एक विशिष्ट संस्मरणात्मक कृति : ‘स्मृतिमा भीमू’

- कृष्णप्रकाश श्रेष्ठ

भूमण्डलको अर्को पाटोमा पर्ने ‘नयाँ विश्व’ भनी रूसमा परिचित अमेरिकाबाट हुलाकद्वारा स्रष्टा श्रीमती भारती गौतमजीको कृति ‘स्मृतिमा भीमू’ हातमा पर्ना साथै पढ्न थालि हालें । न्यूयोर्कबाट मास्कोसम्म दिनहुँ हवाईजहाज ओहोर–दोहोर गर्ने भए तापनि हुलाक सेवाले पत्र समेत विलम्बका साथ मात्र हस्तान्तरण गर्ने हुँदा अधीरतापूर्वक म पुस्तकको प्रतीक्षामा रहेको थिएँ । त्यसैले तुरुन्तै हातमा लिएर बाहिरी कलेवर ओल्टाई–पल्टाइृ नियालेर गाताको मुखपृष्ठमा कृतिनायिकाको छविचित्र र पृष्टपृष्ठमा कृतिकारकै फोटोसहित परिचय नै सर्वप्रथम पढिनु स्वाभाविकै थियो ।

कुनै साहित्यिक कृतिको सन्दर्भमा व्यक्तिएका समालोचनात्मक विचारहरू पहिलेबाटै पढेर मात्र मूल कृतितर्पm लाग्दा आपूmमा त्यसको प्रभाव जमिरहने हुँदा कृतिको स्वस्पूmर्त रसस्वादनमा बाधा पर्ने मेरो धारणा भएकाले प्रस्तुत कृतिको आरम्भमा नै रहेका डा. गोविन्दराज भट्टराईको विद्वतापूर्ण भूमिका र लेखकीय मन्तव्य पछिलाई थाँती राखेर सरासर मूलपाठतिर नै लागिहालें ।

लेखिकाले संस्मरणात्मक शैलीमा तीजको दर खाने दिनदेखि सुरु गरेको विभिन्न १३ बेग्लाबेग्लै शीर्षकका पाठ््य सामग्रीले पढ्न नटुङ्गिएसम्मै मेरो कौतूहल जगाइ नै राखेका थिए । आरम्भका केही शीर्षकहरू एकै सासमा पढिसकेपछि मलाई हरेक शीर्षकले बेग्लाबेग्लै पूर्ण कथा बोकिराखेको जस्तो लाग्यो, यद्यपि पूरै पुस्तक पढिसक्दा मूल नायिका भीमू (भीमकुमारी) को उपस्थितिले विभिन्न पात्रपात्रा र कथानकहरूलाई कलात्मक ढङ्गले एउटै सूत्रमा उनेर सिर्जिएको श्रृङ्खलाबद्ध मालातुल्य एउटा उच्चस्तरीय उपन्यास पढेको मलाई आभास भएको थियो ।

श्रीमती भारती गौतमको प्रस्तुत कृति पढदा पाठक लेखिकासंगै कहिले अमेरिकामा पुग्दछ भने कहिले काठमाडौंमा, अनि कहिले विराटनगर त कहिले दूरवर्ती दुर्गम धनकुटामा । स्वदेशका धेरै र विदेशका थोरै पात्रपात्राहरूसँग पाठकलाई परिचित गराउन समेत लेखिका चुकेकी छैनन् । यिनै पात्रपात्राहरूको माध्यमबाट नेपाल र अमेरिकाको परिवेश र संस्कृतिको उजागार हुनुका साथै विदेशमा रहँदा समेत नेपाली चाडबाड मनाइने प्रसङ्ग निकै रोचक लाग्दछन् । आप्रवासी नेपालीहरूले आपूm जहाँ रहे तापनि नेपालको चाडवाड एवं संस्कृतिको जगेर्ना गर्ने गरेको तथ्यलाई पनि उजागर गरिएको छ । यो त प्रस्तुत कृतिको एक पाटो मात्र हो । कृतिकारबाट गरिएको नेपालकै समकालीन चित्रण चाहिं अर्को पाटो हो ।
श्रीमती भारती गौतमले आफ्नो संस्मरणात्मक कृतिमा प्रयोग गरेको भाषिक तथा साहित्यिक शैली विशिष्ट खालको छ । संस्मरण अतीतबाट वर्तमानतर्पm लम्केको तेर्सो बाटोजस्तो सोझो छैन, बरु पहाडको उकाली र वराली लाग्दा कतैकतै डाँडाले छेकेजस्तै परिघटनाले लुकामारी गरिरहेको प्रतीत हुन्छ । यसले निकै हदसम्म चेतनप्रवाह शैलीको झभल्को दिन्छ भन्न सकिन्छ होला । फेरि उनको वर्णनमा नारीसुलभ सुकोमलता पनि बिछट्टकै छ । खास गरी भीमूप्रति लक्षित उनको स्नेहसिञ्चित शब्दहरूको मोहकताले पाठकमा पनि कृतिनायिकाप्रति आत्मीय सद्भावना जगाइदिन्छ । दुर्दमनीय रोगले ग्रस्त नायिकाप्रति पाठकमा सहानुभूतिभन्दा पनि बढी आत्मीयताको भाव उत्पन्न हुन्छ । निसन्देह नै यो नायिकाप्रति लेखिकाको गहिरो स्नेहजन्य आत्मीयताको भावाभिव्यक्तिकै परिणाम हो । वास्तवमा भन्ने हो भने लेखिका र नायिका दुवै नै एउटै सिक्काका दुई पाटाभैm प्रस्तुत कृतिका दुई प्रमुख पात्र बन्न पुगेका छन्, यद्यपि भीमूको व्यक्तित्व बढी राजनैतिक रह्यो भने भारती गौतमको व्यक्तित्व बढी साहित्यिक छ र प्रस्तुत कृतिले पनि यसैको प्रमाण लिइरहेको छं ।

कृतिकारले आफ्नी बहिनीको रूपमा पाएकी भीमूको व्यक्तित्व र कृतित्वको मनोहारी शब्दमा सँग्लो चित्रण प्रस्तुत गर्नुका साथै नजानिंदो पाराले आफ्नो जीवनवृत्तलाई पनि पाठकसमक्ष खुला किताबजस्तै छर्लङ्ग पारिदिएकी छन् । विषयक्रमका १३ शीर्षकमध्ये ६ शीर्षकमा प्रत्यक्षतः भीमूको नामोल्लेख पाइन्छ भने अन्य शीर्षकमा पनि भीमूको उपस्थिति छर्लङ्ग भएको छ । कृतिको अन्त्य पनि निकै रोचक पाराले गरिएको छ भन्नु अत्युक्ति हुने छैन । अन्तिम एक वाक्यले नै पूरै उपन्यासमा पटाक्षेप गरेर अर्को नयाँ सर्जिनाको द्योतन समेत गरेको छ ।

यसरी सुरुदेखि अन्त्यसम्म नै कृतिकारले पाठकको जिज्ञासालाई बढाउँदै लगेको पाइन्छ भने ‘मेरो जीवनको सबैभन्दा प्रमुख निर्णयमा भीमूको भूमिका’ शीर्षकको कथाखण्ड पढ्दा त मलाई उत्सुकता र खुल्दुलीको भुमरीमा परेभैंm लागेको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अग्रसरतामा आयोजित प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको एक सहभागीको रूपमा न्यूयोर्कमा सन् २००९ को १९ अगस्तका दिन ‘स्मृतिमा भीमू’ की लेखिकासँग मेरो प्रथम भेट भएदेखिको चिनापर्चीको क्रम यो कृति पढेपछि निकै आत्मीय र प्रगाढ भएको मैले अनुभव गरें । पुस्तकमा सुरुदेखि अन्त्यसम्म नै लेखिकाले पाठकसमक्ष यति स्पष्ट र इमान्दारिताका साथ संस्मरण पस्किदिएकी छिन् कि पुस्तक पढेपछि स्वतः नै आत्मीयताको बोध हुन्छ । वर्णनमा कृत्रिमता भएको भए यस्तो हुनु असम्भव नै हुन्थ्यो । छोटकरीमा भन्दा यही नै साहित्य लेखनको प्रमुख उपलब्धि पनि हो ।

अन्त्यमा नेपाली साहित्यमा उत्तरआधुनिक प्रवृत्तिका साथै डायस्पोरिक नेपाली साहित्यका समेत अनुसन्धानकर्ता डा. गोविन्दराज भट्टराईलिखित ‘सङ्घात–विमुक्ति चेष्टामा सिर्जित एक अमर कृति: स्मृतिमा भीमू’ शीर्षकको भूमिकामा गरिएको प्रस्तुत कृतिको साङ्गोपाङ्ग उत्खननप्रति पूर्ण समर्थन जनाउँदै ‘यो संस्मरणात्मक ग्रन्थ स्मृतिमा भीमूले यस लोकबाट हराइसकेकी तर मेरो मनमा कुँदिएर बसेकी भीमूलाई अरु समक्ष पनि जीवितै राख्नेछ’ भनी कृतिकारबाट ‘लेखकीय’ मा जनाइएको विश्वासाभिव्यक्तिका शब्द पैचो लिई यो मन्तव्य टुङ्ग्याउन चाहन्छु ।

नेपाली सहित्यस्रष्टा श्रीमती भारती गौतमको लेखनीबाट भविष्यमा पनि अमर साहित्यिक कृतिहरू निसृत हुँदै रहून् !

मास्को, रूस महासंघ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 पौष, 2068

लेखकका अन्य रचनाहरु