हर्मोन खेलभित्र प्रश्न उभिएको तेस्रो लिङ्गी

- बी. पी. बजगाईं

धुम्मिएको मन चिहाएर हेर्नै गाह्रो| मनको चिराहरु केलाउनै साह्रो| अघिको घटनाले मेरो मष्तिष्कलाई निचोरिरहेको थियो| म विचलित मष्तिष्कबाट बाहिर निस्कने बाटो खोज्दै थिएँ| यस्तैमा मेरो पछिल्लतिरबाट आवाज आउँछ, “बजगाईं जी, आज रानिपुलमा ब्युटी कन्टेस्टको फाइनल छ, हेर्न जानु हुन्न?”

“कस्तो ब्युटी हेर्न जानु?”

“कस्तो ब्युटी भन्नाले? के भन्न खोज्नु भएको?” उनले सोधे|

“मनको ब्युटी, शारीरिक बनावटको ब्युटी, पहिरनले ब्युटी जस्ता थुप्रै ब्युटीहरु…”, मेरो उत्तर|

“जम्मै मिलाएर जस्तो हुनुपर्ने त्यस्तो ब्युटी…”

“जम्मै मिलाएर कस्तो ब्युटी हुनपर्छ भन्ने कुरा त कसले पो देखेको होला र| त्यो त आंशिक र सापेक्षिक मात्रै बुझ्न सकिन्छ होला| के भित्र हेर्नु र जम्मै?”

“हैन हौ, मैले त नारीभित्रको जम्मै पो भनेको त…”

“नारीभित्रको जम्मै? तिमी बहुलाएको छैनौ?” मैले सोधेँ|

“………..”

“………..”

उसको अनुहारमा केही ग्लानी देखिएको थियो| फेरी यसबारेमा उसले कुरा उठाएन| केहीबेर अन्य गफ गरेर ऊ गयो|

* * * * * * * * *

म पुनः अघिको घटनामा विचरण गर्न पुग्छु| बुझ्न सकिरहेको छुइन, असमन्जसमा छु| पुरुष नारीभन्दा केही हुर्दङ्गे स्वभावका हुन्छन अनि नारी कोमल अनि संवादमा कम्युनिकेटिभ हुन्छन्| ऊ न त हुर्दङ्गे नै थियो न त कोमल नै| यति हो ऊ उसकै संसारको विचित्र विज्ञान थियो तर विचित्रताभित्र उसको मानसिकता भने निकै दह्रो उभिएको थियो| उसको नाम कोमल थियो तर ऊ त्यति कोमल थिएन जति ऊ देखिन खोजेको हो|

“दाई, मलाई तपाईंको गाडीमा लिफ्ट दिनुहोस्न, गान्तोकसम्म जाने…|”

केही अघि मात्रै काबीदेखि आउँदै गर्दा बाटोमा उसले गाडी रोकेर लिफ्ट मागेको सम्झंदैछु|

“साँझमा यसरी एक्लै पुरुषलाई लिफ्ट मागेर अचिनारुको गाडीमा चड्न डर लाग्दैन?” गाडी आफ्नै वेगमा द्रुतगतिमा अघि बढ्दैछ|

“किन पुरुषहरु मान्छे होइनन्?”, उसको प्रतिप्रश्न|

“तपाईंहरुको स्वभाव जति संवेदनशील हुन्छ त्यसको ठीक विपरीत हिंसक गुण बोकेको हुन्छ पुरुष स्वभावले, यसैले मेरो विचार प्रश्न बनेर पोखिएको हो”, मैले भनें|

”अति हिंसाले शान्तिलाई निम्तो दिइरहेको हुन्छ पनि त भनिन्छ नी…, त्यसैले संवेदनशीलता माथिको हिंसक दृष्टिले प्रतिक्रियात्मक शान्ती पनि त खोजेको हुनसक्छ”, मलाई कुरा बुझ्न केही गाह्रो पर्छ|

प्रतिक्रियात्मक शान्ती! कतै यो मेरो पुरुष स्वभावलाई उधिन्ने प्रयाश त होइन? की यो केटी किचकन्ने हो? म भित्र थुप्रै आशंकाहरु जन्मन्छन्|

मनलाई साहस दिँदै बोल्छु, “तिमी जे बोल्दैछौ त्यो तिमीभित्रको जैविक खाँचो त बोलेको होइन?”

उसको अनुहारमा विजयी मुस्कान देख्छु म| मलाई कता-कता डर पनि लाग्न थालेको छ| ऊ को हो? कहाँको हो? म मनमनै सोच्दै हुन्छु|

“भालुको मन खन्युंमाथि भने झैं तपाईं पुरुषहरुको मनले सामान्य कुरालाई जहिले पनि असाधारण अर्थ दिन खोजिरहेको हुन्छ है?” उसको प्रश्नले मलाई भित्र निचोरेको जस्तो भान हुन्छ|

“के नारी मनले चाँही अर्थलाई संकुचित पारेर हेर्छ त?” प्रश्न तेर्साउनुसिवाय अन्य केही उपाय देखिन मैले उसलाई जवाब दिने|

“खै त्यो त मलाई थाहा छैन”, उसको उत्तर सुनेर म अचम्भित हुन्छु| सडकमा भएको खाल्डोमा मेरो गाडी झन्डै जाक्कीएको|

“किन र? तिमी अस्पतालमा कोमा अवस्थामा त छैनौ त|”

“म तपाईंसँग तपाईं कै गाडीमा सवारी लिएको छु| नारी मन कस्तो हुन्छ सत्ते मलाई थाहा छैन|”

मेरो मनको ढुकढुकी झनै बढ्छ| कतै मशानलाई त लिफ्ट दिएको छुइन मैले| छातीमा भएका रौँहरुमा ठोक्किँदै पसिना ओह्रालो झरेको अनुभव गर्छु| एउटा नारीले नारी मन कस्तो हुन्छ जान्दिनँ भनेर भन्नु सिमसिम पानी पर्दैगरेको कुइरोयुक्त साँझमा एकान्त बाटोमा गाडी कुदाइरहेको मेरो निम्ती भय जन्माउन यथेष्ट थियो|

ऊ मेरो अवस्था देखेर म भित्रको अन्तर नियाल्दै हाँसिरहेको थियो| उसको अनुहार मलाई कता कता शंकाजनक लाग्न थाल्यो| अघि निकै राम्री देखिएकी उसको अनुहारमा केही पुरुष स्वरुप देखापर्न थालेको महशुश गरें मैले|

“तपाईंले मलाई नारी मनको कुरा किन सोध्नु भएको?” ऊ बोल्छ|

“……”

“मलाई थाहा छ की मान्छेले पाएको ज्ञानले मानसिकता निर्माणलाई प्रभावित पारेको हुन्छ अनि त्यसले उसको व्यवहारलाई| मान्छेले ज्ञान पाउने स्रोतहरु मध्ये एउटा मुख्य स्रोत उसकै शरीर संरचना हो| यसैले मलाई नारी मनबारेमा थाहा छैन……” ऊ बोल्दैछ|

मलाई केही शंका हुन्छ अनि साहस बटुल्छु र सोध्छु, “के तिमी नारी……?”

“होइन”, ऊ बोल्छ|

पुष्ट वक्ष, लामो सुन्दर केश राशी, नारी स्वर, टीका अनि अन्य स्त्री अलंकारले सजिएकी ऊ नारी होइन| ऊ पक्कै पनि तेस्रो लिंगी हुनुपर्छ, मेरो मनलाई सान्तवना दिँदै सोध्छु, “अनि तिमी के हो त?”

“तेस्रो लिङ्गी|”

मेरो मनको डर सबै भागिसकेको छ| अब मेरो मन संवेदनशील बन्दै गएको बोध गर्छु| तेस्रो लिंगी भन्नेबित्तिकै मानिसहरूले नकारात्मक दृष्टिकोण राख्ने समाजमा ऊ यति अडिलो भएर मसँग कुरा गरेको देख्दा मलाई उसको साहसप्रति नतमस्तक हुन कर लागेको छ| समाजमा घृणा र अदेखा प्रहारहरुको सामना गर्न परेको तेस्रो लिङ्गी समाजको वास्तविकता सम्झँदै सोध्छु, “पुरुष र नारी वातावरणमा बाँधिएको समाजमा तिमीहरुले कसरी आफूलाई उभ्याएका हुन्छौ?”

मेरो अनुहारमा देखापरेको सम्वेदना नियाल्दै प्रसंग फेर्दै उसले मलाई प्रश्न गर्छे, “तपाईं पनि संवेदनशीलता ओड्नु हुँदो रहेछ अनि अघि किन नारीहरु धेरै संवेदनशील हुन्छन् भन्नु भएको?”

“त्यो त स्थापित नियम बोलेको हो मनोविज्ञानको…”, मेरो छोटो उत्तर|

“खै मेरो शरीर पुरुषको झैं भए पनि स्वभाव भने नारीको छ जस्तो लाग्छ| वास्तवमा आफु नारी नभएकोले नारीको वास्तविक स्वभावबारे भने म अनभिग्य नै छु| तर हाम्रो मन पुरुषप्रति आकर्षित हुने भएकोले आफूलाई नारी गुण सम्पन्न भएको झैं लाग्छ”, मेरो अघिल्लो प्रश्नको जवाब दिएकी होली सायद उसले|

“विपरीत लिङ्गी प्रतिको आकर्षण, शारीरिक संरचनाले मागेको तृष्णा आदी अलिखित प्राकृतिक नियमहरु हुन| यसमा पुरुषहरुको सर्वव्यापी, दृष्टि-निर्भर, यौनकेन्द्रित बहुगामी चरित्रलाई नारीको आवेगमय, प्रासंगिक अन्तरंग स्वभावले जहिले जितेको हुन्छ| तर तिमीहरुको सन्दर्भमा यो नियम लागु हुँदैन नी…”. मेरो जिज्ञासा|

“तपाईंले त्यसरी बोलेको हाम्रो मष्तिष्कले बुझ्दैन| हामीले बुझेका यस्ता कुराहरु हामीलाई किताबी ज्ञानले अथवा अरुको व्याखाले जबर्जस्ती बुझाइएका हुन्| हामी आँफैले भने हाम्रै प्रकृति मात्र त बुझ्न सकेका हुन्छौं|”

“उसो भए तिमीहरुमा आकर्षण दिने या लिने मानसिकता अधुरो छ त?”

“कसले भन्यो अधुरो छ?” ऊ रिसाए झैँ गरी बोल्छे| “महिलालाई पुरुषप्रति आकर्षित गराउने स्ट्रोजेन र पुरुषलाई महिलाप्रति आकर्षित गराउने एन्ड्रोजेन हर्मोन हुन्| त्यही स्ट्रोजेन र एन्ड्रोजेनले दिएको मानसिकताको भरमा अर्कालाई अधुरो भन्नु सुहाउँदैन दाई! हामी आफैँमा आफ्नो सम्पूर्णता बोकेर बाँचेका छौं”, ऊ प्रतिरोधात्मक हुँदै भन्छे|

“…..”

“तपाईंहरुको हर्मोन खेल यौनको क्षणिक उत्तेजना मात्रै हो| तपाईं पुरुषहरुलाई कुनै महिलासँग सम्बन्ध राख्ने कल्पना मात्रैले पनि आनन्द दिन्छ होला, तर जब तपाईंहरुकै छोरी-बहिनीबाट अन्य पुरुषले आनन्द लिने कोशिस गर्छन तब त्यही विपरीत लिङ्गी आकर्षण तपाईंको निम्ती पीडादायक लाग्छ हैन र? त्यतिबेला अर्को पुरुषको एन्ड्रोजेन गतिविधीलाई किन गलत देख्छ त्यही आँखाले? हामी यस्ता क्षणिक हर्मोन खेलभन्दा धेरै टाडा छौं बुझ्नुभयो?” उसको विद्वतामा पनि मक्ख हुन् नसकेर मेरो पुरुषत्व हारेको जुवाडे झैं बनेको थियो| आफैँसँग दिक्क लाग्दै थियो मलाई|

मेरो मनले पनि भन्दै थियो, “हो त बलात्कार जस्ता घटनाहरु हाम्रो समाजमा हुन्छ तर तेस्रो लिङ्गीको समाजमा हुँदैन| कानुनले दिने बलात्कारको परिभाषाभन्दा धेरै पर उभिएका हुन्छन उनीहरु| तरै पनि उनीहरु नै समाजमा अवहेलित?”

“तपाईंको तर्क साँच्चै मन परयो”, उसलाई साम्य गर्ने प्रयत्नमा बोल्छु| उनीहरुको दयनीय लागेको अवस्थाप्रति मेरो सम्मान बढेको थियो|

“हेर्नुहोस दाई, जन्मदा नै क्रोमोजोममा हुने गडबडी वा गर्भको समयमा हुने गलत वा उल्टो हर्मोनको प्रभाव हाम्रो गल्ती होइन| समाजले हामीलाई हेर्ने दृष्टिकोणप्रति तपाईंको सहानुभूति तपाईंकै आँखामा अनुभव गरेकी छु मैले| स्वलिङ्गी आकर्षणलाई तपाईंको समाजले घृणित नजरले हेरे पनि हामी त त्यसलाई पुरुष र नारीमा हुने विषमता विपरीतको समर्पण सम्झन्छौँ| हामीले कसैलाई आफूप्रति आकर्षित हुनु जबर्जस्ती त गरेका छैनौं नी, त्यो त मान्छे बाँचेको वातावरण र उसले आर्जन गरेको मानसिकतामा फरक पर्ने कुरा हो| हामी जे छौं, हामीलाई ठीकै लागेकोछ”, उसको तर्क प्रस्तुत गर्छे|

यस्तै गफहरुमा मेरो गाडी गान्तोक आइपुगेछ| ऊ गाडीमा यहाँसम्म लिफ्ट दिएकोमा मलाई धन्यवाद दिएर जान्छे| मलाई अहिले पनि थाहा छैन ऊ को हो अनि कहाँको हो भनेर|

* * * * * * * * *

साँच्चै उसको स्वभाव न त हुर्दङ्गे नै थियो न त कोमल नै| यति हो उसको विचित्र विज्ञानको संसार ठिम्याउने मेरो अन्तर्मन भने अहिले पनि अबोध नै छ| ||समाप्त||

गान्तोक

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 फागुन, 2068

लेखकका अन्य रचनाहरु