स्यालको हुइय्याँ

- डा. दीनबन्धु शर्मा

उनले एउटा सुन्दर कविता लेखेर तत्कालीन मूर्धन्य कविलाई देखाए। मूर्धन्यले नाक खुम्च्याएर भने –'यसमा परिस्कारको अभाव छ।'
उनले एउटा अर्को कविता लेखे र यसपटक अर्का क्रान्तिकारी वरिष्ठ कविलाई देखाए। वरिष्ठले भने- 'यसमा प्रगतिशीलताको शून्यता छ।'
उनले एउटा नाटक लेखे र समकालीन नाटक-सम्राट्लाई देखाए। सम्राट्ले भने – 'यसमा अभिनय कलात्मकताको प्रस्तुति छैन।'
उनले एउटा कथा लेखे र प्रख्यात् कथाकारलाई देखाए। उनले भने- 'यो कथा एक शताब्दी पछाडि परेको छ।'
उनले यी सबै कृति बटुलेर प्रकाण्ड समालोचकलाई देखाए। समालोचकले भने – 'यी कृतिहरूमा उल्लेखनीय केही छैन।' उनले जताततै स्याल हुइय्याँ सुने।
उनी आफ्ना कृतिहरूको महत्त्व केही नभएको थाहा पाएर मरे।
तर आज उनको जन्म-जयन्तीमा कवि, लेखक, नाटककार, समालोचक आदि सबै मूर्धन्य साहित्यकारहरूले एकै स्वरमा भने – 'उनी साहित्यका प्रत्येक विधामा विलक्षण प्रतिभा देखाउने महान् स्रष्टा थिए।'
मलाई आश्चर्य लाग्यो जन्मजयन्ती कार्यक्रममा उपस्थित मेरो छेउका दाह्रीवाल साहित्यकारलाई कोट्याएर मैले सोधेँ – 'उनको महत्त्व एक्कासि कसरी आकाशियो ?'
उनले गम्भीर भएर जबाफ दिए – 'एउटा युरोपबाट निक्लने प्रतिष्ठित पत्रिकामा एउटा अमेरिकी समालोचकले उनको प्रतिभाको प्रशंसामा बाह्र पेज लामो लेख लेखेको छ भन्ने सुनिएको छ।'
फेरि साहित्यिक हुइय्याँ सुनिन थालियो उनको साहित्यिक प्रतिभाको।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 माघ, 2068

लेखकका अन्य रचनाहरु