गजलकार जी.सी.को “छातीभित्र पीडा फुल्दा” हेर्दा

- अरुणबहादुर खत्री “नदी”



वि.सं. २०१७ भाद्र २७ गते काठमाडौंमा जन्मेका कवि एवं गजलकार उज्ज्वल जी.सी. को “छातीभित्र पीडा फुल्दा” नामक गजल सङ्ग्रह २०६७ मा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र उनले लेखेका ७६ वटा गजलहरु सङ्कलन गरिएका छन् भने यी गजलहरुमा प्रेमका संयोग अनि वियोग भावका साथै देशभक्तिको भावले ओतप्रोत भएका गजलहरु पनि छन् । उनी गजलमा देश, जनता र समाज लेख्छन् । यस सङ्ग्रहभित्रको पहिलो गजलले धन र पदको लालच छैन मुखले सधैं भन्नुहुन्थ्यो, अमूल्य स्वाभिमान लिलाम गर्दै नोटसँग झुक्नु भाछ भनेर व्यङ्ग्य हानेको छ । कवि तथा गजलकार उज्ज्वल जी.सी. विलक्षण प्रतिभासम्पन्न सिद्धहस्त अथक राष्ट्रिय प्रतिभा हुन् । वि.सं. २०३४ सालबाट साहित्यिक यात्रा प्रारम्भ गरी आजको दिनपर्यन्त आइपुग्दा नपुग्दै अत्यन्त स्तरीय, सुसंस्कृत, सुगठित र परिस्कृत कृति–कुसुमहरुले नेपाली वाङ्मय वाटिकालाई सुगन्धित र सुरभित गरी नेपाली भाषा साहित्यको यथेष्ठ संरक्षण र संवद्र्धन गर्न सफल भएका छन् । उनका सुन्दर कृतिहरुमा नखोज आँसु बर्साउन नामक गजल सङ्ग्रह २०६१ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो । उनले लेखेको पहिलो कृतिको रुपमा २०४३ सालमा श्रद्धा–कुसुम नामक कविता सङ्ग्रह निस्कन सफल भएको थियो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय चेतनाले गर्दा स्वदेशको माटो जति प्यारो अर्को हुन सक्तैन । त्यसैले घमण्ड त्यागेर स्वदेशको माटोलाई फुटेर होइन जुटेर प्रेम गर्नुपर्दछ भन्ने गजलकार उज्ज्वलको धारणा रहेको पाइन्छ ।

पौरखी युवाहरु हराए किन ?
देशमा सबैजना डराए किन ?

कविता विधामा उनको उपस्थिति हेर्दा उनलाई गजलकार भनेर नचिने पनि हुन्छ । कविताबाटै पनि उनको साहित्यिक उचाई चुलिएको छ । गजलमा त यिनले विशिष्टता हासिल गरिसके नै । गजलको सुरुवात श्रृङ्गारिकताबाट सुरु भए पनि गजलमा समय लेखिनुपर्छ, माटोको दुखाइ उतारिनुपर्दछ, समाजका वास्तविक भोगाइ र जीवन प्रतिविम्वित हुनुपर्छ । जीवनका अनुभूतिहरु प्रेम विछोडका समसामयिक घटनाक्रमहरुलाई गजल लेखेर उज्ज्वलले चित्रण गरेका छन् । गजल लेखनको मेल यतिखेर मेची–महाकालीसम्म मात्र नभएर विदेशिएका नेपालीहरुले समेत चुर्लुम्म डुबेर सन्तोषका सुस्केराहरु पस्किएर आनन्दको अनुभूति गरिरहेका छन् । फारसी, उर्दू र हिन्दी हुँदै नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने युवाकवि मोतीराम भट्टले नेपाली माटोमा विजारोपण गरेका गजल विधाले अहिले नेपाली साहित्यको मलिलो माटोमा ढपक्कै ढाकेर सुवासित गराउने काममा के नयाँ के पुराना सबै पुस्ताले गरिरहेको देख्न र पढ्न पाईन्छ । अब यस्ता कार्यले गर्दा जो जुन विधामा आफू समर्पित भएर लागेको छ उसलाई आनन्द मिल्नु स्वाभाविकै हो । उनी यहाँ कुनीतिको बोलवाला भएको, भ्रष्ट र स्वार्थीहरुको इसारामा मुलुक चलिरहेको, केही सङ्कुचित र सङ्कीर्ण राजनेताहरुको रहर र लहडमा मुलुक चल्नुपरेको र त्यसको परिणाम भने जनता र देशले भोग्नुपरेकोमा धेरै दुखित देखिन्छन् । सिधासाधाका ती सब देखेर पनि टुलुटुलु हेरिरहनुपर्ने अवस्थाको चित्रण उनले राम्ररी गरेका छन् । पीडा र निराशाले कतै कतै च्यापेको भएता पनि गजलकार उज्ज्वलले नेपालीहरुलाई नेपाली फल्नेफुल्ने फुलबारी यो, कसैले रणक्षेत्र बनाए किन ? भनी प्रश्न गरेका छन् ।

बन्दुकले फूलहरु मार्नु भो धेरै
दमनका बीजहरु सार्नु भो धेरै
एकातिर बन्दुकले फूलहरुलाई सखाप पारेर मगमगाउँदो धर्तीलाई फुङ्ग उडेको उजाड वस्तीमा परिणत गराउन बन्दुकले सफलता पाउनुको कारण दमनका बीजहरु नै हुन् भन्ने जिकिरमा गजलकार पुगेको मान्न सकिन्छ ।

अब यस्ता कार्यले गर्दा जो जुन विधामा आफू समर्पित भएर लागेको छ उसलाई आनन्द मिल्नु स्वाभाविकै हो । गजलकार उज्ज्वलले गजललाई निकै माया गर्छन् । उनले लेखेका कतिपय गजलमा हार्दिकताको पहाड उभ्याइएको छ, कतिपयमा कोमलताको छहारी उठाइएको छ । त्यति मात्र नभएर गजलको लोकप्रियता भन्नु नै मिठासपूर्ण तरलता र सरलता भएकाले त्यसलाई ख्याल गर्दै केही गजलहरु गेय प्रधान, लय र मात्राका कारणले सङ्गीत भर्न सकिने र केही गजलहरु पाठ्यधर्मी वाचन गरेर सुनाउने, पाठ रचना जस्ता खालका पनि छन् । यथार्थ स्वीकार्नु पर्छ । मायाप्रीतिका कुराहरुदेखि राष्ट्रले भोगिरहेका अनेक विकृति, विसङ्गतिहरुलाई गजलको कलेवरभित्र सटिक प्रतिक र बिम्बले सिगार्दै आफ्ना भावनाहरु शिष्टता र सरलताका साथ सम्प्रेषण गर्न सक्ने खुबी भएका उज्ज्वललाई नेपाली गजल फाँटमा एक सिद्धहस्त गजलकारका रुपमा स्वीकार्नु पर्दछ । उनले आफ्नो गजलमा रुझेको आँखाभरि छायौ किन ? रातमा जिस्काउन आयौ किन ? भनेका छन् । गजलकार उज्ज्वलले आँखाबाट आँसु हुंदै कति खस्छ्यौ प्रिया, पराइको मुटुभित्र कति बस्छ्यौ प्रिया गजलद्वारा बोलेका छन् ।

देश विकासको जिम्मा दिदै संसद्मा पठाएथ्यौ
राष्ट्रिय आवाजलाई पैतालाले किचेको किन हो ।

गजलका धनी व्यक्ति उज्ज्वल स्याललाई शेरझैं बनाउनु भाछ, मौकामा लाखौंलाख कमाउनु भाछ गजल लेखेर भन्दछन् । कवि एवं गजलकार उज्ज्वलका गजलहरु सत्याभिव्यक्तिले आच्छन्न छन् । मानवीय संवेद्यताका वैचारिक भावाभिव्यक्तिहरु गजलका विषयवस्तु बन्दछन् । प्रस्तुत सङ्ग्रहभित्र समेटिएका अरुअरु गजलहरुमा पनि प्रवाहित यिनका भावहरु मन छुने खालका छन् । बिना तडक भडक र कृत्रिमता पाठकले बुझ्ने र ग्रहण गर्न सक्ने गरी सरल भाषामा अभिव्यक्त भएकाले यी गजलहरुले जसरी आज मलाई आकर्षित गरेका छन् अरु पाठक–श्रोताहरुलाई पनि आकर्षित नगर्लान् भन्न सकिन्न ।
घमन्डले आपसमा फाटो हुन्छ साथी
सधैँ प्यारो स्वदेशकै माटो हुन्छ साथी ।
उनी गजलका विषयवस्तुमा व्यापकता छन् र आफूले प्रस्तुत गर्ने विषयमा स्पष्ट छन् । आफ्ना सोच बिचारमा स्पष्ट र दृढ देखिने यी गजलकारले आफ्नो भन्नुलाई सोझो बाङ्गो किसिमले व्यक्त गरेका छन् । उनको यो लेखाईले नयाँ पुस्ताका लेखकहरुलाई गजल लेख्ने ठूलो हौसला अवश्य मिल्न सक्दछ ।



प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 माघ, 2068

लेखकका अन्य रचनाहरु