म्याडम ‘बी’

- सन्जु बजगाईं

“देख्नु भो म्याडम ‘बी’लाई ......!” छोरीले देख्नासाथ मलाई साउती मारी ।
“चुप लाग ।” मैले चिमोटें ।
जम्मा भएका यत्तिका नेपालीहरुका ‘चिफ गेस्ट’ की श्रीमती भएर आएकी छन् उनी । यो औपचारीक भेलाले हाम्रो नजिकको सम्बन्ध किन चाल पाउनु ! म औपचारीक भएर रहें ।

कार्यक्रम शुरु भो । म्याडम ‘बी’ले श्रीमान्का साथ मंचमा आसनग्रहण गरिन् । उनका श्रीमान् जो आजको कार्यक्रम बिशेषका पनि बिशेष, श्री राजकिरण शर्मा ज्यूबाट पानसमा बत्ति बालेर कार्यक्रमको विधिवत् उद्घाटन भो । म्याडम ‘बी’ले अरुले जस्तै गरी ताली बजाईन् । पछिल्तिरका सिटबाट मैले पनि ताली बजाएँ । तालीको गड्गडाहटले पुरै हल गुञ्जियो ।

घर सरेर गएको कति पछि म्याडमलाई देख्न पाएँ आज । निभ्न लागेको बत्तिझैं मधुरो उनको चेहरा ! बिसञ्चो पो छ कि ? उनले मलाई देखिन् होला र ? जे होस् उनको चुर्लुम्म सितारा भरेको साडीको सप्को झल्झलाईरह्यो टाढाका मेरा आँखामा । बत्तिको प्रकाशमा कस्तो बेजोडले चम्किएको ! तर साडीको सप्कोमा भरिएका सिताराहरुभन्दा चम्किएको थियो राजकिरण शर्मा ज्यूसँगको उनको उपस्थिति ।

म्याडमको अनुहार राम्ररी पढी नसक्दै संगीत बज्न थाल्यो । छेवैमा बसेकी मेरी छोरीका पैताला चले ।

“यो आकाश र धर्ती कसले फुटायो ?
आमाको मुटु कसले दुखायो ?
परदेशी माटोमा केको हो मोह ?
देशले सोध्दा निशब्द भए म.........।”

सुकोमल किशोरीहरुको स्वागत नृत्य शुरु भो ।

कस्तो राष्ट्रियता भरिएको गीत । शर्मा ज्यूका आँखाहरु रसाए होलान् । क्यामेराको लाईटमा तिनका आँखामाथि अडिएको चश्माको फ्रेममात्र टल्किएको देखियो । म्याडम ‘बी’ त उदाश भईन् ।

नर्थ लण्डनमा बस्नेहरुले केही त गर्न भ्याए आफ्नो राष्ट्रिय पर्वका लागि । धन्य श्री राजकिरण शर्मा ज्यू ! तर कस्तो अन्र्तमुखी स्वभाव ! असाध्यै कम बोलेको देखियो । केहीसँग भने खुलेरै हात मिलाए उनले । ईन्टरनेशनल ब्राण्डसँग जोडिएका श्री राजकिरण शर्मा ज्यूको त्यस्तो ब्यस्त समय पाएकोमा गर्व गर्दै कार्यक्रम सकियो । बिदाई गर्न आयोजकहरु शर्मा ज्यूको गाडीसम्मै पुगे । म्याडम ‘बी’ले पनि बिदाईका हात हल्लाईन् र पसिन् गाडीभित्र ।

एउटै राष्ट्रिय चिनारी बोकेका अनि लामो समयदेखि छिमेकी भएर बसेका म्याडम ‘बी’ र म पदिय भिन्नताको मापदण्डभित्र परायाभूमीमै किन नहोस् एकैछिन राम्ररी बाँधियौ । त्यही मापदण्डलाई पछ्याउँदै शर्माज्यूको गाडी कुद्यो । गाडी निकै पर पुगुन्जेलसम्म मैले ठिङ्ग उभिएर हेरिरहें ।

.............................................................

घण्टी बजेको बज्यै थियो ।

“मम, पोष्टमेन होला !” छोरीले कोठाबाट अन्दाज मात्र गरि उठ्ने सुरसार गरिन ।

“रिङ्ग बजिरहेको छ ढोका खोलिदेउन ।” धुनलाई थुपारेका कपडा मेशिनमा कोच्दै भने ।

“ओहो म्याडम !” म्याडम ‘बी’ पो रहिछन् ।

आश्चार्य लाग्यो । कति पछि आईन् आज । किन आईन् होला ? त्यो पनि बिहानै पारेर ।

“हामीलाई त बिर्सनु भएछ भन्ने लागेको !” मैले भने ।

“कहाँ बिर्सनु ? कति अगाडिदेखि आउने बिचार थियो बल्ल आज जुर्यो ।” उनले भित्र पस्तै भनिन्, “हिजोको कार्यक्रममा त्यतिकै भैहाल्यो ........।”

बाल्कोनीमा कुर्सी थपें उनका लागि । छेवैको लुगाधुने मेशिनको आवाज मधुरो चलिरह्यो । मान्छेले मिशिनको जस्तो तोकिएको चरित्र कहाँ स्वीकार्नु ! हामी स्वतन्त्र, हाम्रा आवाजहरुको ठेलमठेलमा लाग्यौ ।

“यो तातोपनले तिमीहरुलाई पोल्दैन कि सहन सिपालु छौ हँ तिमीहरु ?” चर्किएको घाममाथि रीस पोखियो उनको ।

“यस्तो मौसम कहाँ मिल्नु सधैं !, हेर्नुस न यी रापिला किरण, मन्द हावा, निलो आकाश, यी मैले रोपेर फुलेका फूलहरु ! गफै गर्न त थियो, लस्करै गमलामा फुलेका फूलहरु सुम्सुम्याउँदै मैले भने – तपाईं फूल बगैंचा खुब मनपराउने मान्छे ।”

“मे महिनामा नेदरल्याण्डको फुल फेस्टिबल गएर हेरें नि ! राता...पहेला...सेता....!, मेरिडियन होटेल...., म पनि फूल जस्तै छैन त ?”

शंका लाग्न थालेछ क्यारे म्याडमलाई आफ्नो सुन्दरतासँग । उनको प्रश्नको के जवाफ दिउँ ? फूल र नारीको सुन्दरता कसरी दाँज्ने ? कोमलता र नाजुकताको समानान्तर बिशेषताभित्र दुवै उस्तै लाग्छन् मलाई । म केही बोलिन ।

उता मेशिन रोकियो । पन्ध्र मिनेट बढी लगायो । इनर्जी लस् !

मिशिनले धोएका लुगा स्ट्याण्डभरि फिजायौं आमाछोरीले । एकैछिनका लागि उत्ताउलिएको छ घाम । लण्डनको मौसमकको के भर ? चारबजेपछि त पानी पर्छ भनेकै छ । आकाशतिर आँखा लगाएँ । अहिलेसम्मका लागि कञ्चन निलो थियो ।

“म्याडम कफी ...!” छोरीले ट्रे राखिदिई टेवलमा ।

“नेस्क्याफे ?”म्याडम बोलिन् ।

“हैन सेन्सेओ ।” मैले भने ।

कफीको चुस्की, मदमस्त मौसम, परिपरी फुलेका फूलहरुको सुन्दरता, रङ्गीन पुतलीहरुको फिरफिराहट ! रमाउन के चाहियो अरु ?

“कुन उन्मादमा उड्छ यो ? जाबो रङ्गीन पखेटाको भर !”

म्याडमको अनुहारमै चुमौलाझै गरी सानो पुतली हल्लिदै आयो । पुतलीको समीप्यता उनलाई मन परेन । कस्तो रुखोपन ! नाथे झुसिल्कीराको खोका फुटालेर निस्किएको छिरबिरे पखेटा समेत जीवनको रङ्ग बोकेर उड्दो छ । के को पुर्वाग्रह म्याडमको ? “त्यसले फुलेका फूल परिपरीको भाग आफ्नो ठान्दो हो ।” मैले मुस्काउँदै भने ।

“के फूल ? के रङ्ग ?” आकाशतिर मुन्टो फर्काउँदै बिरोधास्पद ओठ पो लेपारिन् ।

म हेरे कि हे¥यै !

“म्याडम यसपाला नेपाल कहिले जाने ?” नउठुन्जेल केही बोल्नै प¥यो ।

“मिले त आजै जाने थिएँ । म्याडमले थपिन् – खुशी जति सबै उतै छोडिएछ .....दिक्क लाग्छ ।”

सबैथोक पाएर पनि म्याडमलाई दिक्क लाग्न थालेछ । मेरै सामुन्ने उनका आँखा भरिए । आफ्नो माटोको संझनामा कसको मन नरोला ? कयांै रात बितेका छन् रोएर मेरा पनि । कोठाका भित्ताहरु र मेरो सिरानीलाई साक्षी राखेर आफू रोएको कसलाई सुनाउनु ? पीडा साट्ने को भेट्नु यो उन्मत्त बिरानो शहरमा ?

“के भन्नु भएको ? हाम्रो जस्तो घोटिएर काम गर्नु परे पो दिक्क मान्नु । शर्मा ज्यूले टन्न कमाएर कस्तो सुख दिनुभएको छ ।” मैले भने ।

दुईबर्ष अगाडिसम्म म्याडमको हैसियत र हैरानी मेरो जस्तै थियो । हामी एकै ठाउँमा काम गथ्र्योै । मैले छोरी पढाउँदै जीन्दगी धान्न खटे जत्तिकै उनी पनि शर्मा ज्यूको पढाई सक्न खुब खटिन । म्याडमको लगानी खेर गएन । शर्मा ज्यूलाई युनिक कम्पनीले स्वागत गर्यो जुन सफलतामा म पनि खुशी भएकी थिएँ ।

“कमाई भएर के गर्नु ? शान्ति नभएपछि ।” निकैबेर गम खाएर उनले भनिन् ।

आज आएर म्याडमले शान्तिको अर्थ बुझिछन् । बाल्कोनीबाट पर देखिएको ‘यूरो स्टार’ रेलको हाई स्पीडमा पुगेको मेरो ध्यान उनको कुराले उनीतिर मोडियो । कस्तो बिजुलीको झट्का जस्तो द्रुत परिवर्तन ! ‘तिम्रो जस्तो हैरानी जीन्दगीभर गर्नु परे म त मरिसक्थे ।’ शर्माज्यूको कमाईले सबैथोक दिएपछिको भेटमा उनले मलाई भनेको मैले बिर्सन भ्याएकै छैन । ‘भनेजस्तो जीन्दगी जीउँन दिनरात घोटिदा पनि तिम्रो त्यो दिन कहिल्यै नआउँदा तिमीलाई कति अशान्ति हुँदोहोला नि !’ मलाई दुख लाग्ला कि भन्नेसम्म ख्याल नराखि बोलेको पनि बिर्सन भ्याएकै छैन ।

यति मात्र हो र ! दुईबर्षसम्म जिन्दगीको दुःखसुखलाई सँगै साटासाट गर्दै काम गरेको सबै बिर्सेर उनले कति भनिन् कति ! मेरो मजबुरीमाथि निराशा कति बोलिन् कति !

हिजो जस्तो लाग्छ उनका बाक्यहरुले मलाई चिमोटकोे, गिज्याएको, नङ्याएको र छोडिदिएको मेरो विवशताको चौबाटामा । मेरो जीन्दगीमाथि म्याडमले त्यसरी निराशा बोल्लिन भन्ने थिएन मलाई । अर्काको दुःख बाड्न नसके पनि हिलो त नछ्याप्नु ! त्यसमाथि परदेशमा बाँचेका एकै देशका हामी । म के बोल्थे ? सुँगुरले जहाँ पुगेपनि फोहोरै खादोरहेछ भनेर चित्त बुझाएँ ।

मन न हो, घोचेपछि घाउ लागिजान्छ ! उनीसँगको आत्मियतामा अदृष्य दुरी यहींदेखि बढ्यो । तर म्याडम अनभिज्ञ थिईन् किनकी हाम्रा भेटघाटहरुमा मैले उनका कुराहरु पुरानै धैर्यताले सुनिदिएँ । सुनिदिनु र आफ्नै ठानेर मनन गर्नु बिचको भिन्नता कसका आँखाले देख्ने ? समयभन्दा ठूलो को ? आज शान्ति खोज्न भरिएको मन लिएर मेरै सामु आएकी छन् उनी ।

“अरु के दिक्दारी छ र तपाईंलाई ?” मैले थाहा नपाए जस्तो गरी सोधें ।

म्याडम मौन थिईन् । गमलामा फुलेको फूलको थुङ्गा टिपेर च्यातच्युत पारेको उनलाई पत्तै थिएन । म कुँडिए त्यो फूलको थुङ्गोको सुन्दरतालाई वध गरेको देखेर । तिनका हत्केलाहरु फूलको रातो रङ्ग र चोपले घिनलाग्दा भएका थिए । के यो उनको दिक्दारीमाथिको प्रतिक्रिया थियो ? मलाई भने मेरै फूलको थुङ्गाको माया लागिरह्यो ।

“तिमीलाई एउटा कुरा भन्नु छ ।” म्याडमले मतिर कुर्सी घिसार्दै बोलिन् ।

“के हो त्यस्तो ?” मैले कान ठाडा पारे ।

“छोरीले थाहा नपाओस् ?” उनले भूमिका बाँध्दै गईन् ।

छोरी थाहा पाउनु नपाउनुसँग के सम्बन्ध ? छोरी शब्द जोडिएपछि मलाई एकाएक कमजोर अनुभूति भयो । छोरीकै आमा हुनुका नाताले मैले कमजोरी महशुस गर्नु पर्ने कस्तो बिडम्बना ! उनको छोरोप्रति मेरी छोरीको कुनै लगाव छैन । म्याडमलाई के थाहा हामी आमाछोरी मात्र नभएर साथी पनि हौ भन्ने कुरा । मभित्र जवाफ तैयार भैसकेको थियो ।

“छोरी......छोरी भित्र कोठामा ....।” मेरो आवाज म्याडमकी हितैषिको नभएर एउटी छोरीकी आमाको जस्तो मधुरो भो ।

“अरुसँग कुरा नगर है ।” साउती मारिन उनले र सुनाउँन थालिन् – तीन महिना यता शर्माज्यूको घरमा बास छैन । हप्तामा एकदुई पटक भेट हुन्छ हाम्रो । तिमीलाई थाहै होला नि ! शर्माज्यू आजकल स्मार्टनेसको कुरा गर्नुहुन्छ । ‘बोल्ड’ , ‘स्मार्ट’,........तिमीले बुझिसक्यौ नि.....ग्यारीको पारा क्या !”

“हो नि ! वहाँको कम्पनी नै कस्तो शानदार छ ।” मैले बुझ पचाएँ ।

म्याडमले निधार खुम्च्याउँदै हेरिन् मतिर । थप्न लागेका कुराका शिलसिलाहरु उनका आधा खुलेका ओठमा अड्किएका थिए । “तिमीलाई आजसम्म केही थाहै छैन उसो भए ?” म्याडम अलि जोशिईन् ।

“भ्यागुर खानेका मनमा धर्सा !” उनले मलाई नै कटाक्ष गरे जस्तो भो । के भर , त्यही थाहा पाएर आएकी हुन् कि मकहाँ ? मैले भ्यागुर खाएकी छु । म के भनेर संझाउँ उनलाई । मेरा आँखाले धोका खाएका होईनन् । झुटो कसरी बोलूँ ? तर सत्य ओकल्ने आँट पुग्दैन । मैले भन्नु भन्दा उनैले भनेको जाती ! मनमा कुरा खेलाउँदै सुकाएका लुगा ओल्टाई–पल्टाई गर्न लागे ।

“अगाडिको घरमा शर्माज्यूको गाडी रोकिएको तिमीले कहिल्यै देखिनौ त आजसम्म ?”

अफ्ठ्यारो प्रश्नको जवाफ अफ्ठ्यारो थिएन तर म्याडमलाई जवाफ फर्काउन अफ्ठ्यारो लाग्यो मलाई । उहीबेलै सुनाउन गएकी म आधाबाटो पुगेर फर्किएँ । फोन गरे तरपनि भन्न सकिन । उनको मुर्झाएको अनुहार मेरो सामुन्ने आएर सोध्दा पनि म बोल्न सकिरहेकी छैन । कसरी भनुँ ?
“शर्माज्यूका रातहरु आजभोली तिम्रै अगाडीको घरमा बित्छन् ।” अन्तत आफैले भनिन् ।

“जेसिका, जेसिका मुर ! शर्माज्यूको गाडीबाट कयौ पटक उत्रिएको देखेको कुरा तपाईंलाई सुनाउने हिम्मत पुगेन ।” आखिर मेरो पनि मुख खुल्यो ।

दोषी म हो या होईन थाहा छैन । तर म्याडमको विक्षप्त मनका सामुन्ने आत्माग्लानी भो मलाई ।

“पन्ध्रदिनपछि छोराछोरी डेनमार्कबाट फर्किनासाथ म नेपाल जाँदै छु सधैंलाई । तिमीलाई भेट्न मन लागेर आएकी ।” म्याडमले पश्चातापले भरिएका आँखा अगाडि जेसिकाको घरतिर फ्याँक्तै भनिन् ।

शर्माज्यूको मनको ढोका बन्द भएर के भो र ? जीन्दगीको खुशी बटुल्ने बहानामा यत्तिका बर्षदेखि आफैंले बन्द गरेको जन्मभूमीको ढोका खुल्लै थियो उनका लागि ।

मैले सान्तवना स्वरुप म्याडमका हातहरु समाएँ । तर उनको जीन्दगीको बाटो छेक्न कहाँ सक्थे ! हामीसँग बिदा मागेर उनी निस्किसकेकी थिईन् । अहिलेलाई भने उनको नाम बिष्णुमायालाई छोट्याएर हामीले भन्ने गरेको म्याडम ‘बी’ को झझल्को मात्र थियो हाम्रो वरिपरी ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 9 फागुन, 2068

लेखकका अन्य रचनाहरु