आत्तिनु पर्दैन, पर्खनु पर्छ ताहूँ

- राजेश कुमार अर्याल

आँटिछाडियो साहित्य शिविर ।
सोचेपछि कल्पना हुँदोरहेछ । सपनाएपछि तस्वीर घुम्दोरहेछ । संझेपछि सिर्जना फुर्दोरहेछ । आँटेपछि छोडिदोँरहेछ घरको खान्की र सिरक–बिछ्यौँना पनि । सटरपटर थियो बिहानैदेखि । भेट्ने स्थान बर्तुङ्ग, समय दिउँसो २ बजे र हिड्ने साढे दुई । चलन छ, निर्धारित समयमा पुगेका बेला हातको घडी हेर्ने र नपुगेका बेला घामको छाँया । सञ्चार गर्ने काम तर रहेंछु धेरैबेर बेखबर । पाहुना थिए, स्टेशन घरमा । हरेक दिन जसो नै हुन्छन्, सामुदायिक रेडियो मदनपोखराका पाहुना । थिए त्यो दिन विदेशी । आकर्षण ग¥यो, फरक रङ्ग, गोरो छाला, पश्चिमी संस्कृतिले । ध्याउन्ना थियो यात्राको सुनाई थियो भाषणको । खटपटिएको तन र भुट्भुटिएको मनले कुराएका सर्जकहरू सम्झे, हिड्ने मन गरेँ तर सकिन । फेसबुक स्टाटसमा लेखेँ, ‘रमाइलो ताहूँ भ्रमण ।’

यात्रा भनेर कति हिंडेको हुम्ला र त्यति नभनी छु चहारेको । छैन छुटेको कलम, डायरी र रेकर्डर जता जाँदा पनि । जहाँ जाँदा होस् ती मसँगै हुन्छन्, कतै च्यापिएर, कतै रगेटिएर । बोक्दाबोक्दै कति खुइलिए, कति बिग्रिए । राख्न मन लाग्छ मुटुनजिकै । राख्छु झोलाको बिचमा कोरियला भनी । बढी तौल भएपछि झोलाबाट अन्य धेरै सामग्री झिकें । मान्छेको छाँया नै लामो देखिन थालेको थियो, दमकडाबाट अगाडि बढ्दा । जब बोलिएका कुरा कार्यान्वयन हुँदैनन् तब झोंक चल्छ । जतिबेला आफैले लेखेका शब्दहरू पनि बिर्सिएको भान गरिन्छ, त्यतिबेला पक्का आत्मग्लानी हुन्छ । नमिठो अनुभूति लिएर शिक्षक दीनानाथ पराजुलीको साथमा पौने ३ बजे बर्तुङ्ग चोकमा पुगें । जारी थियो जमघटको । यसरी अन्ततः निस्कियौँ ताहुँ बाकुमगढीको यात्रामा ।
तकर्ना ताहुँको, गन्ठयौना बर्तुङ्गमा खरिदेका बटुकको र लर्कना साहित्य यात्राको । केहीले पोकापुन्तुरो बोकेका, द्वन्द्वकामा बर्दीधारीले समात्ने झोला बोकेकाहरू पनि भारी बिसाउन पाएर फुक्काफाल बने । स्रष्ट्रा न हुन् धूलो टकटक्याए जुत्ता बजारेर । आँखा जाँचे चस्मा लाएर । चिटिक्क बने कल्लर मिलाएर । आकर्षक बने अनुहार पुछेर । गाडिले वेग लियो । केही साथी थिए तानसेन, पुग्नु थियो बस यात्रीभन्दा अगाडि । ढिला गरेका पत्रकारलाई पनि अघि लाएर बटारें मोटरसाईकिलको एक्सिलिरेटर । खरायो काने ऐनामा घरीघरी देखिए पाल्पाली शिरफूल श्रीनगरडाँडा, जन्तिलुङ्गडाँडा, कौडेलेक, रिम्घालेक, पूर्णाकोट र रिब्दीकोट । बाकुमगढी, बल्ढेङ्गगढी, नुवाकोटगढी र माथागढीले मनलाई घेरेबेरे । जन्म र कर्म भूमिले मुटु चिरेर शल्यक्रिया गरे । आहा ! मेरो पाल्पा ।
निम्तो खेर फालेनन् सर्जकहरू । आयोजना थियो, तरङ्ग साहित्यिक संगम मदनपोखराको थपिदै गए स्रष्टाहरू पोखराथोक, आरेभञ्ज्याङ्ग र चिदीपानीमा । लेखेको भए कति सिर्जना कोरिन्थे, बाचनै गरेको भए तापनि सिर्जना जति भ्याइन्थे होलान् प्रतिक्षारत समयमा । निम्तो मान्नेहरू बिस्तारै बोले, ‘जुट्दै ढिला भयो होला’ । धन्न साहित्यकारहरू ! मिनीबस हैन, दौडेको त बोटबिरुवा र पहाड झैँ लाग्थे । पोखराभञ्ज्याङ्ग, हुमिन, धोवादी बजार पार एकैछिनमा । पश्चिम रिब्दीकोटबाट ओरालो झरेको थियो सूर्य । गाडिको कन्डक्टर कराए, ‘ताहूँ आयो, अब कता जाने हो ?’ सिट मात्र छोड्दा देखिन्थ्यो, राजकीय सत्कार गर्न कालीदास श्रेष्ठ, प्रकाश श्रेष्ठ, खुमबहादुर पौडेल र बुद्धिबहादुर लाममा । स्वागत दिइरहेछन्, गोपाल श्रेष्ठ, मोहनलाल कार्की, वसन्त श्रेष्ठ । बिजेताको अनुभूति थियो, रातो अबिरको ठाडो टीका र सप्तरङ्गी माला । थाप्यौँ गला शिर निहु¥याएर । लियौँ स्वागत अन्जुली थापेर ।

अविछिन्न यात्राहरु चल्दछन् प्रत्येक नागरिकहरूको जीवनमा । भनेनन् कसैले बोर लाग्यो, सायदै हुने गर्छ यस्तो रमाइलो यात्रा । यात्री सबैले निष्चल भाव पैदा गरेको अभिव्यक्ति गर्दै थिए । सीट छोडेर सत्कार थाप्न बाहिर निस्किएका यात्री फेरि थकित अनुहार र भोको शरीरलाई उत्सुक बनाउँदै बस चढे । महारे बने गोपाल श्रेष्ठ वनजंगलबाट फर्किएका गाईवस्तु र बाख्रा खोरमा हुले झैँ आगन्तुक सर्जकलाई बसमा हुलेर । नयाँ सिर्जनाका भाकाहरु यस्तै यात्रा र अवलोकनहरूमा बाँच्दछन् । सेर्काबास टेक्दा नटेक्दै सन्ध्याको प्रहर छायो । पथ–प्रदर्शकले भने, ‘लौ अब बाकुमगढी जान सकिन्न, कराउने पहाड पुगिन्छ ।’ बाकुमगढीको सुरुङ्गभित्र पसेर लुकामारी खेल्ने आकांक्षा रहरमै सीमित हुन पुग्यो । यद्यपी कराउने पहाड पुगेर थर्काउने र फर्काउने आवाज सुन्ने अभिलाषा साँचेर समूह अघि बढ्यो । जिल्लाको तागतिलो गर्जन दिन पहाड सफल रह्यो र केहीले भने, कस्तो सुनिन्छ ? यताबाट बोल्दा उताबाट प्रतिध्वनित हुने रहेछ । कराउने पहाडको ध्वनीले शरीर फुल्यो । दिनको उज्यालो फेला परेन । साँझै भए पनि कराउने पहाडसँग करायौँ । धोयौँ मनको मैलो । कविकवयत्रीहरूले कविता लेख्ने गीत सुसेल्ने विषय प्राप्त गरे । बाकुमगढी हिंडेका सर्जक कराउने पहाड देखेर वीरताको गाथा गाउँदै बासस्थान फर्किए । जोहो गरेका चकलेट र बिस्कुट पनि बसमै छुटेछ । मनमनै आफ्नो बुद्धिलाई गाली गर्न मन लाग्यो, हिड्यो झोला पनि नबोकी खोज्छ मुख मिठ्याउन । महोत्सव र जात्रा जस्तो हुँदो रहेनछ, जहाँनिर पनि जे मन लाग्यो त्यही खान पाइने । बल्ल हेक्का भयो यो त साहित्यिक यात्रा रहेछ ।

फर्किदा बाटो देखिने उज्यालो थिएन । लाइट, लाइटर र सलाईको बन्दोबस्त नगर्नेहरू दछामदुछुम नै हिंडे । बुटाबुटी समाउँदै ओरालो झरे । छापिए टेमने, मलेङ्गका घरघरमा । सेर्काबासबाट बिदावारी भए साँझ टेमनेमा बास बसेका नारायण अधिकारीले खण्डे थालमा दिएको दाल, भात तरकारी र अचार संझदै भोलीपल्ट लेखेको कविताले त्यो यात्रामा सबैभन्दा अमिट छाप पा¥यो । ‘मलाई खुशी लाग्यो, घरबाट निस्कदा, बर्तुङ्गमा बस चढ्दा, ताहुँमा माला लगाउँदा । मलाई दुःख लाग्यो, खण्डे थालमा भात खाँदा, खण्डहरमा तक्षशीला देख्दा ।’ सक्रियता देखें गाउँ बन्जर हुन नदिन मलेङ्गका महिलापुरुषको । धर्तीप्रति माया र सद्भाव पाएँ स्थानीयबासीमा । पाहूनाप्रति आत्मियता भाव भेटें ताहूँबासीमा । स्रोत अथाह छन् । लगायो मोहनी प्रकृतिले पनि । थाहा पायो कवि पत्रकारले, रम्भा के हो ? ताहूँ के हो ? भण्डार रहेछ जडिबुटीको । सोचे सीप मिसाउन सके आम्दानीको मार्ग खुल्छ । विचित्र रहेछ कला र संस्कृतिको । संसार रहेछ पर्यटनको । बैरीको कब्जामा परेका पाल्पालीले फेरि त्राहित्राहि पारेर भूगोल फर्काउने मौलाथर त्यहीँ रहेछ ।

धर्म हो शरीरको जन्मने, बुढो हुने र मर्ने । भोक लाग्छ, जाडो गर्मी लाग्छ शरीरलाई त्यसैले खानुपर्छ, पिउनुपर्छ र सुत्नुपर्छ । टिमुर हालेको गोलभेंडाको तिख्खर चटनी, कुखुरा र खसीको अलगअलग स्वादको मासुसहित खाना खाइयो । न्याना र बाक्ला सिरक गुम्लुङ्ग ओढेर सुतेको मज्जाले निदाइएछ । अनुशासित र वफादार पहिचान बनाएका मोहनलाल कार्कीको आतिथ्यताले मलेङ्ग बस्ने धित पनि मेटियो । साहित्य यात्राको यो पहिलो थिएन, न ताहूँको नौलो अनुभव । बिहानीपखमा कविता लेख्न मन लाग्यो, जुरेको थियो शिर्षक ‘साक्षी किनाराका सदर’ । सँगै बटुवा बनेका विन्दु केसीले आकृति कोर्नु भएछ, मैले थाले तर बिट मार्न सकिन ।

ताहूँ बजारबाट आधा घण्टा उकालो हिंडेपछि बनमाराको झार छिचोल्दै कोहलमा पुग्दा शीत ओख्रिसकेका थिएनन् । कोत¥यो चुत्राको काँडाले । घरिघरि ठोक्कियो टिमुरको बोट । यतिकैमा पथ–प्रदर्शकले भन्छन्, ‘लौ साथीहरु यही हो हेमकर्णको दरबार ।’ उताबाट जवाफ आयो, ‘सेनवंशी दरबार हो तर हेमकर्ण होइन ।’ खण्डहरमा तक्षशीला मात्र थियो, थिएन ऐतिहासिक चिनारी । प्रशासनीक भूमिकाले कुनै बेला पाल्पा बडो चर्चामा थियो, त्यो हो सेनकाल । अध्ययनविनाको उपाधी र अनुसन्धानविनाको इतिहास भनेको यही हो । नदीनाला भएको देशमा लोडसेडिङ्ग । जडिबुडी भएको देशमा औषधी नपाएर मर्नुपर्ने नियति । उर्जा भर्दथे यात्रामा टंक पन्थले । त्यहाँ उनी गाएर र नाचेरै रौरा कहलिए । मसक्क मस्किने र ठसस्क ठस्किनेको पनि कुनै कमी थिएन । वास्तवमा रमाइलो यात्रा थियो तर साहित्य रचनाका लागि उर्वर भयो भएन केही वर्ष कुर्न पर्ला ?
ठाउँठाउँमा मठमन्दिर देउराली र चौतारी बनेका छन्, जहाँ जनविश्वास र आस्था प्रकट भएका छन् । विशेषता नै रहेछ प्राचिन कला र सँस्कृति । चिनारी नै रहेछ नेपालीको आत्मियता र आतिथ्यता । केही तिता र धेरै मिठा संझना थिए ताहूँका । पहिला अतित संझे र सोचे यसरी नै त बन्यो होला इतिहास । जैविक विविधताकाको खानी त्यो थलोमा वनस्पतीका पात छुँदै हिंडेका युुवराज पौड्यालले आफू अध्यक्ष भएको धवल पुस्तकालयको संरक्षणको सपना देखे । सुस्केरा हाले र अघि बढे । महिना कार्तिकको, बढेको चिसो त्यसमाथि राज्य पुनर्संरचनाको बहसले देशको राष्ट्रियता पनि चिसिएकै थियो । चार गढीको अवलोकनपछि एउटा ऐतिहासिक बिम्ब देखियो । सग्लो र शान्त नेपाल । विभाजित रहेका तनहरू र कुँडिएका मनहरु जोड्ने रहेछ यस्ता जमघटले । आवेश र रिस घाउहरूमा मलमपट्टी लगाउँदो रहेछ ।
लाम लागेर दर्शन । फूल, अक्षता र दक्षीणा । परेवा र रोट । युद्ध र विभिषिकाबाट आजित स्वप्नदर्शीले घोरिएर हेरे, काटिएका एक जोर परेवाहरू । बिहानीको रक्तिम किरणमा रक्ताम्य बन्यो । विवश छ रम्भापानी । हुन त युनान र मिश्रको सभ्यताको क्रमवद्धता हो हाम्रो ताहूँ र बाकुमगढी । प्रतिक्षामा छ ढुङ्गैढुङ्गाले छापेको बाटो, स्वदेशी–विदेशी पर्यटकको । राज्यबाटै अपहेलित छ प्रचुर पर्यटकीय सम्भावना बोकेको यो गौरव भूमि । यीनै कुरा सुसेल्दैतस प्रवेशद्वार पार गरिएछ । नाचनडाँडामा मादल र खैजेडी बज्न छोडेको धेरै भएछ । झाम्रे र सोरठी नाच्नेले चौरको दूबो माड्न छाडेछन् । कालिदास श्रेष्ठले सुनाएका थिए, फुरुङ्गदीमा ढुङ्गे कोहल बाटो खन्दा पुरिएछ । थाकल खाने संस्कार पनि हराएछ । समुद्रपारका कर्क प्याट्रिक यही बाटो घुम्न आएका थिए । बिहानी पखको शितल वन र पहाडी काखमा बसे स्रष्ट्राहरू । मन लोभ्याउने नाचनडाँडाको ठाउँ । जनश्रृति छ, घुमेका थिए राम र सीता डाँडाकाडाँ । नेवार गाउँ र मगर बस्तीको शिरान सर्जकहरू बसे कलम र कापीका पन्ना लिएर । क्या मिठो पानी, सिरसिरे बतास । मनोहर र ऐतिहासिक स्थल । गद्गद् मन र फुरेका कविता ।

खराल प्रेमराजलाई पाइन्टभरि कुरो लागेछ क्यारे । लेखे उनले ‘कुरो’ । ‘कुरो आफै उम्रन्छ, न त यो छर्नु पर्छ, ।’ आफूलाई मज्जा हुन्छ अरुलाई नमज्जा हुन्छ क्या हो ? गाउँखाने कथाको उत्तर आयो, कुरो । काट्न सजिलो छ र सर्वसुलभ पनि । पछाडि कुरो काट्ने लाक्षी भनेर उनले अगाडि काट्ने चुनौति दिनसम्म भ्याए । यस्ता ३५ जनाका सिर्जना र भावना ताहूँले आँगनीमा सुनायो । कुतकुती र छटपटी मनमनमा लुकायो । बिम्ब र प्रतिकमार्फत प्यारो गाउँ उजागर गरायो । छटा सौन्दर्य र महिमा बोकेर देखायो । ताहुँको पर्यटन विकासका लागि सचिव बनेरै पछ्याए बुद्धिबहादुर पौडेल । सिर्जना शिविरका रचना सुनेपछि भन्न बाँकी राखेनन् गोपाल श्रेष्ठले, मदनपोखरा सबै कुरामा अगाडि । साहित्य व्यक्तिगत रुपले बनाउँथे, टोलीले अन दी स्पर्ट लेख्यो र बाँच्यो कविता । रम्भा उच्च माध्यमिक विद्यालयको टाकुरो पदमा आसिन कालीदास बोले, कविले नयाँ कुरा उत्पादन गर्दछन् भन्ने सुनेकै हो, यहाँ सामाजिक परिवर्तनको शंख पनि फुके ।
२०६२ सालमा घिमिरेडाँडा, २०६४ मा कौडेलेक र २०६६ सालमा मस्यामको मरामकोट । २०६७ को शिविर थियो ताहूँ । तरङ्गको आदर्श हो, ‘साहित्य भनेको केन्द्रमा राख्ने होइन, गाउँमा पुग्नु पर्छ ।’ सीमा वा घेराबाट बाहिर निकाल्न थालिएको प्रयत्न हो यो । राजनीतिक वा धार्मिक बेरामा खुम्चिन नदिन गरिएको जमर्को हो । मर्म यही नै हो गाउँगाउँमा भि¥याउने आन्तरिक र बाह्रय पर्यटक । जीवन शैलीलाई अगाडि बढाउन सघाउने । प्राकृतिक र सांस्कृतिक पनलाई रसपान गर्ने र आल्लादित हुने मौका मिलाउने । उल्लासमय यात्राका रानु थिए राधाकृष्ण शर्मा । बाचा गर्दै थिए फिरन्ते काइला, ‘संस्थागत हुनेछ पक्का, लेख्न नछोड सर्जक ।’ पाल्पाली साहित्यको अगुवाई गर्ने, प्रकाशन र प्रसारणको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा पु¥याउने धोको पूण होला नहोला यात्रा भने पूरा भयो । दोस्रो पटक फेरि बिदाइका माला देखिए साहित्यकार र पत्रकार नाउमा । फूलको माला हैन, ती सम्मानका माला थिए । बढेको सुनभन्दा बढी मोलका माला थिए । धन्य, ताहूँ । अब आत्तिनु पर्दैन, मात्र पर्खनु पर्छ ताहूँ ।






प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 फागुन, 2068

लेखकका अन्य रचनाहरु