पूर्वको साइत

- भेषराज रिजाल

विराटनगर विमानस्थलमा प्लेनले पाङ्ग्रा अड्याएपछि मैले गोजी छामे । जहाजका सिटमुनि मात्र होइन मेरा झोला झ्याम्टा सबै हेरेँ । ज्याकेट, कमिज र पाइन्ट पूरै छाम्दा पनि नभेटिए पछि मैले मेरो दर्द साथीहरूसम्म पुर्याएँ । अहँ मेरो मोबाइल सजिलै भेटिएन ।
"दाइ तपाईंको साथमा हतियार छ ।" मोबाइल र कलमको रक्षार्थ बेलाबेलामा गोजी छाम्दा साहित्यकार दाजु वासुदेव गुरागाईंसँग सँगैको सिटमा यात्रारत अपरिचितले अन्यत्र कतैको यात्रामा सोधेको प्रसङ्ग सम्झेँ । दुई महिना अगाडि रत्नपार्कमा गाडी चढ्दा भीडभाडमा कसैले थुतिदिएर मेरो मोबाइल हराउँदा पनि मैले त्यही प्रश्न सम्झेको थिएँ ।
"मैले मेरा थुप्रै साथीहरू गुमाएँ ।" मैले त्यो साँझ घर पुगेर खाटमा पल्टिँदै भनेको थिएँ । बूढी अलमल्ल परेकी थिइन । देखेको बोल्ने स्वभावका कारण कसैसँग झगडा परेछ कि भन्ने अनुमान रहेछ उनको ।
"तपाईं पनि साँच्चै साहित्यकार हुन लाग्नु भएछ ।" मोबाइल हराएको कुरा थाहा पाउँदा उनले भनेकी थिइन ।
"मनोभावना बुझिदिने तिमी मभन्दा ठूलो साहित्यकार ।" मैले भनेको थिएँ । स्रष्टा ठूलो कि द्रष्टा भनेझैँ हामीले एक अर्काको प्रशंसा गरिरहेका थियौँ । मौका मिल्दा मन जित्नका लागि गरिएको साथीको प्रसंशा । घर वातावरण रमाइलो बनाउने एउटा मनोवैज्ञानिक उपाय ।
लेखक बन्ने रहरले एक दुई रात आँखामा साँचिएको अनिदो’ र तीन दिन पूर्व बन्द भन्ने एयरपोर्टमा आएपछि पाइएको जानकारीले होला दिमाग चलेर मात्र हुँदैन दौडनुपर्छ भन्ने टेलिभिजन विज्ञापनलाई पछयाउन नसकेझैँ भइरहेको थियो । मेरो मोबाइल भेटाइनुभन्दा पहिला आयोगका सहकर्मीबाट श्यामजीको मोबाइलमा मेरो खोजी भइसकेको थियो । पछि हरिहर सरले सोध्नुभयो -"कहाँ पुग्नुभयो ।" विराटनगरको बन्दमा बन्दी भइएको छ भन्दा उहाँले रिक्सा चढ्न सुझाउनुभयो । निर्वाचन कार्यालय, मोरङका कर्मचारी साथी उद्धव गेलालबाट पनि सोही सुझाव पाइसकिएको थियो । करीब बीसवटा जति रिक्सामध्ये हामी नजिक आइपुगेका दुइटा रिक्सामा बाँडिएर चढयौँ हामी । बरगाछी चोकस्थित जिल्ला निर्वाचन कार्यालय मोरङमा पुगियो । विनोद दाहाल सर र अरू कार्यालयका साथीहरूलाई भेटियो । नियमित औपचारिकताहरू पूरा गरिए । बेलुकीपख साथीहरूको पछि लागेर म बजारतिर निस्किएँ । पूर्व साइत गर्दा मेरा सहयात्री थिए - युवराज गुरागाईं, श्याम महर्जन र चम्पा महर्जन ।
"प्लेन ओर्लने बेलामा विराटनगरको आकासमा मडारिएको बाक्लो तुवाँलोको कारण शायद यही धुलो हुनु पर्छ ।" मैले साथीहरूसँग धुले बाटोमा हिँड्न आफ्नो मन नखुलिरहेको सङ्केत गर्दै थिएँ । धन र धर्म अक्करमा हुन्छ’ भनेझैँ धार्मिक प्रवृत्तिका श्याम दम्पत्तिको तीव्र इच्छाका कारण हामी उनीहरूकै पछि लागेका थियौँ । गाडी चल्दा झण्डै कुहिराको काग जस्तै भएर वरपरको धमिलोसँग जुध्दै हामी करीब एक घण्टा हिँडेर मन्दिर पुग्यौँ । नमस्कार, प्रणाम वा आत्मर्समर्पण गर्यौँ देवतासामु र फर्कियौँ । चञ्‍चले मन एकछिन देउतालाई सुम्पन खोज्नु धर्म हो । मन शुद्ध भए कर्म सच्चिन्छ भन्ने मेरो बुझाइ ।
ठाउँ फेरिँदा मनमा एउटा छुट्टै रोमाञ्चक अनुभूति हुँदै थियो । नरिबल र सुपारीका रूखले आँखालाई शीतलता दिइरहेका थिए । मनोरम छटाको अर्थ बुझाउने गरी पहेँलपुर किरण छरेर सूर्य क्षितिज मास्तिरै अस्ताइसकेको थियो । हामी हतार हतार मन्दिरबाट र्फकँदा साँझ राम्ररी छिप्पिइसकेको थियो । दिउसो भेज सम्झेर खाएको मोमो ननभेज परेपछि दिगदिग मानिरहेका गुरागाईंजीले फ्रुटी मागे । सडक किनारामा उभिएर आ-आफ्ना हातका फ्रुटी ‍एक सुर्कोमै तन्काएपछि हामी अन्यमनस्क हुँदै बासस्थानतिर लम्किँदै थियौँ ।
"यस्ता बत्तिमुन्तिरको आँगनमा बस्नु परे कसरी बसिन्थ्यो होला ।" सामुन्नेको क्षितिजतर्फतुवाँलोभित्र देखिएको चन्द्रमाको चाँदनीभन्दा धमिलो प्रकाश छरिरहेका सडक बत्ति मुन्तिर पर्दा साथीहरूमध्ये कसैले भने ।
"म त आफ्नै खर्चमा सिएफएल बल्ब फर्ेर्थेँ होला ।" मैले भनेँ ।
"बरू मन्दिरलाई लाखौँ दान दिएर दानीमा नाम लेखाउने तर पब्लिक सम्पत्ति कसैको पनि होइन जसरी वास्तै नगर्ने । यो कस्तो नेपाली बानी ।" साथीहरूको प्रश्नप्रतिको मतैक्यता ।
खानपिन पछि विच्छयौनामा पुग्नु थियो । पुगियो । मभन्दा पहिल्यै विच्छयौनामा पसिसकेका लामखुट्टेका अनपेक्षित कर्कश ध्वनी सुन्दै मैले र्टचलाइटको धमिलो प्रकाशमा काठमाडौंदेखि विराटनगरसम्मका एकाध क्षणहरूको सम्झना गर्न खोजेँ । कतै हिँड्दा केही टिप्नुपर्छ भन्ने मान्यता बनिसकेछ अचेल मेरो ।
वि.सं.२०६८ साल फाल्गुण ११ गते । आयोग पुगेर केही पूर्वी जिल्लाको भ्रमणका लागि निस्किँदै थियौ हामी । आयोगको ढोकैनेर पुग्दा एक जना वरिष्ठ अधिकृत भेटिए ।
"कता हो झोला बोकेर ।"
"हामी मोरङ, सुनसरीलगायतका केही जिल्लाहरूतिर लाग्दैछौँ सर ।" अरू साथीहरूभन्दा म अगाडि थिएँ ।
"के कार्यक्रम छ ?"
"अनुगमन । त्यही मौकामा यसो घुमफिर पनि गरौं भन्ने इरादा ।"
"यस्तो पनि हुन्छ ।" उनी आश्‍चर्य चकित देखिए । चाकडीका बलले देश विदेश गरिरहने उनले आफूलाई पूरै बिर्सिएझैँ गरे ।
"यस्तै भयो सर ।" मलाई मनमनै हाँसो लागिरहेको थियो । मुखमा पनि स्वाभाविक मुस्कान ल्याउने प्रयास गरिरहेको थिएँ ।
"हाम्रो साइत बिग्रियो ।" उनी हामीबाट ओझेल भइसकेपछि गुरागाईंजीको भनाइ ।
"अहँ, हाम्रो साइत बिग्रेको होइन, सप्रेको छ । आफूले मात्र अवसर चाहनेहरूको मन बिग्रे होला । साइत बिग्रे होला ।" साथीहरूमाझ साँचा कुरा भएनन् भने सहयात्राको के काम । हामी मन मिल्नेहरू नै सहयात्रामा निस्किँदै थियौँ ।
विमानस्थल पुगेर प्लेन चड्दा एउटा गह्रौँ भारी केही दिनका लागि टाउकाबाट झिकेझैँ भइरहेको थियो । करीब पैँतीस मिनटको प्लेन यात्रामा देखिएका सुन्दर दृष्यहरूले दिमाग रिफ्रेस गर्दै थिए । वसन्त ऋतुको सुन्दरतालाई धुलो र तुवाँलोले धमिल्याउन खोजे पनि मन झन सङ्गलिँदै थियो । विराटनगर दोस्रोपटक जाँदै थिएँ म ।
"पहाड र तराईको मिलन हेर्न मन थियो तर ठ्याक्‍कै कुहिराले छोपिदियो ।" गुरागाईंजीका भनाइले मलाई साँच्चै एउटा सुन्दर कल्पना गर्न मन लागि रहेको थियो ।
"त्यस्तो सीमारेखा त मनभित्र बनाएर बल्ल बाहिर खोज्नु पर्छ होला ।" नभन्दै चुरेका फेदीको चारकोशे झाडीका अग्ला अग्ला सालका रूखहरू मनमा उभिँदै थिए । मान्छेले आफूभित्रको संसार खोज्दो रहेछ बाहिरी दुनियाँमा पनि ।
"नजिकै खोला बगिरहेछ । बस्ती काकाकुलजस्तै प्यासी देखिन्छ । उरन्ठाउलो सुख्खा सहेर कसरी बाँचेका होलान यी बस्तीहरू ।"
"हिमाल नजिक मात्र अलि रसिलो छ । सुन्दरता छ । जति हिमाल टाढा उति खैराँते डाँडा ।"
"हामी सिन्धुली, रामेछाप आदि जिल्लाहरू माथिबाट उडयौँ होला । मोबाइलमा जिआइएस भएको भए सबै सजिलै पत्ता लाग्ने ।" बर्खामा भयानक डुबान बेहोर्ने कोशी आसपासका क्षेत्रहरू छुटयाउन खोज्दै थियौँ हामीले ।
भोलिको कल्पना सुन्दर नभए मनमा आनन्द कहाँ हुन्छ र ? विराटनगरभन्दा पूर्व मैले नटेकेको नेपाली भूमि हेर्ने मनोकांक्षासँग रमाउँदै म सुस्ताएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 फागुन, 2068

लेखकका अन्य रचनाहरु