गल्लीको झयाल

- शुषमा मानन्धर

“तँ कत्ति भाग्यमानी छस् । काठमाण्डौमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पीर छ तँलाई ।”
तृष्णाका अधिकाँश साथीहरु उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरुका आँखामा, उसमा कुनै पीरै छैन । खानलाउन पुग्दैन भन्नु छैन । ठूलो परिवारको किचलो र झन्झट पनि व्यहोर्नु छैन । काठमाण्डौको मुटुभित्र चार तल्ले घरमा रजाँई गरेर बसेकी छ ऊ । चार जनाको परिवार, कुनै कुराको अभाव वा खट्किएको भन्ने नै छैन उसलाई ।
तैपनि उसलाई केही नपुगे झैँ भैरहन्छ । भौतिक उपलब्धिलाई नै सबै कुरा मान्ने आजको संसारमा, सबै कुरा पाएर पनि आखिर आफूलाई के चैँ नपुगेको हो, धेरै पटक कोशिश गर्दा पनि उसले थाहा पाउन सकेकी छैन ।
वासिङ्ग मेशिनदेखि डिस वासर र चाहिने सबै अत्याधुनिक सर–सामानहरुले घर भरिएकै छ । उसले घरमा गाह्रो काम केही गर्नै पर्दैन । बिहान–बेलुकाको त्यति खाना पकाउने काम पनि नगरे, उसले गर्ने काम केही हुन्न । त्यही भएर, साथीभाइ र आफन्तहरुले निकै भने तापनि उसले घरमा काम गर्ने मान्छे राखेकी छैन ।

दुइ वर्षदेखि उसको छोरो क्यानाडामा पढ्दै छ र छोरी यतै बाह्रमा पढ्दै छे । लोग्ने ठूला व्यापारी, दिँउसोभरि आफ्नो बिजिनेश फर्ममा व्यस्त रहन्छन् । बिहान खानापछि, तृष्णा फुर्सदै फुर्सदमा हुन्छे । घरको कामधन्दामा मात्र कति मन भुल्छ र ? “मान्छेलाई पैसा मात्र भएर पनि नहुने रैछ । ” ऊ दिक्क हुँदै कैलेकाँही सोच्ने गर्छे ।
“के गाह्रो छ र ? कुनै क्लब, सामाजिक संस्थाको सदस्य हुनु, त्यसै समय बितिहाल्छ नि । हामीलाई यहाँ समय नपुगेर कस्तो छ !”
कुनैबेला मनको बह पोख्दा लोग्ने उसलाई यसरी नै भन्ने गर्छन् । उनले भने जस्तै समय सजिलै कट्ला भनेर तृष्णाले कुनै संस्थातिर आबध्द हुने बिचार पनि गरेकी हो तर पछि आफूलाई चाहिँदा पनि समय निकाल्न नसकिने पीरले उसले त्यसो गर्न सकेकी छैन । उसमाथि संघसंस्थामा लागेका आफ्ना दुइचार साथीहरु उसले देखेकी पनि छ जसलाई सधैँभरिको हतार हुन्छ ।
हरेक हप्ता भने जस्तै पिकनिक, पार्टी र बेला न कुबेलाको छलफल र मिटिङ्ग । कुनै दिन उनीहरुसँग गफ गर्न मन लागेर घरमा बोलायो, फलानाको घरमा मिटिङ्ग छ भनी हतारेर दौडिहाल्छन् । सधैभरिको त्यो हतारहतारको जीवन पनि उसलाई मन परेको छैन । घरमा त्यसै बस्नुभन्दा काम गर्नु निको भनेर उसले जागीर पनि खान खोजी, “हैन, तिमीलाई नपुग्ने के नै छ र फेरि जागीर खान खोज्छौ ? मैले कमाइरहेकै छु । आनन्दले खाउ, पिऊ, घुम र खुशी भएर घर चलाऊ ।” लोग्नेको सधैँ यही उत्तर हुन्थ्यो ।
घरमा भाडा लाइएका मान्छेहरु भएका भए पनि ऊ उनीहरुसँग गफ गरेर समय कटाउँथी, त्यो भन्नु पनि छैन । टिभी, पत्र–पत्रिका, किनमेल र आराम... ...के यत्ति मात्र जीवन हो ? यो सोखको निरस निरन्तरताबाट ऊ वाक्क हुँदैछे ।
..................
लोग्ने अफिसमा काम छ भनी बिहानै निस्केका छन्, छोरी कलेजबाट फर्केकी छैन । ऊ प्रायःजसो सडकपट्टिको कोठामै हुन्छे, या त कौसीमा, बराण्डामा वा बगैँचामा । आज के सूर चढेछ कुन्नि, भान्छाको गल्लीतिरको झ्याल सफा गर्न थालेकी छ ।
पैदल हिँड्ने दुइचार मान्छे बाहेक, त्यहाँ कहिलेकाँही बाइक हुँइकेको सुनिन्छ अन्यथा त्यो गल्ली, त्यति गुलजार रहँदैन । मान्छेका भीड नभएकै कारण भने हात समाएर थुतुनो जोड्न पल्केका युगल जोडीहरु त्यो गल्लीतिर यदाकदा आइरहन्छन् । झ्याल पुछ्न सकाएर खुइय गर्दै ऊ झ्यालको बारमा अडेस लाग्छे, एक्लिएको गल्ली तल लमतन्न पल्टिएको छ । घरहरु अग्ला अग्ला भए, अधिकांश गल्लीहरु चिसा र अँध्यारा बन्दै गएका छन् । उसको भान्छामुनिको गल्ली पनि अपवाद रहेन । साँच्ची भन्ने हो भने, त्यो गल्ली, अगाडिको सडकको विकल्प मात्र थियो । ऊ गल्लीलाई आफ्नो जीवनसँग दाँजेर हेर्छे, चिसो, अँध्यारो र एक्लो । घडी हेर्छे, साँढे नौ बजेछ । लामो सास फालेर ऊ झ्यालबाट हट्न लागेकी मात्र हुन्छे, गल्लीमा टाढाबाट कोही हतारहतार आइरहेको देख्छे ।

ऊ अड्छे र नियालेर हेर्छे । एक्लै, ब्याग झुण्डयाएर लम्किरहेको त्यो युवक घरिघरि आफ्नो घडी हेरिरहेको हुन्छ । उसको हिँडाइ र हतारोपना देख्दा तृष्णालाई हाँसो उठ्छ, कम्तीमा घरबाट बेलैमा हिँडेको भए, यसरी हाम्फाल्दै भाग्नु पर्ने अवस्था त आउँदैन थियो । त्यो युवक उसको आँखाबाट ओझेल नहुन्जेलसम्म ऊ हेरिरहन्छे । धेरै टाढासम्म पनि युवक त्यसरी नै कुदिरहेको हुन्छ ।
उसले यो भन्दा अघि त्यो युवकलाई ख्याल गरेकी छैन । आज पहिलो पटक यो बाटो हिँडेको हो वा अघिपछि हिँडेर पनि, उसको आफ्नो नजरमा नचढेको हो, ऊ सोच्न थाल्छे । “काम न काजको, व्यर्थ के कुरा सोच्न पुगेछु , छिः । ” ऊ मनमनै हाँस्छे र टाउको झट्कार्छे ।

छोरीसँगै खाना खान्छु भनेर बसेकी छ ऊ । छोरी घर आउँदा एघार, साँढे एघार बजिहाल्छ । अहिले एघारै बजेको छैन र अगाडि आधै दिन बाँकी छ । गर्नलाई खासै केही काम बाँकी पनि छैन,के गरुँ के नगरुँको दोसाँधमा कोठामा ऊ टिभी खोल्छे तर सिरियलहरुमा पनि मन थीर गर्न सक्दिन । टिभीलाई त्यत्तिकै खोलेर ऊ तल बारीतिर लाग्छे ।

“ममी, खाना खानु भएको छैन ?” छोरीले पछाडिबाट बोलाउँदा पो ऊ झसङ्ग हुन्छे । बाह्र बजिसकेको रहेछ । “अनि आज ढिलो ग¥यौ नि त ।” ऊ छोरीलाई सोध्छे ।
“अँ, एकछिन लाइब्रेरी बसेकी थिएँ ममी । मैले त क्यान्टिनमा चाउमिन खाएकी छु, तपाई खाना खानुस् न है ।”
“खाना नखाइ कहाँ हुन्छ ? बरु थोरै खानु । सँगै खाउँला ।” ऊ छोरीसँग खान बस्छे ।
खानापछि बिहानको काम पनि सकिन्छ । अब के गर्ने, ऊ सोच्न थाल्छे । मोबाइल निकाली साथीलाई कल गर्छे । लामा दुइचार कल गएर पनि उताबाट फोन उठ्दैन । ऊ आजित भएर अर्की साथीलाई फोन गर्छे, “क्या हो, न फोन, न भेटघाट । तिमीहरुसँग त कुरा गर्नै गाहारो भैसक्यो ।” उताबाट उसकी साथी फोनको मुख छोपेर बोलिरहेकी हुन्छे, “तृष्णा, अहिले म सानो मिटिङ्गमा छु । एकछिन पछि फोन गर्छु है ?”
ऊ सोच्छे, सबैभन्दा काम नलाग्ने ऊ नै भएकी छ । अरु सबै एकभन्दा एक व्यस्त, आ–आफ्नै दुनियाँमा भुलेका छन् । कसैसँग पनि दोस्रोको लागि समय छैन । आखिर सबैजना किन र कसको लागि यो भागदौडमा लागेका होलान्, ऊ आफ्नो मनसँग प्रश्न गर्छे । जो कोहीलाई सम्झ्यो, धनवैभवकै लागि मरिमेटेर काम गरिरहेका छन्, ऊ आफूसँग धन छ तर ऊ साँच्ची खुशी छे त ? दिनभरि ऊ आफूसँग यस्तैखाले तर्कना र प्रश्न गरिरहन्छे ।
राती बेडमा पल्टेर टिभी हेर्दै गरेका लोग्नेलाई ऊ सुनाउँछे, “बिहान, गल्लीमा एउटा मान्छे पुच्छर ठाडो पारी कस्तो हतार–हतार दौडेथ्यो, साह्रै हाँसो उठ्यो मलाई । ”
“ए,अँ !” टिभिका च्यानलहरुमा आँखा लगाइरहेका उसका लोग्नेलाई यो कुरामा चासो हुने कुरै भएन । अर्को पट्टि फर्केर निद्रा नलागेसम्म ऊ बिहानको घटना सम्झीसम्झी मनमनै हाँस्छे ।
.....................................।.................................।................................।........................
भोलिपल्ट मात्र हैन त्यसपछिका दिनहरुमा पनि त्यही बेलातिर उसको ध्यान अनायसै झ्यालतिर जान्छ । ठीक साँढे नौ मै नभए पनि त्यसको आसपासमा, कहिले ढिलो त कहिले केही चाँडै त्यो युवक त्यही गल्ली भएर हिँड्न थालेको छ । जुनसुकै काममा व्यस्त भए पनि त्यो बेला ऊ झ्यालमा उभिन बिर्सिदिँन । नौ बज्नु कहाँ हो कहाँ, ऊ अगाडिदेखि नै झ्यालबाट गल्लीतिर आँखा लाइरहेकी हुन्छे । पक्कै कुनै अफिसमा काम गर्ने कर्मचारी हुनुपर्छ, उसले लख काटेकी छ, किनकि सार्वजनिक विदाका दिनहरुमा युवक त्यो बाटो देखिँदैन । बिहे भैसकेको हो कि हैन ? कतै अफेयर पो चलिरहेको केटा हो कि ? देख्नमा ह्याण्डसम र भलादमी पनि देखिन्छ । उसले कहिल्यै आँखा उठाएर माथि हेरेकोसम्म पनि छैन । न त उसलाई कहिल्यै कुनै केटीसँग आइरहेको देखिएको छ । तृष्णाले युवकसँग गाँसेर अनेक कल्पना गर्न भ्याइसकेकी छ ।
हुन त ऊ उमेरले प्रौढ भैसकेकी छ । भएर के गर्नु, हिजोआज मीठो तरङ्ग उठ्न थालेको छ उसको मनमा पनि । युवकलाई टाढैबाट गल्लीतिर आइरहेको देख्ने बित्तिकै तृष्णाका धमनीका रगत तातो हुन थाल्छ । गालामा गुलाबी रङ्ग चढेर, एक्कासी धुकधुकी बढेको भान हुन्छ उसलाई । उसलाई अचेल त्यत्तिकै रमाइलो पनि लाग्न थालेको छ । पहिले उसलाई दिन कटाउन नै गाह्रो प¥थ्यो, अहिले समय बितेको पत्तै हुँदैन । कामबाट समय निकालेर ऊ, त्यो युवकको हिँडाइ, लवाइ सबै कुरा सम्झँदै विश्लेषण गर्दै दिवास्वप्नमा मग्न रहन्छे । एक्लै बस्दा पनि आफैभित्र रमेर कल्पना गरिने साथी भेटेकी छ उसले आजकल ।
................................।..............................।................................।...................................
दश बजिसकेको छ तर आज त्यो युवक देखापरेको छैन । आज बिदा हो कि भनी, गएर उसले भान्छाको भित्तामा झुण्डयाइएको क्यालेण्डर दुइपटक हेरिसकेकी छ । “साँढे दश बजिसक्यो, के परेछ त्यस्तो !” ऊ घडी हेर्दै, झ्यालबाट परसम्म आँखा तान्दै बर्बराउँछे ।
“आज कतै बन्दसन्द त हैन ? बन्द भए त छोरी कलेजबाट फर्कनु पर्ने हो, ऊ फर्केकी छैन ।” आफ्नो सकसक मेटाउन तृष्णा, बाहिर निस्कन ठीक परेका आफ्नो लोग्नेलाई सोध्छे, “सुन्नुस न,आज बन्द हो र ?”
“हैन, के भन्छौ ? कहिलेदेखि बन्द र खुलामा चासो राख्न थाल्यौ तिमीले ? के को बन्द हुनु ?” उसको प्रश्न गराइले लोग्ने पनि हुनसम्मको छक्क पर्छन् ।
उसले निकैबेरसम्म गल्लीको बाटो हेर्छे,े युवक आउँदैन । छोरीले खाना खान्छे तर उसलाई खान रुचि हुँदैन । फेरि पनि ऊ गल्लीको झयालतिर एउटा उदास दृष्टि फाल्छे । अकस्मात उसको अनुहार उज्यालिन्छ । बाहिर गल्लीमा त्यही युवक मोबाइल कानमा टाँसेर आइरहेको हुन्छ । हतारिएर दौडिँदा ऊ झ्यालको खापामा ठोकिन्छे, “अइया” टाउको सुम्सुम्याउँदै पनि ऊ युवकतिर हेरिरहन्छे । ठीक झ्याल मुन्तिर आइपुगेको युवकले, उसको आवाजले गर्दा माथि ऊतिर हेरे झैँ लाग्छ उसलाई । तृष्णाको मन भरङ्ग हुन्छ । ऊ छातिमाथि हात राख्छे । उसलाई त्यो दृष्टिले छेडेर मनको गहिराइसम्म पुगेको हो कि भन्ने लाग्छ । ऊ झयालबाट हट्छे । मोबाइलमा कुरा गर्दै गरेको युवक, मोबाइल बन्द गरेर जाँदाजाँदै पनि फेरि माथि हेर्छ । कत्ति राम्रो, कल्कलाउँदो देखिन्छ । कति बर्षको होला ? ऊ युवकको उमेर अनुमान गर्दै आफूलाई ऐना अगाडि उभ्याउँछे । सोच्दासोच्दै ऊ आफूलाई पनि युवककै समवयस्क कल्पना गर्न थाल्छे । घरिघरि उसलाई युवकका हेराइले पछ्याउँछ । उसका आँखा अगाडि मोबाइल समाइ फर्की हेर्दै गएको युवकको मुखाकृति नाच्छ र ऊ रातभरि सुत्न सक्दिन, कोल्टे फेरिरहन्छे । लोग्नेको अँगालोमा समेत ऊ युवकलाई देख्छे । एकैछिन निदाउँँदा पनि रँगिन र कति छिल्लिएका सपनाहरु... ऊ लजाउँछे ।
.......................।...........................।.............................।...........................।......................
शनिबार सम्झियो कि उसलाई नियास्रो लाग्छ । बिदाको दिन त्यो युवक आउँदैन । उसलाई नदेखेको दिन तृष्णालाई खल्लोखल्लो लाग्छ । अफिसमा बिदा भन्ने नै नदिएको भए कत्ति हुन्थ्यो, अझ आफू पनि त्यो युवकसँगै काम गर्न पाएको भए...जिन्दगी कति रमाइलो हुन्थ्यो, उसका आँखा अगाडि झलमल्ल कामना बल्छन् ।
“ममीलाई भर्खर बैँस लाग्या जस्तो छ । ” तृष्णाले कपाल कालै डाइ गरेको देखेर छोरी जिस्काउँछे ।
“ओहो, मर्ने बेला हरियो काँक्रो । के हो ? फेरि तरुनी हुन किन खोजिछौ ?” आफ्ना सेतै फुलेका कपाल हेर्दै लोग्ने पनि भन्न बाँकी राख्दैनन् ।
“आफ्नो खुशीको लागि यति पनि गर्न नपाउनु त ।” ऊ त्यही दिन पार्लर गएर कपाल पनि छोट्याउँछे । चार दशक काटिसकेकी तृष्णा, खण्डखण्ड पारी काटिएको कपाल र आधुनिक परिधानमा, आधा उमेरकी देखिने मात्र हैन उसमा त्यस्तै उमङ्ग पनि छाउन थालेको छ ।
गल्लीको झयाल उसलाई औधि प्यारो लाग्छ, खासगरी बिहान, जब त्यो युवक त्यो बाटो आउँछ । साँझ भने उसलाई त्यो बाटो फर्केको तृष्णाले देखेकी छैन । ऊ युवकसँग बोल्न चाहन्छे, खै किन उसमा यो रहर पलाएको छ, ऊ आफै जान्दिन तर ऊसित बोल्न तृष्णासँग कुनै गतिलो बहाना पनि छैन । युवकले बोल्न पहल गरेको छैन । ऊ एक नजर हेर्छ र चुपचाप आफ्नो बाटो लाग्छ । तृष्णा पनि हरेक दिन गल्ली ढुक्छे, ऊ आएको र गएको हेरिरहन्छे ।
हप्ता दिन भैसकेको छ, युवक त्यो गल्ली आएको छैन । बाटो कुर्दाकुर्दा उसका आँखा दुखेका छन् । कतै अन्तै सरुवा भयो कि, बिरामी प¥यो कि, वा कुनै दुर्घटनामा प¥यो, अनेकानेक आशँकाहरु उसको मनमा एकपछि अर्को पलाएका छन् । ऊ कसैसँग सोध्न सक्दिन, न त घरमा कसैसँग यस्तो कुरा शेयर गर्न सक्छे । घरमा गर्नुपर्ने सबै कुरा पूर्ववत् गरिरहेकै भए पनि ऊभित्रको उज्यालो ज्योति निभ्दै गैरहेको छ । छोरी आफ्ना कुराहरु सुनाउँछे, ऊ सुनेर पनि सुन्दिन । लोग्नेसँग गर्नुपर्ने दायित्वहरु औपचारिकता जस्तै पूरा गरिरहेकी छ । ऊ पहिला सम्पति भएर पनि दुखी थिई, अहिले झन दुखी भएकी छ ।
....................

आज पनि ऊ घरमा एक्ली छे । लोग्ने भर्खर निस्केका छन् । छोरीको आज कलेजमा कार्यक्रम भएकोले ढिलो फर्किन्छे । खान मन लागेको छैन उसलाई त्यसैले ऊ भान्छाको झ्यालनिर उभिएर तल गल्ली नियालिरहेकी छ । घाम नपर्ने गल्ली झन चिसो हुन थालेको छ । टाढा–टाढासम्म आज कोही हिँडेका देखिँदैनन्, कसैले बिर्सेर उपेक्षित बनाइएको जस्तो । त्यत्तिकै मन अमिलो हुन्छ, आँखा रसाउँछन् उसका । आँसु भरिएका धमिलो दृष्टिमा उसलाई माथि गल्लीबाट कोही आइरहे झैँ लाग्छ । त्यही युवक ...,ऊ विस्वासै गर्न सक्दिन...हो, त्यही युवक आउँदै गरेको हुन्छ । उसको साथमा अरु पनि कोही हुन्छ । ऊ आँखै झिमिक्क नगरीकन उनीहरुलाई आइरहेको हेरिरहन्छे । हालै मात्र बिहे भएको जोडी झैँ देखिने, उनीहरुले एक अर्काको हात समातेका हुन्छन् । रातो फूलबुट्टे सारी लगाएकी युवती कहिले लजाउँदै, कहिले मस्ँिकदै युवकसँग टाँसिएर हिँडिरहेकी छ । उसलाई इष्र्या लाग्छ । गलामा केही अड्किए जस्तो भएर उसलाई भक्कानिउँ झैँ हुन्छ । झयालबाट अलि पर ऊ उनीहरुका दृष्टिबाट छेलिएर उभिन्छे । तल युवक आफ्नी श्रीमतीलाई भन्दै हुन्छ, “तिमीलाई थाहा छ ? खै किन हो, यो घरकी बुढीले म अफिस आउँदा सधैँ मलाई हेरिरहन्छे ।” त्यसपछि दुवैको हाँसोको फोहरा माथि झयालसम्म आइपुगेर लावासरि उसका कानभित्र छिर्छन् । तातो पानीले खन्याए सरह ऊ फतक्क गल्छे । उभिरहने शक्ति पनि हुँदैन उसमा । आफ्ना हातहरु नियाल्छे, थर्थर कामिरहेका हातहरु, सुकेर झन् चाउरिए झैँ लाग्छन् उसलाई । ऊ धेरैबेरसम्म त्यसै टोलाइरहन्छे । झयालमा फर्किन सक्दिन ऊ, उसलाई मन पनि लाग्दैन ।
भारी मनले ऊ गल्लीको झयालमाथि अपारदर्शी कागजका परतमाथि परत चढाउँछे । बाक्लो पर्दा ल्याएर टाँग्छे पनि । “किन र के भो ?” लोग्ने सोध्छन् ।
“गल्लीबाट साह्रै चिसो आउन थाल्यो, त्यही भएर ।” तृष्णा बन्द झयाल हेर्दै बन्द मनभित्रबाट बोल्छे । घडीमा आँखा जान्छ, साँढे नौ बज्दैछ । रहर गरेर कपालमा लाउँछु भनी अघिल्लो दिन नै कचौरामा भिजाइ राखेको मेहेन्दी, ऊ बेसिनमा लगेर घोप्टयाउँछे ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 माघ, 2068

लेखकका अन्य रचनाहरु