समयको चोट

- सुरेन्द्र सुमन

डकुमेन्ट्री छायाकंनको सिलसिलामा म र मेरो साथी हरि करुणाको गाउँमा पुगेका थियौं । हामी बस्ने होटेल नजिकै उनको रातो माटोले पोतेको चिटिक्कको घर थियो । टोलबासीले प्रयोग गर्ने धारा एउटै भएकोले प्रायः धारामा बढि नै भिड हुन्थ्यो । त्यो धारा र धारामा लाग्ने भीडलाई वेवास्ता गर्दै हरी र म त्यो गाउँको सिरानमा खोलाबाट पानी ल्याएर बनाईएको पँधेरामा प्रत्येक विहान जान्थ्यौं । पँधेरामा पनि हामी जस्तै एकान्त चाहानेहरु पुग्थे । तर एक दिन भने म र हरि पँधेरामा पुगीसक्दा सम्म कोही पनि आएका थिएनन् । “आज यहाँका सबै मान्छे मरिसके कि क्या हो ?” हरि छिटो उठेकोमा नाक फुलाईरहेको थियो, “हामीहरु उठेर के के गरिसक्यौंं ।” म पँधेरामा निहुरेर कपाल नुहाइरहेको थिएँ । कसैले मेरो पिठ्युँमा सानो जर्किनले भ्यात्त हान्यो । मलाई झनक्क रिस उठ्यो, मैले केही सोच्दै नसोची नराम्रो शब्दले गाली गरिदिएँ । “को रण्डीको छोरा हो,” मेरा साँच्चीकै कन्सिरी तातिएका थिए, “मान्छे नुहाउन लागेको देख्दैनस् तेरो आँखा फुट्या छ ?” म धाराबाट टाउको ननिकालेरै गाली गरिरहेको थिएँ । हरि मरी मरी हाँस्न लाग्यो, मैले सोचें यही थारु हो । ओइ थारु किन हाँस्छस् ? अर्कालाई कस्तो चोट लागेको छ, यो त हास्दो पो रहेछ ए ? हरि अझै हाँस्न थाल्यो । पछाडी हेरेको त सप्पै मान्छे जम्मा भैसकेका रहेछन् । एक जना केटी मान्छे भने हिलोले लतपतिएर टुलुटुलु मलाई हेरीरहेकी थिइन् । ति केटी करुणा नै थिईन् । उनले लगाएको कपडा हेर्दा लाग्थ्यो भर्खरै रोपाईमा हिलो खेलेर आएकी हुन् । उनको हालत देखेर अरु केटा केटी हाँस्दै जिस्काइरहेका थिए । “ए, करुणा दिदी कतिवटा खेत रोपेर आएको ?” मैले उनको नाम करुणा रहेछ भन्ने त्यहीबाट थाहा पाएको थिएँ । त्यसपछि मेरो भने बोली नै बन्द । मैैले अनुमान गरें, करुणा चिप्लेर लड्दा जर्किन हातबाट फुत्केर मलाई लागेको हुनुपर्छ । मैले धारामा आफ्नो पालो सकेपछि केटीले शरिर र लुगामा लागेको सबै हिलो सफा गर्न थालिन् । हात खुट्टा पखाल्दै गर्दा उनी मलाई घरिघरि खाउँला झैं गरि हेर्थिन् । म केही बोलिन, त्यसपछि हरि पनि फ्रेस भयो अनि हामी होटेल तिर लाग्यौं ।
हामी खाना खाएर आराम गरिरहेका थियौं । मेरो मनमा विहानको घटना सम्झेर थरिथरि कुराहरु खेलिरहेका थिए । मैले कुरै नबुझि त्यसरी गाली गर्न नहुने थियो, उनीले मलाई के सोचीन् होला ? फेरि सोच्थे मलाई पनि त कम्ती चोट लागेको थिएन, अहिले पनि कम दुख्छ त ? म यस्तै के के सोच्दै थिएँ तर हरि मोबाईलमा हेडसेट जोडर संगीतमा मग्न थियो । राकेसले डकुमेन्ट्री खिच्ने सम्पुर्ण ब्यवस्था मिलाई सकेपछि हामीलाई लिन होटेलमा आयो । क्यामारा, ट्राइपोड, लाईट लगायतका सामाग्री लिएर हामी छायांकन स्थल तर्फ लाग्यौं । त्यहाँ डकुमेन्ट्रि निर्माण युनिट सँग सामान्य परिचय भयो । विषयबस्तुको बारेमा पहिले नै हामीलाई जानकारी गराईसकेकोले सिधै हामी छायांकन गर्ने काम तिर लाग्यौं । त्यहाँ अन्य दर्शकहरुको पनि अनियन्त्रित हुल थियो, जसका कारण छायाकंन गर्ने काममा समेत असर पुगेको थियो । मैले क्यामारा खोलेर भीडको एउटा सट खिच्दै गर्दा एउटा चिरपरिचित अनुहार फेला पारें । त्यो अनुहारलाई मैले जुम गरें, त्यो अरु कोही नभएर विहान धारामा मलाई जर्किनले हान्ने वा हिलोमा चिप्लने केटी थिइ । मलाई क्यामाराबाट हेर्दा उसको हँसिलो अनुहार अत्यन्तै आकर्षक लाग्यो । उनले रातो डोल्पाली स्याउ स्वाद मानी मानी खाइरहेकी थिई । रातो रंगको कुर्ता सलवार लगाएकी ऊ बेला बेला मुसुमुसु हाँसीरहन्थी । क्यामाराबाट उसलाई लुकेर हेरिरहदा मलाई लाग्थ्यो, ऊ ठुलो ठुलो आँखाले मलाई नै हेरिरहेकी थिई । मैले उसको हाउभाउलाई पुरै क्यामारामा कैद गरिसकेको थिएँ । “ओ महासय के हुदैछ, कसको डकुमेन्ट्री खिच्दै हो ?” मेरो सबै क्रियाकलाप देखेर वाक्क मानिरहेको हरिले मलाई झस्कायो । “यता, यता ! कलाकार यता छन् ।” मैले केही बोलिन, म चुपचाप क्यामारालाई घुमाएर कलाकार तिर लेन्स तेस्र्याउछु । तर पनि मलाई त्यो केटीको हँसिलो अनुहारले मनमा झस्काइरह्यो । त्यसपछि म छायाकंनको काममा ब्यस्त भएँ तर त्यही ब्यस्तता भित्र पनि मेरो दिमागमा रातो रंगको कुर्ता सलवार लगाएकी हिस्सी परेकी केटी स्याउ टोक्दै घरिघरी आइरहन थाली । मलाई के भएको थियो मलाई नै थाहा थिएन । म पहिला अलि बकबक बोल्ने मान्छे बोल्न छोडेको थिएँ ।
त्यो दिनको छायांकनको काम सके पछि बेलुका होटेलमा फर्कियौं । होटेलमा खाना पाकी नसकेकोले कोठामा गएर आराम गर्यौं ।
मैले हरिलाई सोधें, “शुरुमा त मलाई उसको केही प्रभाव नै परेको थिएन तर आज देखि उसको अनुहार मात्रै मेरो दिमागमा आइरहन्छ के भयो यार ?”
हरिले मेरो अनुहार तिर हेरेर ओठ लेब्¥याउदै भन्यो, “कसको अनुहार भन्छ यो ? ए, त्यो ढ्याउसीको ?”
मैले झर्किदै भने, “ओइ, ढ्याउसी नभन त ?”
“तँ अब पागल हुन्छस्, आफुलाई लभ गर्न आएको ठान्छस् कि क्या हो ?” ऊ अझै बोल्दै थियो, “डकुमेन्ट्रीको काम छिटो सकेर काठमान्डु जानुछ । दायाँ बायाँ हेर्ने होइन है, भन्द्याछु ।”
मैले सोझो बन्ने प्रयास गर्दै भनें, “यो हरि पनि त्यत्तिकै रिसाउछ, मैले कहाँ दाँया बाँया हेरेको छु र त्यो केटी राम्री रहिछे पो भन्न खोजेको, किन रिसाउँछस् ।”
“भो भो, अब खाना तयार भयो होला, जाऊँ” भन्दै हरि जुरुक्क उठेर हिड्यो, मैले पनि लुरुलुरु उसलाई पछ्याएँ ।

हामी बेलुकाको खाना खाइरहेका थियौं । करुणा हाम्रै होटेलमा आई । म मख्ख परेर उनलाई हेरिहेको थिएँ, ऊ तरकारी लिन आएकी रहीछे । करुणा गैसके पछि थाली तिर हेर्दा त हरिले मेरो भागको सप्पै मासु खाइदिएछ । मैले झोक्किदै उसलाइ भने, “ओइ थारु अर्काको भागको मासु खान तँलाई लाज लाग्दैन ?”
“खाना खाने बेलामा अर्काकी छोरीलाई ट्वाल्ल हेरिरहन तँलाई लाज लाग्दैन् ।” थारु मेरो भन्दा झनै ठुलो स्वरले करायो । मलाई लाज लाग्यो, म चुप लागें, “खाना थपुँ ?” होटल्नी दिदीले हाँस्दै भनिन् । हरिको कुराले होटेल्नी दिदी हाँसे जस्तो लाग्यो मलाई । झनै लाज लागेर आयो ।
“भयो, भयो ।” म जुरुक्क उठेर हात धुन गएँ ।
म ढोकाबाट बाहिरीदा हरिले भन्दै थियो, “यस्तै हुन्छ भर्खर भर्खर माया पिरिम बस्न लागे पछि, धेरै खान मन पनि लाग्दैन ।” होटल्नी दिदी हाँसेको सुनें । “छिटो खा, धेरै नफडफडा थारु, अहिले फेरि तेरो बाउ नामास्कार भन्दै आउँछ ।” राकेसले नमस्कार भन्दा नामास्कार भनें झै लाग्थ्यो । म र हरि एक्लै हुदा राकेसको खिसि गर्दै उडाउथ्यौं । अन्तिम गाँस निल्दै गर्दा हरि हाँसोले फिट्कीयो । नाकबाट भातको सिता निकालेर ऊ मलाई गाली गर्दै थियो । “सुखले खान पनि नदिने डाँका ।” हरि हातमुख पखाल्दै थियो । राकेस आइपुग्यो, “सरहरु नामास्कार, खाना भयो ?” म राकेसलाई देख्ने वित्तिकै हाँस्न थाले । बल्ल बल्ल रोकिएको हरि पनि मेरो अनुहार तिर हेरेर जोडले हाँस्न थाल्यो, राकेस पनि कुरा नबुझेरै सँगै हाँसिदियो ।
यसरी त्यो गाउँमा हामी डकुमेन्ट्री छायाकंनमा ब्यस्त भएको एक हप्ता भन्दा बढि समय वितिसकेको थियो । यो बिचमा मेरो करुणा सँग बोलचालको शुरुवात भैसकेको थियो भने म भन्दा पनि हरि करुणाको नजिक भएको थियो, त्यति मात्र होईन करुणा भन्दा उसको परिवार सँग बढि नजिक भएको थियो ऊ । करुणालाई मन पराएको कुरा मैले हरिलाई गम्भीर रुपले भनेको थिएँ । शायद सँधै जिस्कीरहने हरिले मेरो कुरालाई साँच्चीकै गम्भीर भएर मनन गरेको थियो । करुणाले मलाई मन पराउथी वा पराउन्न थिई त्यो मलाई थाहा थिएन तर ऊ बहाना बनाएर मेरो नजिक हुने प्रयत्न गरिरहन्थी । करुणा मलाई मामा भनेर सम्बोधन गर्थी । उसको क्रियाकलाप देख्दा लाग्थ्यो, ऊ पनि मलाई चाहान्थी । हरिले पनि यस्तै अड्कल काटेको थियो । त्यसैले हरि मेरो लागि भए पनि करुणा र उसको परिवार सँग नजिक भएको थियो । म छायाकंनमा जाँदा ऊ करुणा र उनको परिवार सँगै खेतमा जाने गथ्र्यो । करुणाको बाआमाले हाम्रा बारे सोध्दा एक दुइ कुरा थपेर भनिदिदो रहेछ । खेतमा गएको दिन ऊ खाना पनि करुणाकै घर मा खान्थ्यो । बेलुका सुत्ने बेला हरि सप्पै कुरा मलाई रिपोर्टगं गथ्र्यो ।
ऊ भन्थ्यो, “माकस्सम ! करुणाले त तँलाई मन पराउछे यार, त्यति मात्र होइन, त्यसको बाउले पनि तलाई मन पराउँछ यार ।”
“हल्ला नगर थारु, बरु आज करुणासँग के के कुरा भयो, खुरुक्क भन् त ?” म चन्चल बन्दै सोध्थे ।
“ओई तँ मलाई थारु किन भन्छस्, भैगो म केही पनि भन्दिन ।” ऊ आफ्नो भाउ बढाउदै सिरकमा गुटुमुटु भयो, “ल सर, म सुतें, गुड नाइट ।” थारुलाई खाउँला झै रिस उठ्थ्यो तर के गर्नु म रिसाएँ भने उसले केही भन्दैन्थ्यो, मैले उसलाई फकाउदै भन्थे, “सरी यार अब देखि म तँलाई कहिल्यै पनि थारु भन्ने छैन । यी प्रमिस ।” मैले छातिमा हात राख्दै भने । “प्रमिस हैन मलाई नमस्ते गर ।” ऊ सिरक फाल्दै जुरुक्क उठेर बस्यो ।
“ल, हजुर हुन्छ नमस्कार, अब त भन्नुहोस आजको प्रगति ?”
“हो यार करुणाले पनि तँलाई मन पराउँछे । उ तेरो मात्रै कुरा गरिरहन्छे । तैलें उसको भिडियो खिचेको कुरा मैले सुनाइदिएँ । त्यो भिडियो हेर्ने रे उनले । अनि भोली विहानको खाना तेरो लागि त्यही पाक्दैछ । शायद ऊ विहानै तँलाई बोलाउन पनि आउँछे होला ।” हरिले एकै सासमा इति बृतान्त सिध्यायो । म त्यो पल कति खुसी भएको थिएँ, थाहा छैन ।
भोली विहान हामी फ्रेस भएर होटेलमा चिया खादै गर्दा करुणा आई, “मामा, हजुरलाई आज मेरो घरमा खाना पाकेको छ । म एक छिन पछि लिन आउनेछु, नखाएर बसिसेला नि हजुर ।” मेरो जवापैm समेत नसुनेर ऊ गई, “म खबर गर्न मात्र आएको, हरि दाइ म गएँ ल ।” मेरो चम्केको अनुहार हेर्दै हरिले आँखा झिम्क्याउदै भन्यो, “ल ल सर मोज गर्, अब त मेरो काम पनि सकियो होला नि ।” हरिलाई मैले केही भनिन ।
होटेलमा करुणाकै बारेमा गफ गरिरहदा फेरि राकेस जी नामास्कार सर भन्दै झुल्कीएँ । राकेस जीलाई देख्ने वित्तिकै चिन्तित हुन्थ्यौ किनभने उनी राम्ररी खाना खाई नसक्दै हामीलाई काममा बोलाई हाल्थे । मलाई त त्यो दिन विशेष निमन्त्रणा थियो । त्यसैले पनि केही बहाना बनाउने सोचेको थिए । मैले राकेसलाई आज साह्रै टाउको दुखेको छ, सर आज म क्यामारा ह्यान्डल गर्न सक्दिन भनिदिएँ । संयोगले वा भाग्यले भनुँ, राकेस जी पनि आज अलि ब्यवस्थापन नमिलकोले भोली मात्र छायाकंन गर्ने भन्ने खबर लिएर आएका रहेछन् । मलाई त्यो दिन दैबले नै मिलाई दिएको जस्तो लाग्यो । यत्तिकैमा हरिले प्याच्च भनिहाल्यो, “ल ल तँलाई त आज साँच्चीकै मोज हुने भयो ?”
राकेस जी भने मेरो अनुहार ट्वाल्ल हेरेर भन्न थाले, “हरि जी के भन्नुभएको, बिचरा ! सरलाई खुबै टाउको दुखेजस्तो छ के को मोज गर्नु ?”
“त्यहि त ।” हरिले खिसी गर्दै भन्यो । म मनमनै हाँसी रहेको थिएँ । त्यति नै बेला करुणाले घरको सिढिबाटै बोलाई, “मामा ल आइस्यो, खाना पाक्यो ।” म चुपचाप करुणाको घर तिर लागें । हरि र राकेसले मेरो बारे के के कुरा काटे मैले सुनिन ।
घरमा कोही थिएन, मैले सोधें, “खै त बाआमा ?”
“सबै जना खेतमा ।” उनले सिढी चढ्दै भनी ।
“अनि तिमीले जानु पर्दैन बाआमालाई मात्रै दुःख दिने यस्तो त भएन नि ?” मैले जिस्किने मनसायले भनें ।
करुणाले मस्किदै भनि, “म खेत गए हजुरलाइ खाना कोले बनाइ दिन्छ त ? म हाँसे मात्र ।
भान्सामा पुगेपछि उनले मलाई पिर्का देखाउदै बस्न इशारा गरी । मलाई मनका कुरा करुणासँग कसरी ब्यक्त गर्ने होला ? भनेर चिन्ता बढ्दै गएको थियो । म बिस्तारै नर्भस हुदै गैरहेको थिएँ । करुणाको अनुहार पनि रातो रातो देखिन्थ्यो । ऊ पनि लजाएकी थिई तर नलजाएको देखाउने कोशिसमा थिई आफुलाई । जसरी पनि मलाई मनको कुरा भन्नु थियो किनभने त्यो दिन जस्तो उपयुक्त समय फेरि कहिल्यै शायदै मिल्न सक्थ्यो । त्यसैले आफुलाई सम्हाल्दै भनें । “करुणा तिमी लजाउदा झनै राम्रो देखिदो रहेछ ।”
खाना थालीमा राख्दै गर्दा ऊ प्रतिक्रिया विहिन थिई । केही क्षणको मौनता पछि बोली, “खाना सेलायो, खाइस्यो न ।”
मेरो भोक हराएको थियो, मैले चुपचाप भात जुठो हाले तर मलाई खानै मन लागेन किन किन ? अलिकति दालको रस र मासु खाएँ, भात घाँटीमा छिरेन । म आज करुणाको हातले बनाएको खाना खाँदा त्यत्तिकै मख्ख थिए । शायद उनको अगाडी बसेकै कारणले म अघाएँको थिए । तर उनी भने मेरो हालत देखेर चिन्तित ! “के हजुरलाई मैले बनाएको खाना मन परेन ?”
“हैन, यति मिठो खाना जीवनमा मैले पहिलो पल्ट खाएको ।” मैले नजिकैको कोपरामा हात धुदैं भनें । खाना खाइसकेपछि उनले मलाई आफ्नो कोठामा लिईन्, “हजुर आराम गरिस्यो म भान्सा सफा गरेर आउछु है ।” म उसको कोठामा टेबुल माथि रहेको फोटो एल्बम पल्टाउदै थिएँ, करुणाले कोठामा प्रबेश गरी ।
“आज मलाई तिमी सँग एउटा गम्भीर कुरा गर्नुछ ।” एल्बम टेबुलमा छोडेर डल्फिन कुर्सीमा बस्दै मैले भने । ऊ प्रतिक्रिया विहिन रही । शायद मैले के भन्न खोजेको हो भन्ने कुरा उसलाई पहिल्यै थाहा थियो या थाहा नभए पनि ऊ बोल्न चाहिन । मैले यो कुरामा खासै चासो दिईन ।
मैले लामो मौनता भंग गर्दै भनें, “करुणा म तिमी सँग विहे गर्न चाहान्छु ।” यो वाक्यले भने करुणालाई भित्रै देखि असर पारेछ क्यार । ऊ झसंग भई, मलाई हेरिरही तर केही बोलिन । उनले हेरिहँदा लाग्थ्यो उसको निश्चल अनुहार अनि निर्दोष आँखाहरुले मेरो अन्र्तमनको प्रेमको भावनालाई स्वीकृती जनाईसकेका थिए । म एकोहोरो भन्दै गएँ, “करुणा मलाई थाहा छैन, यो प्रेम हो कि आकर्षण ? तर जब मैले तिमीलाई देखें, किन किन तिमीले मेरो मन मष्तिस्क नै चोरिदियौं, या यसो पनि हुन सक्छ मैले नै तिमीलाई चोराएँ मेरो मन मुटू । एउटा कुरा याद गर, आजकलका युवापुस्ताले गर्ने प्रेम जस्तो मेरो प्रेम होइन, न त म तिमी सँग प्रेमको नाउँमा रोमान्स गर्न चाहान्छु । म त तिमीलाई केबल जीवनको सहयात्री बनाउन चाहान्छु । जिन्दगीका हरेक मोडहरुमा तिमी सँगै माया साटेर जुनी काट्न चाहान्छु ।” करुणाको अनुहार निकै गम्भीर थियो । ऊ पनि शायद मेरा शब्दहरु सँगै भावनामा बहकिइ होला । मैले लख काटें । तर पनि ऊ अझै केही बोलिन ।
“केही त बोल करुणा ?” मैले उनको हात समात्दै भनें ।
ऊ झस्किइ, “मामा हजुरले आज यहाँ बोलाएको फाइदा लिइस्यो हैं ।” ऊ प्रसंग मोड्न खोज्दै बोली, “हरि दाई विचरा एक्लै हुनुहुन्छ होला ।”
“करुणा आजै तिमीले भन्नै पर्छ तिमी मलाई कुन दृष्ृिटकोणबाट हेछर््यौ ? तिमीले पनि मलाई चाहेकै हो भने प्रष्ट भन । प्रसंग अन्तै लिने कोशिस नगर ।” मैले भनें ।
“मामा ! नढाँटेर भनिस्यो म हजुरलाई एउटा कुरा सोधुँ ?” उनले सशंकित भएको भावले मलाई प्रश्न गरीन्, हजुर यस्तै कामको सिलसिलामा नयाँ नयाँ गाउँ ठाउँ जानु पर्छ, त्यहाँ जाँदा कहिँ न कहिँ पक्कै पनि कोही मन परे होलान्, अहिले सम्म कति केटीलाई मलाई जस्तै माया गर्छु भनिस्यो ?”
उनको प्रश्नको चित्त बुझ्दो जवाफ दिन सक्छु जस्तो त मलाई लागेको थिएन तर मैले केही त भन्नै पथ्र्यो । “हेर, तिमीलाई म माथि यस्तो शंका लाग्नु स्वभाविकै हौ, मन पराउनु वा मन पराईनु अनि, जुनी काट्नु भन्ने कुरा कति फरक छन् तिमीलाई राम्ररी थाहा हुनुपर्छ । म तिमी सँग जुनी काट्ने कुरा गर्न खोज्दैछु जो जीवनमा एउटा सँग मात्रै हुन्छ । त्यो एउटा मैले तिमीलाई रोज्दैछु । हो, कामले विभिन्न ठाउँमा गईन्छ, राम्रा केटी अरु पनि नभेटिने होइन तर किन तिमीलाई नै मन पराएँ मैले ? यसको कारण म सँग छैन । शायद यही कारण नहुनुको कारण नै म तिमीलाई सच्चा प्रेम गर्छु ।” करुणा खाटमा बसेर मोबाइल खेलाईरहेकी थिई । उनका आँखा रसाएझैं देखिन्थे । उनको अनुहार हेर्दा अति नै माया लागेर आयो । मैले उनलाई अंगालो हालेको थाहै पाईन । अरुलाई कस्तो लाग्छ, मलाई थाहा छैन तर मेरो विचारमा मान्छेले मान्छेलाई चिन्न गाह्रो छ । करुणाले मलाई माया गर्छु भनेर नभने पनि मैले उनलाई अंगालेको पल उनले पनि मलाई साथ दिएकी थिईन् । मलाई आफ्नो जिन्दगी पुर्ण भएको महसुस भएको थियो, त्यो बेला । एक अर्काको मुटुको धड्कनलाई महसुस गरिरहदा उनका आँखाहरुबाट आँशुहरु एकनास बगिरहेका थिए । किन उनले आँशु झारिन् मैले बुझ्न सकिन । जब सम्म एक अर्काको अंगालोमा हामी बाँधिएका थियौं न त उनले कुनै शब्द निकालिन नत मैले नै । शायद हामी मन मनमै कुरा गरिरहेका थियौं ।
संसारमा पूर्ण मान्छे कोही पनि छैन । पुर्ण नभएकै कारण मान्छे आफुलाई पुर्ण बनाउने कोशिसमा धेरै प्रगति पनि गर्दै गैरहेको हुन्छ । समय विताउदै जाँदा मान्छेको जीवनमा विगतको भोगाई थपिदै जान्छ भने भविष्य संकुचित बन्दै जान्छ अनि बर्तमान थरिथरि रुप र रंगमा हाम्रा सामु उपस्थित भैरहन्छ । करुणाको मौन स्वीकृति पछि मलाई उनले पनि प्रेम गर्छिन भन्ने कुरा पुर्ण विश्वास भएको थियो । डकुमेन्ट्रीको छायांकनको काम सकिए पछि हामी मिक्सिंगका लागि खलंगा आयौं । खलंगामा रहदा उनको यादले घरि घरि जिस्काईरहन्थ्यो तर कामको ब्यस्तताले आफुलाई नियन्त्रण गरिरहेको थिएँ । प्राय राती उनी सँग फोन हुन्थ्यो । एक दिन फोनमा उनले भनिन्, “मामा हजुर मुटूलाई दरो पारिस्यो, म एउटा कुरा गर्छु, जुन कुरा मैले हजुर सँग आज सम्म भन्न सकेको छैन ।” मलाई करुणाले के भन्न लागि भनेर छट्पटी भयो ।
“के कुरा ?” मैले निधार खुम्च्याउदै भनें ।
“यदि म मरे भने हजुर के गरिसिन्छ ?” उ गम्भीर स्वरले बोलिरहेकी थिई । मलाई उसको यो प्रश्नले रिगंटा नै लाग्ला जस्तो भयो । मैले केही सोच्न सकिन । म केही बोलिन । “भनिस्यो न ! के गरिसिन्छ ?” म झसंग भएँ ।
“हैन किन यस्तो कुरा गरेको ?” मैले झर्किदै भनें, “आज तिमीलाई के भयो ?” मैले प्रति प्रश्न गरें । उसले आफ्नो प्रश्नको जवाफको अपेक्षा टार्दै भनी, “मामा हजुरले मलाई माफी दिनु, हजुरको मायालाई म सम्हाल्न सक्दिन । मैले हजुरलाई मेरो घरमा बोलाएको बेला यही कुरा भन्न खोजेको थिएँ । तर मेरा अधर नै खुल्न सकेनन् । मैले कसैलाई चाहान्छु भने हजुरलाई नै चाहान्छु । हजुर जस्तो माया गर्ने मान्छे जति नै जन्म तपस्या गरे पनि पाउने छैन । म घरको एउटा छोरी भएको कारण घरको जिम्मेवारीलाई भुल्नु हुदैन । बाआमाले मलाई कसैको जिम्मा लगाउने निर्णय गरिसक्नु भएकोले उहाँहरुको इज्जत र मेरो कर्तब्यलाई मैले पालन गर्नु मेरो आफ्नो धर्म ठानेकी छु । हजुरले मेरो कुरालाई बुझिसिन्छ भन्ने मलाई विश्वास छ ।” त्यो पल, मसँग केही शब्द थिएनन् बोल्नलाई । मेरो अनुहारमा कस्तो तरंग आएको थियो, अनि मेरो दिमागमा कस्ता भावनाहरु मडारिरहेका थिएँ, मलाई अनुभति नै छैन । उसले थपी, “हजुरले मलाई सुनीराख्स्यो, जब म हजुरको समिप भएँ, हजुरको प्रेमले जित्यो, मैले न त नाई भन्न सकें, न त हुन्छ नै । आज म आफ्नो मुटू गाँठो पारेर भन्दैछु, म हजुर सँग विहे गरेर गएँ भने बाआमाको लागि सदाको लागि मरे सरह हुनेछु । मामा, मलाई कहिल्यै पनि स्वार्थीको उपमा नदिनु है ।” यति शब्द भन्दै गर्दा उनको स्वरमा रुवाई मिसिएको मैले सुनें । म रुनु पर्नेमा करुणा पो रुन थालीन् । मैले उनलाई सम्झाउनु पथ्र्यो कि ? तर म चुप रहे । मोबाईलमा उनको रुवाई सुनिरह्यो ।
शायद समयले लगाएको घाउ समयले निको पार्दैन्थ्यो भने समयलाई चोट दिने अधिकार पनि थिएन । त्यसपछि करुणालाई मैले भुल्नु नै उचित ठानें । मैले उनलाई कहिल्यै फोन गरिन । उनले गरेका फोन र सन्देशहरुको मैले कहिल्यै रिस्पोन्स गरिन । मेरो हृदयमा लागेको आलो घाउ शुरु शुरुमा धेरै दुख्यो तर मैले खुलेर चिच्याउन सकिन । सम्झनाले घरिघरि मुटू पोल्थ्यो, मैले कहिल्यै पनि आँशु झार्न सकिन । एकान्तमा उनको अनुहार र बोलीले मलाई जिस्काईरहन्थ्यो, मैले आफुलाई सम्हालें । अन्ततः मैले आफ्नो मनलाई जिते । मलाई समयले नै साथ दियो । मान्छेहरु भन्छन्, शरिर टाढा हुदा माया पनि गाढा हुन्छ रे । तर म यो भनाईमा म सहमत छैन । भौतिक रुपमा कोही टाढा हुदैछ भने सम्झे हुन्छ कि उसको याद मनमा विस्तारै आधा हुदैछ । अहिले उनी कहाँ छन् ? त्यो त मलाई थाहा छैन । अनि उनको बारेमा थाहा पाउन पनि चाहान्न । कहिलेकाही उनको याद मनमा आउँछ, म कामना गर्छु कि उनले देखेको सपना अनि बाआमा र परिवार प्रतिको कर्तब्य पुरा होस् । उनको नराम्रो खबर नसुनियोस् ।

नायकवाडा २, जाजरकोट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 फागुन, 2068

लेखकका अन्य रचनाहरु