विरुपित

- किशोर पहाडी

झोल पदार्थ कडा थियो ।


साइँलीको भट्टीको रक्सी कडा नै हुन्छ ।


''साइँलीको रक्सीले फ्ल्याट् पार्‍यो," अन्तिम घुट्को घुट्क्याउँदै राना करायो । उसको स्वर लरबर थियो ।


अब राना उठ्यो । बिस्टे र तीर्थे त उसलाई त्यहीँ छाडेर हिँडिसकेका थिए ।


ऊमात्र घर जान बाँकी थियो । एकपटक साइँलीलाई पाँच सय रुपैयाँको नोटले मुसारेर त्यो नोट उसैलाई दिँदै राना पनि भट्टीबाट निस्क्यो ।


ढलपलिँदै ढलपलिँदै राना सहिदचोक पुग्यो । दिउँसोको समय भएकाले चौबाटोमा धेरै मानिस ओहोरदोहोर गरिराखेका थिए । उसलाई अलि लाज लागेजस्तो भयो । त्यसैले सकेसम्म नढलपलिन सक्दो आफूलाई ठिङ उभ्याउन खोज्यो ।


अनि फेरि एक छिनपछि आफ्नो घर भएको उत्तर दिशातिर हिँड्न थाल्यो ऊ ।


करिब १५ मिनेटजति पछि ऊ आफ्नै घरको ढोका अगाडि पुग्यो । पुगेपछि त्यहाँ पनि ऊ एकछिन ठिङ उभियो । नलड्खडाउन सक्दो कोसिस गर्‍यो र ढोका ढकढकायो ।


उसको फुच्चे छोरो विमलले ढोका खोल्यो । विमल आफ्नो अगाडि बाबु देखेर अलि डरायो ।


राना ढलपलिँदै घरभित्र छिर्‍यो र ओछ्यानमा थचक्क बस्यो । अनि छोरोतिर मदले मस्त दृष्टि फ्याँक्दै जङ्गियो, "खोई ? तेरी आमा खोई ?"


"आमा ?..." विमलले डराउँदै भन्यो, "आमा त मन्दिर जानुभएको छ । उहाँले तपाईंको स्वास्थ्यका निम्ति व्रत राख्नुभएको छ, आज ।"

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 माघ, 2068

लेखकका अन्य रचनाहरु