भूत्खेलमा वनभोज

- भेषराज रिजाल

वि.सं.२०६८ साल फाल्गुण ६ गते शनिबारको दिन । बिहान उठ्दा उज्यालो आकासको एक छेउबाट सूर्यले आफ्नो पहेंलो अनुहार देखाउँदै थियो । आलिशान महलको पछाडिपट्टि देखिए पनि सूर्यले उचाइ लिन बेरै लाएन । दिउसोको पिकपनकको रोमाञ्‍चक कल्पनामा डुब्दै म हतारहतार गर्जुधारा चोकतर्फ लम्किएँ । सिधा बाटो हिँड्दै निर्वाचन आयोग पुग्न पुरानो बस पार्क नपुगी सुन्धारामै ओर्लिएँ । रत्‍नपार्क याने शंखधर पार्क पुग्दा साढे सात भइसकेको थियो । आठ बजे छुट्ने भनिएको गाडीका लागि ढिला हुन्छ कि भन्दै सरासर रानीपोखरी छेउ छिचल्दै कान्तिपथस्थित निर्वाचन आयोगको प्राङ्गणमा छिर्दा युवराज गुरागाईं, महेश तिम्सिना, विशकसेन ढकाल, ऋषि भुसाल, सुमन घिमिरे, हिरा महर्जनलगायतका आठ नौ जना साथीहरूमात्रै थिए त्यहाँ ।

आयोगभित्र छिर्नै लाग्दा आइपुगे इम जोङ छे । निर्वाचन आयोगमा सहयोग गर्न आइपुगेका कोरियन सल्लाहकार । चौसठ्ठी वर्ष भएपनि चालीस वर्षे नेपाली जत्तिकै जवान अनि स्वच्छ मनका धनी किम । उनको कोठामा एकछिन छिर्यौं गुरागाईंजी र म । उनले कोरियन कुरकुरे टकार्दै थिए, ढिलो भइन्छ कि भनेर चराले चारो टिपेझैं दुईचार वटा हातमा लिँदै उनलाई समेत लिएर हामी गाडीका लागि बाहिर निस्कियौं । नभन्दै दुईटामध्ये एउटा गाडी भरिने भयो । गाडीमा चढियो । सधैं भेटिने साथी र सरहरूसँग भेट्दा पनि एउटा छुट्टै आनन्द भइरहेको थियो । एउटा उत्सुकताले मन कुत्कुत्याइरहेझैं लाग्थ्यो । काममा होइन मनोरञ्‍जनका लागि वनभोज गर्न निर्वाचन आयोग परिवार आफ्नो कर्मथलो छोडेर कतै नजिकै जाँदै थियो । गन्तब्य थियो टोखा । नगरकोट र ककनीसँगै कुरा चलाएर छनोटको सूचीमा राखिएको टोखा पनि पक्‍कै सुन्दर स्थान होला भन्‍ने मनमा एउटा कौतुहल थियो मेरो मनमा पनि ।

बाटातर्फ सोझिएको गाडी जब भरियो, तब गाडीका गुरूजी आएर भने यो गाडी त पञ्‍चर भएको रहेछ । ठट्टा गरेझैं लागे पनि वास्तविकता थियो त्यो । हामी ओर्लिएर अर्को गाडीमा चढयौं । लाजिम्पाट, बसुन्धरा, सामाखुसी चोक हुँदै गाडी अगाडि बढ्यो । बीचमा चढ्नुपर्ने साथीहरूका लागि गाडीमा भएका साथीहरूले फोन गरिरहेका थिए । म आफू हिँड्न नपाएको काठमाडौंका बाटा, गल्ली र चोकहरू हेर्दै रमाइरहेको थिएँ । ठूलो गाडीको अग्लो सिटमा बसेर हेर्दा धेरै थरी शहरीया विज्ञापनहरू देखिँदा रहेछन् । शहर स्वयं पनि एउटा व्यापारिक विज्ञापन जस्तो । गाउँलाई लोभ्याउन सिंगारिएको विज्ञापन । गाउँबिना बाँच्न नसके पनि गाउँमाथि शासन गरेर आफ्ना स्वार्थ पूरा गर्न कहिल्यै नहार्ने दाउमा थापिएको विज्ञापन हो शहर । आधुनिक पूर्वाधार र सुविधाको खानी मानिन्छ शहर । केटाकेटीमाझ ललिपपको आकर्षण जस्तो । कतै सुन्दरीका सुन्दर तस्वीरमा लेखिएका नाराहरू । कतै सोमरसका कलात्मक सिसीमा देखाइएका शब्द धाराहरू । हेरीरहुँ जस्ता सलक्‍कका आकृतिमा आधुनिक पहिरनका जादूगरी । युगल पदचापले शोभायमान सडक किनाराको नगरी । म पनि त्यस्तै विज्ञापन हेरेर लहसिएँछु । बहकिएँछु । "ल्हासा जाने कुतिको बाटो" सामाखुसी चोक काटेर आइपुगेको बस्ती र फाँट नजिकै गाडी चढेका पुरूजीले गाडीले फेरो बाटो घुमेको भनी गरेको व्यङ्ग्य सुनेर बल्ल मेरो ध्यान गाडी र बाटातर्फ तानियो । गाडी टोखा रोडको साँघुरो बाटोमा कुदिरहेको थियो । बाटामैं टाँसिएका थोत्रा फर्निचरको आवाज सुन्दै खाल्डा खोपिल्टायुक्त बाटामा ठोक्‍किदै थचारिँदै थियौं हामी । देब्रेपट्टि देखियो बन्दै गरेको विशाल अपार्टमेन्ट ।

"अपार्टमेन्ट भूचालले भत्किए बीचको तलामा बस्नेको स्वामित्व के हुन्छ होला -" धेरै थरी जिज्ञासा थिए साथीहरूका । कसैले स्वामित्वको रजिष्ट्रेशन रहन्छ भन्दै थिए । कसैले तला किनेर घर बनाउने चलनको जानकारी राख्दै थिए ।
मैले रमाइलो गर्न खोजेँ "त्यत्रो भवन ढल्दा मान्छे बचे पो स्वामित्वको कुरा आउला त ।"
गुरागाईंजीले तर्क गरे -"विदेश गएको मान्छे त बाँचिहाल्छ नि ।"
मैले थपेँ -"घर भत्किँदा बाहिर हुनेले ज्यान जोगिएकोमा खुसी मनाउँछ होला । किन चाहियो भत्केको घरको स्वामित्व उसलाई ।" एकछिन हाँसो चल्यो ।
एकैछिनमा आइपुग्यो टोखा हाइट र केहीबेरमा टोखाबजार । बजारको बीचमा रहेको एउटा मन्दिरको छेवैमा गाडी रोकियो । हाम्रो वनभोज स्थल भूत्खेल हो वा चण्डेश्वरी गाडीमा रहेका कसैलाई पनि निधो रहेनछ । आयोजकहरू सबै पछिल्लो गाडीमा छोडिएछन् । फोनबाट निश्‍चित गरेपछि थाहा भयो हामी अलिकति फर्केर नजिकै पश्‍चिमपट्टि लागे हुने भयो । त्यतै लाग्यौं ।
आइपुग्यो भूत्खेल । एउटा फुटबल ग्राउण्ड । छेउमा मन्दिर । एकाछेउमा सल्लाका रुखहरू भएको साँघुरो चौर । साँघुरो भए पनि घमाइलो । चौरको दक्षिणी डिलमा फूलपाती र अबिरले रङ्गिएका ढुङ्गाहरू । भर्खरै पूजा गरेजस्ता ताजा प्रसादका निशानीहरू । कुनै देवताका थान जस्ता ।
भूत्खेलको पश्‍चिमी ढिस्कामा पुगेर चिया खाएपछि टोखाबजार हेर्न निस्कियौं -झपेन्द्र लामिछाने, गोपाल बगाले, युवराज गुरागाईं, अरूण झा, माधव फुयाँल, केदार पौडेल र म । टोखा बजारको गेटबाट भित्र छिर्दै गर्दा झपेन्द्र सर भन्दै थिए -"टोखा चाकुका लागि प्रसिद्ध स्थान हो ।" मैले कतै पढेका कुरा स्मरण गर्दै करेक्शनका लागि साथीहरू माझ राखेँ -"टिकनीको चिउरा, खोकनाको तेल, टोखाको चाकु ।" बिहान आठ बज्नुपहिल्यै खाना खाने बानी परेकोले होला भोक लागिसकेको थियो । चाकुको नाम लिँदा मुख रसायो । खाद्यवस्तु उत्पादन गर्ने अरू प्रसिद्ध बस्तीहरूको पनि सम्झना गर्दै थिए साथीहरू -फर्पिङको मूला, भादगाउँको दही, .....।
टोखा बजारको गेटबाट भित्र छिर्यौं । सानो भएपनि चोकै चोक भएको बस्ती । चोक चोकमा पानीका सार्वजनिक धारा । धारामा लुगा धुँदै गरेका महिलाहरू । घर अगाडिको ढुङ्गामा फूलपाति चढाउने नेवारी संस्कृति । विदाको दिन भएर होला धेरै जसो पसलहरू बन्द । एकाध खुलेका पसलहरूमध्ये सागपात, खाद्यपदार्थ, घरायसी सामान आदिका पसलहरू । केही अगाडि चण्डेश्वरी पोखरी । पोखरीनेर चोकमा "जनसाहित्य सम्मेलन सफल पारौं" भन्ने नारा लिखित व्यानर टाँगेर बसेका केही मानिसहरू । अलि अगाडि गणेश मन्दिर । अझ पूर्वपट्टि एउटा ढिस्को । ढिस्को तल जम्मा भएको धमिलो पानीमा हाँसहरू पौडिरहेका ।
अगाडि हेर्दै झपेन्द्र सर देखाउँदै थिए - "उत्तरतर्फपारिपट्टकिो डाँडा पल्तिर जितपुर फेदी, पूर्वउत्तरतर्फ बूढानीलकण्ठ । अगाडि देखिने जङ्गलका बीचमा टोखा क्षयरोग अस्पताल थियो पहिले ।"
बाटो हिँड्दै गरेका एउटा बूढा मान्छेले ठीक सामुन्ने उत्तरतर्फ देखाए - "उः त्यो पारिको गाउँ साङ्गला र माथि चुनिडाँडा हो ।"
हाम्रा नजर नजिकैका घर आँगनमा पनि थिए । आँगनमा बाख्रा बाँधिएका । करेसाबारीमा नरमजस्तो देखिने हर्लक्‍क बढेको साग । फेरि साथीहरूले त्यहाँको सागको मिठासको प्रसङ्ग उठाए । मलाई फेरि मुखमा पानी आयो । भोक झन् जागेझैं भयो ।
"ढिस्काबाट तलतिर झरेर उत्तरपश्चिमको हरियो फाँट हेर्दै भूत्खेलतर्फफर्किने कि झ्" युवराज गुरागाईं र अरुण झाले प्रस्ताव राखे । म त त्यस्तै प्रस्तावको पर्खाइमा थिएँ । धेरैले सहमति जनाए । लस्कर अघि लाग्यो । झपेन्द्र सर सबैभन्दा पछि बसेर आनाकानी गर्दै थिए । तर उनको केही लागेन । टोली अगाडि बढयो । उनी पनि पछिपछि लागे । बर्खाको पानीले गालेर छियाछिया भएको बलौटे कालो माटोको पाखोबाट ओर्लेर चण्डेश्वरी निमाविको प्राङ्गणको सामुन्ने पुगियो ।
"पौराणिक पात्र शिव पुत्र कुमारले सुमेरु पर्वत परिक्रमा गरेझैं हामीले टोखाबजार र भूत्खेल मैदानलाई एक फन्को लगाउने भयौं ।" मैले टहलिँदाको गफ झिक्दै थिएँ ।
साथीहरूमध्ये कसैले ठट्टा मिसाए -"गणेशहरू माथि नै बसेर असली सुमेरु पर्वतको परिक्रमा गर्दै होलान् ।"
"परिक्रमा चाहीँ गर्नुपर्छ, असली वा नक्कली जुन सुमेरु भए पनि । एकै ठाउँ बसिरहँदा कुजिन्छ ।" फेरि कसैले थपे ।
हरियो हलहलाउँदो गहुँबारी, गहुँबारीका कान्लाहरूमा एकाध उत्तिसका रुखहरू । भर्खरै घामले देखेका सेपिला कान्लाहरू । शीतल हावा । गहुँबारीका बीचोबीच बनाइएको सडकमा कुराकानीमा मग्न भएर विस्तारै हिँड्दै थियौं हामी । गाईगोरु लघार्दै खोलातिर झर्दै गरेका किशोरहरू, स्कुले केटाकेटीले झोला बोकेजसरी खकन लगाएका खर्पन बोकेर गहुँबारीतिर झरेका महिलाहरू । तिनीहरू गरी खाने वर्गका असली प्रतिनिधिपात्र लाग्दथे ।
हरियो बोर्डमा सेता अक्षरले ठाउँको नाम लेख्ने नेवारी परम्परा । परम्पराको पुनरावृत्ति भयो -ँइको’ ।
मैले बल खेलिरहेका फुच्चेलाई सोधेँ - "यो इको गाउँ हो -"
"अलि तल्तिर पर्छ इको । यताबाट जानुस् ।" उनले भने । जानु थिएन, जान्नु मात्रै थियो । उनलाई धन्यवाद दिँदै आफ्नै बाटो लागियो ।
छोटो बाटो र्फकन खोजिरहेका झपेन्द्र सरको नेतृत्वमा केही साथीहरू अगाडि पुगिसकेका थिए । मैले अलि अघि पुग्ने प्रस्ताव राखेँ । सबै सहमत भए । फेरि झपेन्द्र सर एक्लै परे । उनको अट्टहास फेरि सुनियो । हाँसे पनि मनको निराशा भाव भने अनुहारमा देखिन्थ्यो ।
"थकित, गलित, पतित भइसकेका त छैनौं होला नि कोही झ्" हिँड्न कस्सिएकामध्ये कसैबाट निस्कियो ।
"तपाईंहरूलाई सुगर भएको छ र यत्रो फाँट डुल्नुपर्ने -" प्रत्युत्तरमा झपेन्द्र सर ।
फेरि उत्साहितहरू अघि अघि । कोही पछि लागे लुरुलुरु । माछा पालन र तरकारी खेति गरिरहेको सुन्दर फाँट हाम्रो सामुन्ने थियो । फाँटलाई ठाडै चिर्दै हामी भूत्खेल मैदानतिर सोझियौं ।
"अलि कमजोर खालको माटो भएकोले बस्ती विस्तार नभएको हो कि यता ।" गुरागाईंजीका तर्कमा सही थाप्दै हामी भित्तो उक्लिँदा झपेन्द्र सरको नेतृत्वमा धेरै साथीहरूले हामीलाई छोडेर फर्किसकेका थिए ।
"अगाडि जान खुसी नहुने तर पछि र्फकंन भने दु्रत गति लिने ।" अघि लागेर झण्डै ओझेल भइसकेका साथीहरूबारे कटाक्ष थियो कुनै साथीको ।
खाजा खाएपछि हामी अरूका नाचगान हेर्दै भूत्खेलका सल्लाका छहारीहरू चहारिरहयौँ । तीनवटा समूहको छुट्टाछुट्टै पिकनिक थियो त्यहाँ । मन्दिर नजिकै निकै छरितो नाच नाचिरहेका थोरै मान्छेहरूको समूह । बीचमा केटाहरूभन्दा केटीहरू धेरै भएको गुरुङ, तामाङ जस्ता देखिने मान्छेहरूका समूह । चौरको पश्चिमी ढिस्कोमा निर्वाचन परिवार । चौरको धेरै शीतलता भएको बीचको भाग ओगटेर नाचगान र खानपिनमा मस्त गुरुङ, तामाङ युवतीहरूको नाच हेर्न एकछिन लहसियौं आयोगका केही साथीहरू र म । बीचमा पलेँटी कसेर हामीले एकैपटक तीनतिरको नाचगान हेर्दै कुराकानी गरिरहँदा आइपुगे महेश तिम्सिना । फेरि अगाडिपट्टिको हाउजिङ्ग भएको थुम्कोतर्फ लाग्यौं - महेश सर, गुरागाईं सर र म । अलिपल्तिर पुगेपछि झपेन्द्र सर पनि आइपुगे । कस्तो अचम्म बिहान धेरै हिँड्न पर्यो भनेर कचकच गर्ने मान्छे अहिले भने पछिपछि लुरुलुरु । महेश सर झपेन्द्र सरपट्टि फर्किए - "तपाईंले हामीलाई छोड्न सक्नुहुन्न भन्ने हामीलाई थाहा थियो ।"
हामी कुनै घर किन्‍न कस्सिएका मान्छे हौं कि जसरी हाउजिङको गेटबाट भित्र छिर्यौं । मेरो सोधनीमा गेट पालेले भन्दै थिए उनान्सय वटा घर छन् भित्र । विद्युत लाइनको हाइटेन्सनको खतराले भने हाउजिङका केही घरहरूलाई असर गर्छ कि साथीहरूको चिन्ता ।
"एउटा घरको करीब सत्तरी बहत्तर लाख पर्छ रे ।" महेश सरले हामीलाई जानकारी दिँदै उनका चिनजानका मान्छेलाई बाहिरबाटै बोलाएर पानी मागे । पानी खायौँ । ठोस खानेकुरा पिउनु पर्छ, तरल पदार्थ खाए पनि हुन्छ भन्‍ने कसैको भनाइ घत लागे पछि मैले पनि अचेल पानी पिउने भनेर सभ्यमा गनिन मन लाग्दैन । पानी खाएपछि हामी गफ गर्दै केही अगाडि निस्कियौँ ।
महेश सरले नजिकैको कम्पाउण्ड देखाए । यो घर तत्कालीन दरबारका भित्रिया मान्छेको हो रे । कुनै विदेशी मान्छेको । करीब ४५ रोपनी क्षेत्रफलमा बनेको छ रे । नभन्दै अग्लो पर्खाल र पर्खालभित्र निगाला/बाँसका भाङको अर्को बारले घेरिएको थियो नारायणहिटी जसरी नै ।
तलतिर वरिपरि फाँट, पारिपट्टि आँखा सामुन्ने डाँडाहरू, हामी रमाइलो थुम्कामा थियौँ । सरर हावा लागिरहेको थियो । बाटामुनि डुकुका हलहलाउँदा डाँठहरु हल्लिएका थिए । "देवकोटाको डुकु र भात" सम्झियो । डुकु र भात जति खाए पनि नअघाइने एउटा साहित्यिक परिकार नै भइसकेको छ ।
भपेन्द्र सर फेरि अघि सरे -"उः त्यता फुटुङ, त्यता मनमैजु, त्यता बाइसधारा अनि त्यता लागे मेरै घर पुगिन्छ ।" उनले उत्तरपश्चिमदेखि पश्चिमी क्षितिजतर्फ हावामा चोर औंला हल्लाइरहेका थिए । "उः त्यता टोखा छहरे सडक बन्दै छ रे ।"
हामी फेरि फर्केर आयौँ पिकनिक स्थलमा । जोडतोडले नाच चलिरहेको थियो । कोही चौरको दक्षिणी छेउ बिच्याइएको कार्पेटमा तासमा जमिरहेका थिए । घैटो फोर्ने खेल पनि चलिरहेको थियो । रामगोपाल, हरिहर सर, लोक बहादुर, नवराज नगरकोटी, ...... कसैले छुन सकेनन् घैटालाई । आखिर घैंटो फोरे उदयजीले । बिंगो सञ्चालनबारे धमला सरले फलाकिरहेका थिए । बगाले सरले बिंगोतिरै सबैलाई तान्न तास खेल्नेहरूप्रति गीतमिश्रति शब्द बाण ताक्दै थिए -"नखेल्नु जुवा र तास धनको नाश जीवनको वनिबास ...।" मैले भने मनमनै भनिरहेको थिएँ -"आखिर तपाईंको बिंगो पनि त जुवा नै हो । केबल एउटा जुवाले अर्कोलाई विस्थापित गर्न खोजेको मात्रै हो ।"
बिंगो चल्यो । बिंगो छिटो सकिएर बिहान भोला दाहालजी र मैले बनाएको कार्यक्रम कतिबेला चलाउन पाइन्छ भनेर मनमनै कुरा खेलाइरहेको थिएँ । हामीले बनाएका थियौं चिठ्ठा तान्दा परेअनुसार गर्ने खेल । केही व्यक्तिगत प्रतिभा देखाउन सबैलाई बाध्य पार्ने गरी धेरै चिठ्ठा बनाएका थियौँ । धेरै त गीत, कविता, गजल, जोक भन्ने राखेका थियौँ । आफैलाई परे कुन गीत, गजल वा कविता भन्ने होला भनेर मनमनै कुरा पनि खेलिरहेको थियो ।
फूल देखेर म र्व्यर्थ आएँछु यहाँ त रहेछ भमराको मेला
टोक्न सक्दिन म फूलका मुटु मेरो आफ्नै मुटु चस्किएको बेला
कसैले सोझो अर्थ लगाएर साँच्चै नरमाइलो मान्लान् कि फेरि । बरु यसो भने कसो होला -
साहस दिने साथ तिम्रो धेरै अघि बढेको छु, सुखमाथि सन्तुष्टिको सगरमाथा चढेको छु
नलगाउ भो धेरै गुन ऋणी बनाई जिन्दगीलाई कतै ऋण तिर्न परे बेच्नु पर्ला आफैलाई
बिंगो लामो समय चलिरहयो । विभिन्न उपाधिमा बिजयी भए -गोपाल बगाले, सुमन घिमिरे, शम्भू चालिसे, सूर्य अर्याल, युवराज गुरागाईं, राजन के.सी., तिर्थ पाछै, मधु रेग्मी सर, ..... । पुरस्कार वितरण भयो निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव र सचिव श्री शंकर प्रसाद कोइरालाज्यूबाट ।
पेट भोकाएको भए पनि डान्स शुरू भयो । ग्रुप डान्स । नाच्न थाले -आयुक्त डा.अयोधीप्रसाद यावव, सचिव श्री शंकर प्रसाद कोइराला याने साहित्यिक व्यक्तित्व एस.पी. कोइराला, सहसचिवत्रय श्री शारदा प्रसाद त्रिताल, श्री मधु प्रसाद रेग्मी र श्री महेश्वर न्यौपाने । नाचमा मिसिए -निर्वाचनका छानाभित्र कार्यरत स्वदेशी विदेशी सबै । रमाउने मन भएकाहरू सबैका नाच राम्रा । आफू त न गाउन जान्‍न न नाच्न नै । कसैले तानेर बीचमा पुर्याए भने पनि ताली बजाउँदै किनार लागेर उभिने । गुरागाईंजी पनि फोटो खिचेरै छेउमा उभिइरहे । नाच्न नचाहेर हो वा म जस्तै नजानेर हो । पापी मनको तरङ्ग ।
बजिरह्यो –हेर्न औ बाटुली यसरी हो नाच्ने ......। फेरि बज्यो –माया जालमा परेँ कि क्या हो म दिन रात झझल्को उनकै छ ....। फेरि बज्यो .... अनि फेरि .....अनि ...। अनगिन्ती गानाहरू तीभन्दा धेरै नाच । सुरतालसहितका नाचहरू । पुरस्कारका लागि छान्नै परे म त लोक बहादुरजी, सुमनजी र क्याटि्रन चलाउने ठिटा ठिटीहरूका नाच रोज्थेँ होला । नाच साँच्चै धुवाँदार भइरहेको थियो । धुलाको मुस्ला पनि उसरी नै उडिरहेको थियो । तर रमाइलोमा हराए पछि नराम्रो भन्‍ने कुरै कहाँ ? आनन्दमा हराए पछि नमिठो लाग्ने चिजै कहाँ ?
आखिर खाना खाने बेला भयो । खाना खाइसकेर निस्कियौँ – कैलास सुवेदी सर, गुरागाईं सर, झपेन्द्र सर र म । हामी रत्‍नपार्कको गाडी चढयौँ । गाडीको झ्यालबाट भूत्खेल चौरतिर हेर्दा खाना पछिको नाच फेरि शुरू हुँदै थियो । भूत्खेल मैदान फेरि जम्जमाएर उचालिँदै थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 9 फागुन, 2068

लेखकका अन्य रचनाहरु