लन्डनतिर लन्ठिदा

- रामहरि पौड्याल

नयाँ वर्ष नयाँ हर्ष बिक्रमसँवत २०६१ । वातावरण नवीन उत्साहले सुशोभित छ। हामी तयारिमा ब्यस्त छौ यात्राको।जीवन यात्रै यात्रा रहेछ कहिल्यै नटुङ्गिने।अनन्त यात्रामा ऊकाली आरालीहरू,भन्ज्याङ र चौतारीहरुसँग मितेरी गाँस्नु पर्ने रहेछ। भोट, मधेश, पहाड, तराई मुगलान हुँदै देश परदेश गर्नु छोराको धर्म रहेछ।स्वाभिमानी कर्म रहेछ।पुर्खाहरुले धानेको यो धरोहरलाई मैले समुन्द्र पारीसम्म पुर्याएँ।

यात्रै यात्राको बिदेशिने क्रमले एक दशक मनायो मेरै जीवनमा।सन् १९९४ को जापान यात्रासँगै सुरू भएको मेरो परदेश यात्राले पाँच बसन्त मनायो सूर्योदयको देशमा।काम,मिहेनत,अनुशासन र स्वाबलम्वनको सिङ्गो इतिहास देखे बुझेर सन् १९९९ मा फिलिपिन्स पुगेँ सिङ्गापुर हुँदै।उच्च अध्ययनका मेरा अर्का पाँच वर्षहरु फिलिपिन्समा बिते।जहाँबाट मैले इलेक्ट्रिकल इन्जिनियरिङ्गमा स्नातक र म्यानेजमेन्ट इन्जिनियरिङ्गमा स्नातकोत्तर सम्मको उपाधी हात पारेँ। त्यहि उपाधीको बल्छि थापेर हात परिन इन्जिनियरिङ्ग स्नातक आर्किटेक प्रेजा।
नवबिवाहित हाम्रो दाम्पत्य रमाइलैसँग बित्दै थिए। हामी दुबै इन्स्टिच्युट आफ म्यानेजमेन्ट एण्ड टेक्नोलजी भक्तपुरमा प्राध्यापन गर्दै थियौ।नेपालको वातावरणीय प्रदुषण,राजनैतीक प्रदुषण सबै सबैले हामीलाई देश छाडन प्रेरित गरे।बन्द,चक्काजाम,आन्दोलन,धरपकड,बेरोजगारी,अब्यवस्था कारक थिए हाम्रो पर्देश यात्राका।

पर्देशी नियती नै भएको एउटा मान्छे पुन: पर्देसियो।अभिलाषा उच्च अध्ययनको।यतिखेर यात्राले एउटा साथी
पायो जीवनभरकै।यात्राको नया भूमी अलि टाढै थियो।एशिया महादेशलाई नाघेर युरोप सम्मको दूरी तय गर्नु थियो। बैशाख३गते २०६१ साल।तदनुसार १५ अप्रिल २००४।हाम्रो यात्राको प्रस्थान बिन्दु।बिहानको सखारै ६:३० बजे हामीले चक्रपथको घर छाड्यौ। बुवा, आमा, बैनी ग्यानु, अभिलाषा, सागर, माधुरी, माधवी,,,,,सबै।मर्निङ्ग स्टार चिल्ड्रेन च्यारिटीका सँस्थापक र पचासौ सडक बालबलिकाका सँरछ्यक दाइ विष्णु पराजुलीको सौजन्यमा प्राप्त भ्यानामा चढेर हामी सबै बिमानस्थल पुग्यौ।

बिमानस्थलको सुरछ्या ब्यवस्था परदेशीनेहरुकालागि एउटा तीतो यथार्थ बनेर जिस्काइरहेको हुन्छ। खै र विदायीकालागि आउने सबैलाई आत्मीयताको हार्दिक ‘बाइबाइ’ खुलेर गर्न पाएको? वरै गेटबाट आर्मीको आदेशलाई शीरोधार्य गर्नै पर्ने। कडै सुरछ्या ब्यवस्थालाई समेत बलै पूर्बक मिचेर विदायीमा पाल्नुभएका सासु,ससुराज्यू,भाइ अभिषेक,मामा,अङ्कल,आन्टीहरुको आशीर्बाद र विदायीलाई स्वीकार्दै हामीले बिमानस्थल प्रवेश गर्यौ।

एअरपोर्ट टेक्स,बेगेज चेकिङ्ग,बोर्डिङ्ग पास,ओभर वेट,भनसुन,गलफतिकोफेहरिस्त सकियो।बिमानस्थलको भित्रैसम्म आइपुग्नु भएका अङ्कल जगन्नाथ पौड्याल(पूर्व सासँद),आर्मी इन्जिनीयर दाइ विश्वबन्धु पहाडी, भन्सारमा कार्यरत किशोर अङ्कल, ससुराज्यू, छोराबुहारीलाई बिदेश उडाउन पाल्नुभएका मेरा ६८ बर्षिय पिताजी।सबैको मुहार मनीलो भएथ्यो।खुसी र दु:खको सँयोग।बिदायी आफैमा नरमाइलो।पिताजीका चार भाइ छोरा र तीन बैनी मध्यको माइला छोरा बुहारी हामी।सबै छोरा बुहारी बिदेशिए बूढाबूढीहरुको दुखेसो।परिवार अन्तराष्ट्रिय भयो।जेठो छोरा बुहारी जापान,साइलाका बूढाबूढी अमेरिका,कान्छो छोरो जापान,कान्छी छोरी फिलिपिन्स,ठूली छोरी ज्वाइ जापान,माइलो ज्वाइ जापान।मात्र माइली छोरी र हामी बूढाबूढी नेपालमा रह्यौ।ब्रिद्ध बुवा मुवाको हर्क र दु:ख।तीन भाइ छोरा सबै र एउटी बुहारी समेत इन्जिनीयर र अर्को छोरा डाक्टर मेरा पिताजीको साँचो धाक।तथापि सबै परदेशमा। स्वागत र बिदायीको धेरै अनुभव सँगाल्यो हाम्रो परिवारले।आउने जाने क्रम चलिनै रहेछ दशकौ देखी बिदेश यात्राको।

अव बिदेश देख्ने पालो बुवाआमाको।बिदायीलाई सहज बनाउदै मैले गरेको घोषणा। समय भैसके छ प्लेनको, बेला जुदायीको आफ्नो धर्तीसँग।आफ्नो माटो र बाटोसँग।छिटो,छिटो हामी कुद्यौ विमानतिर।आफ्नो लछ्यतिर।क्रमश: देश टाढिदै थियो मुलुक साटिदै थियो।सबैजनाको सम्जनाले भारी मन बोकेर कतार एअरलाइन्सको काठमान्डौ दोवा,दोवा लन्डनकालागि अनुबन्धित हाम्रो बायुयान क्यूआर ३१५ले विहानको ८:४५बजे काठमान्डौ छाड्यो। हेर्दा हेर्दै आकाशियो बायुयान,बिरानीयो गाऊँ।पशुपतिनाथलाई दूर दर्शन गर्दछु । शुभयात्राको मनोकामना। बिहानीको सुनौला घामसँगै उज्यलिएको छ आकाश।बादलै बादलको सफा र स्निग्ध आकाश। कपासै कपास जस्तो सेतो भुवादार मखमली साम्राज्य।खेलूँ खेलूँ लाग्ने छोउँ छोउँ लाग्ने आकाशे रमाइलो।एकै छिनपछि वायुयानका सबै बिदेशी पर्यटकहरू सलबलाए र झ्यालपट्टि चलमलाए।आहा! कस्तो सुरम्य मनमोहकता।हाम्रा हिमालहरु चाँदीझै टल्किएका छन्। घामका किरणहरुले त्यसमा थपेको चमक अबर्णनीय छ। सबै ब्यस्त छन् हिमाल हेर्न, हिमाल चुम्न।क्यामेराहरु चोरिरहेछन् हिमालका मनोरम द्रिश्यहरु। हिमाल हाम्रो महिमा,हाम्रो शान। हाम्रो चिनारी विश्व मानचित्रमा। मरो छाती स्वाभिमानले फुलेर सगरमाथा भइदिन्छ। मेरो शान फक्रेर कन्चनजङ्घा चुलिदिन्छ। हामी हिमाली हार्दिकता सिनित्त पिएर गौरवान्वित भइरहन्छौ यात्राभरि।

बायुयान आफ्नो निर्दिस्ट गति र दिशामा लम्किरहेकै छ। उडानको गति,तापक्रम,उचाइ र गन्तव्यको जानकारी स्क्रिनमा डिस्प्ले भइरहे छ। बिमान परिचारिकाहरु समुस्कान यात्रुहरुको सेवामा लागिरहेका छन्। नेपाली भन्दा विदेशी पर्यटकहरुनै बढी छन् बायुयानभरि।यात्राको तयारिमा भएको दौडधुप धुलो धुवाँको सौजन्यले प्राप्त रुघा खोकीले हामी दुबैलाई छोएको थियो। हामी खोक्दै थियौ बिमानभित्रै सम्म पनि। “तपाइहरुलाई सन्चो छैन जस्तो छ नि ?” कतार एरवेजकी बिमानपरिचारिका नेपाली प्रीतीको सोधाइ आत्मीय बनिदिन्छ। नेपाली युवतीहरु अन्तराष्ट्रिय विमानसेवासम्म काम गरिरहेको जानकारीले हामीलाई खुसी तुल्याउँछ।प्रीतीको सौजन्यमा प्राप्त हट लेमन र स्ट्रेप्सिलको एउटा पातो पुरै हार्दिकरुपमा स्वीकार्दै हामी दोवा विमानस्थलमा अवतरित हुन्छौ।

मरुभुमीको बीचमा रहेको दोवा बिमानस्थल त्यहाको भिन्न प्रक्रितिका घरहरु,भिन्न तापमान सबैको कौतुहलतापूर्ण जिग्यासा सक्दा नसक्दै दोवा लन्डनको यात्रा सुरु भइहाल्दछ।हाम्रो यात्रामा अर्का एकजना नेपाली डाक्टर भेटिनु हुन्छ।दोवाबाट लन्डनको विमानमा हामी तीन नेपाली हुन्छौ।दोवा लन्डनकालागि अनुबन्धित हाम्रो बायुयान ७ घण्टाको आफ्नो निर्धारित उडानलाई लछित गरेर आकासिन्छ। आकासमार्गका रमाइला छणहरु पुन: दोहोरिन्छन्।बायुयान समुन्द्रसतहबाट धेरै माथि पुग्दछ। प्रिथ्वीका सबै सम्पर्कहरु आकासिन्छन बादलपारिको अलौकिक सँसारमा। बिमानपरिचारिकाहरु आफ्नो सेवामा जुटिरहेकाछन्।यात्रुहरु आफ्नो रुचिअनुसारको फरमाइसमा ब्यस्तछन्।

यात्राको गन्तव्य आइसकेछ हामी अवतरित हुँदैछौ लण्डनको हिथ्रो बिमानस्थलमा। रातीको आठ बजे अचम्म अँध्यारो छइन।पूरै उज्यालो छ बिजुलीको होइन, बत्ती बलेकै छइन। भौगोलिक विषमता अचम्म लाग्दछ।एउटै धर्ती कहिँ उज्यालो कहिँ अँध्यारो।घुम्दो उपक्रम। इमिग्रसनको लामो लाइन,चेकिङ्ग,स्वास्थ परीछण सबैको लामो श्रिङ्खला सकेर बिमानस्थलबाट बाहिरिदै गर्दा खुसी र सँत्रास दुबैले मन फुल्दछ। कहाँ जाने? टेलिफोन, ठेगाना परदेशका प्रारम्भिक समस्याहरुले हामीलाई घेर्दछन। कलेजको होस्ट फेमिलीले पिकअप गर्ने सूचनालाई आधार मानेर दुई तीन चोटी घुम्दा पनि अराइभल लविमा प्ले कार्ड बोकेर उभिएकाहरुमा आफ्नो नाम देखिएन। सुटकेसका भारिहरूको लाइनसँगै बाहिरिँदै गरेका हामी दम्पतीलाई एकजना पाकिस्तानी भाइको भाडाको ट्याक्सीले ठूलै गुन लगाउँछ। हिथ्रोबाट रिडिङ स्टेसन टाढै रेछ अरूण थापा भाइको कोठा। साठी पाउण्ड भाडा तिर्यौ सधन्यवाद।
थकाइले क्लान्त हामी अरूण भाइको न्यानो आतिथ्यमा दङ्ग पर्दछौ।गाउँघरको गफ चल्दछ हामी दुई भाइको। परदेशमा देश प्यारो हुदो रेछ। चार बर्षदेखि घर नगएको ऊ गाऊँ सुन्न र बुज्न ब्यग्र छ। मावोबादी आक्रमणमा उस्को बुवा मेयर गणेशबहादुर थापा भरतपुरको घर बम बिस्फोटमा ध्वस्त भएको खबरले हामी दुबै स्तबद्द हुन्छौ।देशै हिँसा,हत्या र फोहरी राजनीतीले आक्रान्त भएको खवर मैले प्रेषित गरिरहन्छु।
परदेशका प्रारम्भकालीन चुनौतीहरु हाम्रा अघि पहाड बनेर तेर्सिरहे।नयाँ मुलुक, नयाँ चालचलन, नयाँ तौरतरिकाहरु।बिहानको रापीलो घामसँगै हामीहरु सेन्टर लण्डनतर्फ बढीरहेका हुन्छौ। लण्डन व्यवस्थित र वैभवशाली भएपनि टोकियो, सिङ्गापुर, मनिला, बेङ्कक, हङकङ्ग र साङ्घाइ देखिसकेको आफूलाई भने वाउ! वाउ!! लाग्दैन।पूराना बान्किका घरहरुले पूरानो बेलायती साम्राज्यको सँझना गराउदछ।कसरी सँरछण गरिरहेछन आफ्नो ऐतिहासिक बैभवलाई बेलायतीहरुले।हेरिटेजलाई बचाउन उनीहरू पूरै सफल देखिन्छन।लण्डन सबै एउटा ऐतिहासिक म्युजियम भएर खडा भएझै लाग्दछ।आजभन्दा सयौ बर्ष अगाडिका भवनहरू अध्यापि पूरानै सानमा पर्यटकहरुलाई लोभ्याइरहेछन्।
आधुनिक बन्ने होडमा हामीले आफ्नो काठमाण्डौको ऐतिहासिक गरिमालाई सिद्ध्याएको महसुस भयो लण्डन देखेपछि।जङ्गबहादुर पछि बेलायत यात्रामा निस्कने म कतिऔ नेपाली हुँला?जतिजनाले बेलायत देखे बुझेपनि,पढे र बरालिएपनि काठमाण्डौको ऐतिहासिक गरिमालाई बचाइराख्ने कुनै साहसिक राजनेता, मेयर देखिएन आजसम्म।
विदेशमा आफ्नो मान्छे औधि प्यारो बन्छ नै।हामी दङ्ग हुन्छौ भोलिपल्टै साथीहरू सबै चिनेजानेका इन्जिनीयरहरू – हरि हमाल, शैलेन्द्रकाजी श्रेष्ठ, सुभाष अधिकारी,राजन खरेल, सुरज थापा, नमीता श्रेष्ठ, बन्दना प्रधान,आरजीत गुप्ता, सबैको फेहरिस्त पत्ता लाग्दछ। इन्जिनीयरहरुको लण्डन च्याप्टर खोल्ने चर्चा चल्छ हाम्रो टोलीमा।


लण्डनको दुईतले बस,भूमीगत रेल (ट्यूब), चढ्दै हामीहरू सेन्ट्रल लण्डनको द्रिश्यावलोकनामा ब्यस्तछौ।नेत्रित्व गरिरहेछन् हरि र सुभाष। वाऊ! वाऊ!! लण्डन ब्रिज हामी दङ्ग हुन्छौ। फोटाहरुमा,चलचित्रका पर्दाहरुमा देखे सुनेको लण्डन ब्रिज आफ्नै आँखा अगाडी।रोमान्चक हुदै हामीहरु तस्विर उतार्छौ।सन्ध्याकालीन सुरम्य द्रिश्यले हामी पुलकीत भइरहेछौ। लण्डन स्वागतातुर देखिन्छ सबैको सत्कारमा। लण्डनका ब्यस्त बजारहरुमा भेटिने बग्रेल्ति इण्डियनहरू,पाकिस्तानीहरू र बँगालीहरुले लण्डन कतै लण्डन नभएर दिल्ली,कराँची र ढाका बन्दै गरेको बास्तबिकता साथीहरुले बताइरहे।दोश्रो विश्व युध्दताका नै भूमीगत रेलमार्गको टनेल खन्न ल्याइएका पचासौ हजार इन्डियनहरुका सन्तानहरु बडदै थपिदै ऐले बेलायतको अर्थतन्त्रमै दखल दिने भएकाछन्।मिलेनियर इण्डियनहरुको विजनेसमा समेत बोलबाला छ।बेलायतभरि बिसौहजार इन्डियन रेष्टुरेन्ट छन्।साउथ हल, ग्रिन स्ट्रिट पुग्ने जसकसैलाई पनि लण्डन होइन गोरखपुर र रक्सौल पुगेको भ्रान्ति हुन्छ।“मिनी इण्डिया”को रुपमा बिकासहुदै छ साउथहल। सँसारकै सबैभन्दा ठूलो गुरूद्वार बनेको छ प्रार्थनाकोलागि।धार्मिक हिसाबले जहाँबसेपनि इण्डियनहरुमा धार्मिक साँस्क्रितीक मोह बढी पाइन्छ।धर्मभीरू तिनीहरूकै दानदातब्यले बनेकाछन ठूला ठूला मठ मन्दिर,गुरूद्वार र मस्जितहरु बेलायतभरिनै।
बेलायतमा बसेर स्वदेशी अनुभव गर्न पाउनुपनि कम्ति मजाको कुरा हो र?इण्डियन रेष्टुरेन्ट,इण्डियन सपहरू।भाडाको ट्याक्सी चलाउने पाकिस्तानीहरु,बँगालीहरु,अफ्रिकी कालेहरू,ल्याटिन अमेरिकीहरु,चाइनिजहरु।सँसारभरिकै मान्छेहरुको भिड लण्डनमा देखिन्छ।त्यसैले त लण्डनलाई “वर्ल्ड क्यापिटल” पनि भनिन्छ।बिदेशीहरुको यो बिशाल महासागरमा कतिछन त हाम्रा नेपालीहरू?के गर्छन तिनीहरुले??यो अर्को खोजको बिषय हुदै हो।तथापि आधिकारिक तथ्याङ्क लण्डनको केनसिङ्गटन पेलेस गार्डेनमा अवस्थित शाही नेपाली राजदूताबासलाई समेत थाहाछैन रे?

बेलायत प्रजातन्त्रको जननी देश।मानवाधिकार र स्वतन्त्रताको नमूना देश।उदार मानवाधिकारकै कारणले सँसारकै शरणाथ्रीहरुलाई थामेको छ,पालेको छ उल्टै बस्ने घर र भत्ता दिएर।बेलायत बस्ने सबैभन्दा सस्तो तरिका भएको छ “रिफिउजी”। एउटा केश खडा गर्यो मानावाधिकारवादिहरुले निसुल्क केश लडिदिन्छन।

लण्डनतिर लन्ठिनेक्रम जारी नै भएकाले बाँकी बचेका यात्रानुभूतीहरू,विदेश बसाइका सुख दुखका कोशेलीहरू सँगाल्ने सुनाउने र पठाइरहने बाचासहित आजलाई बिदा!

भरतपुर १२/१९३चितवन,हाल: बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 3 माघ, 2068

लेखकका अन्य रचनाहरु