साढे सातको दशा

- रामजी बलामी

मैलोले सजिएको झुत्रो रुमाल ओडेर झुन्डीएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, रातो माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल बाक्लो देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु पनि, केटाकेटीहरु हुलका हुल बसेर चङ्गा उदाइरहेको देखिन्छ ।
दशैमा काट्न खसी बोका दोह¥याएको फाट्टफुट्ट देखिन थालेको छ । नजिकै पिङ्ग पनि हालिसकेको छ । शहरमा कमाउँन जानेहरु पनि धमाधम फर्किन थालेका छन । यस्तो खुसी र रमाईलो अनुभूति पनि धनेकालागि ढुङ्गा चपाउँनु झै कठोर लाग्छ । त्यसो त उनको मुहारमा कहिल्यै खुसीका रेखा देखिदैन् केवल निराश र पीडावोध लक्षणहरु सल्बलाईरहेका देखिन्छन उनका रगत बग्ने नशाहरुमा ।
‘‘बा मलाई दशैमा नयाँ लुगा ल्याई दिनुस है” फाँटेको सुरुवाल सिउँदै गरेको ऊ कान्छी छोरीको यस्तो इच्छा सुनेर झसङ्ग हुन्छ । माथिल्लो तलामा खुर्सानी पिस्दै गरेको छोरा पनि भ¥याङ नै भाँचुला जस्तो गरी डौडेर ऊ भएतिर आउँदै धम्कीको भाषामा भन्छ –‘‘मलाई पनि जिन्सको पाईन्ट ल्याउँनु है, मेरो साथी सुजनको त ल्याईसक्यो ।”
धेरै भयो उनीहरुलाई राम्रो कपडा ल्याईदिन्छु भनेर फकाएको उसले । उसले सियोमा धागो बेर्दै जवाफ दिन्छ –‘‘ल ल कति करा’को” आफ्नो मनबाट निस्केको पीडाको मुस्लोलाई आँखाबाट झरेको आँसुले बगाउँदै स्विकार्छ छोराछोरीको माग उसले ।
बुवा बाहिरबाट आएको देख्नासाथ डौडेर झोला खोतल्थे छोराछोरी । ऊ आफैले आफैलाई धिक्कार्छ । ‘‘कति धेरै उपचार गरेर मात्रै पाएका बच्चाहरु, यिनीहरुलाई नख्वाए कसलाई ख्वाउनु”– एक मनले भन्छ । प्रश्न झर्न नपाउँदै अर्काे मनले जवाफ फर्काउँछ –‘‘भए पो ख्वाउनु ! ”।
‘‘ऐया !” छोराछोरीको कुरा सोच्दासोच्दै सियोको आक्रमणले घाइते हुन्छ ऊ । पुटुटुटु निस्केको रगत सुरुवालमै स्वाट्ट पुछ्दै सियो धागो बेरवार पारेर कुनातिर मिल्काउँछ । अनि सुरुवाल पट्याएर प्लाष्टिकमा पोका पारेर किलामा झुन्ड्याउँछ बजिरहेको रेडियो संगै ।
दशैमा लगाउँन पुरानो सुरुवाल टालेको हो उसले नत्र त्यसै काम चलाउँथ्यो अरुबेला । लगतै खाजा खान भान्छा कोठामा पस्छ ऊ । छोरा चाँहीले अघि नै खोर्सार्नी र लसुन पिसेर चटनी बनाईसकेको थियो । बिहान पकाएको कोदोको रोटी हेर्छ । जम्मा एउटा बाँकी रहेछ । ‘‘यिनिहरुले नि कति दुःख दे’को हो ?” छोराछोरीलाई गाली गर्दै रोटी आधा पारेर बच्चाले नदेख्ने गरी हाँडी भित्र राख्छ ।
बुढाबुढीलाई दुई वटा र छोराछोरीलाई आधा–आधा गरी एउटा भनेर जम्मा तीन वटा रोटी पकाएका थिए बिहान उसले । तर सिर्जनाले खान नपाउँदै रोटी सकिए पछि एउटा रोटीको आधा श्रीमतीलाई छुट्याएर बाँकी आधा आफु खान थाल्छ । रोटीमाथि चटनी राखेर एउटा हरियो खुर्सानी टोक्दै चपाउँछ रोटी ।
अनि जगको बाहिर भन्किएको झिंगाको पर्वाह नगरी एक कचौरा जाँड खललल खन्याउँछ कचौरामा । यतिखेरै छोरा टुप्लुक्क आइपुग्छ । ‘‘बा बा त्यसमा किरा रै’छ”– जाँड देखाउँदै बोल्छ ऊ । ‘‘त्यो खाए भिटामिन लाग्छ छोरा”– किरा देखाउँदै जस्तालाई त्यस्तै जवाफ फर्काउँछ धने पनि । बाँकी भएको एकटुक्रा रोटी छोरालाई दिंदै दुई कचौरा जाँड र पानी खाएर पेट भोको भएपनि मनमनै अघाउँछ ऊ ।
‘‘बा बा अब बजार जाने हो”– छोराले फेरी सम्झाए । छोराको यो कुराले उनको मनमा बलेको आगोमा घ्यू थपियो । ‘‘जाउँला नि कुनै दिन”– भन्दै बाहिर निस्क्यो ऊ । तल छेडीमा गाइवस्तु बाड्दै गरेको सिर्जनालाई देखेपछि ‘‘खाजा लिएर खाउ है, हांडी भित्र राखिदिएको छु” भन्दै बोरा बोकेर बाहीर निस्क्यो धने । ‘‘ए हजुर कता जान लाग्नु भो” श्रीमतीको सोधाईसंगै नजिकिएर ‘‘माटो लिन जान लागेको” भन्दै निस्किए ।
दशैलाई खर्च कमाउँछु भनेर शहर गएको ऊ थला परेर फर्केको धेरै भएको छैन । त्यसो त छिटो छिटो हिड्न समेत सकेको छैन ऊ । सुख दुःख समयसँग नाता त जोड्नै प¥यो । तै पनि विस्तारै हिडेर माटो लिने ठाँउमा पुग्छ ऊ ।
माटो खन्नेहरुको भिड थियो । ‘‘ए ! भिनाजु माटो बोक्न सक्ने भई सक्नु भो, हाम्रो दिदिले मिठो मिठो ख्वाए कि कसो ?”– माटो खन्दै गरेकी सालीको यो हाँसो मिश्रित बोलीले गुम्सिएको उसको मनमा केही शितलता छायो । सालीले जिस्काए पछि दुःख मनाउ गर्ने कुरै भएन त्यसैले जिस्काउँदै जवाफ फर्काए उसले पनि –‘‘दिदिले नख्वाए कसले ख्वाउछ ? तिमीहरु हेर्न सम्म आउँदैनौ, भेनालाई त माँया मा¥यौ नि है ?”
उसको कुरा सुनेर त्यहाँ हाँसोको कोलाहल मच्चियो । अन्ततः साली आफैले माटो खनेर बोरा भरिदिए धनेको । छेउमा बस्दै खोक्छ ऊ जोडतोडका साथ आन्द्राभूँडी निस्केला जस्तो गरी । ऊ अस्ति बेलुकाको घटना सम्झन पुग्छ एक्कासी ।
अस्ति बेलुका खाना खाएर सुत्न लागेका थिए उनीहरु । पोहोर साल दशै मनाउँन ऋण लिएको साहु आईपुग्यो । जंगलको बाघ झै गर्जेर आएको उसले ब्याज, स्याज गनेर तल्लो बेशीखेत उसकै नाममा कागज गरायो । पैसा तिर्न नसकेसम्म उसैले कमाउँने गरी । पोहोर जम्मा दुई हजार ऋण लिएको थियो धनेले । सम्पत्तीको नाममा भएको अलि राम्रो खेत साहूले लिएपछि कोदो रोप्न हुने पाखो वारी मात्रै बाँकी थियो उसको नाममा । थकित मुद्रामा सोच्दा सोच्दै माटो भरिसक्छ बोरामा । विस्तारै बोरा बोकेर स्या स्या गर्दै घर आइपुग्छ ऊ ।
ऊ घरपुग्दा सिर्जना तरकारी पकाउँन मुलाको साग केलाउँदै गरेको देखेर चुल्होमा टुसुक्क बस्छ ऊ । छोराछोरी थाकेर होला निदाए छन चाडै । ‘‘आज त सालीहरुले गुण लाए”–जिस्किन्छ ऊ श्रीमतीसंग । ‘‘साली फकाउँन पर्दैन भन्छन्”– फ्याट्ट जवाफ फकाई सिर्जनाले पनि ।
एकछिन दुवैको मुखमा हांसो छायो केवल एकैछिनकालागि । दुवैको मन दशै नजिकिएकोमा पीडा बल्झिदै थियो, छोराछोरीको नयाँ लुगा लगाउँने धोको कसरी पुराउँने भन्ने कुरामा चिन्तित थिए उनीहरु ।
‘‘हैन हजुर दशै त आई सक्यो बच्चाबच्चीलाई के गर्ने होला ? ” सिर्जनाको न्यास्रो मिश्रित प्रश्न तेर्सियो धनेमाथि । अघि सम्म हांसोले छाएको मुहार एक्कासी मेघ गर्जन लागेको बादल झै देखिए उनको मुहार । ‘‘खै के गर्नु ?”– प्रतिउत्तरको सट्टा जिज्ञासा नै फर्काए उसले –‘‘कमाउँने भनेर जांदा आफै थला परियो”।
ऊ विगतका दिनहरु सम्झन थाल्छ । ‘‘त्यो साहुसंग ट्वाइलेटको जाम खोल्दाखेरीको पैसा लिन पाए त छोरालाई एकजोर कपडा आउँथ्यो, अब छिमेकी पनि को सँग माग्नु, खै जो पनि मुख बतारेर हिड्छन । यसपाली एक टुक्रा गहना बेच्नु पर्ला कि ? फेरी दशै आइसक्यो खै यो हतारमा कसले पो राम्रो भाउ देला र ?”
ऊ ट्वाल्ल परेको देखेर सिर्जना सोध्छे ‘‘हैन के भो हजुरलाई ?” ‘‘ए होइन होईन बरु दशै चाँही कसरी मान्ने हो यसपाली ?” ऊ जवाफ भन्दा नि प्रश्न नै तेर्साउछ यसरी किनकी उसको मनमा प्रश्न नै प्रश्नको चाङ थुप्रिएको छ । कुने जवाफ छैन ऊ सँग ।
हाँसो ठट्टा गर्नु उसको बानी नै हो । जस्तो सुकै दुःखमा पनि यि जोडी निकै मिलेका देखिन्छ । उनीहरुलाई एउटै धन नामको कमी थियो अरु सव कुरामा चित्त वुझ्थ्यो उनीहरुलाई । छोराछोरीले ढिपी गरेको भन्दै यसपाली आफ्नो ढुंग्री बेचेर दशै मनाउँने प्रस्ताव गर्छे सिर्जना । उनीहरुलाई थाहा छ, अरुको लहैलहैमा चाड मनाउँनु हुदैन भनेर तर बाध्यता छ उनीहरुलाई । दशै मान्नु परेको छ केवल छोराछोरीकालागि ।
कुरा गर्दागर्दै खाना पाक्छ, खाना खाएर भोली ढुंग्री बेच्ने सल्लाह गर्दै निदाउँछ दुवै जना । कमजोर शरिरले गर्दा होला धने त भुसुक्कै निदाए तर सिर्जना भने आफ्नो ढुंग्री बेच्ने कुराले सुक्सुकाउँन थाले । दाँयाबाँया, उल्टो सुल्टो जति गरेपनि निन्द्रा फिटिक्कै लागेन उसलाई । उसको हलचलले धने व्युझिँए । एकछिन अंगालोमा कस्दै सम्झाए पछि दुवै जना भाग्यलाई दोष दिंदै निन्द्रादेवीको काखमा शरण लिन पुगे ।
बिहान पनि सवेरै निन्द्रा खुल्यो सिर्जनाको । धनेलाई पनि मस्त निन्द्रा कंहा लागेको थियो र । गहना बेच्ने मन त धनेलाई पनि थिएन तर केहि गरेर पनि नभए पछि अन्तिम विकल्प थियो उनीहरुको । बरु केही पैसा सापत ल्याएर दशै तार्ने, छोराछोरीलाई सम्झाउँने भन्ने तिर ध्यान गयो धनेको । अनि लाज मानी मानी सिर्जनासामू पोखे आफ्नो मनको वह ।
सिर्जनामा पनि त्यो सोचाई पहिल्यै थियो तर माइतीले के भन्ने हुन भन्ने सोचेर चुप बसेकी थिईन उनी । धनेको प्रस्ताव स्विकार्दै बिहानै माइती पुग्छे सिर्जना । बाटैमा खाली गाग्रीसहित आमालाई भेटेपछि अवाक हुन्छिन उनी, पैसा नपाउँने भो भनेर । तै पनि आमा नआईपुगुञ्जेल घरमै बहिनीसंग कुरा गरेर बसीन् उनी ।
एकैछिनमा आमा आइपुग्यो, दशैको मुखमा एकाबिहानै छोरी माइत आएको देखेर अघिदेखि नै मन पोलीरहेको थियो आमाको । विस्तारै आपूm आउँनुको कारण वताए सिर्जनाले आमासामु । घरको ऐचोपैंचो चलाउँने बुवा भएकाले बुवालाई सोध्नु पर्ने वताउँदै भित्र पस्छे आमा ।
आमाको जस्तो बुवाको मन कहाँ हुन्छ र, कुरै नसुनी ‘‘छैन छैन नकरा” भन्दै हकारे श्रीमतीलाई । अध्याँरो मुख बोकी सिर्जनासामू आएर आफुले कान्छी छोरीलाई दिन भनेर राखेको मध्ये केही रुपैया दिएर पठाए आमाले । त्यती पैसाले दशै कहाँ चल्छ र ? तै पनि नहुनु भन्दा ....मामा बेश भनेर पाएको थोरै पैसा हात लिंदै माइतीको वेडना मनभरी संगाल्दै फर्किन उनी । पीडाको भारी विसाउँन गएकी उनी उल्टै भारी थपेर आईन ।
बिहानको घामले छानामा लागेको शितहरु भmर्दै थियो टपटप । उस्तै गरी झर्दै थियो सिर्जनाको आंखाबाट आँसु पनि । सदा झै माटो लिन जानेहरुको ताँती देखिन्छ बाटोमा । छोराछोरीहरु अभैm निदाउँदै छन । धने गाईवस्तुलाई घाँस हाल्दै छ ।
आंशु तिल्पिलाउँदै आएको सिर्जनालाई देखेपछि धनेको मनपनि गह्रुगो भयो । ‘‘किन के भयो र सिर्जना ?” – फकाउँदै जिज्ञासा राख्छ ऊ । सरासर दुवैजना माथिल्लो कोठामा पुगेर माइतीघरको वेडना सुनाउँछे सिर्जना । ‘‘यस्तो होला भनेर नै मैले माइतको आश मारेको थिए”– जवाफ फर्काउँछ धने पनि । एकआँपसमा आँसु सातासात गरेर टोलाउँछ दुवैजना ।
अब उनीहरुसँग भएको त्यही गहना बेच्नुको विकल्प थिएन त्यसैले मुख अमिलो पार्दैे श्रीमतीको गहना फुकाल्न भन्छ धने । सिर्जना पनि माइतीबाट समेत अपहेलित भएको देखेर सुक्सुकाउँदै धने नजिक गएर फुकाल्न कान दिन्छ । अनि एक पल्ट हातमा लिएर ‘‘ल अब देखि अर्कैको कानमा गएर बस” भन्दै चुम्म गर्छ तीन पटक अनि गहभरी आंशु झार्दै धनेको हातमा राखिदिन्छे । धने पनि त्यो गहना बोकेर लुरुक्क पर्दै पल्लो गाँउको साहुकंहा लुरुलुरु थकित स्याल झै हिड्छ ।
जंगलको बाटो भएर हिड्नु पथ्र्यो । चाडवाडको समयमा चोरडाँकाहरुको रजाँई हुन्थ्यो त्यो बाटो । अर्काे गाँउ भएर जाने बाटो पनि थियो तर धेरै लामो थियो त्यसैले छोटो बाटो हिड्ने भन्दै त्यही ओकालो लागे ऊ ।
आधाबाटो जति हिडे पछि केही गाईगुई सुन्छ उसले । उसको मनमा चोर हो कि भन्ने भान हुन्छ तर ‘‘मैले लगाएको झुत्रा लुगा देखे पछि नै माँया लाग्छ यो चोरलाई, भो केही हुंदैन” भन्दै अगाडी बढ्छ ऊ । हातमा केही छैन उसको, ऊ सरासर अघि बढ्छ ।
‘‘ए बुढा गोजीमा जे जे छ सव निकालेर भुईमा राखेर जाउ नत्र तँलाई यहि मारिदिन्छु”– एक्कासी आएको यो अपरिचित आवाजले ऊ थरथर काम्छ । ‘‘जिद्धी गर्नु भन्दा मानेकै वेश नत्र ज्यानै लिईदिन्छ”– भन्दै वगलीमा भएभरका पोकाहरु निकालेर भुंईमा राख्छ तर चुरोटको वट्टामा वेरिएको त्यो गहना निकाल्न सक्दैन ऊ । किनकी उसको लालावाला, श्रीमती को दशै मनाउँने एउटै आधार थियो त्यो । थरथर काम्दैे टुना बाँडेको बहानामा जुत्तामा घुर्साछ त्यो सानो पोको । फेरी आक्रमण गर्ला कि भन्ने डरले ति अपरिचित श्वरलाई ‘‘अव म जाँउ ?” भन्दै सोध्छ । ‘‘जा जा तर लुकाएर लाने कोसिस नगरे हुन्छ” यस्तो प्रतिउत्तर पाए पछि ऊ सरासर अघि बढ्छ ....
घामको झुल्कासंगै चर्किएको चराहरुको चिरविर आवाज र शितका थोपाहरु नियाल्दै ओकालो चढ्छ । ‘‘अब फेरी अर्काे ग्याङ भेटिने हो कि !” सोच्दै छिटोछिटो बढ्छ उसको पाईला । ‘‘ए बुढो रोक, अघि बढिस भने दशैमा दशा लाग्ला” उसको कानमा ठोक्कियो एउटा आक्रोश र धम्कीपूर्ण आवेश ।
संगसंगै टाउकोमा रुमाल वांडेर चुच्चो जुत्ता लगाएका चार जना चोरहरु निस्किए जंगलबाट । अलि टाढै थियो त्यसैले आफु भाग्नु नै वेश थानेर भाग्न थाले ऊ । पछ्याउदै गरेको ति केटाहरुलाई बाटो भुलाउँदै स्या स्या गर्दै अघि बढ्छ ऊ । उसले जुत्तामा राखेको गहना समेत बिर्सिसकेको छ मात्र ऊ ज्यान बचाउकालागि चुपचाप भाग्छ । सायद नौलो डाँकाहरु हुनुपर्छ त्यसो त उसलाई भेट्न सकेन तिनिहरुले । गाँउ देखिने थुम्कीमा प्याच्च बस्छ ऊ अनि प्यासले सुकेको मुखमा प्यास मेटाउँन एउटा रुखको पात चपाउँछ गाँउलाई नियाल्दै ।
‘‘ए मेरो सुन !” झट्ट सम्झन पुग्छ । जुत्ता खोलेर यताउती ठाकठुक गर्दै हेर्छ अंह उसले भेट्दैन कतैपनि । ऊ निराश हुन्छ अनि ‘‘जंगलबाट नजानु है बरु विस्तारै जानु यता गाँउबाटै जानु”– भन्ने सिर्जनाको आग्रह सम्झन्छन् । शिथिल शरिरलाई किन धेरै दुःख दिनु भनेर चांडै पुग्न जंगलको बाटो हिडेका थिए ऊ ।
‘‘अब कसरी घर फिर्ने होला ?” रुखमा बसेर टोलाईरहेको बाँदरलाई हेर्दै टुुलुटुुलु आंशु झार्छ । ‘‘कतै यही पटुकाले बांधेर आत्महत्या गरुँ कि ?” आफैमाथि प्रश्न तेर्साउँछ अनि झल्याँस्स सिर्जनाको माँया सम्झन थाल्छ । सायद उसको आंशु झराईले बाँदरको पनि मन पोल्यो क्यारे, ऊ पनि क्ँया क्ँया गर्छ अनि नजिक नजिक आएर जिस्काए जस्तो गर्छ । ‘‘तँ पनि मलाई धपाउँन आयौ कि क्या हो” भन्दै जुरुक्क उठेर घर हिड्छ ।
‘‘दशै आयो खाउँला पिउँला, कहांबाट ल्याउला चोरी ल्याउला.....” घरको झ्यालबाट बाहिर हेर्दै कराईरहेको छोराछोरी देखेर भक्कानो फुट्छ उसको । छोराछोरीलाई नदेखे झै गरी सरासर भित्र कोठामा गई घोप्टो परेर रुन थाल्छ ।
सिर्जनाले अघि नै बाबाले मिठो मिठो खानेकुरा र कपडा ल्याउँछ भनेर भनिसकेकी थिई उनीहरुलाई । उनीहरु पनि बाबा कतिखेर आउँनु हुन्छ भन्दै दङ्ग थिए तर बुवाको हातमा केही नदेखेपछि बुवा भएतिर जान्छ दुवैजना । ‘‘बाबा बाबा के भयो हजुरलाई ?” सानी छोरी बोल्छ । बुवा रोएको चाल पाएर करेसावारीमा खुसार्नी टिप्दै गरेको आमालाई बोलाउँन जान्छे उनी ।
उनीहरुको कुरा सुन्नासाथ टिपेको खुर्सानी त्यही छाँडी चप्पल खियाउँदै भित्र पस्छ । सिर्जनाको मुख हेरेर टोलाउँछ ऊ तर अंह बोल्ने कुनै आँट आउँदैन् उसलाई । सिर्जना आफै रोएपछि विस्तारै कुराको पोल खोल्छ श्रीमतीलाई नरुने सर्त गरेर । हुने कुरा भईसक्यो रोएर हराएको माल भेटिने होईन भन्दै धनेलाई अंगाल्दै सम्झाउँन थाल्छ सिर्जना पनि ।
आमाबुवाको रुवाईले कलिला ति नानीबावु पनि आमाबुवासंगै एक झुप्पा भएर आंशु झार्न थाले । वरिपरि छिमेकीको घरमा मिठो वास्ना चलेर धनेको परिवारलाई गिज्यायो । सिर्जना एक थाल मकैको पिठो बोकेर चुलहोमा गईन । आमाबुवाको रुवाई ति अवोध नानीबावुलाई के थाहा, उनीहरु ढिपी कस्न थाले, दुवैजनालाई एक एक चडकन उपहार चढाउँदै एक थाल पिठो वोकेर ढिंडो पस्कन जान्छे सिर्जना ।
मुख पुछपाछ गर्दै रोइरहेका दुवैजना नानीबावुलाई हातमा लिई ‘‘भोलि ल्याउने ल” भनेर सम्झाउँदै भान्छाकोठामा जान्छ धने पनि गरिवीसँग विद्रोह गर्दै । आंखा मिच्दै ‘‘भोलि कहिले आउँछ बाबा ?”– भन्दै आंश्रुमिश्रित स्वरमा कराईरहन्छ दुवैजना पालैपालो ....!

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 14 फागुन, 2068

लेखकका अन्य रचनाहरु