुखो व्यवहार गरेको मैले कहिले देखिन। खासमा भन्ने हो भने कान्ता दिदीको व्यक्तित्व नरियल जस्तो थियो, बाहिरबाट एकदमै सार्हो तर भित्र भने अति नरम। म कहिले काँहि जिस्किएर वहाँलाई यस्तो पनि भन्थ्ये- कान्ता दिदी, बिहे भए पछि भिनाजुलाई सार्है तर्साउनु होला जस्तो छ। मेरो कुरा सुनेर कान्ता दिदी रिसाएको जस्तो गर्नु हुन्थ्यो तर एकै छिन पछि हाँस्दै भन्नु हुन्थ्यो ‘तर्साउने मात्र हो, परे भने चड्याई पनि दिन्छु, बुझेउ।’
कान्ता दिदी बाटोमा हिँडदा वहाँलाई नहेर्ने मान्छे बिरलै हुन्थे। जबानहरुको त के कुरा, बुढाहरु पनि उत्तिकै लठ्ठिएर हेर्थ्ये। त्यत्तिकै ट्वाल परेर हेर्न नसक्नेहरुले कुनै किसिमको बहाना बनाएर हेर्थ्ये। मार्यादाको घेरा भित्र बसेको नाटक गर्नेहरुले पनि कुनै न कुनै मौका झिकेर अरुले चाल नपाउने गरी हेर्थ्ये। हेर्दिन भनेर बिपरित दिशामा टाउको घुमाउनेहरुको पनि एक चोटी नजर ठोकिन्थ्यो कान्ता दिदीको अनुहारमा, उनीहरुले आफूलाई रोक्दा रोक्दै पनि। मार्यादाको पर्खाल नाघ्नेहरुले त झन पूर्ण छुट नै पाएका थिए ट्वाल्ल परेर हेर्न। पुरुषहरुले मात्र होइन, महिलाहरुले पनि उत्तिकै हेर्ने गर्थ्ये। केहीले आश्चर्य मानेर त केहीले इर्षा गरेर हेर्थ्ये। हुन त हेर्नेहरुको पनि आफ्नै किसिमको विवशता थियो। त्यो के थियो भने कान्ता दिदीको रुपले हेरेक व्यक्तिलाई विवश पार्ने गर्थ्यो वहाँतिर हेर्न। दोष न त हेर्नेको थियो र कान्ता दिदीको। दोष कसैको थियो भने त्यो थियो रुपको। र यो कुरा कान्ता दिदीलाई राम्रो गरी थाहा थियो। त्यसैले शिष्टतापूर्वक कसैले वहाँलाई हेर्दा वहाँबाट कुनै किसिमको नकारात्मक प्रतिक्रिया आउँथेन। तर अलिकति पनि कसैले अशिष्टता देखाएमा, कान्ता दिदीको क्रोध अग्नी तत्काल त्यसलाई डढाउन उद्यत हुन्थ्यो। र धेरै पटक त्यस्तो भयो पनि। म एक चोटीको कुरा गर्छु, कान्ता दिदी सिनेमा हेर्न गएको बेलाको। बीरगंजको नै कुनै सिनेमा हलमा, देव आनन्द वा राजेश खन्ना हिरो भएको फिल्म थियो कुनै, जे होस, मलाई ठिकसँग याद भएन तर त्यो जमानाको कुनै चर्चित हिरोको फिल्म थियो त्यो। कुनै एउटा केटाले जिस्क्यायो, कान्ता दिदीलाई, टिकट काट्ने झ्यालको अगाडि। जिस्काएको मात्र होइन त्यस बाहेक पनि केही गर्यो त्यसले। कान्ता दिदीले त्यो केटाको सर्टको कालेर समातेर दुइ चार फाइट कस्नु भयो। केटाको ओठ काटिएर रगत बग्न थाल्यो। एक छिनको लागि त्यो दृश्य तमासा नै बन्यो, त्यहाँ। केही महिलाहरुले भने पनि ‘ठीक गर्नु भयो बैनी, यी मोरा गुन्डाहरुले त हैरान नै पारेका थिए। कसैले यिनीहरुलाई केही गर्न नसकेको हुनाले मन बढेको थियो यिनीहरुको, धधाएका थिए, त्यसै त्यसै। पोखिए मोराहरु, धेरै उम्लिएको हुनाले।’ केही केटाहरुले पनि वहाँको त्यो कार्यलाई उचित ठहर्याए। उनीहरुले पनि भने ‘ठीक गर्नु भयो दिदी।’ कान्ता दिदी मख्ख पर्नु भएको थियो त्यो दिन, आफूले कुनै ठूलो उपलब्धि हात पारे झै गरेर। जनमत आफ्नो पक्षमा रहेको देखेर। त्यो दिन पनि संयोग नै भन्नु पर्छ। म पनि पुगेको थिए त्यो सिनेमा हलमा, त्येही फिल्म हेर्न भनेर। तर म भने त्यो घटना भए पछि मात्र हलमा आइ पुगेको थिएँ र के के भयो त्यहाँ भन्ने कुरा कान्ता दिदीले भने पछि मात्र थाहा पाएँ। मलाई देख्ने बित्तिकै कान्ता दिदीले भन्नु भयो ‘थाहा त भएको नै होला तिमीलाई के भयो भनेर।’ मैले छोटो उत्तर दिएँ- थाहा पाएँ, कान्ता दिदी। वहाँले फेरि भन्नु भयो ‘बुझेउ नवीन, त्यसले अब कुनै केटीलाई जिस्काउने हिम्मत गर्ने छैन, एक्लो देखेर, यदि त्यसको मगजमा भूस भरिएको छैन भने।’
अब चाहिँ म कान्ता दिदीसँग पच्चिस वर्ष पछि बीरगंजको गिता मन्दिर अगाडि भेट भए पछि हामी बीच के के कुरा भए त्यो भन्छु। मलाई गिता मन्दिर अगाडि त्यसरी अप्रत्यासित रुपमा देखे पछि कान्ता दिदीको आश्चर्यको सीमा नै रहेन। म पनि उत्तिकै आश्चर्यमा परेको थिएँ। मेरो मुहारतिर हेर्दे वहाँले भन्नु भयो ‘कसरी एक्कासी यहाँ………., अनि बीरगंजमा कहिले ……….. कता हो आज भोलि …………।’ कान्ता दिदीले मेरो न त नाम लिएर न त तँ वा तिमी नै भनेर मलाई सम्बोधन गरेको मैले प्रष्ट गरी थाहा पाएँ। लामो समयसम्म वहाँले मलाई नदेखेको हुनाले मलाई के भनेर सम्बोधन गर्नु हुन्थ्यो भन्ने कुरा बिर्सेर पनि त्यसो भन्नु भएको हुन सक्छ भन्ने अनुमान मैले गरे।
कुराको सिलसिला मैले नै अगाडि बढाएँ। वर्तमानका घटनाहरु भन्दा पनि स्मृतिको सागरमा डुबुल्की लगाएर सितल समयले स्नान गर्न मन लाग्यो मलाई। कान्ता दिदीलाई पनि त्यस्तै लागेको हुनु पर्छ अनुमान गरे मैले। हामी गिता मन्दिरलाई छाडेर घडिअर्बा पोखरीको पश्चिम पट्टी आई सकेका थियौ। मैले घडिअर्बा पोखरीतिर हेर्दै भने- पहिले यो पोखरी केवल एक पोखरी मात्र थियो, अहिले हेर्नुस त कान्ता दिदी, यो पोखरी कति भव्य भएको छ। याद छ तपाँईलाई हामी छठमा यहाँ आउने गरेको, त्यो बेला जुन बेला यो पोखरीमा यस्तो केही पनि बनेको थिएन। हामी हरेक छठमा यहाँ आउने गर्थ्यौ, न टुटाएर। मैले चाहिं कान्ता दिदी नै भनेर सम्बोधन गरे। मेरो भनाईमा कान्ता दिदीले छोटो प्रतिक्रिया राख्दै भन्नु भयो ‘हो, त्यो बेलाको याद अहिले पनि ताजा छ। क्याम्पसबाट माईस्थान मंदिर आउँदा यै बाटो भएर आउने गरेको पनि उत्तिकै याद छ। अनि उत्तिकै याद छ क्यम्पसका ती दिनहरु।’ यति भनेर वहाँले केही सम्झे झै गर्नु भयो। फेरि तत्कालै भन्नु भयो ‘अहिले कुन साल चलि रहेको छ, हँ?’ मैले भने- अहिले २०६८ साल चलिरहेको छ। कान्ता दिदीले भन्नु भयो ‘हामीले ठाकुर राम क्याम्पसमा पढेको पनि तीन दशक भन्दा बढी भएछ, है।’ मैले भने- समय बितेको थाहा नै हुँदैन। कति छिटो बित्छ समय। आफैमा हेर्नुस न, कति परिवर्तन भएको छ। हुनत अहिले पनि उत्तिकै राम्री हुनु हुन्छ, तपाँई, कान्ता दिदी। तर जबानीमा तपाँइ अझै कति राम्री हुनु हुन्थ्यो। सात सूर्यको प्रकास छरिए झै हुन्थ्यो तपाईको मुहारमा। एकदमै कमलको फूल फक्रे झै थियो तपाँईको मुहार। अनि तपाँई बोल्ड पनि उत्तिकै हुनु हुन्थ्यो। याद छ, तपाँईलाई, क्याम्पसमा केटाहरु तपाँइको अगाडि पर्न पनि डराउँथे। । तर आँखा छलेर हेर्थ्ये पनि तपाँईलाई, तपाँईले थाहा नपाउने गरी। तर तपाँईलाई आदर पनि उत्तिकै गर्थ्ये। कति छिटो बिते ती समयहरु, हेर्दा हेर्दै, है।
मेरो कुरा सुन्दै हुनु हुन्थ्यो कान्ता दिदी तर कुनै प्रतिक्रिया राख्नु भएको थिएन। कुरा गर्दा गर्दै हामीले माईस्थान मन्दिर भित्र प्रवेश गरेको थाहा नै पाएनौ। त्यति मात्र हो, मन्दिरबाट बाहिर आएको पनि थाहा भएन। हामी यन्त्रवत चलिरहेका थियौ, बिगतका कुराहरुमा गफिएर। हामी माइस्थान चौकमा थियौ। मेरो मनमा अनायास के सोंचाई आयो कुन्नी। त्यो सोंचाईले मलाइ केही भन्न बाध्य पार्यो। मैले भने- कान्दा दिदी, आफ्नो समयमा तपाँई निकै बोल्ड हुनु हुन्थ्यो, है, र अहिले पनि हुनु होला भनी म भन्न सक्छु, विश्वासका साथ। अनि कान्ता दिदीको बिहे बारी, अनि केटा केटी, श्रीमान………………. ।
कान्ता दिदीले छोटो उत्तर दिनु भयो ‘छैन, केही पनि…………..।’
एकै छिन पछि कान्ता दिदीले फेरि भन्नु भयो ‘खोइ, म त्यति बोल्ड भएता पनि कुनै मोराले मेरो अगाडि आएर भन्न सकेन मलाई, कान्ता म तिमीलाई माया गर्छु भनेर। अरुको के कुरा, तिमीले त भन्न सकेनौ, कान्ता, म तिमीलाई माया गर्छु, तिमीसँग विहे गर्न चाहन्छु भनेर, त्यो बेला, जुन बेला तिमीले मेरो वरि परि चक्कर काट्ने गरेता पनि, मलाई मन पराएको भएता पनि।’
कान्ता दिदीको कुरा सुने पछि म आकासबाट खसे झै भएको थिएँ। एउटा कुरा मैले तपाँईलाई न भन्ने हो भने मेरो भनाई अधुरो हुन पुग्छ। त्यो के हो भने, कान्ता दिदीलाई मैले कुनै नाताले गर्दा दिदी भनेको चाहिँ होइन है। सबैले वहाँलाई कान्ता दिदी भनेको हुनाले नै मैले पनि कान्ता दिदी भन्न शुरु गरेको थिए, त्यो बेला। र उमेरको कुरा गर्ने हो भने म कान्ता दिदी भन्दा एक दुइ वर्षले जेठो नै हुँला। यस. यल. सि. मा म दुइ चोटो फेल भएकोले कान्ता भन्दा जुनिएर हुन पुगेको थिएँ, क्याम्पसमा।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 फागुन, 2068

लेखकका अन्य रचनाहरु