शिवपुरीसँगको कुराकानी

- श्याम संकल्प

संझनाको लागि योग्य छन् धेरै कुराहरु, ठाउँहरु, व्यक्तिहरु परिवेशहरु.........। तर सबै समेट्न गा–हो पर्दोरहेछ लिखित रुपमा । तिनै मध्येको एक छ पुनः शिवपुरीको यात्रा, २०६८ साल पुस २९ गतेको । हुन त शिवपुरीको यात्रा धेरै पटक गरियो । यति नै पटक भनेर मनमा कुनै गणना छैन । हुन त हरेक बिहान आँखा खोल्नासाथ शिवपुरीको दर्शन हुन्छ लाग्छ म यसकै काखमा खेलिरहेछु बालक भएर । त्यसैले शिवपुरीसँगको यो साक्षात्कार नयाँ हैन मेरो लागि । तर पनि योसँगको आकर्षण कहिले घटेन, यसको तिर्सना कहिले मेटिएन, यसको सुन्दरता कहिले बिर्सिएन, यसले दिने रोमाञ्चकता कहिले सकिएन, योसँगको साक्षात्कार ज्यू का त्यू रहिरह्यो । लाग्छ र मनमा प्रश्न उठ्छ के छ योसँग ? के जादु गर्छ यसले ? केले तान्छ मलाई? किन यस्तो हुन्छ ?हरेक पटक शिवपुरी जाने भनेपछि एक किसिमको छटपटी चल्छ, व्यग्रता बढ्छ ।

काठमाण्डौको जीवनयापन । कति कष्ठकर छ भोग्नेलाई थाहा छ । बाहिरकाले काठमाण्डौ छिर्दा सुन्दर जीवनको कल्पना गर्छन् । बस्दै जाँदा काठमाण्डौ कष्ठकर बन्छ । अनुभव गर्छन संघर्षको । निमार्ण गर्छन् इतिहास संघर्षको तर यसका रैथाने भनिने हामीहरुको पनि कथा पनि उस्तै छ । त्यसमा झन काँठकाहरुको संघर्षको कथा अझ कारुण बनेको थियो,बन्दैछ र बनिनेछ । किनकि यसलाई धेरै कुराले छोएको छ , राजनीतिले, अन्तराष्ट्रिय परिवेशले, धर्मले, संस्कृतिले, रीतिरिवाजले, चालचलनले । यो देश आफैमा बहु भाषी, बहु जाति,बहु संस्कृति । झन त्यसमा संसारका मानिसहरुको जमघट थलो, घुम्नेको थलो, जागिर खानेको थलो, राजनीति गर्नेको थलो, भविष्य बनाउनेको थलो, भुल्नेको थलो, भुलाउनेको थलो, पढ्नेको थलो, उपचार गर्नेको थलो, गैर सरकारी संघसंगठन चलाउनेको थलो ।
ंंंंंंंंं यही परिवेशबाट भिन्न हुन सक्दिन म पनि, मेरो भावना पनि, मेरो सोचाइ पनि, मेरो कथा पनि । जीवन यापनको तानातुनी । यो कुनाबाट त्यो कुना, एक ठाउँबाट अर्को ठाउँ, एक परिवेशबाट अर्को परिवेशले धकेल्छ, दौडाउँछ, आतुरी पार्छ, कुदाउँछ जीवन यापनको संघर्षको नाउमा ।
त्यही यापनले गर्दा धेरै छन् मनका इच्छाहरु अपूरा, बेग्रेल्ती छन् मनका चाहनाहरु अधुरा,कयौ छन् मनका तिर्सनाहरु तिर्खाएका । तर एउटा मन फुर्सद पाउनसाथ जुर्मुराउछ र मौका पउनासाथ हुकिन्छु त्यो रहरहरु पूरा गर्न, ती तिर्सनाहरु मेट्न, हुन त खाने मुखलाई जुँगाले छेक्दैन भन्छन् तर ममा त्यो उखान लागू भएन कि.........। यस्तै सोच्छ यो मन ।
२०६५ साल तिरको कुरा हो प्रसिद्ध युवा निबन्धकार युवराज नयाँ घरे संगको शिवपुरीको यात्राले यात्रा संस्मरण लेख्नलाई उत्साह थपेको थियो । विशेष गरी आत्मा परक निबन्ध र यात्रा संस्मरण लेख्नलाई । तर त्यसलाई निरन्तरता दिन सकिएन क्रमशः । त्यो धङधङती ममा त थियो नै सायद युवराज नयाँ घरे दाइसँग पनि । प्रायः भेट्दा र कुराकानी हुँदा “ भाइ शिवपुरी फेरि घुमौं है ।” भन्ने गर्नु हुन्थ्यो । मत मौका लुट्ने प्रयासमा थिए । तही मौका छोप्न मैले २०६८ सालको जाडो बिदा हुनासाथ आग्रह गरे दाइलाई । सहर्ष स्वीकार्नु भयो । हार्दिकताले, आत्मीयताले स्वच्छ हृदयले ।
शिवपुरी जाने दिन तय भयो हाम्रो, २०६८ साल पुस २९ गते शुक्रबारको । शिवपुरीलाई छुने, भेट्ने, शिवपुरी भित्र हराउने, शिवपुरीसँग लुकामारी खेल्ने, शिवपुरीलाई फेरि एक पटक नजिकबाट आत्मासाथ गर्ने, शिवपुरीसंग टाँसिएकी प्रकृतिसँग मित लाउने, जिस्कने, हराउने, चलाउने । मनमा उत्साह बढिरह्यो, भावना चुलिरह्यो, भित्र भित्रै मनमा धङधङती बढिरह्यो । कहिले गएर आफूलाई हराउन पाइएला शिवपुरीको काखमा भन्ने भावनाले मलाई छटपटी पारिरह्यो जाने दिन तय भएदेखि नै ।
तर विडम्वना भनौ कि के भनूँ ? निर्धारित दिनमा प्रसिद्ध निबन्धकार युवराज नयाँघरे दाइ आउन सक्नु भएन काम विशेषले । नवराज जी, म, एक जना फ्रेन्च नागरिक र युवराज नयाँघरे दाइ जाने भन्ने कुराको तय भए पनि दाइ बिना नै हामी थोरै खल्लो मानी यात्रा थाल्यौं ९ः३० बजे बिहानको गाँस टिपेर ।
समयको सप्को लगाएर हाम्रा पाइलाहरु बाटो नाप्दै अगाडि बढ्छन् क्रमशः ।
पुसको महिना सायद भएर होला बिहानको ९ः३० बज्दा पनि बूढानीलकण्ठ वरपरका बस्तीहरु भर्खर उठ्दै गरेको भान मनभरी भइरह्यो धेरै माथि पुग्दासम्म । शहरी वाताबरणले खप्लक्क छोपेको छ बूढानीलकण्ठका बस्तीहरुलाई हिउले पाहाड छोपेजस्तै ।त्यसैले बीस वर्ष अघि बारीका पाटामा उघ्राइ रहने गाईबस्तुको दृश्य देख्ने चाहना एक दुई दृष्यमा चित्त बुझाउन पर्दा मन कता कता न्यास्रियो । र मन विगतको दृष्यको कल्पना गदै कुद्न थाल्यो । मैले जिज्ञासा राखे नवराज जीसंग “अव यहाको बस्तीमा बाहिरको मान्छे बढेछ । हैन र ?”
शिवपुरी राष्ट्रिय निकुञ्जको गेटमा हाम्रा पाइला पुगिसकेको छन् । संसारको राजधानीबाट सबभन्दा नजिक रहेको यो निकुञ्ज कतिलाई यति नजिक छ भनेर जानकारी नहुन पनि सक्छ । देश भित्र वा बाहिर । भित्र जानको लागि हामी ३ ले टिकट लियौं । हाम्रासाथमा एक जना फ्रेन्च नागरिक पनि थिए–एड्रिन । उनले विदेशी लाग्ने दस्तुर रु. २५० तिरेर टिकट काट्यो र अगाडि बढ्यो । भित्र छिर्न साथ अलि बढी चिसोले स्वागत ग–यो हामीलाई । घामको किरण छिर्नै लागेको थियो शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गल भित्र आनो रेशमी किरण छरेर । वाग्द्वार पुग्ने उत्कण्ठाले हामीलाई भित्रै देखि हौसाएको थियो । त्यसैले त हाम्रा पाइलाहरु अलि छिटो चल्दै थियो । चाडै पुग्न सकिन्न भन्न यथार्थलाई बिर्सेर । र त हामी हिड्न भन्दा हुत्तिन आतुर थियौं, कुद्न व्यग्र थियौं, पुग्न लालायित थियौं, मनमा तिर्सना बढिरहेको थियो । मैले यात्रालाई अझ यथार्थ बनाउन केही फोटोहरु लिने प्रयास गरे यसमा सहयोग नवराज जीको पनि राम्रै थिएन नभनूँ कसरी?
भर्खर उघ्रिदै थियो शिवपुरी राष्ट्रिय निकुञ्ज, उठ्दै थिए तरु लतिकाहरु, वनका बोटविरुवाहरु, आँखा मिच्दै थिए कुना काप्चाहरु, कराउदै थिए ती समयको सूचक पंछी र भन्दै थिए– “बिहानी भसक्यो उठ !उठ !” हाम्रा स–याक सुरुक्कले तिनीहरु अझ संसकित थिए, चनाखो थिए, हतार हतार गर्दै थिए, डरभित्र उत्सुक्ताले चियाउदै थिए । एक मनले भन्दै थियो–गल्ति गरिएछ खलबल पु–याएर । अर्को मनले भन्दै थियो– कति रमाइलो ! यो प्रकृतिको दिनचर्या ।
प्रकृतिको यो दैनिकी मानव जीवनको लागि एउटा नमूना बन्न सक्छ, एउटा पाठ बन्न सक्छ, एउटा प्रणाली बन्न सक्छ, एउटा सिद्धान्त बन्न सक्छ मानव जीवन यापनका लागि । व्यस्त, भीडभाड, हत्तारो, छटपटी, हतास, व्यग्रता,दौडाहा मा बाँच्ने यी मान्छेहरुका लागि । मनले यही भनिरह्यो धेरै वेर सम्म मलाई । मैले आफूलाई पखाल्ने प्रयास गरिरहे, समाल्ने प्रयास गरिरहे, बनाउने प्रयास गरिरहे, बसाल्ने प्रयास गरिरहे । प्रकृतिको यो दिन चर्या आनै किसिमको थियो, छुट्टै थियो, अनौठो थियो, सुन्दर थियो, यथार्थ थियो, ग्रहण योग्य थियो, मनन योग्य थियो, मान्यता निमार्ण गर्ने किसिमको थियो । यस्ता परिवेशले मन कहिले भावुक बन्थ्यो, कहिले फुरुङ्ग पथ्र्यो, कहिले निराश बन्थ्यो, कहिले उड्थ्यो । त्यसैले मेरा मन बलेको मैन भएर कमशः पग्लदै गइरहेको थियो..........गइरहेको थियो.......................।
जाँदा जाँदै एउटा थुम्कोमा हाम्रो भेट घामको पहिलो झुल्कासंग भयो जसको किरण हामी माथि हार्दिकताकासाथ प–यो, त्यो घाम न्यानो थियो, सुन्दर थियो, आनो थियो, हामी तिनको थियो, भाग लगाउन नपर्ने थियो । हाम्रो हस्याङ्ग फस्याङ्ग बढ्दै जादा हामी क्रमशः थाक्दै थियौं। र त केही वेर सुस्ताउने प्रयास ग–यांै हामी तिनै । र मैले आनो लुगा फुकाले । त्यसवेलासम्म हामी ताती सकेका थियौं । जाडोले हामीलाई आँक्न सकिरहेको थिएन। त्यसैले त विरालोले मुसा कुरे सरह हामीलाई टाढैबाट टुलुटुलु हेरिरहेको थियो । हामी चाहि जाडोलाई माथ गर्न सकेकामा गर्व गथ्र्यौं ।
त्यसवेलासम्म काठमाण्डौ उपत्यका राम्ररी नै जुर्मुराइसकेको थियो । शहरका कङ्गक्रिड घरहरु क्रमशः देखिदै गइरहेको थिए । लाग्दो एउटा जमात विस्तारै आङ्ग तानेर काम तिर हिड्न खोज्दै छ । मनले एउटा फरक पन अनुभव ग–यो। त्यसको केही दृष्य मैले क्यमारामा कैद गरे । लागेको थोरै थकाइ गायव भयो । हामी पहिल्यै जस्तै फुर्तिलो भयौं । बाटा चौडा थिए, तर घुमारौ जान सक्थे ठूला गाडिहरु पनि । देखिने टाढा टाढाका दृष्यहरु मनै हर्ने खालको थियो । फुल्चोकी मस्किदै थिइन्, नागर्जुन डाँडा मुस्कुराउदै थियो, बागमती नदी आफूलाई घिसार्दै थिइन्, स्वयंभूनाथ आना सुख र शान्तिका आँखाले सबैलाई हेर्दै थिइन्, कपन गुम्वा, नागी गुम्वा मितेरी लाउदै थिए, बुद्धका उपदेशहरु भन्दै थिए, बूढानीलकण्ठ नारायण आनो विशाल शरीर लिएर विश्वरुप देखाइरहेका थिए, तौलुङ्ग, वासी, डाँडा गाउँ, पासिकोट, हात्तीगौडा, भङ्गाल, टुसाल, लिपिकोट, भसन्थली, क्वाटोल, झोर, तारेभीर, सुन्तखान, जगडोल, कौडल, चुनिखेल, गाम्चा, धापासी, महाड्ढाल आदि ठाउँहरुले आनो दिन चर्या शुरु गर्दै थिए, पशुपतिमा शिवजीको लागि घण्टहरु बजिरहेका थिए ।
तर हामी त्यहाँ लामो समयसम्म त्यो परिवेशलाई आत्मासात गर्न चाहेर असमर्थ भयौं र त पाइलाहरु चले हाम्रा सडकबाटो छोडेर ।
मुल बाटो छोड्नासाथ खुडकिलोले स्वागत ग–यो हामीलाई । शुरुमै शिवपुरी पिक बागद्वार भनेर लेखिएको साइनवोर्डले हामीलाई सही बाटो देखाएको भान गरायो । ढुङ्गै ढुङ्गाले बनाएको त्यो खुड्किलो बाटो शिवपुरी पिक र बागद्वारसम्मै भेटियो । नवराज जी भन्देै थिए– “करोडौको बजेट हो यो ।” लगभग पचहत्तर प्रतिशत बाटो यसरी नै बनाइएको रहेछ । विगतमा शिवपुरीको यात्रा गर्दा जुन सास्ती पाइएको थियो “त्यो भने यो पटकको यात्रा नहुने भो !” भन्ने भावनाले मनमा हर्ष झन थप्यो र मन अझ फुरुङ्ग प–यो । त्यो बाटो हिडे पछि पहिला देखिएका सबै दृष्य हराए, विलाए, अलप भए, हामी पनि हरायौं शिवपुरी राष्ट्रिय निकुञ्जको त्यो जङ्गल भित्र । सुनसान जङ्गल, वोटविरुवाका स–याकसुरुक, चराचुरुङ्गी, पशुपन्छीको एकोहोरो खलबल, हिउ पग्लेर पातमा वर्षिदाको तप्प तप्प,पानीको कलकल,चिनी छरिए सरी यत्रतत्र छरिएका सेताम्य हिउका थुप्रोहरु, शीतले ल्रयाक्क भिजिएका बाटाहरु, हरिया साना साना बोटविरुवाहरुको छुनुुमुनु, यौवनले उन्मुक्त युवती जस्ता सुरिला रुखहरु, चिसो ठण्डी युक्त वातावरण को वीचमा हामी क्रमशः पाइलाहरु नापिरहेछौं । हामी कहिले चिप्लन्छौं भिरालो बाटोमा, कहिले थाक्छौ लथ्य्राक्क, कहिले हराउछौं आफै भित्र र चुपचाप रहन्छौं आपसमा । कहिले भावनामा बहन्छौं ।
असिन पसिन गर्दै उकालो उक्लिरहेछौं हामी तीनै त्यो खुड्किलो बाटोमा । मैले धेरै चोटी त्यो खुडकिलो बाटो बनाउने मानिस वा कालीगडको मुक्त कण्ठले प्रशंसा गरे बोलीमा र मनमा पनि । मेरो बोलीमा नवराज जीले पनि सहमती प्रकट भयो । जति माथि उक्लिन्छांै त्यति चिसो बढ्छ । हाम िलखतरान पर्छौं, भ्यागुते झोलाभित्र कोचिएको छ हाम्रा लगाउने लुगा । थकान बढ्छ, गर्मी चढ्छ, उचाइ चुलिन्छ हामी केहीवेर सुस्ताउछौ जंगल भित्रै तर जंगल भित्रको चिसोले आक्रमण गर्छ हामी तत्कालै झोलाभित्रको लुगा संझन्छौं ।
हामी छिटो हिड्छ फ्रेन्च नागरिक एड्रिन त्यसैले सधै अघि हुन्छ हामी भन्दा ।पहाडे देशका हामी सुविधा खोज्छो रोग डाक्दै । उनीसंग जिज्ञासा र सोधाइ बढी नै भयो कि उसको शैक्षिक, समाजिक, आर्थिक, सास्कृतिक लगायतका विषयमा । मेरो मनले त्यसै भन्यो हाम्रो बतचितका वीच । उसले सहजताका साथ हामीलाई बताउदै गयो । त्यहाँको चालचलन भिन्न छ हाम्रो भन्दा तर दुवै देशलाई आर्थिक पाटोले पिरकै छ । जाँदा जादै आधी बाटैबाट फर्कियो ऊ । घुँडको दुखाइले हामीसँग विदा मागेर ।हामीले उसको साहस प्रति प्रशंसा ग–यौ. । विदेशी भूमी, जंगलको बाटो एक्लै फर्काइ । हुन पनि ऊ साहसी छ, आत्मा निर्भर छ, आनै कमाइले विश्व घुम्छ, जीवन यापन गर्छ तर हामी भने पुर्खौली सम्पतिको .................. गर्छौ ।
हिउको थुप्रो वा मात्रा बढदै जान्छ जति हामी माथि पुग्छौं । हामी अझ रोमाञ्चक बन्छौं ।जंगल घना बन्दै जान्छ, हामी जिज्ञासा, कौतुहुलता, रोमाञ्चकताभित्र हराउदै जान्छौं । सुनसान बढिरहेछ । बाघ भालुको कुरा गर्छौं । बँदेल, मृग, मयुर, कालिज, तित्रा आदिको पलचाप खोज्छौं मृग कराएको आवाज टाढाबाट आउँदा हामी कान थाप्छौं । एक हुल काँडे भ्याकुर चरा जुन नेपालमा मात्र पाइन्छ भुरुर..........भुरुर उड्छ हाम्रो पदचापले र झाँडीतिर छिर्छ । सयौ वर्ष पुराना खर्सुका रुख उस्तै छन् । गुराँस हासिरहेछ । बाज, चिलाउने सल्लो, कटुस जस्ता रुखहरु क्रमशः बाक्लिदै जान्छ ।त्यो जंगलको वीचमा हाम्रा चार पाइला अगाडि बढ्छन् । गन्तव्य भेट्टाउन, वागद्वार पुग्न, शिवपुरी गढीमा रमाउन ।
निकै माथि पुगेपछि तेर्सो बाटो भेटे लगतै देउराली पुग्छौं हामी दुई । दिनको करीज १२ बजेको थियो होला ।घामको मधुर प्रकाश छ हिउ चारैतिर छरिएको छ ।द्धन्द्धकालमा सैनिक बस्ने भग्नावशेष छन् देउरालीको त्यो खुल्ला चौर शिवपुरीको निधारको टिको हो । केही बदाम चपाउदै केहीवेर थकाइ मा–यौ हामीले ।केही फोटाहरु कैद गरियो । पुन हाम्रा पाइलाहरु अगाडि बढे क्रमशः।
अझ बढी हिउ देखा पर्छ । लाग्छ अव हिउको राज बढ्दैछ । हिउ देख्दा मन हर्षित बन्छ । मन प्रफुल्ल हुन्छ । बाटो हिउले छोपिएको छ । लाग्छ हामी आउने बाटो भरी प्रकृतिले हिउ रुपी कपासको कार्पेट ओछ्याएर हाम्रो स्वागत गरिरहेछ । हाम्रो स्वागतमा कुनै कमी आउन दिएको छैन । मनलाई अझ बढी छोयो कि नवराजको ? त्यो नवराज रुपी मन चंचल बन्दैछ क्रमशः । त्यसैले आफूसहित त्यो हिउलाई समातेर कैद पार्न कस्सियो त्यो नवराज मन । त्यसमा सहभागी गराए मैले आफैलाई हार्दिकतासाथ । हामी हिउ खोज्दैछौं वा गन्तव्यतिर पुग्न खेज्दैछौं ? मनभरी यही प्रश्न उब्जिरह्यो ।
केही वेर मै आइपुग्यो बागद्वार अर्थात बागमतीको मुहान । बाघको आकृति भएको धाराबाट लगातार तुर्तुरे धारोको रुपमा पानी आइरहेछ । नेपाली वर्ष को पहिलो दिन त्यहाँ नुहाउनेहरुको ठुलो मेला लाग्छ । त्यहाँ नुहाएर शिवपुरीको टुप्पोमा रहेको शतरुद्रेश्वर महादेवको दर्शन गरेर विष्णु द्वारको दर्शन गर्दै फर्कन्छन् धेरै भक्तजनहरु ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 माघ, 2068

लेखकका अन्य रचनाहरु